
सुदूरपश्चिम: अध्यात्मिक पर्यटनको राजधानी
डा. वीपी बडाल
“घुमन्तेको जीवन नै रमाइलो, जतागयो उतै छ घमाइलो” पर्यटनको चर्चा गर्दागर्दै, प्रकृति र संस्कृतिको साथ् चुम्दा चुम्दै म घुमन्ते नै भै सके छु | हो म घुमेर नै जीवन विताइदिन्छु | घुम्न जानेलाई साथसाथै घुमाउँछु | हिमाल, पहाड, र तराईका कथा सुनाउँछु | मानवीय भावना सुन्छु | देवता र मानिसको सम्बन्ध केलाउँछु | प्रकृति र संस्कृतिमा जीवन खोज्छु | प्रकृतिमै पढ्छु, लेख्छु, खान्छु, सुत्छु अनि सपना देख्छु | त्यसैले त भन्छु पर्यटनले सबै नेपालीलाई घुमीघुमी खान पुग्छ | म घुम्छु, घुम्दै जाँदा एक ठाउँमा सिकेका कुरा अर्को ठाउँमा सिकाउंछु | दुबईको मरुभूमिलाई विश्वस्तरको बगैंचा बनाएको दृष्टान्त देखाउँछु | १९४९ तिर मौरिस हेर्जोग पोखरा आउँदाको पोखरा र आज ७६ बर्ष पछिको नेपालको पर्यटकीय राजधानी पोखराको पर्यटन विकासको इतिहास सुनाउँछु |
मैले राराको चित्र कोरेको छु | पोखरालाई चिनेको छु | जिरिलाई जुरिचसंग तुलना गरेको छु | भक्तपुर हेर्दै गर्दा थिमीको पर्यटकीय पूर्वाधारको नक्सा बनाएको छु | महालक्ष्मी, रौतामाई, हरिहरपुरगढी, गोदावरी, तथा खप्तडको पर्यटन विकास गुरुयोजना निर्माण गरेको छु | इतिहास, भूगोल, कला, साहित्य, संस्कृति, संगीत, धर्म, दर्शन, भेषभुषा, जनजीवन, समुदाय आदि सबै पग्रेल्छु | विधिलाई विज्ञानमा र ज्ञानलाई चेतनामा रुपान्तरण गराउने गर्छु | खोज्छु, पढ्छु, हेर्छु, सुंघ्छु, चाख्छु, अनुभव गर्छु – अनि बल्ल लेख्छु | फिजियोग्राफीमा एथ्नोग्राफी मेरो सोख हो |
म समाजलाई भूगोलमा लेख्छु र विश्वलाई देखाउँछु – जे जहाँ जसरी छ त्यस्तै लेख्छु, छेउकुना मिलाउँछु | इतिहासलाई वर्तमानमा जोड्छु | यहि क्यानभासको कला नै पर्यटन योजनाको आधार हो | तपाईंको जन्मभूमिमा के छ ? प्रकृति र संस्कृति के के छन् ? के के संरक्षण गर्नु पर्छ ? के के प्रवर्धन गर्नु पर्छ ? प्राकृतिक र सांस्कृतिक सम्पदाको खोज, संरक्षण, सम्वर्धन, विकास र समुदायको दीगो आर्थिक परिचालन योजना निर्माण गर्नु पर्छ | प्रकृति र संस्कृतिको सौन्दर्यीकरण, पर्यटकको पहुँच, पर्यटकको खाना, बास, सुरक्षा, र स्थानीय जनसमुदायको आय उपार्जनको व्यवस्थाको योजना निर्माण गर्छु | कति समयमा, कति रकममा, कति होटेल वा पर्यटक आवासमा कति पर्यटक भित्र्याउन सकिन्छ सबै लेखाजोखा गर्छु | सुन्दर शुदुर पुग्दा देउडा खेल्छु, कर्णालीका रनबन घुम्छु | लुम्विनी र गण्डकीमा ठाडो भाका, रोधी, अनि सालेजोमा रमाउंछु | बागमतीको काँठे दोहोरि त मधेशको लोरी कुनैमा नि कम छैन मेरो प्यारो कोशी | जन्मभूमि देवी हुन् – देवीको पुजा आराधना र शृंगार नै जन्मभूमि पुजन हो | जन्मभूमिको पुजा र शृंगार हो | आफ्नो क्षेत्रको पर्यटन विकास गुरुयोजना हो | बजेट व्यवस्थापन र स्थानीय श्रोत तथा सामुदायिक परिचालन पनि मेरो बिशेषता हो | इन्जिनियरिंग डिजाइन र वास्तु पनि हेर्छु | गाउँलाई वास्तवमै हेर्न योग्य घुम्न योग्य गाउँ बनाउँछु | सबैलाई यस्ता गाउँ हेर्न घुम्न बोलाउँछु | त्यसैले म घुम्छु | म कोर्छु म लेख्छु | मैले धेरै स्थानको शब्द चित्र कोरेको छु | कुनैको धेरै गहिराईमा पुगेर रंग रोगन गरेको छु | कुनैको स्केच मात्रै बनाएको छु | कुनैको रंग दलेर रंगी चंगी बनाएको छु | समाजमा अर्थात् गाउँघर शहरमा देखिएका ऐंजेरु गोडमेल गर्छु, काँटछाँट गर्छु – सुन्दर बनाउँछु र बजारीकरण गर्छु | आखिर ग्रामीण विकासको विद्यार्थी न परें !
सुदुर अब दुर नहि ………! यो पाली मेरो यस्तै यात्रा महाकालीको अर्थात् सुदूरपश्चिमको थियो | सेती र महाकाली अंचल मिलेर सुदूरपश्चिम नाम राखिएछ | भारतीय सिमामा हिमालदेखि तराईसम्म जोड्ने सिमा रेखा नदी नै महाकाली नदी हो | महाकाली र कर्णाली नदी विचको भूभाग नै सुदूरपश्चिम हो | देवी नै देवीले बनेको अर्थात् अनगिन्ति देविदेउरालीको मठ मन्दिर रहेको अझै भनौ भगवती महाकालीको वासस्थान नै सुदुरपश्चिम हो | सुदूरपश्चिमका विश्वविख्यात मन्दिरहरू जस्तै बडिमालिका मन्दिर, उग्रतारा मन्दिर, र त्रिपुरासुन्दरी मन्दिर केवल आस्था केन्द्र होइनन् | यिनीहरु हिमालयका शक्ति–परम्पराका “ऊर्जा नोड (energy nodes)” हुन् | सुदूरपश्चिम षोड्समातृकाको पुण्य भूमि हो | सप्तमातृका र नवदुर्गा गरि जम्मा विभिन्न प्रकारका १६ देवीको मन्दिर रहेको शाक्त भूमि हो | भगवतीको पूजा हुने स्थानमा भूमिराज (भुमे) को पनि अनिवार्य पूजा गरिन्छ | भूमिराजलाई भगवतीको भाइका रूपमा मान्ने परम्परा पनि छ | कतै मस्टो देवतालाई महादेव कै रुपमा पूजा गर्ने चलन पनि छ | मस्टो अर्थात् भूमि देवतालाई सुदूरपश्चिमका नौ वटै जिल्ला- दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा, कैलाली र कंचनपुरमा पनि पुज्ने चलन छ | त्यसैले सुदूरपश्चिम भगवती महाकालीको क्षेत्र हो | सात बहिनि र नौ बहिनि देवीको भूभाग हो |
सुदूरपश्चिममा रहेका देवी–देवताका मन्दिर मध्ये सबैभन्दा शक्तिशाली भगवतीका मन्दिर मान्छिन् | मानसखण्डमा गौरा उपसाना हुने हुँदा यो क्षेत्र भगवतीका शक्ति क्षेत्रका रुपमा रहेको मान्यता छ |
महाकाली नवदुर्गा एक पनि छिन अनेक पनि | सृष्टि, स्थिति र प्रलय ( ब्रह्मा-सरस्वती, बिष्णु- लक्ष्मी, र शिव-शक्ति)को एकल प्रतिबिम्ब भगवान शङ्करका तेजबाट मुख, अग्निका तेजबाट आँखा र आँखीभौं, इन्द्रका तेजबाट शरीर, कुवेरका तेजबाट नाककानघाँटी, चन्द्रमाका तेजबाट स्तन, पृथ्वीका तेजबाट तिघ्रा, प्रजापतिका तेजबाट दाँत, ब्रह्माका तेजबाट चरण, यमराजका तेजबाट शिरका कपाल, वरुणका तेजबाट खुट्टा, वसुहरूका तेजबाट हातका औंला, वायुका तेजबाट कान, विष्णु भगवानका तेजबाट हात, सूर्यका तेजबाट शाक्ति, र अन्य देवताहरुका तेजबाट नारी शरीर पूर्ण भएकी शक्ति स्वरुपा देवी भगवतीको उत्पत्ति भएको पौराणिक तथा धार्मिक विश्वास रहेको छ | बैतडीमा रहेका सातवटा भगवती बहिनी मध्ये जेठी निङ्लासैनी, रणसैनी (त्रिपुरासुन्दरी), पोटलासैनी, कफलासैनी, डिलासैनी, बोदलासैनी र बिजासैनी भगवती रहेका छन् | घोडाघोडी देवी कैलाली, वेदकोट देवी कंचनपुर, उग्रतारा देवी डडेल्धुरा, शैलेश्वरी देवी डोटी, बैद्यनाथ(बुढी गंगा) अछाम, बडिमालिका बाजुरा, सुरमादेवी बझांग, निंगलाशैनी (सप्तामत्रिका – सात बहिनि) बैतडी र मालिकर्जुन (अस्टमातृका – आठरानी) दार्चुला सुदूरपश्चिमका नौ जिल्लाका नवदुर्गा हुन् | साक्षात महाकाली महामाया देवी नवदुर्गा भगवती हुन् | त्यसैले महाकाली र कर्णालीका विचमा रहेका नौ जिल्ला नवदुर्गाका प्रतिक हुन् | त्यसैले महाकाली अर्थात् सुदूरपश्चिम अध्यात्मिक पर्यटनको राजधानी हो |
आफ्नै फोरव्हील गाडीमा पहिलो दिन कैलालीको घोडाघोडी र कंचनपुरको वेदकोट जान सकिन्छ | दोश्रो दिन बैतडीको निगलाशैनी र दार्चुलाको मल्लिकार्जुन, तेस्रो र चौथो दिन बझांगको सुरमा देवी र पाँचौं र छैटौं दिन बाजुराको बडिमालिका सातौँ दिन अछामको बैद्यनाथ आठौँ दिन डोटीको शैलेस्वरी डडेल्धुराको उग्रतारा जानु सजिलो हुन्छ | सुदुरपश्चिम घुम्न हिमाल क्षेत्रमा अपिसैपाल बेसक्याम्प ट्रेकिंग गर्न सकिन्छ | ब्यास क्षेत्रमा नै ऋषि बेदब्यासले वेद पुराणको सृजना गर्नुभएको थियो पनि भनिन्छ | सुदूरपश्चिम नेपाल र भारतका सिमावर्ती जिल्लाहरू केवल भौगोलिक सीमा होइनन् | यी “साझा सभ्यता क्षेत्र (Shared Civilizational Zone)” हुन् | यहाँको जीवनशैली, संस्कृति, अर्थतन्त्र र धार्मिक आस्था आपसमा यति गहिरो रूपमा जोडिएका छन् | दार्चुला र धार्चुला, चम्पावत र बैतडी, डडेल्धुरा र पिथौरागढ, कंचनपुर र उधमसिंहनगर, कैलाली र लखीमपुर खीरी बीच छोरीबेटीको सम्बन्ध छ | भाषा संस्कृतिको एकता छ |
पहाडको स्वर्ग भनेको बाजुराको बढीमालिका, अछामको रामारोशन र डोटी, अछाम, बाजुरा र बझांग जिल्लाको संगम खप्तड राष्टिय निकुन्ज हो | यी तिन भूस्वर्गको दर्शन गरे पछि सोचेको प्राप्त हुन्छ | देवी बढीमालिका शक्तिको प्रतिक हुन् भने खप्तड बाबाको विचार बिज्ञान र स्वास्थ्य बिज्ञान दुइवटा पुस्तकको ज्ञान प्राप्त भए पछि जीवन नै अर्कै हुन्छ | रामारोशन एउटा लुकेको स्वर्ग हो | त्यसैले यी तिन पवित्र स्थान दर्शन गरेर ज्ञान प्राप्त गर्न सकियो भने जीवनले सहि मार्ग लिन्छ | त्यसैले सुदूरपश्चिम अथवा महाकाली क्षेत्र एउटा सानो स्वर्ग हो | नेपालको अध्यात्मिक पर्यटनको राजधानी हो | धनगडीबाट काठमाडौँ भन्दा दिल्ली नजिक छ | भाडा पनि सस्तो छ | त्यसैले सुदूरपश्चिमले काठमाडौंको मुख ताक्नु हुँदैन | हरिद्वार, मनाली, नैनीताल, चारधाम (बद्री, केदार गंगोत्तरी, यामुनोत्तरी ), बनारस, अयोद्ध्या, गया तथा प्रयागराज जाने भक्तजनलाई अनिवार्य खप्तडको त्रिवेणी-सहस्त्रलिंग दर्शन गराउनु पर्दछ | सुदूरपश्चिमको पर्यटकीय भबिष्य उज्ज्वल छ | दुरदृष्टि भएको ससक्त नेतृत्व जरुरि छ |
धन्यवाद
जय माता बडिमालिका
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

