
शालीन व्यक्तित्व, सबल नेतृत्व
राजेन्द्रमान डङ्गोल
प्रकृतिले आफ्ना सम्पूर्ण दिव्य रङ पोखेर बनाएको एउटा अद्वितीय क्यान्भास हो— नेपाल । उत्तरमा चाँदीझैँ टल्कने हिमश्रृङ्खला, मध्यभागमा हरियालीले ढाकिएका महाभारत पहाडका डाँडाकाँडा, दक्षिणमा उर्वर तराईका मैदान र यिनै भूगोलभित्र सुगन्धित बनेका हजारौँ वर्ष पुराना सांस्कृतिक तथा ऐतिहासिक धरोहरहरू नेपालका शाश्वत पहिचान हुन् । यद्यपि एक्काइसौँ शताब्दीको आधुनिक विश्वमा प्रकृति र इतिहासको गौरव गाथा गाएर मात्र पर्यटन क्षेत्रको विकास सम्भव छैन ।
आजको पर्यटनलाई आधुनिक दृष्टिकोण, प्रविधिमैत्री व्यवस्थापन, वैज्ञानिक रणनीति र नवीन सोचको उज्यालोले थप तिखार्नु र निखार्नु अनिवार्य भइसकेको छ । नेपाली पर्यटनलाई परम्परागत ढङ्गको साघुरो घेराबाट बाहिर निकालेर विश्वव्यापी प्रतिस्पर्धी बजारमा एउटा नयाँ र उँचो उचाइमा पु-याउनु आजको युगिन आवश्यकता हो ।सम्भावनाको यही उर्वर तर चुनौतीपूर्ण धरातलमा उभिएर नीतिगत स्पष्टता, संस्थागत सुधार, डिजिटल रूपान्तरण र नवप्रवर्तनको प्रकास छर्दै नेपाली पर्यटनमा सकारात्मक रूपान्तरणको नेतृत्व गरिरहेको एउटा परिपक्व, ओजस्वी, शालिन र भरोसायोग्य नाम हो— युविका भण्डारी ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को वर्तमान महासचिवका रूपमा कार्यरत युविका नेपाली पर्यटन उद्योगकी एक स्थापित, निष्ठावान्, गतिशील र अत्यन्तै प्रभावकारी नक्षत्र हुन् । विगत दुई दशकदेखि यस क्षेत्रमा निरन्तर साधना र सङ्घर्र्ष गर्दै आफ्नो बौद्धिकता, समर्पण र उच्च कार्यकुशलताको बास्ना फैलाएकी भण्डारीले निजी व्यवसायको विकाससँगै समग्र देशको पर्यटन नीति निर्माण, अन्तर्राष्ट्रिय बजारीकरण र संस्थागत सुदृढीकरणमा समेत गहिरो र अमिट छाप छाड्न सफल भएकी छन् ।
सबैसँग सहजै घुलमिल हुन सक्ने सौहार्दपूर्ण व्यवहार, मृदुभाषी स्वभाव र सुसंस्कृत मानवीय शैलीकी धनी युविका समग्र पर्यटन जगत्की प्रिय पात्र हुन् । ‘विनम्रता र शालीनता कुनै कमजोर अवस्था होइनन्, यी त सबल र परिपक्व व्यक्तित्वका सबैभन्दा सुन्दर आभूषण हुन्’ भन्ने शुक्तिमय भावना उनको व्यक्तिगत आचरण, दैनिकी र जीवनशैलीमा प्रस्ट झल्किन्छ । उनी आफ्ना सेवाग्राही, व्यावसायिक सहकर्मी, कर्मचारी र अग्रजहरूसँग व्यावसायिक नातामात्र राख्दिनन्, बरु हृदयदेखिको आत्मीय र दीर्घकालीन सम्बन्ध गाँस्न रुचाउँछिन् ।
संयुक्त राष्ट्र सङ्घका पूर्वमहासचिव बान की–मूनले पर्यटनको व्यापकतालाई प्रष्ट पार्दै एक प्रसङ्गमा भनेका थिए— “पर्यटन केवल एउटा उद्योग वा भूगोलको यात्रा होइन, यो मानिसहरू, विचारहरू र संस्कृतिहरूलाई आपसमा जोड्ने सबैभन्दा सुन्दर मानवीय पुल हो ।
त्यसै गरी विश्वविख्यात नागरिक अधिकारकर्मी मार्टिन लुथर किङ जुनियरको एउटा अमर कथन छ— “जीवनको सबैभन्दा निरन्तर र महत्वपूर्ण प्रश्न यो हो— तपाईं अरूका लागि के गर्दै हुनुहुन्छ ?”

युविकाको व्यावसायिक निष्ठा, संस्थागत समर्पण, सामाजिक उत्तरदायित्व र आत्मीय कार्यशैलीलाई नजिकबाट नियाल्दा यी दुवै महान् भनाइ उनको दैनिकी र पर्यटनप्रतिको अगाध प्रेममा पूर्ण रूपमा चरितार्थ भएको पाइन्छ । उनी आफू मात्र अगाडि बढ्ने सोच नराखी सिङ्गो पर्यटन क्षेत्रलाई कसरी अगाडि बढाउने र यसबाट समाज तथा देशले कसरी लाभ लिने भन्ने चिन्तनमा सधैँ मग्न रहन्छिन् ।
सफलताको शिखर वा व्यक्तित्वको उचाइ रातारात हासिल हुने विषय होइन । त्यसका पछाडि वर्षौंको मौन साधना, धैर्य, त्याग र सिकाइको अविराम यात्रा लुकेको हुन्छ । युविका भण्डारीको पर्यटन यात्रा पनि धरातलकै धुलो र माटो स्पर्श गर्दै, जगदेखि नै सुरु भएको थियो । वि. सं. २०३८ समालमा जन्मेकी उनले ‘शशीज होलिडेज’ बाट पर्यटन व्यवसायको व्यावहारिक जगमा पहिलो पाइला राखेकी हुन् । सुरुवाती दिनहरूमा पर्यटन उद्योगका सूक्ष्म आयामहरूलाई नजिकबाट स्पर्श गर्ने मौका पाएकी युविकाले सेवाग्राहीको चाहना, पर्यटकीय सेवाको गुणस्तर, अन्तर्राष्ट्रिय बजारीकरणका चुनौती र ट्राभल एजेन्सीहरूको आन्तरिक व्यवस्थापनलाई गहिराइबाट अध्ययन गरिन् । ‘शशीज होलिडेज’ को त्यही शुरुआती अनुभव र सिकाइ नै उनका लागि व्यावसायिक सफलताको दरिलो आधारशिला बन्यो ।
दुई दशकअघि अङ्कुरित भएको उनको व्यावसायिक निष्ठाको यात्रा आजका दिनमा आइपुग्दा फूलमा मात्र सीमित नभई, एक सशक्त, परिपक्व र स्थापित उद्यमीका रूपमा फलदायी वटवृक्ष बनिसकेको छ । यस अवधिमा उनले उतारचढावपूर्ण नेपाली पर्यटनका अनेकौँ मौसमी चक्रहरू नजिकबाट भोगेकी छन् । चाहे त्यो विनाशकारी भूकम्पपछिको पर्यटकीय सङ्कट होस्, कोभिड–१९ महासङ्कटले सिर्जित लामो स्तब्धता र शून्यता होस् वा त्यसपछिको पुनरुत्थानको घामछाया— युविकाले हरेक प्रतिकूलता, चुनौती र आँधीबेहरीलाई धैर्यता, संयम र रणनीतिक सोचका साथ अवसरमा बदल्ने उच्च सामथ्र्य देखाएकी छन् ।
युविका भण्डारी अनुभवको बैसाखीमा मात्र अगाडि बढेकी परम्परागत व्यवसायी होइनन्; उनको सफलताको जगमा प्राज्ञिक र व्यावसायिक शिक्षाको बलियो स्तम्भ रहेको छ । व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनीसँग आधुनिक व्यापार सिद्धान्त, वित्तीय व्यवस्थापन, मानव संसाधन विकास र रणनीतिक योजनाको उच्च ज्ञान छ ।
उनको यही प्राज्ञिक पृष्ठभूमिले गर्दा उनले पर्यटन व्यवसायलाई केवल परम्परागत खरीद–बिक्रीको रूपमा मात्र नहेरी, वैज्ञानिक, आधुनिक प्रविधि अनुकूल र परिणाममुखी तरिकाले सञ्चालन गर्ने फराकिलो दृष्टि प्राप्त गरेकी छन् । अन्तर्राष्ट्रिय बजारमा नेपालको बजारीकरण, डिजिटल प्रविधिको नवप्रवर्धनात्मक प्रयोग र नाट्टा जस्तो प्रतिष्ठित छाता संस्थाको प्रशासनिक तथा रणनीतिक कामहरूलाई कुशलतापूर्वक सम्हाल्न उनको उच्च शिक्षा र प्राज्ञिक बौद्धिकताले निर्णायक भूमिका खेलेको छ ।
नेपालको पर्यटन क्षेत्रकै सबैभन्दा पुरानो, ठूलो र प्रतिष्ठित छाता सङ्गठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को महासचिव जस्तो गरिमामय जिम्मेवारी सम्हाल्नु आफैँमा चुनौतीपूर्ण दायित्व थियो । यद्यपि युविका भण्डारीले यस दायित्वलाई अत्यन्तै कुशलतापूर्वक, पारदर्शी, समावेशी र परिणाममुखी ढङ्गले निर्वाह गर्दै नाट्टाको गौरवशाली इतिहासमा एउटा अनुकरणीय र स्वर्णिम अध्याय थपेकी छन् । उनले कार्यभार सम्हालेको पहिलो दिनदेखि नै संस्थाको गरिमालाई उच्च राख्न निरन्तर अहोरात्र खटेर काम गरिरहेकी छन् ।
महासचिवको जिम्मेवारी सम्हाल्दै गर्दा उनले नाट्टा सचिवालयलाई आधुनिक, प्रविधिमैत्री र पारदर्शी बनाउँदै आन्तरिक तालिम र कार्यशालाहरू मार्फत युवा जनशक्तिको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याइन् । यसका साथै, व्यवसायीका हकहित र समस्या समाधानका लागि सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डसमक्ष नीतिगत सुधारका लागि निरन्तर दर्बिलो र तर्कपूर्ण आवाज उठाइन् । अन्तर्राष्ट्रिय ट्राभल मार्टहरूमा नेपालको प्रभावकारी उपस्थिति गराउँदै वैदेशिक बजार प्रवर्धनमा उनले अग्रणी र नेतृत्वदायी भूमिका खेलिन् ।
एकातिर संस्थागत सुदृढीकरण गर्दै अर्कोतिर नीतिगत तहमा खेलेको यही प्रभावकारी भूमिकाकै बलमा उनको कार्यकालमा नाट्टाले एउटा व्यावसायिक सङ्गठनका रूपमा मात्र नभई, सरकारको एउटा भरपर्दो, विज्ञ र सशक्त नीतिगत साझेदारका रूपमा समेत आफ्नो उचाइ र गरिमालाई थप मजबुत बनाएको यथार्थ छर्लङ्ग छ ।
पर्यटन क्षेत्रको धरातलमा लामो कालखण्ड पार गरेकी युविका भण्डारीसँग नेपालको समग्र पर्यटन क्षेत्रको गहिरो, सूक्ष्म र व्यावहारिक बुझाइ छ । नेपालमा पर्यटकीय सम्भावनाका भण्डारहरू कति छन्, कुन–कुन क्षेत्रमा पूर्वाधारको कमी छ, हवाई भाडा र उड्डयन सुरक्षाका चुनौतीहरू के–के हुन् र नेपाललाई ‘अल सिजन डेस्टिनेसन’ कसरी बनाउन सकिन्छ भन्ने विषयमा उनीसँग स्पष्ट खाका र योजना छ ।
उनी भन्छिन्— “नेपालसँग लुम्बिनी र सगरमाथाको उचाइमात्र छैन; अद्वितीय सांस्कृतिक वैभव, जैविक विविधता र आतिथ्य सत्कारको न्यानोपन बोकेको दक्ष जनशक्ति छ । विशेषगरी नेपालमा वेलनेस टुरिजमको अपार सम्भावना भए तापनि यो अझै पनि छरपस्ट र असङ्गठित अवस्थामा छ । यसलाई नीतिगत रूपमै प्राथमिकतामा राखेर व्यवस्थित गर्न सके हामीले विश्वभरिकै पर्यटकलाई आकर्षित गर्न सक्छौँ । अर्कोतर्फ, हाम्रा मौलिक आर्किटेक्चर (वास्तुकला) लाई पर्यटनसँग जोड्दै थान्का पेन्टिङजस्ता समृद्ध कलालाई कलाकारहरू मार्फत ‘स्टोरीटेलिङ’ (कथा वाचन) को सशक्त आयामका रूपमा विकास गर्न सके हामीले पर्यटकीय अनुभवलाई अझ जीवन्त, आत्मीय र स्मरणीय बनाउन सक्छौँ । तर अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार विकासमा ढिलाइ हुनु, उड्डयन क्षेत्रका नीतिगत जटिलता र सोचेअनुसार डिजिटल प्रवर्धन हुन नसक्नु हाम्रा मुख्य चुनौती र चिन्ताका विषय हुन् । यदि हामीले हाम्रा सेवाहरूलाई प्रतिस्पर्धी बनाउँदै प्रविधि अनुकूल रूपान्तरण गर्न सक्यौँ भने नेपाल विश्वकै अग्रणी पर्यटकीय गन्तव्य बन्न सक्छ ।”
सम्भावनाप्रति आशावादी बन्दै विद्यमान समस्याहरूमा उनीबाट व्यक्त चिन्ता, चासो र स्पष्ट दृष्टिकोणले नेपालको समग्र पर्यटन नीति निर्माणमा सकारात्मक दबाब र नवीन ऊर्जा थपेको छ ।
महासचिवका रूपमा नाट्टाको इतिहासमा सफल कार्यकाल व्यतीत गर्दै गरेकी युविका भण्डारी संस्थाको अझ ठूलो, निर्णायक र रूपान्तरणकारी भूमिकामा अगाडि बढ्न मानसिक र रणनीतिक रूपमै पूर्ण रूपमा तम्तयार भएकी छन् । उनी आगामी निर्वाचनमा नाट्टाको अध्यक्ष पदको सशक्त, सर्वस्वीकार्य र मुख्य प्रत्यासीका रूपमा अगाडि सरेकी छन् ।
नाट्टाको ६ दशकभन्दा लामो गौरवशाली इतिहासलाई हेर्दा पर्यटन क्षेत्रकी अग्रणी व्यक्तित्व स्व. अम्बिका श्रेष्ठपछि हालसम्म कुनै पनि महिलाले संस्थाको सर्वोच्च कार्यकारी पद सम्हाल्ने अवसर पाएका छैनन् । यो पृष्ठभूमिमा युविका भण्डारीको अध्यक्ष पदको दाबेदारी आफैँमा एउटा ऐतिहासिक, साहसिक र रूपान्तरणकारी मोड हो ।
उनको यो उम्मेदवारी पद प्राप्तिको प्रतिस्पर्धामात्र नभई समग्र पर्यटन क्षेत्रमा महिला नेतृत्वको सामथ्र्य, समावेशी प्रतिनिधित्व र सशक्तीकरणको एक उत्कृष्ट दृष्टान्त पनि हो । योग्यता, प्राज्ञिक पृष्ठभूमि, दुई दशक लामो व्यावहारिक अनुभव र सफल महासचिवका रूपमा प्रमाणित कार्यक्षमताको बलमा उनी नाट्टाको नेतृत्व सम्हाल्न पूर्ण रूपमा समर्थ छिन् । उनको यो कदमले उद्यमशीलतामा रहेका हजारौँ नेपाली महिलाहरूलाई आत्मनिर्भर बन्न र नेतृत्वको शिखरसम्म पुग्न ठूलो हौसला र प्रेरणाको किरण प्रदान गर्नेछ ।
उनी अध्यक्ष बन्नु भनेको नाट्टामा आधुनिक, समावेशी, पारदर्शी र प्रविधिमैत्री नेतृत्वको नयाँ बिहानीको सुरुवात हुनु हो । त्यसैले उनको उम्मेदवारीलाई नेपालका समग्र पर्यटन व्यवसायीहरूले असाध्यै सकारात्मक, आशावादी र गौरवका साथ हेरेका छन् । संस्थालाई नयाँ गति, आधुनिकता र नयाँ उचाइमा पुर्याउन युविकाको आगमन अनिवार्य भइसकेकोमा पर्यटन जगत् पूर्ण रूपमा विश्वस्त देखिन्छ ।
युविका भण्डारीको अहिसम्मको व्यावसायिक र संस्थागत यात्रा नयाँ पुस्ताका उद्यमीहरूका लागि एक प्रेरणादायी महाकाव्य जस्तै हो । ‘शशीज होलिडेज’ को जगबाट सुरु भएको उनको यात्रा आज नाट्टाको सफल महासचिव हुँदै अध्यक्षको ऐतिहासिक दाबेदारसम्म आइपुग्दा उनले देखाएको निष्ठा, लगनशीलता, धैर्य र उच्च कार्यकुशलता आफैँमा वन्दनीय छ ।
व्यावसायिक सफलतासँगै संस्थागत दायित्वलाई उत्तिकै सन्तुलित, निष्पक्ष र परिणाममुखी रूपमा अगाडि बढाउन सक्नु उनको ठूलो सफलता हो । भद्र स्वभाव, रणनीतिक सोच, समन्वयकारी शैली र व्यावसायिक निष्ठाकै कारण उनी आज नेपाली पर्यटन बजारमा भरपर्दो, सर्वस्वीकार्य र सम्मानित हस्ताक्षर बनेकी छन् ।
नेपालको पर्यटन क्षेत्रलाई थप आधुनिक, प्रतिस्पर्धी, प्रविधिमैत्री र समृद्ध बनाउन युविकाजस्ता दक्ष, स्पष्ट दृष्टिकोण भएका र समर्पित व्यक्तित्वको आवश्यकता आज झन् टड्कारो बनेको छ । नाट्टाको भावी नेतृत्वका रूपमा उनको आगमनले नेपाली पर्यटन क्षेत्र र महिला सशक्तिकरणको अभियानमा एक नयाँ इतिहास रच्ने निश्चित छ । नेपाली पर्यटन रूपान्तरणकी ध्वजावाहक युविका भण्डारीको यो ऐतिहासिक, प्रेरणादायी र स्वर्णिम यात्रा निरन्तर सफलताको नयाँ–नयाँ उचाइतर्फ अगाडि बढिरहोस्, हार्दिक शुभकामना !
….
नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।



