
तपाईंले किताब पढेजस्तै किताबले पनि तपाईंलाई पढिरहोस्

नेपालनाम्चाको ‘किताब’मा अस्मिता आचार्य ।
१. तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
मेरो बारेमा व्याख्या-विश्लेषण गर्नुपर्यो भने केवल यी दुई शब्दहरु काफी छन् सायद- पढाकु अनि खन्चुवा। किताबसँगको संगतको बारेमा भन्नुपर्दा किताब मलाई हाम्रो पाटनको म्वःमदु गल्लीको मिठाई पसलमा पाईने ठूलो निम्कीजत्तिकै मिठ्ठो अक्षरहरुको ठूलो भण्डार हो। यो कुरा कहिलेदेखि खाना मन पराउन थाल्यौ भनेजस्तै हो। त्यसै पनि, सानो छँदै होश खुलेदेखि नै घरमा चाङ्गका चाङ्ग किताबका थाक देखेको हुँदा, खेलौनाभन्दा पनि बढी पुस्तकका खातमाझ जन्मे-हुर्केको हुँदा, किताब पढ्नु त्यति नै सामान्य लाग्छ जति सास फेर्नु, खाना खानु, या सुत्नु। पढ्नु मेरो लागि त्यतिकै अभिन्न, आधारभूत कुरा हो। पढ्ने क्रिया विशेष हुँदा-हुँदै पनि साह्रै साधारण र सामान्य दैनिकीमै पर्ने कुरा हो।
किताबसँग अलग्गै परिचय लिनु पर्ने आवश्यकता कहिल्यै रहेन। अक्षर नचिनुन्जेलसम्म पानामा चित्रहरु चिन्दथें; रङ्गहरू बुझ्दथें। पढ्न जानिसकेप्छी आफ-से-आफ रमाइलो त यसै पनि भईहाल्यो। त्यसपछिको पत्र-पत्रिका, अखबार, ग्रन्थहरु, विभिन्न भाषाका पुस्तकहरु घरमा सबै जहिल्यै हुन्थे। कुनै पनि अंकहरु, कुनै पनि पुस्तक, घरमा छुट्दै-छुट्दैन थियो। मेरो लागि भनेर विशेष मगाईने पुस्ताखारुमध्ये सबैभन्दा मनपर्ने किताबी साथीहरु चाहिँ मुना, नन्दन, चम्पक, बालहंस, विज्डम, र टिंकल डाइजेस्टजस्ता बाल-साहित्यका किताबहरु हुन्थे।
तैपनि, ठ्याक्कै तोकेर सम्झिनुपर्दा किताब पढ्दा खेरि सबैभन्दा रमाइलो लागेको पहिलो अनुभवको कुरा गर्नु पर्दा, पहिला केवल रंग र चित्र मात्र बुझेर कविता नबुझेकी फुच्चीले पहिलोपल्ट आफैले बाल-पत्रिकाहरु, विशेषत मुनामा छापिएको कविताका हरफहरु पहिलोपल्ट आफैले पढ्न जान्दाखेरि, अनि हिन्दी बालसाहित्य चम्पकमा छापिएको खरायो चीकुको कथा, चित्रकथाका संवादहरु, पहिलोपल्ट आफैले बुझ्ने गरि पढेको अनुभव याद आउँछ। घरमा अझै नि भन्नुहुन्छ, तोतेबोलीमा “मैले आफ़्फ़ै पढेको” भनेर फुर फुर उफ्रिएको कुरा, अलि अलि अझै याद छ। पढ्दा, कसैको सहायता नलिएरै पहिलो पल्ट कुरा बुझ्ने गरि पढेको त्यो साह्रै रमाईलो सम्झना हो मेरो। सायद यही पल नै पनि हुन सक्छ, मेरो र किताबको माया बसेको।
Ashmita Acharya is an internationally published poet, artist, and writer. She is the author of Beyond the Spectrum, AshAaar-E-Anjumann, Art Adventure: Visual Arts, Aquiver, Arsh: The Sky, Purr Purr Puntu, The Beginning, and several other poetry anthologies and works of creative nonfiction. She serves as editor of the literary journal Kavya Dhara, a publication of the International Nepali Literary Society. A Kathmandu-born Nepalese-American, she explores identity crises and socio-cultural intersectionality through writings in English, Nepali, and Hindi-Urdu. An intelligence analyst and humanitarian researcher by profession, she holds a degree in International Relations and Global Studies from the University of Texas at Austin, with concentrations in International Security and Asian Studies. When not reading or writing, she can be found painting, drawing, practicing calligraphy, and immersing in slow-flow yoga. She lives in Austin, Texas.
२. किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
किताब भयॊ भने, या पढेको किताब मन-मस्तिष्कमा तारो-ताजा नै छ भनेदेखिन्, एक्लै हुँदा पनि कहिल्यै एक्लो हुँदिन म। एउटा सच्चा मित्र, जसको सानिध्ध्यमा कहिल्यै पनि कंटालो लाग्दैन, बिल्कुलै झिझिर-रहित दिनहरू। जीवनमा घरिघरि आइपर्ने यस्तो घोर अराजक उदासीनताभित्र पनि पुस्तकहरु पढ्दै गर्दा कुनै किसिमको ध्यान-साधनामै विलिन भएकी हुन्छु जस्तो लाग्छ। यो त भो मेरो अन्तर्मनको अनुभव।
अब बाहिरी रुपमा भन्नुपर्दा, सांसारिक कुराहरूलाई फरक दृष्टिकोणले हेर्न सक्षम बनाएको छ पुस्तक र पढाईको बानी लागेको भएर। मिर्ज़ा ग़ालिबको एउटा छोटो शेरमा मेरो “बड़ेमान” को साहित्य अटाउँछ; ऊनी भन्छन:
“क़तरा में दजला दिखाई न दे और जुज़्व में कुल,
खेल लड़कों का हुआ दीदा-ए-बीना न हुआ”
मेरो लागि किताब, ग़ालिब को त्यही “क़तरा” नै हो जसले मलाई दजला नदी पूरै देखाउँछ; त्यही पानीको थोपा जसमा म भर-संसारको जल प्रवाह देख्न-हेर्न पाउँछु। यत्ति पनि नबुझे देखिन जीवन जिउनु र खेलांची गर्नुमा के फरक भो त, हैन? किताबले मलाई संसार बुझाइदिन्छ, र त जीवन जिउन सहज भएको छ।
राजनीति, इतिहास, समाजशास्त्र, र मानवशास्त्र लगायतका विषयहरुमा रूचि भएकै कारण, र यी विषयको अध्धयन गर्ने बानीले नै गर्दा मेरो दैनिकीलाई म गहिरिएर बुझ्न सक्छु। यहाँ अस्टिन, टेक्सासको एउटा स्थानीय घटनाको उदारहण दिन्छु ल! यहाँको इतिहास, विशेष गरी जातिवाद, र पृथकीकरणका ऐतिहासिक ऐन-कानूनबाट भूगोल र शहर-व्यवस्थापन आदिमा परेको प्रभाव म प्रष्टसँग चिन्छु। र त दैनिक आवत-जावत को साह्रै जस्तो पट्ट्यारलाग्दो नीरस क्रिया पनि मेरो लागि अन्वेषणको पाटो बनिरहन्छ। जस्तो कि, सामाजिक, जातीय, आर्थिक, यावत हिसाबले केही निकै गम्भीर समस्याहरु छन् यहाँ पनि।
जेन्त्रिफिकेसन र जेरीम्यानडरिंग जस्तो प्रक्रियाहरुको प्रभाव शहर भरि भेटिन्छन। यस्ता नीति र कार्यहरु जसले आर्थिक रुपमा कमजोर समाजको ठूलो वर्ग, स्थानीय बासिन्दालाई भौगोलिक तहबाटै विस्तारै-विस्तारै थाहै नहुने गरि विस्थापित गरेर, घचेटेर छेउमा पुर्राएको छ, अनि तथाकथित माथिल्लो वर्गले कसरी शहरका हरेक क्षेत्रलाई आफुमा केन्द्रीकरण गरेको छ र जसले अस्टिन क्षेत्रलाई पनि तथाकथित माथिल्लो र तथाकथित कम-विशेषाधिकार प्राप्त समूहमा विभाजन गरेको छ, जुन I-३५ राजमार्गको दुवै छेऊ देखिन्छ। यस्ता विषयहरूको बारेमा पढ्दा मलाई मेरो शहर बुझ्न पाउँछु। विभिन्न वर्गका व्यक्तिहरुसँग को अन्तरक्रियामा किताबी ज्ञानले गर्दा म हर संवाद, हर सम्बन्धलाई म अझै अलिक गहिराईमा बुझ्न सक्छु।
किताबकै बारेमा सानो छँदा लेखेको एउटा आफ्नै कविता याद आयो:
An Ode to the Book / Ashmita Acharya
blessed companion! you startle
profoundest thoughts, and sparkle
dark passions; you alight
pure bliss, sheer delight; you sway
my soul away from the depths of despair;
let me float in the air;
best friend, a chance pure;
how we share our silent amour;
real guide, a true friend indeed;
ever you lend me your hand in need;
you brighten valleys and dark alleys,
of my soul, my mind, and my heart;
enrich’em for the bright path;
how I beam with pleasure at your glance;
how I lose myself deep into a trance;
a boon companion whom I cherish;
an absolute treasure, to relish!!
अर्को कुरा के हो भने समाचार, बहुआयामिक विषयका पुस्तकद्वारा प्राप्त सिकाइबाट वर्तमान घटनाहरू, नेपालका समाचारहरू, अन्य दक्षिण एसियाली देशहरूका समाचारहरू, स्थानीय घटनाहरू, अमेरिकी राष्ट्रिय मुद्दाहरू बुझ्न सजिलो भएको छ मलाई। त्यसैले, एउटा अर्को सानो उदाहरण के हो भने, मैले थाहा पाउने कुनै पनि समाचारलाई म बहुआयामित दृष्टिकोणबाटै छिटो बुझ्न सक्छु। एसेमोग्लु र रोबिन्सनको राष्ट्रहरू किन असफल हुन्छन् विषयक किताबहरु पढ्ने बानीकै कारण समाचार ग्रहण गर्ने क्षमता बढेको छ। ऐतिहासिक सन्दर्भ, वा तुलनात्मक राजनीतिक सिद्धांतआदि विषयगत ज्ञानले गर्दा जस्तो सुकै खबर सुने पनि ती घटनाहरुले उक्साउँदैन, भड़काउँदैन। वस्तुनिष्ठ, बौद्धिक तरिका अपनाएर, सामान्यतया दैनिक जीवन नियाल्न अनि विभिन्न संस्कृति र फरक पृष्ठभूमिका मानिसहरुसँग व्यवहार गर्न सजिलो र सहज बनाएको छ। साँच्चै, किताबले मेरो क्षितिज फराकिलो भएको छ।
३. तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
पढ्नको लागि उत्तम समय मेरो हकमा, कि त बिहान सबेरै, या साँझ, बेलुकीको खाना खाईसकेपछि, अबेर रातिसम्म अध्ययन गर्ने, पढ्ने-लेख्ने बानी परेको छ। बिहानपख प्राय: मेरो लेख्ने समय हो, विचार, भावना, प्रस्फुटन हुने समय, कागजमा पोख्ने समय। दिनको अन्त्य भने वैचारिक खुराक लिएर मात्रै सुत्न सक्छु। केही न केही पढेर मात्रै निदाउन सक्छु। सायद, टेक्सासको मौसमको असर हुनुपर्छ, किताब केलाउने बौद्धिक औजार मध्यान्हतिर पूरै “सिएस्टा” अवस्थामा हुन्छ। दिउँसोबाहेक अरु जुनसुनकै समयमा, फुर्सद हुने बित्तिकै, या फुर्सद निकालेरै पढिन्छ।
तनको खुराक खाना, मनको खुराक पाना। ओहो! गज्जबको तुकबन्दी पो बन्यो त। तनको साथसाथै मन-मस्तिष्कको पनि हेरचाह त गर्नु पर्छ नै। वैचारिक व्यायाम गर्नलाई किताबजस्तो अरु कुनै लाभकारी “उपकरण” नै हुँदैन।
पाना पल्टाउनु मेरो लागि आफ-से-आफ स्वचालित क्रियाकलाप हो, जसको बारेमा मैले खासै कहिल्यै सोचेकै थिईन। आज अशोकले किताब खोतल्ने मौका दियौ, तिमीलाई धेरै-धेरै आभार, है त?
४. किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
गोल दुनियाभित्रको भद्रगोल दुनियादारीबीच मैले निश्चितता भेट्ने यही एउटै आयताकार पानाहरु मात्रै हुन्। किताबले मलाई अलिकति प्रेरणा दिन्छ, अझ अलि बढी करुणा दिन्छ।
रुखको उबड-खाबड बोक्रालाई पिल्साएर बेलेको एउटैमात्र त्यो आयतन, त्यो सानो एकाई, केवल किताबमात्रै न हो, केवल पाना मात्रै न हो। अनि यही एउटै पाना हो जहाँ म जुनबेला पनि निश्तिन्त रहन सक्छु। पानाहरुमा आफूलाई म सुरक्षित महसूस गर्छु। “द क्वीन’स् ग्याम्बिट”मार्फत वाल्टर त्रेविस बोलेजस्तो, बुद्धिचाल खेलका ६४ घरहरु मात्रै हुन् जुन आफ्नो नियन्त्रणमा छ। यस्तै-यस्तै हो मेरो निम्ति पनि।
सबैभन्दा नजिकको चिर-परिचित कुरा हो किताब। बाल्यकालदेखि नै देखेका-भोगेका उतार-चढावहरुले दिएको अस्थिरताबीच, किताब नै हो जसले मलाई स्थिरता दिईरहन्थ्यो। अहिले पनि दुनियाभरको त्रासदी, सन्त्रास, अत्याचार, शोषण, आदि-इत्यादि कोलाहलमा पनि अक्षरहरुले मलाई आश्रय दिन्छ। नयाँ कुरा जान्नु, सिक्नु, त छंदैछ, पुराना कुराहरु पनि सम्झाउञ्छ बेला बेला किताबहरुले। पूर्वीय सभ्यताका धार्मिक ग्रन्थहरु हुन या प्लेटो, एरिस्टोटल, जस्ता विद्वतदेखिको विचारधारा हुन, या हुन काव्य, यी सबैबाट बौद्धिक तवरमा तृप्त बनाउँछ नै।
गालिबलाई जिस्काउँछु है त एकैछिन। उनको एक हरफ
“वो हर इक बात पर कहना कि यूँ होता तो क्या होता”
भने सरह, अलिकति तोडमरोड गरेर भन्नु पर्दा, “गर किताबें न होती तो क्या होता, हैन त?”
अनि बुल्ले शाह पनि त त्यसै भन्छन,
“उन को मुख दिखलाए हैं, जिन से उस की प्रीत ।
उनको ही मिलता है वोह, जो उस के हैं मीत ।।”
अब किताब नचिने जीवन कसरी चिन्न सकिन्छ त?
सदा रहने नश्वरता र क्षणभंगुरतामा अड्किएतापनि, सृष्टिको सतत रुपान्तरणको शृंखलामा बगिरहेतापनि, स्वयम् नै सदा परिवर्तित भईरहेतापनि, पुस्तकका पानाहरुमा म स्थिरता छाम्छु, एकै छिन् भए पनि।
आफ्नो अस्तित्वले दिनदिनै जुझीरहने उपद्रो तरंग उर्लिएर आईरहंदा पनि, सृष्टिको विशाल तलाउमा “ठहराव” भेट्ने स्थान हो किताबका पानाहरु।

५. कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
लेखन मेरो हृदयको नजिक छ र पढाइ मेरो मस्तिष्कको नजिक। फूलबुट्टे लेखाईले मलाई आकर्षित गर्दैन। मलाई विचारले आकर्षित गर्छ, पात्रको सट्टा। आख्यानभन्दा पनि म नन-फिक्सन पढ्न रुचाउँछु।
अनि विधागत हिसाबबाट, मलाई मनपर्ने भनेको एउटा त काव्य भईहाल्यो, अनि अर्को चाहिँ गद्य रचना, विशेषत: निबन्ध हो। नाथानीएल हथोर्न, एफ. स्कट फिट्जगेराल्ड, जस्ता लेखकहरुको आख्यान मनपरे पनि, मलाई एकदमै मनपर्ने खण्ड चाहिँ त्यस्तै दार्शनिक, वैचारिक, आदि भरपूर भएका अनुच्छेदहरु हुन पुग्छ।
विद्वत्तापूर्ण, सोच्न बाध्य पार्ने, विचारहरू जन्माउने, जवाफ खोज्न प्रेरित गराउने, प्रश्न गर्न सिकाउने, जसले रचनात्मकता बढाओस, यस्तै-यस्तै खाले किताबहरु मनपर्छ। लेखन शैली, संरचना, शब्दरचना, नयाँ वाक्यांशहरू, नयाँ रूपकहरू, नयाँ शैली भएका पुस्तकहरु पनि विशेष पढ्न रुचाउँछु।
हिन्दी कवि द्वारिका प्रसाद माहेश्वरीको एक पंक्ति सम्झिएँ:
“जलाते चलो ये दिये स्नेह भर-भर
कभी तो धरा का अँधेरा मिटेगा।”
किताब भन्ने कुरा पनि त्यस्तै दीप हुनुपर्छ, ज्ञानको घ्युमा छपक्क भिजेको, जिज्ञासाको झिल्को टिप्न तम्तयार प्रज्ज्वलन हुन मात्रै बाँकी त्यो दियो। लेख्ने र पढ्ने काम भनेको यही दीयो बाल्ने मात्रै त हो। मेरो प्रयास पनि केवल यत्ति मात्रै हो।
६. किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
अघि भनेजस्तै, पुस्तकले मेरो क्षितिजलाई फराकिलो बनाएको छ। बहुभाषी हुन सकेको पनि ठूलो वरदानै सरह भएको छ। विश्वभरीका लेखकहरुको आ-आफ्नै मौलिक भाषा-साहित्यामा रचित पुस्तकलाई मूल भाषामै पढ्न पाउनु रमाइलो कुरा हो।
सेगन भन्छन,
“Across the millennia, an author is speaking clearly and silently inside your head, directly to you. Writing is perhaps the greatest of human inventions, binding together people who never knew each other, citizens of distant epochs. Books break the shackles of time.”- Carl Sagan (Cosmos)
कार्ल सेगनले बुझाएको किताबको महत्व थाहा पाएकी छु। कहिल्यै भेट्न नपाएका, कहिल्यै भेट्न नसकिने, आजका मात्रै होईन, हजारौँ वर्षअघि देखि हजारौं-लाखौँ व्यक्तिसँग अन्तरंग अन्तरलाप गर्न पाइन्छ। पुस्तकबाट स्पष्ट दृष्टि र प्रष्ट वाणी प्राप्त भएको छ; कम-से-कम त्यस्तो विचार विकसित हुन थालेको हो पढेर, पढ्ने बानी भएर।
७. तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
कागजको सुगन्ध, पाना पल्टाउँदाको सरसराहट, अक्षरहरुलाई मूर्त स्पर्श गर्दाको अनुभव, मनपरेको किताब बुई गरेर अँगालो हाल्दाको न्यानोपन; मेरो जीवनकै पहिलो प्रेमकथा हो कागजी किताब। अब यो अनुभूतिसँग त अरु कुनै पनि डिजिटल माध्यम तुलना नै गर्न सकिंदैन नि।
तैपनि, ई-रिडर किन्डल महत्वपूर्ण हिस्सा हो मेरो दैनिकीको। किन्डलको उपयोगिता यसरी पनि भईरहेको छ, जस्तो, पुस्तकालयमा संग्रहित पुरालेखहरु, निकै पुराना, निकै महँगा पुस्तकहरु, एकैछिनमा मेरो हातमा हुन्छ। किनेर साध्य नभएका धेरै पुस्तकहरु छन् मेरो किन्डलमा जुन पुस्तकहरु भौगोलिक-इत्यादिका कारण नत्र पढ्न पाउने थिईन। अनि यो डिजिटल किताबको आफ्नै सानो पुस्तकालय जहाँ जाँदा पनि आफुसितै बोकेर हिंड्न पाउँछु।
यो र त्यो भन्दा पनि, म ठान्छु कि बढीभन्दा बढी माध्यममा किताब हुर्किनु पर्छ। पहिलेजस्तै शिलालेखमा, ताम्रपत्रमा, आदिमा मात्रै ज्ञान संग्रह हुने हो भने संसार कस्तो संकुचित हुन्छ होला त। कागजी मात्रै होईन, डिजिटल पानाहरुमा, श्रव्यदृश्य माध्यम या केवल अडियोबुक नै पनि, यस्ता सबै थरीमा किताबले नयाँ-नयाँ रुप लिईरहनुपर्छ।
८. नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
सामान्यतया: बिना कुनै विशेष पद्धति नै पढिन्छ, तर मेरो मनपर्ने दुई विधाहरुको हकमा भने पढ्ने तरिका अलि फरक छ। कुनै विशेष प्रविधि छैन, बरु मेरो पढ्ने तरिका विधाअनुसार फरक छ।
काव्य, गजल, शेर-शायरी, आदि पढ्दा म शब्द मात्रै होईन, त्यसको लय, ताल, ध्वनि, आदि केलाउँदै, हरफहरुमा कतिको संगीतमयता छ भन्नेजस्ता कुराहरु पनि ध्यान राखेर पढ्छु। कविताजस्तो भावनात्मक अभिव्यक्तिलाई त्यसरी नै पढ्न रमाईलो लाग्छ। शब्दरचना, रस, शैली, आदि कसरी प्रयोग भएको छ भन्ने कुरा पनि हेक्का राखिरहन्छु। तर, निबन्धहरु पढ्दा भने मनमनै पढिन्छ, बिल्कुलै शान्त, बौद्धिक रुपमा ध्यानमग्न हुन्छु त्यति बेला। त्यस्तो गद्य साहित्य पढ्ने बेला म प्रत्येक शब्दहरुमा निहित प्रत्यक्ष-अप्रत्यक्ष अर्थ खोज्दै, हरेक नयाँ सिद्धांत, हरेक नयाँ विचार बुझ्दै, सानैबेला सिकेको सप्रसंग व्याख्या-विश्लेषणको तरिका अपनाउँदै पढिन्छ।
आजीवन अध्यार्थी ठान्छु आफूलाई, त्यसैले पनि पढिरहँदा मसँग जहिलेपनि एउटा नोटबुक हुन्छ, केही कलम-शिशाकलमहरु, र नानाथरी रङ्गका हाईलाईटरहरु। यी त भए मेरो विद्याभ्यासको लागि चाहिने आक्षरिक औजारहरु। ब्ल्याक-एण्ड-व्हाईट पानाहरु पढ्न थालेपछि, पढ्न सकिसक्दासम्म मैले पढ्ने किताबहरु रङ्गी-विरङ्गी हुन्छ, मेरा प्रतिक्रियाहरु, मनपरेका वाक्यांश या अनुच्छेदहरु, आदि-इत्यादिले गर्दा। “युट्युब रियाक्शन विडियो” जस्तै भन्नु पर्ला, तर मेरा टिका-टिप्पणीहरु केवल एउटा सक्रिय पाठकको नितान्त निजी प्रतिक्रियाहरु मात्रै हुन्।
९. किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
बहिरीयभन्दा पनि बढी डरलाग्दो चुनौतिहरु आफुभित्र नै छ जस्तो लाग्छ। थाहै नपाएर बोकेर हिँडेको आग्रह-पूर्वाग्रह, व्यक्तिविशेष या समुदायविशेष अवधारणाहरुले कहिलेकाँही बाधा पुर्याउँछ। जतिसुकै प्रगति-उन्नति भएको ठाने पनि हामी सबैमा अन्तर्निहित कुनै न कुनै प्रकारको पूर्वाग्रहहरू हुन्छ नै, चाहे त्यॊ कुनै सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आदि कारणले होस् या जाति, भाषा, रीतिरिवाज, परम्परा, राष्ट्रियता, आदिले फरक पर्ने विचारधाराको कारणले होस्। पुस्तकमा लेखिएका बाह्य कुराहरू भन्दा पनि धेरै जसो गाह्रो पार्ने कुराहरु अन्तर्मनको बुझाई नै हो बरु।
आंतरिकीकरण गर्नपुग्ने एउटा नचाहिने बानी छ, त्यसले गाह्रो पर्छ बेला-बेला। उदाहरणका लागि, हिँसा र शारीरिक यातनासम्बन्धित लेखनसँग म पटक्कै सहज छुईन, अझ विशेष नारीमाथि हुने अत्याचारका कुराहरु, भावनात्मक तहमा असर नपर्नेगरि पढ्न सक्ने क्षमता ममा छैन जस्तो लाग्छ। मेरो आफ्नो अनुसन्धान-पत्र लेख्दै गर्दा थाहा पाएको कुरा, कि एकै किसिमका घटना भए पनि मलाई सारा दुनियाभन्दा नेपाल र नेपालीनजिकको दु:ख असाध्यै बढी पीडादायी लाग्दोरहेछ। वस्तुनिष्ठ भएर पढ्ने कोशिस जारी छ। आन्तरिकीकरण नगरिकन निष्पक्ष पाठक हुने प्रयास गर्दैछु, अनि गाह्रो पनि यही हो। यस्ता अन्तर्मनका चुनौतीहरु नहुँदो हो त, सायद, म पुस्तक अझ नजिकिएर पढ्न सक्थें, बुझ्न सक्थें।
१०. तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
खल्ती भरिंदा खर्चिन रमाइलो भएजस्तै हो, किताबले एक थोपो मात्रै भए नि बुद्धि-विवेक भरिदिँदा गफ गर्न रमाईलो हुन्छ। भावनात्मक रुपमा निखारिदिन्छ किताबले। हरेक कुराकानी सार्थक रहन्छ। कहीं पनि मूक-दर्शक भईरहन पर्दैन। सक्रिय सहभागिताको बाटो खुलाउँछ, विचारहरू साझा गर्ने अवसरहरु दिलाउँछ। बौद्धिक रुपमा, वैचारिक रुपमा समृद्ध बनाउँछ किताबले। अनि आफुलाई पनि यस्तै खाले मान्छेहरुसँग मात्र समय व्यतित गर्न मनलाग्छ।
धेरै-भन्दा-धेरै दृष्टिकोणबाट कुनै पनि विषय-वस्तु पढिसकेपछि, कम-से-कम यति धैर्य चाहिँ हुने रहेछ कि असहमतिहरु सामान्य लाग्छ। व्यक्तिविशेष कुनै पनि रोष रहँदैन, वस्तुविशेष कुरा हुन्छ। यसो हुँदा के हुन्छ भने, विरोधाभासी सुनिएतापनि, कुनै मुद्दाविशेष केही कुरामा असहमति होला, तर असहमति जनाउने जुन मुद्दा छ त्यसमा हाम्रो सहमति हुन्छ। किताबले यति भए पनि धैर्य सिकाउँछ, यी र यस्तै क़ुराहरुले मलाई विद्वान साथीहरूसँग बौद्धिक छलफल गर्न, विचार साट्न रमाइलो लाग्छ।
११. किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
पुस्तकका पानाबाट लेखकले उद्घोषण गरेको हॊईन, बरु आह्वान गरेको हो। त्यसैले, किताबलाई हेर्ने दृष्टिकोणमा थोरै परिवर्तन गरौँ। लेखकले आफ्नो कुरा लेखिसकेपछि अब पालो पाठकको हो। अरुसँग साझा गरे पनि, आफ्नै नोटबुकमै मात्र सिमित राखे पनि, सामाजिक संजालबाट प्रतिक्रिया लेखे पनि, या मनमनै मात्रै चिन्तन गरे पनि, जस्तोसुकै तरिकाबाट भए पनि पठन सार्थक रहोस्। पृष्ठहरुमा लेखकसँग-सँगै अक्षरहरु खेल्नुहोस्, निष्क्रिय होइन बरु एउटा सक्रिय पाठक बन्नुहोस्।
सबैभन्दा पहिला त आफुलाई मनपरेको विषयको पुस्तक छनौट गर्नुहोस्। आफ्नो रुचि अस्पष्ट छ भने पनि ती अस्पष्टतालाई थोरै नियाल्यो भने आफूलाई मनपर्ने खालका किताबहरु भेटिन्छ। एउटा सजिलो तरिका दिन्छु ल!
उदाहरणका लागि, यदि तपाईंलाई खानपानमा रुचि हुनसक्छ। यदि अहिले तपाईंको पढ्ने सीमा कुनै रेसिपी पुस्तक वा फेशन पत्रिकामै मात्र अल्झिएको भए पनि, अब यही रुचिलाई एक पाईला नजिकबाट पढ्न सक्नुहुनेछ। तपाईको मनपर्ने खानेकुराको ईतिहासको किताब हुनसक्छ, मार्क कर्ल्यान्सकीको छर्केको नून (Salt: A World History by Mark Kurlansky) या टम स्ट्यान्देजको खाना बनाउने तरिकासम्बन्धी ईतिहास (An Edible History of Humanity by Tom Standage)बाट मात्रै पढ्न सुरु गर्ने हो भने पनि, त्यसपछि कति बाटाहरु खुल्छन। पढ्ने कुराको कमी छैन, पढ्न मन नलाग्ने पनि हुँदैन, बरु “के” कुरा चाहिँ मलाई मनपर्छ र “के” विषय चाहिँ साह्रै मनपर्छ भनेर पत्ता लगाउने काम त फेरि आ-आफ्नै हो।
मानौं, फेशनमा रुचि छ, अब यही रुचिलाई किताबसँग जोडिहेरौं। समाजशास्त्रीय ढंगबाट हेर्न सकियो, अझै टाढा गएर मुगलराजमा कस्तो हुन्थ्यो लवाई-खवाई, विक्टोरियनराजमा कस्तो थियो, अनि प्राचीन ग्रीस र प्राचीन रोममा कस्तो थियो, आदि भनेर सुरु गर्यौं भने पनि, फेशनको बारेमा पढ्दै जाँदा हामीले फेशनइतरका अरु धेरै विषय बुझ्न थाल्छौं जसले गर्दा हामीलाई अझै अरु किताब खोजी-खोजी पढ्न मनलाग्ने बनाउँछ।
१२. आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ?
सामाजिक संजालको जंजालोमा नअड्किनको लागि आम-संचार विषयक पुस्तकहरु निकै राम्रो हो। लेखकद्वय एडवार्ड एस हर्मन र नोअम चोम्स्कीको एउटा पुस्तक छ, (Manufacturing Consent: The Political Economy of the Mass Media) जसले देखाउँछ कसरी मिडिया देशको राजनैतिक र अर्थ-व्यवस्थाको तरफदारी गर्ने साधन बनेको छ। यस्ता किताबहरुबाट डिजिटल दुनिया किन यसरी अस्त-व्यस्त छ भन्ने पनि थाहा हुन्छ।
त्यसो त, कोरोना महामारीपछि हामी सबै खुम्चिएका छौं। मोबाईल फोनले भौगोलिक रुपमा टाढा बनाई नै राखेको थियो, आजकल “ट्वीट” भन्दा पानी छोटो भिडियोको अतिक्रमण छ। हाम्रा मनपर्दो सामाजिक सञ्जालमा हामी सबैले एक किसिमको खाता खोलेका छौं। बैंकको जस्तो खाता खोलिसकेपछि हामी कि बचत हुनु पर्ने हो, या भने चल्ती, हैन? यही आजकलको डिजिटल खाता मात्रै त्यस्तो कुरा हो, जहाँ हामी आफैंले खाता खोल्छौं, अनि चल्ती-बचत यावत् हुनु साटो हामी आ-आफ्नै लकरभित्र कोच्चिएर लुकेर बस्छौं।
मैले अघि भनेजस्तो, स्क्रिन, चाहे त्यो सेल फोन, टिभी, सिनेमा, कम्प्युटर, वा Kindle र Kobo जस्ता कुनै पनि ई-रीडरको होस्, त्यहाँ कुनै “ठहराव” छैन। हो, यो संसार व्यस्त छ, यो जीवन अस्त-व्यस्त छ; तर यो पनि सत्य हो कि, आफूलाई माया गर्न सके यो संसार मस्त पनि छ, यो जीवन मदमस्त पनि त छ।
अन्तर्मनदेखि आफूलाई माया गर्न, आफ्नो हेरचाह गर्न, आफ्नो शरीरमात्रको नभई मस्तिष्कलाई पोषण दिन, सबैभन्दा न्यानो चीज हो किताब। पढ्नुपर्छ। अरुको लागि होईन, मात्र आफ्नो लागि भएपनि पढ्नुपर्छ।
अब अर्को पटक किताब हातमा लिएर पाना पल्टाउँदै जाँदा, तपाईंहरुले आफूले किताब पढेजस्तै किताबले पनि तपाईंहरुलाई पढिरहोस्। सबैलाई शुभ-कामना!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



