
महिला सशक्तिकरणमा ग्रामीण कृषि-पर्यटन

डा. विपी बडाल
“आमा भन्दा ठुली कोहि छैन संसारमा…..!”
आजकाल पनि बालबालिकालाई प्रश्न गरिन्छ, “बाको माया लाग्छ कि आमाको ?” बच्चालाई बा जति शक्तिशाली र आमा जति मायालू संसारमा कोहि लाग्दैन | यो प्रश्न नै गलत छ, बा र आमा दुवै फरक हुन् | दुबै फरक छन् दुबैको गुण, विशेषता, सेवा, बल, बुद्धि, विवेक, सबै फरक छ | हरेक चिज एक अर्कोमा फरक तर अन्योन्याश्रित हुन्छन | दुवै भगवान हुन् | मानवतामा विभेद हुँदैन | के महिला के पुरुष, यौटै छानोमुनि बा धनि शक्तिशाली र आमा गरीव कम्जोर कहिल्यै हुँदैनन् | भगवान शिव नै शक्तिले संचालित छन् | शक्ति कम्जोर हुन्छ, शक्तिलाई थिचोमिचो हुन्छ, शक्ति नै अन्यायमा हुन्छ भने त्यो घर-समाज मृत तुल्य हुन्छ |
पुरुषले महिलाबाट र महिलाले पुरुषबाट “आशा” गर्छन – यो आशा नै द्वन्दको कारण हो | आशा गर्ने होइन भरोशा दिने हो | प्रेम र श्रद्धा गर्ने हो | स्नेह पुर्वक बोल्ने तथा व्यवहार गर्ने हो | प्रेम र श्रद्धाको बदलामा घृणा आउनै सक्दैन | प्रेमको परिणाम प्रेम नै हो, घृणा हुनै सक्दैन | घृणा र हिम्साले कसैको मन जित्न सकिंदैन | मन जित्न मनकै मार्ग माझिनु पर्छ | प्रेम पाउन प्रेम नै गर्नुपर्छ | आशा छोडेर निरन्तर प्रेम गर्नु पर्छ – प्रेमले बदलामा केहि स्वार्थ राख्दैन | स्वार्थ छ भने प्रेम हुँदै भएन | परिवारले परिवारलाई गर्ने असिमित माया, श्रद्धा र व्यावहार नै सशक्तिकरण हो | पारिवारिक आफन्तको सहयोग र उत्प्रेरणा नै आन्तरिक उर्जाको श्रोत हो | जसको पारिवारिक उर्जा राम्रो हुन्छ, उसको उन्नति प्रगति सुनिस्चित छ | यहि उर्जाको निर्माण र परिचालन नै सशक्तिकरण हो | घरपरिवारको साथ् सहयोग र उत्प्रेरणा नै सशक्तिकरणको आधार हो |
पर्यटन व्यवसाय प्रेमको व्यवसाय हो | जुन घरमा पारिवारिक प्रेम, विश्वास, श्रद्धा छैन त्यो घरमा पर्यटन सम्भव नै छैन | धर्मले कर्म गर्नु पर्छ | तन, मन, धन सबै लगाएर गरिने कर्म नै धर्म हो | धर्म अर्थात कर्म गरेपछि आम्दानि (अर्थ) प्राप्त हुन्छ | अर्थले समाज र परिवारमा माया प्रेम काम सबै वृद्धि हुन्छ | सबै चिजले पूर्ण भएको अवस्थालाई नै मोक्ष भनिन्छ | प्रेमले श्रद्धाले अतिथिको स्वागत सम्मान गर्नु नै धर्म हो | अतिथि देवो भब: | अतिथि देवताको शेवाले नै हाम्रो धर्म अर्थ काम मोक्ष चारै प्रकारका पुरुषार्थ पूर्ण हुन्छन | ग्रामीण पर्यटन विकासका लागि आफ्नो घर आँगन करेशावारीमा उत्पादन भएका सामान्य कृषि उत्पादन नै काफी हुन्छन | सरसफाई, खानपिन, आदरसम्मन, पुजापाठ, र भजन कृतन जुन हरेकदिन घरमा गरिन्छ यहि कर्म अतिथि देवतालाई अर्पण गरे पुग्छ | पर्यटकलाई आफ्नो नियमित कर्म देखाएर, नियमित खाने खाना खुवाएर, आफ्नो धर्म संस्कृति सभ्यता सिकाएर घरमा बसीबसी गरिने व्यावसाय नै ग्रामीण कृषि पर्यटन हो | अर्थात् आफ्नै घरमा धर्म गरेर आम्दानि गरिने व्यावसाय नै कृषि पर्यटन हो |

सामान्यतया ७० % नेपाली अझै पनि प्रतक्ष्य वा अप्रतक्ष्य रुपले कृषिमा पेशामा आधारित छन् | कृषकको आर्थिक अवस्था अझैपनि दयनीय छ | नेपाली कृषि उत्पादनले भारतीय उत्पादनसंग प्रतिस्पर्धा गर्नै सक्दैन | हामीले हालसम्म पनि एउटा मल कारखाना सम्म खोल्न सकेनौं | भौगोलिक राजनैतिक कारणले पनि हामी चीन तथा भारतको बजार विरुद्ध केहि गर्न सक्दैनौं | त्यसैले कोरा कृषिमा लागेर दु:ख गर्नु भनेको वालुवामा पानी हाल्नु सरह हो | त्यसैले अब कृषिको आधुनिकीकरण होइन पर्यटकीयकरण गर्न सुरु गर्नु पर्दछ | किसानको घरवारी नै भब्य पर्यटकीय होटेल, होमस्टे, अतिथिगृह बन्नुपर्छ | आएका पाहुनाहरुलाई ज्वाईं पालेझें पाल्नुपर्छ | सेवाको रकम-विल उठाउनु पर्दछ | कृषक बजार खोज्दै भौंतारिनु पर्दैन बजार नै पर्यटकको रुपमा घर-घरमा आइपुग्छन | चीन र भारतका मात्रै ५% जनताको भव्य पर्यटकीय गन्तब्य नेपाल भए नेपालका हरेक घर सांस्कृतिक अतिथिगृह बन्नेछन् | हरेक घर मन्दिर झैं हुनेछन |
पुरुष स्वभावैले शिकारी र नारी आमा हो | पुरुष घरको सुरक्षा प्रमुख हो | आमा घरको प्रमुख व्यवस्थापक हो | व्यवस्थापन विनाको सुरक्षा र सुरक्षा बिनाको व्यवस्थापनको कुनै अर्थ छैन | नारी बिनाको घर कल्पना पनि गर्न सकिंदैन | पुरुष विनाको घरमा सधैं सुरक्षाको चिन्ता हुन्छ | नारी र पुरुष मिलेर नै घर बनेको हुन्छ | घर बसाउन, छानो हाल्न महिला पुरुष दुवै चाहिन्छ | दुई मिले त्यहि घर स्वर्ग हुन्छ नमिले त्यहि घर नर्क हुन्छ | घर स्वर्ग बनाउने कि नर्क आफ्नै हातमा छ | मिल्ने वितिक्कै धर्म, अर्थ, काम, मोक्ष सबै मिल्छ | आशा गर्नेले सधैं आशा मात्रै गर्नु पर्छ | आशा होइन, कर्म गर्नुपर्छ | प्रेम र सद्भाव गर्नुपर्छ | पर्यटक स्तरीय गृह निर्माण गर्ने प्रमुख भूमिका आमा कै हुन्छ | खानपिन, सरसफाई, पुजापाठ, लेखा, आम्दानि तथा खर्चको जिम्मेवारी महिलाले नै लिनुपर्छ | बार-बगैंचा, सुरक्षा, कृषि-उत्पादन, पशुपालन, बजार आदि पुरुषले नै जिम्मा लिनु पर्छ | दुवै मिलीमिली कर्म गर्नुपर्छ | एक्लो वृहस्पति पनि झुट्टो हुन्छ | एकले अर्कोलाई पुरै माया, सम्मान, सात्कार र विश्वास गर्नुपर्छ | झुट बोल्नु हुँदैन, विश्वासघात गर्नु हुँदैन | परपुरुष-परश्त्री गमन पाप हो, सोच्नु पनि हुँदैन | खराव वानी सुधार गर्दै जानुपर्छ | बल्ल घर स्वर्ग झैं सुन्दर हुन्छ | पवित्र सुन्दर घरमा नै भगवानको वास हुन्छ | अतिथि देवता अर्थात् लक्ष्मीको आगमन हुन्छ | बिपी कोइराला भन्ने गर्नुहुन्थ्यो बा भनेको आमाले चिनाइदिएको परपुरुष हो |
कुनै पनि बस्तुको सृष्टि हुन्छ, वृद्धि विकास हुन्छ र मृत्यु हुन्छ | आदि, मध्य र अन्त्य हुन्छ | यसैलाई ब्रह्माण्डीय सत्य भनिन्छ | यो भन्दा अर्को सत्य छैन | सृष्टिको प्रतिक ब्रह्म, स्थितिको विष्णु, र प्रलयको प्रतिक शिव हुन् | ब्रह्मालाई सृष्टि गर्न ज्ञान चाहिन्छ | विष्णुलाई पालनपोषण गर्न धनसम्पत्ति चाहिन्छ | शिवलाई प्रलय गर्न शक्ति चाहिन्छ | ज्ञान अर्थात् सरस्वती विना सृष्टि, धनसम्पत्ति अर्थात् लक्ष्मी विना पालनपोषण र शक्ति बिना प्रलय सम्भव नै छैन | व्रह्मा विष्णु महेसको सृष्टि स्थिति प्रलयको आधार नै सरस्वती, लक्ष्मी र शक्ति हुन् | त्यसैले त माता, पिता, गुरु र अतिथि देवता समान हुन्छन |
नारी नै पुरुषको पहिचान हो | पुरुषको शक्ति नै नारी हो | पुरुषको ज्ञान धन सबै नारी नै हो | नारी र पुरुष मिलेर नै जीवनको सृष्टि, स्थिति र लय चलेको हुन्छ | कसले भन्यो नारी कम्जोर ? नारीले आफुलाई चिन्नु पर्छ | कुनै पुरुषले खराव सेन्सले हेर्यो भने नारीको तेश्रो दृष्टि खुली हाल्छ | नारीले बुझीहाल्छिन | पुरुषमा यो सेन्स हुँदैन | नारी सचेत हुन्छन | पुरुष युद्धालु-झगडालु शिकारी झैं हुन्छन | सचेत नारीले आमाले झैं आफ्नो घरपरिवार, व्यापार व्यवसाय, माइती सबैको राम्रो व्यवस्थापन गरेकी हुन्छिन | त्यसैले आमा भन्दा ठुली कोहि छैन | आमाले यो प्रेमको शक्तिको भाव बुझ्नुपर्छ | सब सम्भव छ |
…
नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।



