‘छोरी, तिमी भविष्यमा के बन्न चाहन्छौ ?’

कथा

निस्मा उप्रेती
कक्षा ६, सृजना ज्ञानसागर माध्यमिक विद्यालय, तारकेश्वर-४, काठमाडौँ

काठमाडौँ सहरको बाइपास क्षेत्रमा एउटा सानो र सुखी परिवार बस्थ्यो। त्यस परिवारमा बुबा रोहन, आमा सरिता, छोरी आर्या र छोरा आर्यन गरी चार जना सदस्य थिए। बुबा र आमा दुवैजना कार्यालयमा काम गर्न जानुहुन्थ्यो भने आर्या र आर्यन नियमित रूपमा विद्यालय जान्थे। छोराछोरीको विद्यालयमा बिदा भएका दिन पनि बुबाआमालाई प्रायः कार्यालय जानुपर्थ्यो।

विद्यालयमा बिदा भएका बेला आर्यन प्रायः, “हामी त कहिल्यै घुम्न जान पाउँदैनौँ,” भन्दै गुनासो गर्थ्यो। तर दिदी आर्याले उसलाई सधैँ सम्झाउँदै भन्थिन्, “केही छैन भाइ, कहिलेकाहीँ यस्तो भइहाल्छ। आमाबुबाको काम बाँकी भएकाले उहाँहरू कार्यालय जानुभएको हो।” दिदीको कुरा सुनेपछि आर्यन पनि शान्त हुन्थ्यो।

बुबाआमा आफ्नो काममा व्यस्त रहने भएकाले आर्याले सधैँ भाइलाई गृहकार्य गराइदिन्थिन् र आफ्नो गृहकार्य पनि नियमित रूपमा गर्थिन्। बुबाआमालाई छोराछोरीलाई पर्याप्त समय दिन नसकेकोमा कहिलेकाहीँ दुःख लाग्थ्यो। एक दिन उहाँहरूले यही कुरा छोराछोरीसँग गर्नुभयो। त्यसबेला आर्याले मुस्कुराउँदै भनिन्, “त्यस्तो होइन, बुबाआमा। तपाईंहरूले हामीलाई धेरै समय दिन नसके पनि माया, साथ र हौसला दिन कहिल्यै छोड्नुभएको छैन। त्यसैले यस विषयमा धेरै चिन्ता नगर्नुहोस्।”

आर्याको कुरा सुनेर बुबाआमा निकै खुसी हुनुभयो। उहाँहरूले आर्यालाई, “तिमी त साँच्चै धेरै ज्ञानी छोरी रहिछौ,” भन्दै प्रशंसा गर्नुभयो।

आर्या सबैसँग नम्र व्यवहार गर्थिन्। उनले सधैँ शिर झुकाएर ठूलाबडालाई प्रणाम गर्थिन्। बाटोमा भेटिएका अपाङ्ग, असहाय तथा दुःखी मानिसहरूलाई सकेसम्म सहयोग गर्ने उनको बानी थियो। आफूसँग पैसा नभएको बेला पनि आफ्नै खानेकुरा बाँडेर सहयोग गर्थिन्। त्यसैले टोल, छिमेक, घरपरिवार र विद्यालयमा सबैले उनलाई असल र ज्ञानी छोरी भनेर चिन्थे।

समय बित्दै गयो। आर्या १२ वर्षकी भइन् भने आर्यन ७ वर्षको भयो। आर्या पढाइमा मात्र होइन, चित्रकला, हस्तकला, गायन, नृत्य र खेलकुदमा पनि उत्कृष्ट थिइन्।

एक दिन बुबाले आर्यालाई सोध्नुभयो, “छोरी, तिमी भविष्यमा के बन्न चाहन्छौ?”

आर्याले आत्मविश्वासका साथ उत्तर दिइन्, “म भविष्यमा एक सफल र असल गायिका बन्न चाहन्छु।”

त्यो सुनेर आमाले मुस्कुराउँदै भन्नुभयो, “म पनि सानैदेखि गायिका बन्ने सपना देख्थेँ।”

आमाको कुरा सुनेपछि आर्या झन् उत्साहित भइन्। उनले आफ्नो मात्र होइन, आमाको सपना पनि पूरा गर्ने दृढ सङ्कल्प गरिन्। त्यसपछि उनले गायन अभ्यासमा अझ धेरै मेहनत र निरन्तर परिश्रम गर्न थालिन्। आर्याको लगन, मेहनत र दृढ इच्छाशक्ति देखेर बुबाआमाले पनि उनलाई पहिलेभन्दा अझ बढी साथ, सहयोग र हौसला दिनुभयो।

बुबाआमाको माया, विश्वास र सहयोग पाउँदा आर्याले आफूलाई निकै खुसी र भाग्यमानी छोरी ठान्थिन्। उनी सधैँ असल काम गर्दै आफ्नो सपना पूरा गर्ने लक्ष्यतर्फ अघि बढिरहिन्।

….

नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button