
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलमा वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी अभिमुखीकरण
वन्यजन्तुको अवैध व्यापार/सिकार नियन्त्रण तथा वातावरण संरक्षणमा प्रहरी र समुदायको भूमिका विषयक एकदिने अभिमुखीकरण कार्यक्रम काठमाडौंको कपनस्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलको सभाहलमा १५० जना प्रहरी कर्मचारीहरूको सहभागितामा सम्पन्न भयो ।
कार्यक्रममा प्राकृतिक विज्ञान संग्रहालयका प्रमुख तथा प्रमुख प्रशिक्षक डा. ईशान गौतमले वन्यजन्तुको अवैध व्यापार/सिकार नियन्त्रण तथा वातावरण संरक्षणमा प्रहरी र समुदायको भूमिकामाथि गहिराे प्रस्तुति दिनुभयाे । त्यसक्रममा उहाँले त्रिभुवन विश्वविद्यालय, प्राकृतिक विज्ञान संग्रहालय र CITES कार्यान्वयन विषयमा स्पष्ट पार्नुभयाे । उहाँले सन् १९९० देखि प्राकृतिक जीवजन्तुको क्षेत्रमा संग्रहालयले नेपालको CITES वैज्ञानिक निकायको भूमिका निर्वाह गर्दै आएको जानकारी पनि दिनुभयो ।

त्यसैगरी नेपाल पक्षीविद् संघका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण प्रसाद पौड्यालले “नेपालमा वन्यजन्तु अपराध नियन्त्रणः चराचुरुङ्गीमा केन्द्रित” विषयमा प्रस्तुति दिनुभयो। उहाँले अवैध व्यापार तथा सिकारका कारण पक्षी प्रजातिहरूमा परेको जोखिमबारे जानकारी दिँदै प्रभावकारी अनुगमन, कडा कार्यान्वयन र जनचेतनाको आवश्यकता औंल्याउनुभयो ।

वातावरण इन्जिनियर सुरज श्रेष्ठले “लचिलो संवादः अन्तरदेशीय वन्यजन्तु अपराधविरुद्ध समुदायको प्रतिक्रिया” विषयमा प्रस्तुति दिनुभयो। उहाँले स्थानीय समुदायको महत्वपूर्ण भूमिका, साथै समुदाय, कानून कार्यान्वयन गर्ने निकाय र संरक्षणसँग सम्बन्धित पक्षहरूबीचको बलियो सहकार्य आवश्यक रहेको बताउनुभयो ।

लाङटाङ सद्भावना दूत समेत रहनुभएका पत्रकार, लेखक तथा गाउँ पर्यटन दूत अशोक सिलवालले “H2O नेपाल किताब यात्रा” विषयमा प्रस्तुति दिनुभयो । याे यात्रामा उहाँका एभरेस्ट: एन अनफिनिस्ड स्टाेरी, अप्प दीपाे भव: र श्रीलंका स्मृति समेटिएका छन् । कार्यक्रममा उहाँले हिमालय र महासागरबीचको मानवीय तथा प्रकृतिको अन्तरसम्बन्धलाई उजागर गर्नुभयो । त्यसक्रममा लेखक सिलवालले आफ्ना किताबहरू नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलका प्रमुख छत्रराज जोशीमार्फत कार्यदल पुस्तकालयलाई हस्तान्तरण गर्नुभयाे ।

नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलका प्रमुख प्रहरी उपरीक्षक छत्रराज जोशीले स्रोत व्यक्तिहरूलाई धन्यवाद दिँदै यस्ता सचेतनामूलक कार्यक्रमहरूले वन्यजन्तु अपराध नियन्त्रण र जैविक विविधता संरक्षणमा प्रहरीको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
सामुदायिक सेवा फोरम तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राजु खरेलले पनि वक्ता तथा सहभागीहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाट र अधिवक्ता अमिन पाण्डेले गर्नुभएको थियो ।

अभिमुखीकरण कार्यक्रमले वन्यजन्तु अपराध नियन्त्रण तथा नेपालको जैविक विविधता संरक्षणका लागि सुरक्षा निकाय, वैज्ञानिक संस्था, संरक्षण संगठन, कानूनी क्षेत्रका विज्ञ तथा स्थानीय समुदायबीचको समन्वय र सहकार्यको महत्वलाई उजागर गरेको छ ।

कार्यक्रम नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, प्राकृतिक विज्ञान संग्रहालय, वातावरण कानून समाज नेपाल, नेपाल पक्षीविद् संघ, कपन सामुदायिक सेवा फोरम तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।



….
नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।



