
अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा भिटाेफ नेपालकाे नेपाली बाजा विशेष

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथासँग जोडिएको गौरवपूर्ण इतिहासको सम्झनामा आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। सन् १९५३ मे २९ का दिन सर एडमन्ड हिलारी र तेन्जिङ नाेर्गे शेर्पालृ पहिलो पटक सगरमाथाको सफल आरोहण गर्दै मानव साहस, हिमाल र प्रकृतिबीचको अद्भुत सम्बन्धलाई विश्वसामु चिनाएका थिए । यही ऐतिहासिक उपलब्धिको सम्झनामा हरेक वर्ष मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाइँदै आएको छ ।

यस वर्ष पनि काठमाडौंमा पर्यटनसँग सम्बन्धित विभिन्न संस्था तथा छाता सङ्गठनहरूको सक्रिय सहभागितामा दिवस उत्साहपूर्वक मनाइएको हो । हिमाललाई माया गर्ने र हिमालले माया गरेका सयौँ व्यक्तिहरूको सहभागितामा ठमेलस्थित सञ्जयकाेष भवनबाट प्रभातफेरी सुरु गरिएको थियो ।
बाजागाजासहितको प्रभातफेरी दरबारमार्ग हुँदै घण्टाघर क्षेत्र पार गरेर जमलसम्म पुगेको थियो । दिवसका अवसरमा पर्वतीय पर्यटन क्षेत्रमा योगदान पुर्याएका तथा विभिन्न विश्व कीर्तिमान कायम गरेका आरोहीहरूलाई सम्मान गरिएको थियो । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पटक–पटक नाम लेखाउन सफल आरोहीहरूलाई सम्मान गर्दै उनीहरूको साहस, समर्पण र नेपालको पर्यटन क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा पर्वतीय पर्यटनको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे पनि विशेष छलफल भएको थियो ।

कार्यक्रमका क्रममा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालका अध्यक्ष हरिशरण थपलियाले नेपालको मौलिक बाजागाजासहित गरिएको प्रभातफेरीले कार्यक्रमलाई थप प्रभावकारी, आकर्षक र नेपाली मौलिकताले भरिपूर्ण बनाएको बताए । उनले यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनसँगै नयाँ पुस्तालाई हिमाल र राष्ट्रिय पहिचानप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी प्रथम उपाध्यक्ष मनहरि दाहालले कार्यक्रम निकै रोचक, ऊर्जावान र भावनात्मक बनेको अनुभव सुनाउँदै सगरमाथाले नेपालीहरूको आत्मगौरवलाई संसारभर फैलाएको उल्लेख गरे ।

सगरमाथा केवल हिमाल मात्र नभई नेपाली पहिचान, साहस र विश्वसँगको सम्बन्धको प्रतीक बनेको भन्दै सहभागीहरूले यसको संरक्षण, पर्वतीय पर्यटनको दिगोपन र हिमाली संस्कृतिको सम्मानमा सबैले साझा जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गरे ।
…
नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।


