
प्रिय संवतलाई चिठी

कमल बयेली
खडेरीको खेतजस्तै चरचरी फुटेको भित्ता, त्यही भित्तामा बन्द पुरानो झ्याल । अब म एउटा घरको कल्पना गर्छु, नागीमा टिक्रिक्क देखिने दुईतले घर । धनरूपको घर, मन्दाक्रान्ताको घर अनि संवत् क्षत्रीको घर । प्रिय संवत्, त्यो घर कति शून्य छ है, तिम्रा शब्दहरूले नै देखाइरहेका छन् पारदर्शी पर्दाले झैं ।
धनरूप बुबा हुलाकको जागिरे । उनी टाढा सिमसारा सरुवा भएर नजाँदासम्म पुसमाघको घामजस्तै न्यानो छ दुई जनाको सम्बन्ध । दुई तीन हप्तामा बुबा घर आइराख्छन् । सरुवा भएको धेरै टाढो पनि त रहेनछ । तैपनि यही दूरीमा दाम्पत्य प्रेम न्यास्रिएको छ । बुबा घर आउँदा तिमीभन्दा बढी आमा खुसी भएको त्यसै कहाँ हो र ? तिमी भन्छौ नि, ‘बुबाआमा मिल्दाखेरि निकै रमाइलो लाग्थ्यो । नमिलेको भन्दा त मिलेकै जाति । (पृ. २६)’
एक दिन धनरूप बुबाको पछिपछि एउटी फुच्ची पनि आउँछे । तिम्रै दामली भने पनि हुने । एक कक्षा कम पढ्दै गरेको त दामली जस्तै त हो नि । तिमी ७ कक्षा, ऊ ६ कक्षा । नाम रहेछ इस्वी ।
धनरूप बुबाले ऋतुधर्म सुरु हुने बेला भएकी एउटी बालिकालाई लिएर आएका छन् । मन्दाक्रान्ता आमा कुनै प्रश्न गर्दिनन्, बरु सहजै भन्छिन्, ‘लु नानी राम्रो गरी पढ्दै गर्नू । ठूलो भएपछि हाम्रोमै बस्नुपर्छ । संवतेलाई साथी हुुन्छ ।’
पछि मात्र बुबाले इस्वीका बारेमा परिवारमा कुरा गरेका छन् । उनले गफ दिएका छन्— डेराघरकी छोरी, झ्याम्मिई, आई । आमाले कति सजिलै पत्याउन सकेकी होलिन् ? एउटी किशोरी लिएर आउने मान्छेलाई मन्दाक्रान्ताजस्ती बोल्ड महिलाले किन खोजीनीती नगरेकी होलिन् ? के कसैले जत्रै भए पनि आफ्नी छोरी डेरावालको साथमा पठाउन सक्छ र ? त्यो पनि पुरुषसँग ? अनि छायादेवीले धनरूपलाई आफ्नी बहिनी जिम्मा लाएर कसरी पठाउन सकेकी ? धनरूप कस्ता नि फेरि । कान्छी थप्ने तयारी चलिरहँदा नै हुनेवाली साली किन बोकेर हिँडेका होलान् ? फेरि तिमी इस्वीसँग कति छिटै मोहित भएछौ है । साली पर्ने भनेपछि, मामाकी छोरी भनेपछि स्वतःस्फूर्त रूपमा विपरीतलिंगी भावना आउँछ नि ! हो, त्यस्तै भएछ है तिमीलाई त । संयोग पनि कस्तो भने तिम्रो नाम संवत्, उसको नाम इस्वी अर्थात् इस्वी संवत् ।

लौ, जति छिटो तिमी र इस्वीको सम्बन्ध न्यानो बन्न थाल्यो, त्यति ने छिटो तिम्रो बुबा र आमाको सम्बन्ध चिसो हुन थालिसकेछ । परिवारको मेल उडेर गएपछि हालत कस्तो हुन्छ ? र, त तिमीले दुखेर लेख्यौ, ‘घरमा मान्छे मरेपछिको जस्तो भयानक शान्ति । शान्ति पनि कति असह्य !’
पहिलेपहिले त बुबा र आमाको रात कति सुमधुर हुन्थ्यो । आमा रिसाएझैं गर्थिन्, ‘छिः के स्सारो ! उता जानूू ।’ फेरि कतिखेर आफैं खितखित हाँस्न थाल्थिन् । तिमी सोच्थ्यौ, ‘यिनीहरू बुढाबुढी हुन् कि केटाकेटी ?’ कति प्रेमिल थिएछ है सम्बन्ध !
बुुबा तिमीलाई पढ्न लगाउँथे । उनीहरू उता छिल्लिएको आवाज निकाल्थे । तिमी रोकिन्थ्यौ । अनि बुबा कराउँथे, ‘पढ् ।’ तिमी जोरजोरले पढ्थ्यौ । बुुबा निदाउनुभयो कि भनेर तिमी ताकेता गथ्र्यौ, ‘सुन्नुभयो बुबा ?’ बुबा भन्थे, ‘सुन्दै छु ।’ ‘सुन्नुभयो बुबा ?’ ‘सुन्दै छु ।’ सुन्नुभयो बुुबा ? मौनता । ला, बुबा त निदाइसकेका पो ! अनि आमा सुस्तरी भन्थिन्, ‘भो, अब नपढ् ।’ बुबा घुरिरहँदा आमा अम्खोराको पानी पिएको सुनिन्थ्यो ।
कति उत्ताउलो सम्बन्ध ! किशोर हुँदै गरेको छोरोलाई पढ्न लाएर काममा मस्त हुने कस्ता बुबाआमा छिः ! मलाई त सरम पो लाग्यो । के छोरो निदाउँदैनथ्यो र ? के सिंगै रात थिएन र ? के एकान्त बन्ने थिएन र ? बनाउनुपर्ने थिएन र ? यो त तिमीमाथिको अन्याय पो हो त संवत् ।
सम्बन्धको न्यानो निख्रिँदै जाँदा धनरूप बुबाले दिने पाठ पनि छोटो छोटो हुँदै गयो । पहिले बत्ती निभाएपछिको बुबाआमाको केटाकेटी पारा तिमीलाई मन पर्दैनथ्यो । अहिले आएर तिम्रो मन बदलिएको छ । तिमी घरको हित सोच्छौ, ‘बरु मिलेकै भए जाति हुने थियो । बरु मै पढिदिन्थें लामालामा पाठ (पृ. ५४) ।’ बुढाबुढीले जस्तै पाकेको कुरा गर्छौ है तिमी । परिस्थितिको रापले कति छिटै पकाइसकेछ तिमीलाई !
अब त बुबा घर आउँदा अशान्ति झन् घना हुँदै गयो । उनको मन मन्दाक्रान्तबाट उडेर गइसकेको छ । त्यसैले उनीहरूको घर मात्र होइन, ओछ्यान पनि चिसिँदै गएको छ । आमाको आक्रोश हुन्छ, ‘अन्तै घाँस माडेर आयौ होला, किन यता मन फर्किन्थ्यो त लबस्तराको ?’ स्वास्नीको कर र लोग्नेको टारटुर चलिरहन्छ । उनीहरूबिच नोकझोक चलिरहन्छ । आमा हार्न विवश हुन्छिन् । आमाको यौनको आवेग पनि सुन्यौ है संवत् ? तिम्रो मन कति विचलित भयो होला है ।
मनमा प्रश्न उठ्यो— मन्दाक्रान्त आमा यति धेरै कामले ग्रसित थिइन् ? उनी नवदुलही त होइनन् । छोरा पनि किशोर हुँदै छ । यतिका वर्षपछि पनि उनी कामको वशमा परेको देख्दा चकित पर्छु । त्यसो भए पहिलो सन्तान गर्भमा छँदै विधवा हुन विवश आमाहरूले कसरी जुनी काट्छन् होलान् ? छोराछोरीलाई दुःख हुन्छ भनेर राँडै बस्ने बाउहरूले कसरी जुनी काट्छन् होला ?

आमाबुबाको सम्बन्धमा तिक्तता बढ्दै गएपछि तिम्रो किशोर भावना भत्किएको छ । तिमीलाई बुबा आमा बोले पनि डर लाग्छ, उनीहरू चुपै बसे पनि डर लाग्छ । तिमी दुःखको सीत्कार छाड्छौ, ‘आमालाई आज बुबा मन परेको थिएन । बुबालाई आमा मन परेको थिएन । उहाँहरूलाई एकअर्को मन नपरेको मलाई मन परेको थिएन । मन परेन भने मन पर्छ । मन म¥यो भने माया मर्छ । माया मरेको घर चिसो हुन्छ । चिसो त चिहानघारी पो हुन्छ ।’ हो त, बुबाआमाबिच कलह हुने घर चिहान जस्तै त हुन्छ । मुर्दाशान्ति !
आमाबुबाको नमिलेको घर के घर ! तिम्रो मन बोल्न थालेको छ । तिमी आफ्नो भावना सुनिदिने, बुझिदिने कोही होस् भन्ने कामना गर्न थालेका छौ । कोही छ नि ! कोही अर्थात् इस्वी । तिमी उनै इस्वीलाई चिठी लेख्छौ र दिग्दारी पोख्छौ ।
चिठीमा तिमीले इस्वीसँग कल्पना ग-यौ— एकअर्काको बनेर छुट्टै कतै गएर बस्ने । तिमी कल्पनामै इस्वीसँग संकल्प पनि गरिहाल्छौ, ‘तिमीलाई म कहिल्यै पनि दुःख दिन्नँ । झगडा गर्दिनँ । तिम्रो चित्त दुखाउने कुरा कहिल्यै गर्दिनँ । म मेरा बाजस्तो अविश्वासी हुँदिनँ । म मेरा बा, आमा जस्तो बन्दिनँ (पृृ. ७६) ।’
संवत्, तिम्रो भावनाले हरेक पितालाई झङ्कृत पार्छ, हरेक आमालाई र छोराछोरीलाई झङ्कृत पार्छ ।
‘माया नभएका बेला पनि समझदारी होस् । समझदारी नभएका बेला पनि आपसमा सम्मान होस् । अनि पो जीवन फुल्छ, फल्छ । माया नै नभए समझ सम्मान केही नहुँदो रहेछ ।’ तिमी कति ठूलो सोच्छौ है संवत् । मान्छेलाई उमेरभन्दा ठूलो बनाइदिने रहेछ है समय र परिस्थितिले ।
बुबा सिमसाराबाट घर फर्कने समय लामिँदै जान्छ ।
सम्बन्धमा तुसारो होइन, हिउँ नै पर्न थालिसकेको छ । बुबा घर आएको एक दिन भात खानेबेला ठोकाबाजी पर्छ । बुबा खाँदाखाँदैको भात छाडेर उठ्छन् । आमा धनुषको ताँदो तान्छिन् र प्रहार गर्छिन्, ‘अन्तै अघाएर आको होला । किन खाओस् त ।’ लोग्ने अरूसँग लागेकोमा आगो हुनु स्वाभाविक छ, तर शारीरको प्यासमा एउटी महिला, १३ वर्षे छोराकी एउटी आमा छटपटिएको चाहिँ अलि स्वाभाविक लागेन मलाई त । अलि उल्टो परेजस्तो पनि लाग्यो, कस्तो भने स्त्री आगो पुरुष घिउ हुनुपर्नेमा त्यसको उल्टो ।
आमा र बुबाको सम्बन्ध अब भनाभनबाट सप्रिएर हानाहानमा पुगिसकेको छ । एक दिन तिमी स्कुलबाट घर फर्किँदा कस्तो है सवत् दृश्य त । आमाले बुबालाई झन्डै भाला हानेकी । बुबाले आमालाई भकुर्नुसम्म भकुरेको । हेर्न नसकरे बुबालाई तिमीले नै झट्टी छोड्न परेको । यही दिन देख्न जन्मेको रहेछु भन्ने लाग्यो होला है तिमीलाई । धन्न इस्वी थिई र उसलाई सम्झिएर, मनमनै उसँग बोलेर सम्हालिन सक्यौ । जो अगुवा उही बाटो हगुवा भइदिएपछि कसको के लाग्यो र !
बल्ल थाहा भयो, आमा मन्दाक्रान्ता धनरूप बुुबाभन्दा ६ वर्ष जेठी रहिछन् । धनरूप त्यही ६ वर्षसँग असन्तुष्ट देखिन्छन् । बुबाको बहाना मात्रै के ! खै, हाम्रो नजिकमा पनि ठ्याक्कै छ वर्ष जेठी जहान भएका लाहुरे थिए । उनको परिवारमा कहिल्यै मारमुङ्ग्री परेको थाहा भएन । पछि बुबाको (अ)प्रेमकथामा आएको छ नि विवाहबारे । बुझिन्छ, त्यो उमेरै नपुगी भएको अर्थात् अनिच्छाको विवाह थियो । त्यसैले सम्बन्ध तातिन सकेन । यो पनि बहाना नै हो के वास्तवमा । मेरा आफन्तले पहिले पारिवारिक आवश्यकताले विवाह गरे । पछि अर्की ल्याए । सौता हाल्नु ठिक होइन नि भन्दा उनी आफ्नो बचाउ गर्थे, ‘त्यो परिवारको करले, यो आफ्नै रहरले ।’ भयो के त ? रहरको विवाह पनि उस्तै कहरमय भयो । रडाको, भाँडभैलो अनि के के ।
हुँदाहुँदा धनरूप बुबा दशैंमा पनि सिमसाराबाट घर आउँदैनन् । तिमी कति दुःखी हुन्छौ र मन बोलाउँछौ, ‘बरु केही नबोकी यत्तिकै सुमुसुमु हात हल्लाउँदै आउनुभएको भए पनि हुन्थ्यो नि (पृ. ११२) ।’ एउटा खाँबो, अझ मूल खाँबो नै बाङ्गिएपछि पछि त्यो ओत के ओत ! त्यो घर के घर !
बुबाआमाको सम्बन्ध बिग्रियो । समग्रमा घर बिग्रियो । कक्षा १० मा तिम्रो पढाइ बिग्रियो । तिमी त झन् मापसे पो बन्न थाल्यौ । धन्न तिमीले रक्सी खायौ, रक्सीलाई खान दिएनौ । तिमीलाई बधाई भन्नुपर्छ संवत् । लागुपदार्थको लतमा पर्नबाट बच्नु भनेको यसै पनि ठूलो विजय हो । अझ तिमी गलत संगतमा परेनछौ । यस्तो बेलामा संगतको भेलले जता पनि पु¥याउन सक्थ्यो ।
तिमी एक दिन सिमसारा जान्छौ, कान्छी आमालाई भेट्न । उहाँ पुग्दा बुबा घरमा हुँदैनन् । तिम्रो उमेर १६, कान्छी आमाको उमेर २१ । तिमी त कान्छी आमाको रूप र यौवन देखेरै मोहित भइदिन्छौ । तिमी कसरी बहकियौ हँ संवत् ? तिमीले इस्वीसँग केके संकल्प गरेका थियौ ? तिमीमा त उसैको चाह पो हुनुपर्ने । तिमी त खैरिनीघाटको भक्तवीरेजस्तो पो भयौ, जो १० वर्षपछि मुगलानबाट आफ्नो गाउँ कोथपे फर्केको छ । ऊ मिजार बाको एउटै छोरो । छोरो परदेशमै बेपत्ता भएपछि यहीबिचमा उसको बाउले तरुनी कान्छी ल्याइसकेको छ सन्तानका लागि, सम्पत्ति खुवाउनकै लागि । कान्छी आमा उसका लागि जाँड मथ्दै हुन्छिन् । ऊ कान्छीआमाको मादक यौवनमा लट्ठ परेको छ ।
ए, बल्ल थाहा भयो— सिमसारामा इश्वीलाई त कान्छी आमाले आफैसँग ल्याएर राखेकी पो रहिछन् । हुर्कँदै गरेकी बहिनीलाई यसरी घरमा ल्याएर राख्नु त अजिंगरलाई आहाराजस्तो पो हुन्छ । चाउचाउ पकाउन पर्दैन, साली फकाउन पर्दैन रे ! अनि भर्खरै तीस नाघेका धनरूप बुबाले फकाइरहलान् ?
तिमी सिमसारा पुग्दा घरमा कान्छीआमा मात्र हुन्छिन् । बुबा त मेला गएका हुन्छन् । भोलिपल्ट मेलाबाट फर्किँदा इस्वी पनि सँगसँगै हुन्छे । किशोरी हुँदै गरेकी सालीलाई जता पनि सँगसँगै लिएर हिँडेको कति सुहायो कुन्नि ? धनरूप घर जान्छन् सँगै, मेला जान्छन् सँगै । यता मन्दाक्रान्ता आमाले पनि चासो नराख्ने, उता कान्छी आमा छायादेवीले पनि मतलब नगर्ने । कति ठूलो बेवास्ता हँ ? तिमीले चाहिँ किन भनेर थोरै शंका गरेका पनि रहेछौ । ‘अनि यो हरदम बुबासँग हुन्छे किन ? बुुबा हाम्रो घरमा आउँदा ऊ बुबासँगै फर्किएकी थिई । आज बुबा मेलाबाट आउँदा ऊ बुबासँगै छे (पृ..२११) ।’ तिमीले ठिक सोच्यौ ।
ख्यालख्यालमै कान्छी सालीमा दिल बस्ने संस्कृति हो हाम्रो । बुबाले पनि सालीलाई कान्छी नै भन्दा रहेछन् । निकोचाल लागेन है मलाई त । सालीहरू खतरामा हुन्छन् भन्ने त हान काङको भेजिटेरियन पढ्दा राम्रैसँग थाहा हुन्छ । अन्यत्र के छ कुन्नि, कोरियामा पनि हाम्रोमा जस्तै रहेछ भन्नुपर्यो ।
ऊ कान्छी आमाकी बहिनी भन्ने थाहा पाएपछि तिमीलाई अर्को पीडा थपियो । जसलाई प्रिय ठानेको, ऊ अब नाताले सानीमा परी । कोही छ भन्ने मीठो भ्रम पनि भंग भयो । अब तिमीले कहाँ टेक्ने ? कहाँ समाउने ? कहाँ अडिने ? इस्वीको ठाउँमा अरू कोही भइदिएकी भए कम्तीमा तिमीले देखेको सपना पूरा त हुने थियो । बरु झन्डैझन्डै टुट्न लागेको बिन्दुमा पुगेर त्यो सम्बन्ध अन्तिममा जोडिन पुगेको भए तिम्रो सपनाको सानो घर स्थापित हुने थियो । पढेर म पनि खुसी हुने थिएँ । पाठकहरू पनि रमाउने थिए ।
धनरूप बुबाले गरेको बहुविवाहको विषयमा समाज बस्यो । मन्दाक्रान्ता आमाले सौताको कोखमा हुर्कँदै गरेको गर्भको नाममा खतमाफी दिएर महानता देखाइन् । यो कदम कति व्यवहारिक थियो भन्ने प्रश्न उठ्छ नै । यसले कम्तीमा एउटा ठूलो संकटचाहिँ टा¥यो । नत्र मुद्दामामिला, जनकारबाही के के कथा बन्ने थिए । आमा अदालत, तत्कालीन जनअदालत सबैतिर धाइसकेकै थिइन् । संवत्, तिमीचाहिँ के भइदिए आमालाई न्याय हुन्थ्यो भन्ने ठान्छौ ?
संवत्, तिमी त दुईटी आमा पाएर पनि, बाउ जिउँदै हुँदाहुँदै पनि टुहुरो जस्तो भयौ । साँढासाँढीहरूको जुधाइमा मिचिने तिमी त बाछो पो भयौ है । आमाले तिमीलाई घर लिएर आउँदा कान्छी आमा बुबालाई घरबाट लिएर सिमसारा गइरहेकी थिइन् । उता नयाँ घर बसाउन लाग्दा, यताको नयाँ घर झन्झन् जीर्ण हुने डर थियो । तिमीले आफूलाई अभागी भन्यौ । तिम्रो हृदय अघिभन्दा बढ्तै दुखेर आयो । कठैबरा !
बुबा र आमा भँगालो फाटेर औपचारिक रूपमै यता र उता भइहाले । त्यसपछि तिमी रोयौ र रुँदारुँदै संकल्प ग-यौ, ‘म योभन्दा बढ्दा अचाहिँदा चिजहरूलाई आफ्नो बाँकी जीवनमा घुस्न दिन्नँ ।’ तिम्रो साहसलाई सलाम !
संवत् ! संसारमा तिमी मात्र यस्ता सन्तान होइनौ, जो आमाबुबाको जाँतोमा पिसिएका छौ । तिमीसँगै लामबद्ध उभिन्छन्, बुबाआमाको चोटका खत बोकेर हिँड्न विवश सन्तानहरू । युट्युबहरू हेर त, युवा दम्पतीको झैझगडा, दूधे सन्तान तानातान । कत्रो बिचल्ली रोइरहन्छ सञ्जालमा । तिमीले उपन्यासहरू पढ्यौ भने ‘गुलाबी उमेर’मा ऋतुको द्वन्द्व आमासँग, ‘इजोरिया’मा सिम्रिकको द्वन्द्व बुबाआमा दुवैसँग देख्छौ । ‘निर्बन्ध’ उपन्यासकी म पात्र त्यस्तै पीडित पात्र हो । अझ क्लासिक उपन्यासतिर फर्कन्छौ भने ‘तीन घुम्ती’की बालिका रमाले ऊ पोरोके भएकै कारण बुबाबाट कति अपमान भोगेकी छ । ‘मुलुकबाहिर’की बालिका रूपाको भावना त्यसरी नै टुटेको छ । ‘सुम्निमा’मा सोमदत्त र पुलोमाको चरम मुटावको बिचोबिच हुर्किएको पुत्र छ । ‘द डायरी अफ अ योङ्ग गर्ल’की एन फ्राङ्क र पिटरले पनि पारिवारिक द्वन्द्वका असर भोगेकै छन् ।
संवत् ! तिमीले कलिलै उमेरमा घरभित्रै बाउन्न घुस्सा, त्रिपन्न ठक्कर खायौ । अब त तिमी अर्धबैँसे भइसक्यौ होला । छोराछोरी पनि भइसके होलान् । तिमीले आफूलाई अभागी भन्यौ तर तिम्रा छोराछोरी भाग्यमानी हुन् । भाग्यमानी यस मानेमा, किनभने तिमीले एक बुबा कस्तो हुनुहुँदैन भन्ने पाठ घरमै पढिसकेका थियौ । तिमी त मेरा पनि गुरु भयौ । अब तिम्रो कथा हरेक परिवारले पढ्नुपर्छ । अबउसो कोही पनि बुबाआमाले छोराछोरीलाई सकस पर्ने गरी व्यवहार नगरुन् । अबउसो कोही पनि छोराछोरीले बुबाआमाको दुश्मनी देख्न नपरोस् ।
महाभारा त तिम्रो वरपरकै ठाउँ हो । एउटा कुरा सोध्न मन लाग्यो— डुक्पा र सुक्मती के गर्दैछन् होला ? सुक्मतीलाई फेरि अलपत्र पा-यो कि भन्ने पीर छ मलाई त । ‘ओक्के छ त’ भन्ने सुन्न पाए मनमा शान्ति हुने थियो । यसो खबर पठाउनू है । आजलाई कलम यहीँ बिसाएँ ल !
….
नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।



