सम्झनाः फेरि कुनै जन्म भएछ भने हजुरकै नातिनी भएर जन्मन पाउँ

साधना खतिवडा

आज अनायाश हजुरको सम्झनामा आइरहयो, आइरहयो के भनौ…? सम्झना नआएको पल कहाँ छ र हजुरको याद नआएको पल कहाँ छ र ! हजुरको याद बिनाकोे न दिन छ न रात नै वित्छ । कति रात आँशु पिएर नै बिन्छन् कति सिरानी भिजेर । दैव लागेपछि मनुष्य जति नै शक्तिशाली भएपनि कसैको केही नलाउने रहेछ ।

म सानी हुदाँ डोको माथी मलाई राखेर घाँस काट्न जाने, पाखामा आफ्नो मजेत्रो विछ्याएर घाँस काट्ने अनि फर्किंदा भारी माथी बोकेर ल्याउने । बारीमा सिलाम र एँेंसेलु खाएको बिर्सेको छैन आमा । सत्य कि देवी भनेर सतीदेवी नाम राखिदिनु भएको थियो आज म सबैको साधना भएकी छु नि आमा…..

हजुरका फुटेका खस्रा हात खुट्टा पनि मलाई नरम लाग्थ्यो । परैबाट गोबरको बासना आउने हजुरको वास्ना बराबर कुनै अत्तर बनेको छैन । त्यो लेक, बेसी, डाडा, काडाँमै जिन्दगी चलेको थियो । हजुरको आफ्नो सम्पूर्ण युवा अवस्था खर्चिएको स्थल छोडेर यहाँ आउनु भयो काठमाण्डौ सन्तानको सुन्दर भविष्य सोचेर । “नेपाल गए कपाल संगै, वर्मा गए कर्म संगै भन्छन् नि ठाउँ परिवर्तन भयो तर तपाईका दिन चर्या उही नै रहे । उही मेलापात, ज्याला, मजदूरी, चर्खा अनि ऊन । बुढ्यउलीको हड्डी खिडदै गए पनि सन्तानका लागि घोटिनै राख्नु भयो । हजुरले मेला जादा ल्याइदिनु भएका दुनोट, पाउरोटी बम कहाँ बिर्सेकी छु र । जाउलोमा आलु हालेर खुवाएर स्वाद फेरिदिनु हुन्थ्यो । आफू चियाको भरमा पेटमा पटुका कसेर दिनभरी काम गर्ने अनि सुत्ने बेलामा पढेर आएकी नातिनी थाकेकि छे भनेर मेरा खुट्टा मिचिदिने । कानका लस्कारी मुन्द्रा फुकालेर मलाई लुर्का लगाई दिने । मलाई हजुरको ममता, स्नेहले झस्काई रहन्छ आमा ।

हजुरले स्कूल जाँदा एक रुपैयाँ नदिँदा रोएको आजै हो जस्तो लाग्छ । त्यो दिन पैसा नपाएर रोएँ, आज हजुरको लाचारपन सम्झेर रुन मन लाग्छ । ५ वषर््ाको त्यो अबोधले १रुपैया माग्दा पनि दिन नसक्दा होला नि सिरानीमा घोप्टो परेर रोएको, त्यो पल सम्झेर रुन मन लाग्छ ।

जब म कमजोर पर्छु तब म हजुरले भनेको सम्झन्छु । “मैले धेरै दुःख गरेकी छु अब मेरा सात पुस्तालाई दुःख हुन्न” भन्नुहुन्थ्यो । त्यो वाणी कानमा गुञ्जिरहन्छ । कति आड भरोसा मिल्छ । मेरो सफलता देखेर कति खुसी हुनुहुन्थ्यो । समयले सबै कुरा सहज र सरल बनाउदै थियो । अब सुखका दिन आउदै थियो । मेरी आमाका फुटेका हातका रेखा केही नरम हुँदै थिए । हजुरलाई टपक्क टिपेर लग्यो दैवले । म हजुरका अन्तिम दिनहरुमा सँगै थिए नि तर मलाई पनि थाहा भएन हजुरलाई लाँदैछ भनेर । मेरो नियति भनौँ या दुर्भाग्य मेरो प्राण, मेरो मुटु, मेरो साहस, मेरी उजेलीको अन्तिम दर्शन गर्न नि पाइन पापी कोरोनाले गर्दा ।

भाइले अमेरिका लान्छु भन्दा कति खुसी हुनु हुन्थ्यो । “सुतेर जान मिल्छ रे, जान्छु भनेर पासपोर्ट बनाउन जानु भएको थियो । हजुरको त्यो पासपोर्ट भाईले छात्तीमा टाँसेर लाँदा कति मन भकानियो आमा । हजुरसगैँ मेरा खुसीहरु नि गए जस्तो लाग्छ । संसारमा हजुरलाई बिर्सने औषधी बनेको छैन । हजुर संघर्षको प्रतिमुर्ती हो, देवी हो हजुरलाई सम्झँदा मात्र पनि साहस मिल्छ नि मलाई ।

हुन त संसारमा दुःख नभएको को नै छ र । सुख खोजेको पनि होईन, तर हजुरको अभाव मलाई सधँै खड्कीरहन्छ । मैले जति नै सुख सम्पत्ती कमाएपनि हजुर बराबरको हिरा अब मैले पाउने छैन । हजुरलाई सपनीमा देखेको रात मात्र पनि म कत्ति खुसी हुन्छु । समयले सबै घाउ पुर्छ भन्छन् तर होइन रहेछ आमा मुटुको घाउ पुरिँदो रहेनछ ।

हजुर गएदेखि न दशै रमाईलो छ न त तिज न तिहार । हजुर बिनाको माइती घर शुन्य छ अचेल । हजुरले दिनु भएको माया र स्नेह मेरा जिवन जिउने आधार हुन । फेरि कुनै जन्म भएछ भने हजुरकै नातिनी भएर जन्मन पाउँ । त्यहि काख, त्यहि पाइराखौ ।

उही हजुरकी नातिनी


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button