
आहा! तिम्रो छवि कति पवित्र
आमा
गंगा खड्का
भर्भराउँदो तिम्रो उमेरमा नि
आफ्नो सुन्दरतालाई ख्याल गरिनौ आमा
सन्तानको सुखको लागि तिमीले
सानो संघर्ष गरिनौ आमा ।
आफूले खाएको गाँस बाँडेर
गर्भमा मलाई बचाइरह्यौ
मैले कृतघ्न भएर कतिपटक लात्तीले हान्दा नि
उल्टै मीठा सपना बनाइरह्यौ
प्रसव व्यथाले तिमी चिच्याइरँहदा म भने
रङ्गिन दुनियाँको मजा लिने सुरमा
आतुर बनेर तिमीलाई अत्याइरहेँ
अनि तिमी आँत्तिरहेको बेलामा
झिँजो झर्को लाउँदै
कौलासिएर रुँदै यस धर्तीमा अवतरण गरेँ
त्यति बेला तिमी मसँग रिसाउनुको सट्टामा
जून झैं मुस्कुराएर मेरो स्वागतमा आतुर देखियौ ।
कहिले मेरो पहरेदार बनेर
कहिले मेरो जिन्दगीलाई गोडमेल गर्ने माली बनेर
कहिले असल गुरु बनेर
कहिले त्याग र समर्पणकी देवी बनेर
तिमीले आमा हुनुको महिमा झल्काइरह्यौ
म भने तिमीसँग सधैँ लुट्नमा नै तल्लीन रहेँ
न कुनै गुनासो
न कुनै आशा
न कुनै हिसाबकिताब
आहा, तिम्रो छवि कति पवित्र छ आमा ।
तिम्रा आशीर्वादले भरिएका हातहरुले
मेरो शिरलाई स्पर्श गर्दा मात्रै पनि
मेरा अगाडि स्वर्गको झल्को एकाकार भएर
हर्दम देखा पर्छ आमा
तिमीबिना मेरो जीवन सम्भव हुनु भनेको त आमा
पश्चिमबाट सूर्य उदाउनु बराबर हो
मैले कुनै देवी देखेकी छु त केवल
सरस्वती, महाकाली, महालक्ष्मीको रूपमा
तिमीलाई मात्रै महसुस गरेको छु ।
तिमी त मेरो जीवनको आशा र भरोसा हौ आमा
तिमी त मेरो गरिमा हौ आमा
अझै भन्ने हो भने त
तिमी मेरो खास माने हौ
तिमी त म हुनुको रहस्य हौ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)