निम्सकाे नाममा नेपालले अब के गर्नुपर्छ ?

डा. विपी बडाल

​आकाश झैं हिमाल असिमित छ | असिमित हिमालहरु लेख्न अक्षरहरु सायद सिमित हुन्छन् | सायद त्यसैले नै कथा लेखिन्छ | मानिसले कहिलेकाहीँ आफ्नो जीवनले यति ठूलो कथा लेख्छ कि मृत्युले पनि त्यसलाई समाप्त गर्न सक्दैन | नेपालको पर्वतारोहण इतिहासमा निर्मल पुर्जा ‘निम्स दाइ’ त्यस्तै व्यक्तित्व थिए | उनको जीवन साहसको पर्याय थियो | आत्मविश्वासको प्रतिमूर्ति थियो | साथै असम्भवलाई सम्भव बनाउन सकिन्छ भन्ने मानवीय विश्वासको जीवन्त प्रमाण थियो | पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी उनको असामयिक निधनले विश्व पर्वतारोहण समुदायलाई शोकाकुल बनाएको छ | यो एउटा सफल आरोहीको मृत्यु मात्र होइन, नेपाली साहस, नेतृत्व र विश्वव्यापी पहिचानको एउटा उज्यालो अध्याय समयभन्दा पहिले बन्द भएको क्षण पनि हो | असिमित हिमाल नाप्ने हिम्मत ढलेको समय हो |

हिमाल रहुन्जेल निर्मल अमर रहने छन् | नेपाललाई प्रकृतिले हिमाल दिएको छ | हिमाल भन्दा पवित्र अर्को केहि छैन | तर हिमाल आफैँले कुनै इतिहास लेख्दैन | इतिहास लेख्ने पात्र अर्को कोहि हुँदैन | जसले हिमाल चढछ, उसैको लागि लेखिन्छ | अनि यिनै लेख इतिहास बन्ने छन् | त्यसैले इतिहास लेख्ने तिनै मानिसहरू हुन् | जसले मृत्युको सम्भावनालाई समेत स्वीकार गर्दै शिखरतर्फ पाइला चाल्छन् | कंचनजंघा, सगरमाथा, गौरीसंकर, गणेश, मनासुलु, लम्जुंग, माछापुछ्रे, अन्नपुर्ण, धवलागिरी, सैपाल, अपि, नाम्पा सबै चुमेका निम्स इतिहास लेखनका आधार भएर अमर भएका छन् |

उनी हिमबाघ नै हुन् | सन् २०१९ मा विश्वका चौधवटै ८,००० मिटरभन्दा अग्ला हिमाल केवल १८९ दिनभित्र आरोहण गरेर उहाँले दशकौँदेखि कायम विश्व कीर्तिमान तोडेका थिए | त्यो उपलब्धि केवल एउटा खेलकुद समाचार थिएन | यो उपलब्धि त्यो विश्वलाई नेपालले दिएको नयाँ सन्देश थियो | “नेपालीहरू हिमालका भरिया वा सहयोगी मात्र होइनन्, विश्वस्तरीय नेतृत्व, रणनीति, उद्धारक्षमता र अदम्य साहसका धनी हुन्” भनेर प्रमाणित गर्नु थियो | त्यसपछि निर्माण भएको 14 Peaks: Nothing Is Impossible वृत्तचित्रले करोडौँ दर्शकमाझ नेपाली पर्वतारोहणलाई नयाँ उचाइमा पुर्‍यायो | संसारले पहिलोपटक हिमालको कथा विदेशी आँखाले मात्र होइन, नेपाली नेतृत्वको दृष्टिबाट पनि हेर्न थाल्यो | नेपाल पर्वतारोहणको क्षेत्रमा विश्वको पहिलो स्थानमा छ |

निम्स परिवर्तनका सम्बाहक पनि हुन् | वास्तवमा, निम्सले कीर्तिमानभन्दा ठूलो परिवर्तन दृष्टिकोणमा ल्याए | लामो समयसम्म अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सफलताका केन्द्रमा विदेशी आरोहीहरू रहन्थे भने नेपाली शेर्पा र उच्च हिमाली गाइडहरू छायाँमा सीमित हुन्थे | तर उनले त्यो असन्तुलनलाई चुनौती दिए | उनले विश्वलाई देखाए कि हिमालको वास्तविक ज्ञान, निर्णय क्षमता र संकट व्यवस्थापनको केन्द्र नेपालमै छ | यस अर्थमा उनि केवल पर्वतारोही होइन, नेपालको अदृश्य श्रम र सीपलाई विश्वसामु चिनाउने सांस्कृतिक दूत पनि हुन् | हिन्दुकुश पर्वतमालालाई चिन्ने र चिनाउने क्रममा उनि पाकिस्तान पुगेर यहि हिमालयको काखमा देह त्याग गरे | कर्म भूमिमा जीवन जीवनदान दिएर मोक्ष्य प्राप्त गरे |

हिमालको आफ्नै दर्शन हुन्छ | हिमालले कसैलाई स्थायी विजेता घोषणा गर्दैन | आधुनिक प्रविधि, अत्याधुनिक उपकरण, मौसमको सूक्ष्म विश्लेषण, दशकौँको अनुभव र असाधारण शारीरिक क्षमता सबै जरुरि हुन्छ | यी सबै हुँदाहुँदै पनि अन्तिम निर्णय प्रकृतिकै हातमा रहन्छ | हिमालले कहिले अँगालो हाल्छ, कहिले परीक्षा लिन्छ त कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि सुताइदिन्छ | ब्रड पिकको दुर्घटनाले फेरि सम्झाएको यही कठोर सत्य हो कि प्रकृतिसँगको सम्बन्ध विजयको होइन, विनम्रताको हो | उनमा रहेको यो आदम्य सहास हरेक युवाको ढुकढुकी हो | हो हिमाल चढ्नु पर्छ | सबैलाई चढाउनु पर्दछ | हिमालको गौरबगाथा सबैलाई सुनाउनु पर्छ |

यस दुःखद घटनालाई केवल भावनात्मक श्रद्धाञ्जलीमा सीमित गर्नु पर्याप्त हुँदैन | यसले हामी नेपाललाई केही असहज प्रश्नहरू पनि सोधेको छ | विश्व पर्वतारोहणको राजधानी मानिने मुलुकमा उच्च हिमाली उद्धार प्रणाली कति सक्षम छ ? हिमपहिरोको वैज्ञानिक अध्ययन, जोखिम पूर्वानुमान, आधुनिक उद्धार उपकरण, पर्वतीय अनुसन्धान र आरोहीहरूको सामाजिक सुरक्षा प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकसित भएका छन् त ? विदेशी पर्वतारोहीबाट प्राप्त हुने रोयल्टी र पर्यटन आम्दानीको पर्याप्त हिस्सा हिमाली सुरक्षामा लगानी भइरहेको छ त ? यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु नै निम्स प्रतिको वास्तविक सम्मान हुनेछ | हिमाल हिमाल जस्तै हुनुपर्छ निम्सहरु सधैं बाँची रहनु पर्छ | नेपाल आमाको काख रित्तिन मिल्दैन | आमाको आँसु बग्न हुँदैन |

H2O (Himalya to Ocean) Nepal Book Journey

नयाँ युग आएको छ | नेपालले पर्वतारोहणलाई पर्यटन उद्योगको एउटा आकर्षणका रूपमा मात्र हेर्ने दृष्टिकोण अब परिवर्तन गर्नुपर्ने समय आएको छ | जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको जोखिम तीव्र रूपमा बढिरहेको छ | हिमताल विस्फोट, हिमपहिरो, अस्थिर हिमरेखा र अनिश्चित मौसमले पर्वतारोहणलाई झन् जटिल बनाइरहेका छन् | त्यसैले अब पर्वतारोहणलाई वैज्ञानिक अनुसन्धान, वातावरणीय संरक्षण, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यसँग जोडेर हेर्नुपर्छ | निम्सको जीवनले यही परिवर्तनको आवश्यकता अझ स्पष्ट बनाएको छ | लौ न, हिमाल नरहे नेपाल नै रहन्न है |

निम्सको जीवन पर्वतारोहणको एउटा इतिहास हो | सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूका उपलब्धिसँगै उनीहरूमाथि उठेका प्रश्नहरू पनि इतिहासको हिस्सा बन्छन् | निम्ससँग सम्बन्धित केही विवाद र आरोपहरू पछिल्ला वर्षहरूमा सार्वजनिक भएका थिए | यस्ता विषयहरू प्रमाण, कानुन र न्यायिक प्रक्रियाका आधारमा मूल्याङ्कन गरिनुपर्छ | कुनै व्यक्तिको असाधारण उपलब्धिलाई सम्मान गर्नु र सार्वजनिक उत्तरदायित्वका प्रश्नहरूलाई निष्पक्ष रूपमा हेर्नु पर्छ | पक्ष र प्रतिपक्ष परिपक्व लोकतान्त्रिक समाजका दुई अपरिहार्य आधार हुन् | इतिहासले व्यक्तित्वको मूल्याङ्कन गर्दा उपलब्धि र उत्तरदायित्व दुवैलाई सँगै राखेर नै हेर्ने गर्छ | व्यक्तिगत अवधारणा गौंड हुन्छन | निम्स नेपाली पर्वतारोहण क्षेत्रका चम्किला इतिहास हुन् |

नेपालले निम्सको नियति नियालेर हेर्नु पर्छ | अब नेपालले आफ्ना पर्वतारोहण नायकहरूको ज्ञानलाई संस्थागत गर्नुपर्छ | उच्च हिमाली अनुसन्धान प्रतिष्ठान, विश्वस्तरीय पर्वतारोहण संग्रहालय, उद्धार तथा जोखिम व्यवस्थापन तालिम केन्द्र, पर्वतारोहीहरूको सामाजिक सुरक्षा कोष र युवा पुस्तालाई लक्षित साहसिक नेतृत्व कार्यक्रमजस्ता पहल राष्ट्रिय आवश्यकता हुन् | यदि हामीले निम्सजस्ता व्यक्तित्वहरूको अनुभवलाई नीति र संस्थामा रूपान्तरण गर्न सकेनौँ भने भविष्यले हामीलाई क्षमा गर्नेछैन | पर्यटनको विकल्प छैन | अब पर्वतारोहणले नयाँ युगमा प्रवेश गर्नु पर्छ |

जीवन खासमा आफैंमा एक दर्शन हो | निम्सको जीवनले एउटा गहिरो दार्शनिक सन्देश पनि दिएको छ | मानिसको महानता ऊ कति वर्ष बाँच्छ भन्नेमा होइन, कति मानिसको सोच बदल्छ भन्नेमा निर्भर हुन्छ | उनले असम्भवको परिभाषा बदले | एउटा सिंगो पुस्तालाई ठूलो सपना देख्न सिकाए | नेपाली हुनु कमजोरी होइन, विश्वको नेतृत्व गर्न सक्ने शक्ति हो भन्ने आत्मविश्वास जगाए | यही कारण उनको प्रभाव कुनै एउटा शिखर वा कुनै एउटा कीर्तिमानभन्दा धेरै माथि पुगेको छ | उनको उचाई सगरमाथा सरहै छ | निम्स हिमाली सभ्यतामा सधैं जीवित रहने छन् |

हाम्रो समाजले प्रायः आफ्ना नायकहरूलाई उनीहरू बाँचुञ्जेल पर्याप्त सम्मान दिन सक्दैन | योगदानको मूल्य प्रायः उनीहरू गुमेपछि मात्र महसुस गर्छ | यो प्रवृत्तिबाट अब बाहिर निस्कनुपर्छ | राष्ट्रिय गौरवका व्यक्तित्वहरूलाई स्मारक भाषणले होइन, दीर्घकालीन नीतिले सम्मान गरिनुपर्छ | निम्सको नाममा हिमाली सुरक्षा अनुसन्धान कार्यक्रम, अन्तर्राष्ट्रिय पर्वतारोहण छात्रवृत्ति वा युवा आरोही विकास कोष स्थापना गर्न सकियो भने त्यो कुनै पनि श्रद्धाञ्जलिभन्दा अर्थपूर्ण हुनेछ | निम्सको नाममा धेरै संघसंस्थाहरु खोलिनु पर्छ | हिमाल आज पनि त्यत्तिकै अग्ला छन् | हिउँ आज पनि त्यत्तिकै सेता छन् | शिखरतर्फ जाने बाटो आज पनि जोखिमपूर्ण नै छ | तर ती बाटोमा अब निम्सको अदृश्य पाइला सधैँ रहनेछ | उनको शरीर हिमालमै विलीन भएको हुन सक्छ, तर उनले जगाएको साहस, आत्मविश्वास र राष्ट्रिय गौरवको चेतना कुनै हिमपहिरोले पुरिन सक्दैन | एकजना यमबुद्धले बालेन जन्माए झैँ निम्सले पनि धेरै पर्वतारोहणका तारा जन्माएका छन् |

मानिस अनेक प्रकारका हुन्छन | केही मानिसहरू आफ्नो समयका सफल व्यक्ति हुन्छन् | केही मानिसहरू भने आफ्नो समयकै परिभाषा बदलिदिन्छन् | निम्स त्यही दोस्रो श्रेणीका व्यक्तित्व थिए | उनको नियति शिखरमै टुङ्गिएको हुन सक्छ, तर उनको विरासत अब प्रत्येक नेपाली युवाको सपनामा रहेको छ | प्रत्येक आरोहीको साहस र प्रत्येक शिखरतर्फ उड्ने नेपाली ध्वजामा जीवित रहनेछ | इतिहासले यस्ता मानिसहरूलाई मृतकका रूपमा होइन, प्रेरणाका रूपमा सम्झिरहन्छ | निर्मल पुर्जा अमर रहुन् | पर्वतारोहण अमर रहोस् |

….

नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button