आरोहणः पिके पीक पुग्दा !


राजेन्द्रमान डंगोल


त्यत्तिकै कहाँ फिँजिएका थिए र उमङ्गका पखेटा ! पिके पीककै प्रेमको करामत पो थियो त । त्यसैले त पाँचै बजे आरोहण प्रारम्भ गरेका थियौँ हामी पाँच भाइले ।

सोलुको उच्चभूमि । पिकेसितको आलिङ्गन र भूक्षितिजसितको स्पर्श । अनौठो अनुभूति गरेँ मैले यात्राको क्लाइमेक्समा पुग्दा । सुनेको तर नदेखेको डाँडो हो पिके पिक । पुरानै हो पिकेको धुकधुकी महसुस गर्ने चाहना । पुरानै हो त्यहाँसम्म पुगेर अपार आनन्द लिने सपना ।

कृष्ण सप्तमीको बिहान ।
देब्रे हातले पानीको बोत्तल समातेको छु । दाहिने हातले टेकेको छु लठ्ठी । तै तै जूनको उज्यालोले झलमल्ल थियो र हाम्रो गोरेटो । नत्र कुन हातले टर्चलाइट समाउनु मैले ! निशाचरतुल्य हाम्रो यात्रा जूनसँगै अगाडि बढिरहेको थियो ।

रोकिएको थिएन रातभरि वायुलोकमा चलेको वायु । माउन्टेन भ्यू लजको ढोकाबाट निस्कनेबित्तिकै चिसो सिरेटोले घोच्न थालेथ्यो गालामा । मूलठोका ढक्ढक्याउन आइरहने लाङटाङको हावाको झोकाको याद दिलायो मलाई । छानै उडाउलाजस्तो पो थियो त ! अब त त्यो ठाउँमा बास बस्नु नपरोस् भनेजस्तै लागेको थियो परार साल जाँदा । त्यसैले त बहत्तर सालको भुकम्पमा ढुङ्गासमेत उडे र सोत्तर भएका थिए त्यहाँका रूखहरू ।

लेखक डंगोल

डाउन ज्याकेट गुथेको छु । हातमा पञ्जा उनेको छु, शिरमा न्यानो टोपी सिउरिएको छु र पाइला नापिरहेछु उकालोमा ।

हाम्रो समूहको नेतृङ्खव गरिरहेका छन् पेमाले ।

पिके पीक बेसक्याम्पका होटलहरूमा रात बिताउने जति थिए, सबै नेपाली थिए । हामीभन्दा अघि नै थुपै्रले सुरु गरिसकेका थिए आरोहण । बाटोमा भेटिइन् लामोलामो श्वास फेर्दै गरेकी एक युवती । उचाइले प्रतिकूल प्रभाव पारेको थियो उनको श्वासप्रश्वासलाई ।

साथिहरूसँग भन्दै थिइन्– “म त एक पाइला पनि अगाडि बढाउन नसक्ने भएँ । तिमीहरू जाओ । म फर्कन्छु ।”

बिचरी ! कति खल्लो भयो उनलाई गन्तव्य नपुगी फर्कनुपर्दा । स्वास्थ्यले साथ नदिएपछि के गर्नू !

जूनले पनि स्तब्ध भएर हेरिरहेथ्यो ती युवतीलाई ।

गन्तव्य चुम्न नसकेपछि कहाँ उल्लास भरिन्छ र मान्छेको मनमा !

उक्लँदै गर्दा भेट्टायौँ अर्को समूह । जूनको उज्यालोले चिनिन्थ्यो उनीहरूको मुहारचित्र । हामी बसेकै होटलमा बसेका थिए ती । झोलाबाट भुटेको मकै निकाल्दै थिइन् एउटीले ।

हामीलाई देखेपछि भनिन्– “दाइहरू पनि लिनोस् न !”

एक मुट्ठी गमक्र्याएर बदलामा धन्यवाद दिएँ मैले । मकै त चपाइयो तर श्वास लिनु कि मकै निल्नु पो हुँदोरहेछ । उकालोले सुकाएको घाँटीले मकै निल्न नमानेपछि घुट्क्याएँ एक घुट्को पानी । गोजीको गोजीमै रहे बाँकी मकैका गेडा ।

सल्लेरीको बासिन्दा उनीहरू । हिजो सल्लेरीबाटै आइपुेका थिए, पिके कि बेसक्याम्प । झाप्रेतिरबाट आएका नेपालीहरू पनि भेटिए । कोही विद्यार्थी, कोही सरकारी कर्माचारी, कोही एनजीओमा काम गर्नेहरू । जे होस्, यात्राप्रतिको झुकाउ बढेको छ नेपालीहरूमा । पिके पीकका लागि आन्तरिक पर्यटकले धान्ने हो भने त किन चाहियो र विदेशी पर्यटक !

“नौ वर्ष भयो होटल खोलेको । पहिलेपहिले त नेपाली आउँदैनथ्यो । तीन वर्ष यता आउन थालेको छ । कोरोना आएपछि त झनै बढ्यो । अफसिजन भएन यसपाली ।”

माउन्टेन भ्यू लजका सञ्चालक टेण्डी शेर्पाले भनेको सम्झेँ मैले । सन्तोष लाग्यो मलाई उनको कुरा सुनेर ।

यात्रा भनेको निःसँग भएर एकोहोरो हिँडिरहनु मात्र होइन । नयाँनयाँ मान्छेहरूसँग परिचय गर्नु पनि हो । जीवनको संयोगमात्र होइन अकस्मात्को भेट । यो त आफैँमा एउटा रोमान्चक यात्रा हो भन्ठान्छु म । फेरि यस्तो मौका घरिघरि कहाँ आउँछ र ! उनीहरूसँगै गफिँदै उकालिएँ म । पेमा र आदर्श कुलेलम त ठोकिसकेछन् । उनीहरूलाई नै पछ्याउँदै थिए ‘अटल’जी र मभन्दा थोरैमात्र अघि थिए भण्डारीजी ।

‘अलि छिटो लम्कनुस् न !’ भनेका रहेछन् भण्डारीजीले । हावाको सुइँ–सुइँ र हुइँ–हुइँले सुनेको भए मरिजाऊँँ । पछि त उनी पनि लस्किसकेछन् ।

मुटुको चालभन्दा कम हुँदै गए मेरो खुट्टाका गमन । उकालो उक्लिरहेको थिएँ म । र, मसँगै उक्लिरहेको थियो उकालो, ढुङ्गाका खुट्किलासँगै । उकाल्दै थियो मलाई उकालोले एकपछि अर्को पाइलामा । त्यसैले त सुर्ता लिइनँ मैले । उकालोकै विशेषता हो मैले उक्लँदै गरेको उकालो ।

पहिलो थुम्को देख्दा यही होला पिके पीक भन्ठानेको थिएँ । होइन रहेछ । यति छिट्टै ४,०६५ मिटरको चुचुरो किन पो आउँथ्यो र ! फेरि उक्लिएँ, अरूले जस्तैगरी । नेपथ्यमा उभिएर स्वागत गर्दैरहेछ एकपछि अर्को थुमले ।

रोकिएको छैन हावा । मेरो ज्याकेट नै छेड्न खोज्छ । ज्याकेटको हूडलाई थुत्छ हावाले छ र झापड हान्छ मेरो घुच्चुकमा । झोँक चल्छ मलाई र बलियो गरी बाँध्छु हुडलाई । अनि त केहीसिब लाग्दैन हावाको पनि ।

सबैभन्दा पछि परेछु म हाम्रो समूहमा । गन्तव्य धेरै छैन क्यारे ! यतिबेला उकालो नै मेरो सहयात्री भएको छ । मलाई पनि के को बाल ! जीवनमा धेरै उकालो हिँडे तर उकालो यसरी कहिल्यै पनि मेरो साथी बनेको थिएन । रमाइलो अुनुभूति भइरहेको छ यतिबेला मलाई । कमाल गरेको रहेछ पिके पीकले मेरो आगमनमा उकालो बिछ्याएर ।

आ–आफ्नै गतिमा छन् क्याराभान । पाइला गन्दै छन् मभन्दा पछिपछि पनि थुप्रै पदयात्रीहरू । एउटै अनुभूति छ उनीहरूको र मेरो ।

फेरि देखियो अर्को थुम । तस्बीर खिच्न मन लाग्छ तर चिसोले हातबाट पञ्जा खोल्न मन लाग्दैन !

अब त नजिकिँदै होला पिके पीक ! सोच्दै छु; चढ्दै छु । नभन्दै थुम त आयो । त्यही पो रहेछ पिके पीक । एकछिन त्यहीँबाट हेर्छु पिके पीकलाई र फेरि पाइला उठाउँछु ।

घामको जिम्मा लगाउन खोज्दै छ जूनले मलार्ई ।

जतिजति माथि गयो, उतिउति दरिलो झापड हान्छ हावाले । सहेको छु मैले हावाको झापडलाई । सहनुबाहेकको विकल्प छैन ।

भण्डारीजी, ‘अटल’जी, आदर्श र पेमा लाइनै उभिएर आँखा जुधाइरहेका थिए दुधे हिमालका निर्निमेष आँखासित । मलाई देखेर पिके पीक विजयको शङ्खनाद गरे आदर्श ले ।

अन्ततः पाइला टेकेँ मैले पिके पीकमा । ठिक छ बजेको थियो । एक घण्टा लागेछ मलाई त्यहा पुग्न । अन्नपूर्णा हिमालको आधा उचाइ मात्र हो यो । तैपनि खुसीको सीमा रहेन ममा । सन् १९५० मा ३४ वर्षीय मौरिस हर्जोगले आठ हजार मिटर अग्लो अन्नपूर्णाको सफल आरोहण गर्दा सायद यस्तै अनुभूति गरेका थिए होलान् ।

फर्केर हेरेँ, म आएको उकालो बाटो बेसक्याम्पतर्फ ओर्लिसकेको थियो ।

ढुङ्गा थुपारेर देउराली स्थापना गरिएको छ पिकेको टुप्पोमा । रङबिरङका खादाहरू अर्पण गरिएका छन् । गितारको तारजस्तै बाँधिएका रङ्गीन लुङ्दरहरूले निकालिरहेका छन् सुमधुर ओमकार ध्वनि । लुङ्दरको रागमालामा एकाग्र भइरहँदा पछाडिबाट हावाले निरन्तर घचेटिरहेथ्यो मलाई ।

साँच्चै कलात्मक छ प्रकृतिले कुँदेको पिके पीक । साँच्चै साहित्यिक लाग्छ, शान्तीको सङ्गीत गुञ्जाउने पिके पीक । साँच्चै दर्शनीय छ धर्तीको यो अमूल्य रत्न । वर्षेनी शीतलता र कोमलताको हिउँ बर्सन्छ पिके पीकमा । त्यसैले त मोहिनी लाग्छ पिके पीक । सोच्दै थिएँ म– ‘प्रकृतिको यस्तो सुन्दर काखमा चार प्रहर बिताउन पाएको भए !’

पानी परेपछिको बिहानजस्तै लाग्थ्यो त्यो बिहान । नीलिम आकाशको छातामुनि छर्लङ्गै देखिन्थे प्राकृतिक भु–आकृति । तल छन्– मानव बस्ती च्यापेका राता पहाडहरू । माथि छन् लामजुरा र गोरुजुरे पहाड र त्योभन्दा पर उत्तरतर्फ पश्चिमदेखि पूर्वसम्मै देखिन्थे क्षितिजसँग टाँसिएका पर्वतमाला । सबै उच्च पहाड र हिमालहरूले पिके पीकलाई नै हेरिरहे झैँ लाग्थ्यो । प्रकृतिले छरेको मुस्कानमा लट्ठिएथेँ म ।

कल्पना गर्छु म– “माछापुच्छे्र भन्नुमात्रै धौलागिरि अल्को, भेट हुन लेख्या रैछ, हिजो लाथ्यो झल्को” गीत सिर्जना गर्ने बुद्धि परियार यो ठाउँमा आइपुगेको भए कस्तो गीत लेख्थे होलान् !

“उः उता परको धौलागिरि, त्यसपछि क्रमशः अन्नपूर्णा मनास्लु, गणेश हिमाल, लाङटाङ, दोर्जेलाक्पा, जुगल, यता गौरीशङ्कर, नम्बर हिमाल, दूधकुण्ड, चोयु, सगरमाथा, मेरा पिके, मकालु त्यसपछि उताको कञ्चनजङ्घा ।”

उन्मुक्त हाँसो हाँसिरहेका हिमालहरूलाई औँलाले देखाउँदै धमाधम नाम पढ्न थाले भण्डारीजी ।

सबै हिमालको नाम त कहाँ लिए र उनले ! देखिएका जति सबैको नाम पढ्ने हो भने त दिन भरि नै लाग्थ्यो ।

“आहा ! नेपालमा भएका आठ हजार मिटर माथिका सब चुचुरा देखिने ठाउँ सायद योबाहेक अन्त पनि कतै होला र ? सोध्दै थिएँ म आफैँलाई ।

मसँग परिचित हिमालहरू घुस्न आइपुगे मेरो हृदयमा ।

अझै दश मिनेट बाँकी थियो सूर्योदय हुन । बिस्तारै उज्यालिँदै थियो धर्ती । पश्चिमदेखि पूर्वसम्मका ती दृश्यहरूमा मोबाइलको क्यामरा डुलाइरहेँ मैले पटक–पटक ।

कति अग्ला पहाड ! पहाड मुन्तिर कापकापमा देखिन्छन् बाह्रै महिना नपग्लने हिउँका सेता छिर्का । त्यो भन्दा मुन्तिर छन्, सेपिला खर्कहरू । कति होलान् चितुवा र कस्तुरी डाँफे र मुनाल ती गुराँसे पहाडहरूमा । कस्तुरीको सुवासमा लठ्ठिइरहेका होलान् लेकाली चराहरू । कस्तुरीले टेकेको पाइलामै उम्रिरहेको होला यार्चागुम्बा, सेतकचिनी, निरमसी, कुटकी, वनलसुन र पाँचऔलेजस्तो बहुपयोगी वनौषधिहरू । यति धेरै जडीबुटी छन् हामीकहाँ । भएर के गर्नू ! अहिलेसम्म यार्चागुम्बाको स्वाद चाख्न पाएको होइन ! एकालाप गरेँ मैले ।

सुन्दर बस्ती र डाँडा नागेर लुक्लातर्फ बत्तिँदै थिए एकाध हवाइजहाज र हेलिकप्टर ।

“कोरोना आतङ्क नफैलिएको भए म यतिबेला इजरायली ग्रुपसित हामी कालापत्थरमा हुन्थेँ । थोरबहुत आम्दानी हुने थियो । आमाको आङमा टालो हाल्थेँ र चुहिएको छाना टाल्थेँ ।” उडिरहेको जहाज हेरेर मनको लड्ड् घ्यूसित खाए आदर्शले ।

पिके पीक ढाकिँदै गयो पदयात्रीहरूले । कल्यामल्याङ बढ्न थाल्यो मान्छेको । लगभग पचासजना थिए होलान् पिके पीकमा त्यो बिहान ।

पिकेकै अघिल्तिर पिकेकै हाराहारीमा उभिएको छ अर्को थुम्को ।

पेमाले भने– “देवीले बास गरेको छ त्यहाँ । हलेसीको बहिनी रे ।”

“हलेसीमा त महादेव छन् । महादेवकी बहिनी हुन्– असावरी देवी । असावरीले वास गरेको थुम्को हो त त्यो ?” पेमालाई सोधेँ मैले ।

अनविज्ञ थिए उनी ।

जुनसुकै देवी होस् ! पिके पीकबाटै चोखो मनले नमन गरेँ मैले ।

पेमाले भने– “प्रत्येक वर्ष साउन महिनाको दुई गते मेला लाग्छ त्यहाँ । हजारौँको सङ्यामा हिन्दु र बौद्ध धर्मालम्बीहरू आउँछन् ।”

पवित्र भूमि हो यो । भिन्न आस्थाका दुई थरी धर्मालम्बीहरूलाई भेट गराइदिन्छ यो भूमिले । त्यो दिन पनि भक्तजनहरू देविस्थानको पहाड चढिरहेका देखिन्थे ।

हेर्दा हेर्दै पूर्वी आकाशमा छायो सिन्दुर रङ । सुर्यको रक्तिम आभा पोखिँदै गयो सगरमाथा लगायतका उच्च शिखरहरूमा । कलिलो घामको न्यानो रापमा टल्किरहेथे तल गोली र भण्डारलगायतका गाउँ र गुम्बाका छनाहरू । लामजुरा डाँडाको निगरानीमा निमग्न थियो पेमाले भनेको देविस्थान डाँडो ।

प्रकृतिको अनुपम उपहार हो– सूर्याेदय । यद्यपि संसारकै दुर्लभ दृश्य हो– सगरमाथामा घामको लाली पोखिएको क्षण । यस्तो दृश्य देख्ने अवसर पाउँदैनन् सबै पृथ्वीबासीले । आफूलाई खुबै भाग्मानी महसुस गरिरहेको छु म ।

पिकेको छातीमा टाँसिएँ म । पिकेको निधारभरि टिल्पिलाइरहेका पसिनाका थोपा पुछिदिएँ मैले । पिकेकै हार्दिकताले पिकेको आकाशमा सिमलको भुवासरि उडेथ्यो मेरो तन ।

पिके पीकेमा घामको सुनौला रङ पोखिँदा मनग्य तस्बीर लियौँ हामीले ।

‘अटल’जीको कविमन, चुप रहन किन सक्थे र ! घामले लाली पोखेझैँ कविताका शब्दहरू पोखे उनले ।

‘जब जमजमाएथे मेरा कलिला कुर्कुच्चा
सिकाइन् आमाले सजीव कलाहरू–
फ-याकफुरूक गर्न गल्ली र गल्छेंडा,
स-याकसुरुक गर्न हरिया रनवन,
छप्ल्याङछुप्लुङ गर्न खोला र खोल्सी,
र, सिकाइन् आफ्नै सुसेलीले
जीवनदायी सुरिलो गीत……..’

आमाबाट सिकेको कुरा प्रकृतिलाई सुनाए उनले । उनको सिर्जना सुन्नेमा हामी त थियौँ नै । त्यहाँ भएका अरूले पनि कान थापिरहेका थिए । खोल्सा खोल्सीहरूमा छप्ल्याङछुप्लुङ गर्दै, जङ्गलको बाटो स-याकसुरुक गर्दै र गल्छेंडामा नाघेर त्यहाँ पुगेका थियौँ हामी ।

उनको कविता सुनेपछि फेरि उभिन मन लाग्यो पिकेमा पिकेजसरी ।

प्रवद्र्धन गर्न सके पिके पीकजस्ता दुरबिन डाँडाहरू हजारौँ हजार छन् नेपालमा । हाम्रो आनै मौलिक संस्कार र सँस्कृति छन् । अतिथि सत्कारमा समर्पित हातहरूको कमी छैन । ‘भिजन’, ‘मिसन’ र ‘गोल’ गर्नसक्ने सक्षम नेतृत्व भइदिए पो ! हिरारूपी पिके पीक भेट्न यति धेरै समय लाग्यो । नत्र यो ठाउँ उहिल्यै अन्नपूर्ण क्षेत्रको अस्ट्रियन क्याम्पजस्तै भइसक्नु पथ्र्यो । मनोलाप गर्दै गर्दा चिनियाँ प्राध्यापक डा. हुलेले भनेको सम्झेँ– ‘नेपाल सुनको कचौरा बोकेर भीख मागिरहेछ ।’

फर्कने बेलासम्म पनि उसैगरी फफराइरहेका थिए लुङ्दरहरू, जसरी म पिके पीक पुग्दा फफराइरहेका थिए । यस्तो लाग्थ्यो– “मलाई विदाइको हात हल्लाइरहेछ ती लुङ्दरहरूले ‘पिके पीकमा पुनरागमन प्राथर्नीय छ’ भनेर ।” मैले पनि मनमनै भनेँ– “म जरुर आउने छु, तिमी हिउँको सिरक ओढेर मस्त निदाएको बेला तिमीलाई ब्युँझाउन ।”

पिके पीकको विजय यात्रामा पनि मेरो समूहका साथीहरूको पछिपछि नै थिएँ म ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button