पर्साको ठोरी पुग्दा भिटोफको दूरबिनबाट के के देखियो ?

भिटोफ भ्रमण: ठोरी सुनाखरी मध्यवर्ती सामुदायिक होमस्टे

डा. बिपी बडाल

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरु साक्षात् महेश्वर – गुरु नै ब्रह्मा विष्णु महेश्वर हुन् | चेतनाले नै त सृष्टि स्थिति र प्रलयको ज्ञान हुन्छ | ज्ञान र विद्याले चेतना भरिदिएर अन्धकार हटाएर उज्यालो मार्ग प्रदर्शन गरिदिने व्यक्ति नै गुरु हो | ग्रामीण विकासमा ग्रामीण पर्यटनको कखरा चिनाई दिने मायाका खरा शब्दले सम्झाउने मेरा गुरु प्राध्यापक डाक्टर प्रेम शर्मा सम्झन्छु | २०७३ साल भाद्र ३१ गते मेरो पिएचडीको भाइभा थियो | त्रिविमा कक्षा पनि थियो | गुरुको आदेश पनि थियो आजै बेलुका विद्यार्थी सहित अमलटारी मध्यवर्ती होमस्टे नवलपुर र दराई होम स्टे तनहुँ जानु पर्ने | अहिले पनि गुरुको आदेश शिरोपर छ | जन्मदिन थियो, पिएचडी सकेर डाक्टर भएको दिन घर परिवार सबैसंग रमाइलो सेलिब्रेसन हुने अवस्था मैले गुरुको आदेशलाई सर्वोपरी ठानें | सम्भवत: त्यसैदिन देखि मेरो सामुदायिक होम स्टे प्रति माया बस्यो | त्यस अमलटारी सामुदायिक होम्स्टेका अध्यक्ष प्रेम संकर जी हाल होम स्टे महासंघका केन्द्रिय अध्यक्ष छन् | अमलटारीको जंगल सफारी र सांस्कृतिक कार्यक्रम वहांले नै संचालन गर्नु भएको सम्झिरहेको छु | त्यसैबर्ष हामीले पोखरा महानगरपालिका र हरिहरपुर गाउँपालिकाको पर्यटन विकास गुरुयोजना निर्माण गरेका थियौं | यस अघि नै आदरणीय दाजु माधब पौडेलको सहयोगमा महालक्ष्मी नगरपालिकाको पर्यटन विकास गुरु योजना निर्माण गरेको थिएँ | पर्यटन विकासको योजनाबद्ध अध्ययन अनुसन्धान मेरो यहींबाट सुरु भयो | एक दशकको ग्रामीण पर्यटन विकासको यात्रा अझै निरन्तर छ | यस पछि लगत्तै रसुवाको तामांग हेरिटेज ट्रेक्किंग ट्रेलमा अवस्थिति नाथुम, टिमुरे, ब्रिदिम गाउँहरुको भ्रमण गर्यौं | भिटोफ नेपालका पुर्वअध्यक्ष शिव लामिछानेजीसंग त्यहिं मेरो प्रथम चिनजान भएको थियो | त्यतिबेला भिटोफको स्मारिकामा एउटा लेख पनि लेखेको थिएँ |

भिटोफ नेपालको माया झन् झन् गाडा हुँदै गयो | बोधराज भण्डारी, गोपाल थापा, शिव लामिछाने, सकुन्तला देवकोटा जस्ता चम्किला पुर्व अध्यक्षहरुको समिपमा रहेर ककनी, प्युठान, शैलुंग, तथा गोरखाको ग्रामीण पर्यटन प्रवर्द्धन क्रियाकलापमा सहभागी हुन पाएँ | पर्यटन पाँचतारे होटेलमा भन्दा नेपालको ग्रामीण भेगमा पाईन्छ | ग्रामीण परिवेश, संस्कृति, सभ्यता अनि त्यो सुन्दर प्रकृति अमुल्य छ | अमुल्यलाई सामान्य मुल्यमा वेच्न पनि कठिन भएको छ | नेपालको अमुल्य सम्पदाको संरक्षण गर्दै पर्यटनको माध्यमबाट देश समृद्ध हुन्छ भन्ने हाम्रो विश्वास हो | के हो भिटोफ नेपाल ? नेपाल गाउँ नै गाउँले भरिएको देश हो | त्यसैले नेपाल भनेकै गाउँ नै हो | शहर नगर त कति नै छन र – भए पनि नाम मात्रैका छन | विकास भनेको कंकृटीकरण होइन | प्रकृति र संस्कृति संरक्षण र संबर्धन नै विकास हो | नेपालको कुना काप्चामा रहेको प्रकृति र संस्कृतिलाई विश्वब्यापी बनाउने र पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्रको दीगो विकास गर्ने उद्धेश्यले स्थापित संस्था हो | गाउँको उत्पादन गाउँ मै खपत गर्ने गरि गाउँगाउँमा पर्यटन फैलाउने योजना सहित गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको साधारणसभा सम्पन्न भएको थियो | अध्यक्ष पदमा हरिशरण थपलिया सर्वसम्मत निर्वाचित भएका छन् | यहि मिति २०८२ चैत्र २८ गते होटेल रामायण जी कालधारा सोह्रखुट्टेमा सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनबाट थपलियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो | जस्मा प्रथम उपाध्यक्षमा मनहरि दाहाल, द्वितीय उपाध्यक्षमा विनोद वस्ती, महासचिवमा अजिब भट्ट र सचिवमा सुरेन्द्र भट्ट निर्वाचित हुनु भएको थियो |

विसं २०५४ सालमा नेपालको ग्रामीण क्षेत्रको पर्यटन विकासका लागि स्थापना भएको भिटोफ नेपालले हालसम्म देशभरका ३२ वटा गाउँको प्रवर्द्धन गर्दै ग्रामीण पर्यटनको विकासमा महत्त्वपूर्ण योगदान पु-याएको छ | भिटोफले गाउँको अध्ययन, अनुसन्धान, पर्यटन विकास योजना निर्माण गर्दै गाउँ पर्यटन मार्ट, सगरमाथा दिवस, रोपाईँजात्रा महोत्सव, पर्यटन दिवस, क्यालेन्डर तथा पुस्तक प्रकाशन, होमस्टे, कुक, व्यवस्थापन तालिम जस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ | आगामी दिनहरुमा भिटोफले आफ्ना सदस्यहरुलाई अझै उत्साही र उनीहरुको व्यवसाय विकासमा प्रेरणा दिने तालिम तथा कार्यक्रमहरु पनि संचालन गर्नुपर्ने देखिन्छ । भिटोफ सातै प्रदेशमा पुग्नुपर्ने छ | पर्यटन व्यावसायमा १ सेकेन्डको धेरै ठुलो महत्व हुन्छ | हरेक कार्यक्रम एकदम समयमै सम्पन्न हुनुपर्छ | वेबसाईट, डकुमेन्टेसन, पब्लिकेसन्स, भिडियो, तथा फोटो जस्ता अत्याधुनिक विषयवस्तुहरुको प्रोफेसनल ब्यवस्थापन गर्नु पर्दछ | कार्यालय संचालनको लागि पनि अक्षयकोष निर्माण गर्नुपर्ने देखिन्छ | अन्तर्राष्ट्रिय संघसंस्थासंग पनि समन्वय बढाउनु पर्ने देखिन्छ | संघीय, प्रादेशिक, र स्थानीय सबै सरकारहरुको पर्यटन प्रवर्द्धनका कार्यक्रम सहकार्यमा संचालन गर्नु पर्दछ | भिटोफको भविस्य उज्ज्वल छ |

२०८३ बैसाख १६ गते बिहान ८ बजेबाट सुरु भएको हाम्रो यात्रा बल्खु, दक्षिणकाली, छैमले, इन्द्रसरोवर, देउराली, भीमफेदी, हेटौंडा, पथलैया बिरगंज हुँदै साँझ सुवर्णपुर ठोरी पुगेको थियो | वहाँहरुको सामुदायिक भवनमा गरिएको स्वागत, बेलुकीको सामुहिक खानपान भब्य थियो | असामयिक वर्षाले गर्दा सांस्कृतिक कार्यक्रम संचालन हुन सकेको थिएन | विहानको सुनाखरी जंगल सफारी यो यात्राको सबैभन्दा रमाइलो र रोचक थियो | भ्रमण टोलिमा, भिटोफ अध्यक्ष: हरिशरण थपलिया, प्रथम उपध्यक्ष: मनहरी दाहाल, द्वितीय उपध्क्ष: बिनोद वस्ति, महासचिव: अजिव भट्ट, सचिब: सुरेन्द्र भट्ट, कोशाध्यक्ष: इन्दिरा रिमाल न्यौपाने, प्रमुख सल्लाहकार: डा. आलोक प्रसाईं, सल्लाहकार: डा. भरतप्रसाद बडाल, Tourists Guide Association अध्यक्ष: स्थानेश्वर देवकोटा, रैथाने Agri Products अध्यक्ष: तिलक ढकाल, लेखक तथा भिटोफ सद्भावना दूत: अशोक सिलवाल, तारागाउं विकास समिती अधिकृत: रश्मि श्रेष्ठ तथा उमा खड्का, रैथाने कृषि लेखक कवि : शिव आचार्य, गाउँ पर्यटन प्रवर्द्धन मंचका पुर्व अध्यक्ष: शिव लामिछाने लगायत फोटो पत्रकार तथा मिडिया कर्मी : ४ जना र सहयोगी ३ जना सहित जम्मा २२ जना सहभागी भएका थियौं | हामी सबै स्थानमा स्थानीय सरोकारवालासंग पर्यटन प्रवर्द्धनको अध्य्यन अनुसन्धान र अनुभव साटासाट सम्बन्धि अन्तर्कृया पनि गरेका थियौं | हो हामी ग्रामीण पर्यटनको प्रवर्द्धनमा दत्तचित्त छौं | समर्पित छौं |

ठोरी गाउँपालिका पर्सा जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो | २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका ठोरी, निर्मलबस्ती र सुवर्णपुर गाविसहरू गाभिएका थिए | मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई प्रदेशकै पहिलो पर्यटकीय गन्तव्य घोषणा गरेको छ | भारतीय सिमानासँग जोडिएको पर्साको दुर्गम गाउँपालिका ठोरीमा घुम्न आउने पर्यटकमध्ये ५० प्रतिशतभन्दा बढी भारतीय हुने गरेको छ | चितवन माडीको अयोध्यापुरीनजिकैको ठोरीलाई राजधानीवाल वाग्मती प्रदेशको चितवन फर्कन मन छ | मिनी उपत्यका ठोरीको नुनथलो टहरेबजार छ | चितवन र पर्शा राष्ट्रिय निकुन्जमा नुन बोक्नेको लामो इतिहास छ | सिमा सुरक्षाका लागि लडेका बहादुर नेपालीको सहासीको कथा छ | राणा, तथा राजा महाराजाहरुको शिकार खेलेको इतिहास छ | बेलायती राजपरिवारको इतिहास छ | तर ठोरीलाई तीनतिरबाट सी आकार बनाएर निकुञ्जले घेरेका छन् | चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, र दक्षिणबाट भारतको वाल्मीकि टाइगर रिजर्भ | वातावरण, पर्यावरण आँखाले फाइदा पुगे पनि निकुञ्जमार्फत ठोरीजनका जीवनशैली र दैनिकी सहज बनाउन सरकार असफल छ | ठोरीको आवाज सिंहदरबार पुग्ने बाटो छैन | ठोरी र माडीको भविष्य उज्ज्वल छ यदि सरकार गम्भीरताका साथ हुलाकी राजमार्ग सम्पन्न गर्न सक्दछ भने | प्रचण्ड तथा केपी ओलीले समेत नसकेको यो मार्ग निर्माण बालेन सरकारले पनि सक्दैन कि जस्तो लाग्छ | सिंहदरबार सुन्दै सुन्दैन, सुने पनि राष्ट्रिय निकुन्जको हवाला दिन्छ, काम नै गर्दैन, हुँदैन | यो क्षेत्रका जनताको जीवनको आधार नै यो राजमार्ग हो |

बैसाख १७ गते सफारीबाट फर्के पछि १० बजे अन्तरक्रिया छलफल कार्यक्रम सुरु भएको थियो | पर्साको ठोरीमा गाउँपालिका-५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरवास, मधेश प्रदेशकै पहिलो सामुदायिक घरबासका अध्यक्ष शम्भुराम पौडेलले पाहुनाहरुलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउनु भएको थियो | सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले भने सेतो नम्बर प्लेट भएको सफारी गाडीमा शनिवार आइतवार विदाको दिन पाहुनालाई सेवा दिन मनोबैज्ञानिक रुपले अप्ठ्यारो भएको गुनासो राख्नु भएको थियो | ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्‍ठले भने ठोरी- शाब्दिक अर्थमा जंगल वा नदी आसपासको सानो खुला बसोबासयोग्य क्षेत्र लाई ठोरी भनिन्छ | यो पालिका मधेश प्रदेशको एकमात्र पहाडी वसोवास बहुमत भएको पालिका हो | केन्द्रले मधेस अनि प्रदेशले पहाड मानिदिने बिडम्बनाले पर्याप्त बजेट बिनियोजन हुन नसक्नाले पर्यटन विकासको पर्याप्त सम्भावना हुँदाहुँदै पनि यो सुवर्णपुर सुनाखरी होमस्टे छायाँमा परेको छ | यो घरबास २०७३ सालदेखि १५ घरमा सञ्चालन हुँदै आइरहेको छ | वीरगञ्ज महानगरक्षेत्रबाट करिब ३४ किलोमिटरको दूरीमा पर्ने घरबासबाट ठोरीको मनोरम दृश्यका साथै विभिन्न खालका जङ्गली जनावरको अवलोकन गर्नसमेत पाइन्छ | यहाँ बाघमोर्चा माई, बौद्ध गुम्बा, कृष्ण प्रणामी मन्दिर, सहिद स्मारक, सुनाखरी वनलगायतका आकर्षण रहेका छन् | एउटा घरबासमा दुईवटा कोठामा पाहुना बस्ने व्यवस्था छ | यस क्षेत्रमा भारतीय पर्यटकहरुको राम्रो आवतजावत हुन्छ | नवलपुर चितवनको सिमाना बाल्मिकी आश्रमदेखि चितवनको माडी हुँदै ठोरीसम्मको हुलाकी राजमार्ग चितवन राष्टिय निकुन्जले अतिक्रमण गरेको छ | यो हुलाकी राजमार्ग पुनर्निर्माण हुने वितिक्कै यो क्षेत्र नेपालकै एक नमुना क्षेत्र हुने छ | विरगंज पावरहाउस देखि नै सडकमार्गमा देखिने सजिला साइनबोर्ड तथा मार्ग निर्देश गर्ने सूचनाहरु राख्नुपर्ने देखिन्छ | उक्त छलफलपश्चात खाना खाएर हाम्रो यात्रा पुन माडीतिर सुरु भएको थियो |

जय भिटोफ, जय पर्यटन


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button