
बुबाआमा गुमाएर विरक्तिएको बेला मैले किताबबाटै जीवन बाँच्ने आधार पाएँ

अंग्रेजी केन्द्रीय विभाग त्रिवि कीर्तिपुरका उपप्राध्यापक तारालाल श्रेष्ठ आख्यानकार, अनुसन्धाता, साइकल अभियन्ता तथा ‘साइकल सौन्दर्य’ किताबका लेखक हुन् । नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ ‘किताब’मा लेखक श्रेष्ठ ।
तपाईमा किताब पढ्ने बानी कसरी विकास भयो ?
हाम्रो हेटौंडा हर्नामाडी जिल्लाकै शिक्षित गाउँ भन्ने सुन्थेँ, स्कुल पढ्दा । अलि बढी कम्युनिस्टको केन्द्र मानिन्थ्यो हाम्रो गाउँ । राता किताब पढ्ने शिक्षक थिए । क्रान्तिकारी किताब मागेर पढ्थेँ । प्रकाश कोविदका उपन्यास पढ्ने पनि थिए । ती किताब पनि पढ्थेँ । कोर्सको किताब भन्दा बढी अन्य किताबमा ध्यान जान्थ्यो । जब अङ्ग्रेजी साहित्य पढ्न थालेँ, अध्ययन अभिन्न अङ्ग भइगयो । दिनरात किताब बोकेर हिड्थेँ । चौउर, खेतबारी, जङ्गलतिर किताब बोकेर जान्थेँ । दुई हप्ताको फरकमा बुबाआमा गुमाएपछि विरक्तिएको बेला मैले किताबबाटै जीवन बाँच्ने आधार पाएँ ।
किताबले तपाईको हरदैनिकी नै बदल्यो ?
यदि किताब पढ्ने लत नलागेको भए म कुलतमा लाग्थे होला । मेरो गाउँटोलमा कुलतमा लाग्नेहरु धेरै थिए । कति त मेरा साथीहरु थिए । तिनले मलाई कुलततिर तान्थे । मैले किताब पढ्न थालेपछि उनीहरु परपर भए । मेरो हरदैनिकी, पहिचान, परिवेश सबैलाई किताबले बदलिदियो । दशैंको टिकाको दिनमा समेत म किताब पढ्थेँ । कुनै दिन किताब छुट्दैन थियो । विशाल संसार किताबभित्र भेट्थेँ । साँघुरो परिवेशबाट पर पुगेको भान हुन्थ्यो । किताब राम्ररी पढ्न भ्याएको दिन सार्थक समय वितेको बोध हुन्थ्यो । साथी संगत पनि पढ्ने खालकै मन पथ्र्यो । विश्वका विख्यात लेखक आफ्नो मान्छे जस्तो लाग्थ्यो । किताब पढ्ने आदतले सोचाइ, बोलाई, बानी, ब्यहोरा सबै अलग बनाइदियो ।
आजकल कस्ता किताब पढ्न रुचाउनु हुन्छ ?
मलाई विविध विधाका किताब मन पर्छ । साथीभाई, आफन्त, अग्रजको घरमा पुगेपछि सबैभन्दा पहिले पुस्तक ¥याक हेर्छु । मन परेको किताब माग्छु । पढिसकेपछि किताब फर्काउछु । मलाई मन परेको किताब छिटै पढिभ्याउँछु । डायरीमा किताबको सार संक्षिप्त टिपिराख्छु । एउटै लेखकको धेरै किताब भन्दा विभिन्न देशपरिवेशको अध्ययन राम्रो लाग्छ । आख्यान मात्र भन्दा पनि गैरआख्यान, मनमस्तिष्कमा हलचल ल्याइदिने खालका किताब बढी मन पर्छ । विदेशीको मात्र होइन, आफ्नै परिवेश बोकेको किताब मन पर्छ । आदिवासी समुदायका लेखकको पनि आवाज सुन्न मन लाग्छ । मुलधारभन्दा बाहिर पनि विशाल बौद्धिक सांँस्कृतिक संसार छ । विश्वदृष्टीकोणसँग आफ्नो समाजको यथार्थ जोड्न मन लाग्छ । पुँजीवादी प्रोपागण्डा, हैकम भत्काउने खालका विचार बोकेका किताब पढ्न रुचाउँछु ।
कुन समयमा किताब पढ्ने गर्नुहुन्छ ?
पढ्ने यो या त्यो समय हुन्न । मन पर्ने किताब भेटियो भने दिनरात पढिन्छ । बाथरुममा पस्दा पनि किताब बोकिन्छ । खाना खाँदा पढिन्छ । गाडी वा जहाजमा पढिन्छ । खास समय, निश्चित ठाउँ वा शान्त वातावरण नै हुनुपर्छ भन्ने छैन । किताबका कन्टेन्टले छोयो भने जहाँतहीँ जस्तो अवस्थामा पनि पढिन्छ । अनुसन्धान गर्ने क्रममा फरक किसिमले पढिन्छ । पाठकका रुपमा पढ्दा परिवेश अलग हुन सक्छ । विदाका बेला पढ्दा अलग मुड हुन्छ ।
तपाईको दृष्टिकोणमा किताब किन पढिन्छ ?
किताब पढ्ने कुरा वृहत् विषय हो । एउटा उद्देश्यले मात्र किताब पढिन्न । किताब पढ्नु भनेको एउटा आन्दोलन बोध गर्नु हो । प्राज्ञिक, प्रेरणादायी, प्रेमिल आन्दोलन बोध गहन किताब पढ्दा हुन्छ । अति जटिल विषयलाई बुझ्न, रहस्यलाई चिर्न, र असल अभियानमा कसरी सरिक हुने भन्ने बोध गर्न पनि किताब पढिन्छ । कसैले विसुद्ध मनोरञ्जनका लागि किताब पढेको भन्लान् तर विस्तारै किताबले प्रगतिशील बाटोतिर डो¥याउँछ । अधिकांश किताब प्रगतिवादी चेतनाले भरिएको हुन्छ । ईश्वरको मृत्युको घोषणा जस्ता धर्मनिरपेक्ष विचार किताबबाटै वुलन्द भएर फैलिएको हो । दमनको चक्र चिर्न विचारशील किताबले सघाउँछ । पठन संस्कृतिमा अभ्यस्त भएपछि चाउचाउ जस्ता सस्ता किताबको पछाडी दौड्दैनन् पाठक । गम्भीर पाठक बनेर किताब पढ्नु भनेको जिम्मेवार बाटो रोज्नु हो । आत्मज्ञान हुनु आन्दोलन नै हो ।
किताबले तपाईको सोचमा कस्तो प्रगतिवादी परिवर्तन ल्याएको छ ?
सायद किताब पढ्ने आदतकै परिणाम हुनु पर्दछ मलाई स्कुल जीवनबाटै जातप्रथा अवैज्ञानिक लाग्थ्यो । त्यसको विरुद्ध खुलेयाम उभिन्थेँ । धार्मिक, राजनीतिक, सामाजिक, आर्थिक, लैंगिक अनेकौं दमनचक्र देख्दा दमितको पक्षमा बोल्थेँ । दमनकारी शक्तिको विरुद्ध निरन्तर बोल्न थालेँ । शक्तिविहीन वर्गहीतमा बोल्नु पर्छ भन्ने बोध किताबले गरायो । धर्म, संस्कृति, सामाजिक मान्यता सबैभित्र राजनीति घुसेको हुन्छ भन्ने कुरा किताबले देखाइदियो । मलाई कतिपय गाउँलेले पागल भन्थेँ । म त्यसको पर्वाह गर्दिनथेँ । मसँग प्रतिरोध, प्रतिवाद गर्ने आधारहरु हुन्थ्यो । किताबले मलाई साथ दिन्थ्यो ।

तपाई छापिएका वा डिजिटल कुन किताब पढ्न रुचाउनु हुन्छ ?
छापाबाट छापिएको किताब पढ्दा जत्तिको आनन्द डिजिटल किताब पढ्दा पाइन्न । सबै किताब किनेर साध्य पनि हुन्न । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालबाट प्राध्यापकलाई धेरैवटा किताब लिएर पढ्न पाइने सुविधा छ । किताब किनिन्छ पनि । पाइएसम्म छापिएका किताबै पढिन्छ । नपाइदा डिजिटल पनि पढिन्छ । डिजिटल किताब प्रिन्ट गरेर पनि पढिन्छ । हाम्रो एउटा बाबु छ (१० कक्षा पढ्ने छोरा मानुष) जो छापिएको किताबै पढ्न रुचाउँछ । किताब किन्नै पर्छ, उसलाई, आफ्नै किताब बनाउनै पर्छ । उसको निरन्तर किताब पढ्ने आदत देख्दा हामी आमाबाबा चकित छौं । चर्पी जाँदा, खाना खाँदा, सुत्दै गर्दा समेत उसलाई सधैं किताब पढ्नै पर्छ । मोटर साइकलमा बसेर यात्रा गरिरहँदा पनि पढ्छ । आफूले पढेको किताब अरुलाई सकेसम्म दिँदैन । कुनै किताब हरायो भने पनि फेरी किन्न लगाउँछ । आफ्नो आर्काइभमा किताब सजाएर राखिराख्छ । नयाँ किताब नपाउँदा पुरानै किताब पनि पटकपटक पढिबस्छ । डिजिटल किताब पढ्न रुचाउँदैन । मान्छेपिछे फरक फरक पढ्ने बाँनी हुन्छ होला ।
नियमित किताब पढ्ने बानी विकास गर्न के गर्नु पर्ला ?
पठन संस्कृति विकास भएपछि मान्छे किताब विना बाँच्नै सक्दैन । हाम्रो घरमा चोटाकोठा, भान्सा, बैठक जताततै धेरथोर किताब हुन्छ । कोही साथी आए किताबै बोकेर आउँछन् । कतै जाँदा हामी किताबै उपहार दिन्छौं । बिहे, वर्तमान, भोज, भेटघाट जहाँ जाँदा पनि हामी किताबै उपहार दिन्छौं, किताबै लिन्छौं । मेरो जीवनसाथी डा. विद्या पनि विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । सादा जीवनशैली रुचाउने भएर किताब किन्न, किताब लेख्न, र किताब छाप्न जति खर्च भए पनि चिन्ता लिँदैनौं । हाम्रो बाबुले जुन किताब जति बेला खोजे पनि हामी तुरुन्तै किनिदिन्छौं । पठन संस्कृति विकास गर्ने खालका गेस्ट लेक्चर्स दिन हामी दुवैजना अन्य अनुसन्धानकर्तासहित शिक्षालयहरु पुग्छौं, भोलेन्टियर भएर । साइकल अभियानमा उत्तिकै सरिक हुन्छौं । साइकल संस्कृतिलाई पठन संस्कृतिमार्फत सघाउने पनि कोशिस गर्दै र्छौ । पढ्न संस्कृतिमैत्री साइकल सौंन्दर्य किताब प्रकाशन गरेका छौं । किताब पढ्ने आदत एकै दिन एकै छिनमा विकास हुने कुरा होइन । लेख्नु भनेको पढ्नु हो, लेख्नका लागि पनि पढ्नु पर्छ, पढिरहन्छु । पढिरहन्छौं ।
तपाईको पठन–प्रकाशन अभियानले अरुलाई कत्तिको प्रभाव पारेको छ ?
यो त अरुले भन्ने कुरा हो । आफैले आफ्नो बखान गर्नु राम्रो होइन । मेरो सबाल्टर्न समुदायको हितलाई केन्द्रमा राखेर लेख्ने, बोल्ने बानीले मलाई आत्मसन्तुष्टी दिन्छ । दमितको पक्षमा उभिनु भनेको बौद्धिक वर्गको नैतिक धर्म हो । यस कार्मबाट आजसम्म म विचलित छैन । सबाल्टर्न अध्ययनले मलाई मेरो समाज, समुदाय, र सन्र्दभमा दमित वर्ग र दमनकारी शक्तिको अन्र्तसम्बन्ध बुझ्न मद्दत गरेको छ । प्रसिद्ध होस् या नहोस् मतलव छैन । मेरो अन्तरआत्माले अह्राएको प्राज्ञिक अभियानमा सरिक भइरहन्छु । अनुसन्धानमा आधारित मेरो पाँचौं पुस्तक साइकल सौन्दर्य प्रकाशन पछिल्लो नमुना हो ।
पठन संस्कृति विकासका मुख्य चुनौति चाहिँ के के हुन् ?
आजकल सबैजसो सामाजिक सञ्जालको चक्रब्युहमा फसेका छन् । विहान सबेरैदेखि राती अबेरसम्म सकारात्मक भन्दा बढी खराब धेरै खुराक हामी खान्छौं । गहन किताबमा घोत्लिने, मिठा धुनहरुमा रमाउने, शान्त वातावरणमा समय विताउने धैर्यता गुम्दै गइरहेको छ । एक त हाम्रो पठ्न संस्कृति सीमित वर्ग समुदायमै सीमित थियो । अहिले पठन संस्कृति अमैत्री खुराकको बिगबिगी बढेको बेलामा गहिरो चिन्तन, आलोचनात्मक चेत बोकेको खुराक खोजेर पढ्ने, त्यसमाथि बहस गर्ने वातावरणमा ह्रास आएको छ । टेलिभिजन भित्रिएको समय सारा मानिस टिभी हेरेर बस्थे । अहिले टिभी संस्कृति सबैले त्याग्दै गएझैं केही समयपछि सामाजिक सञ्जालको प्रभावबाट पनि मानिस पर पुग्लान् । यद्यपि, युवा वर्गलाई सिर्जनात्मक विधिबाट पठन संस्कृतिमा रमाउने वातावरण सिर्जना गर्न हामीले राम्ररी मेहनत नगरि हुन्न । अझ आर्टिफिसियल इन्टेलिजेन्सले अलमल्याउन सक्ने खतरालाई पनि चिनु पर्ने छ ।
उसोभए पठन संस्कृतितिर युवालाई आकर्षित कसरी गराउने ?
संसारमा जतिसुकै नवीन आविस्कार अस्तित्वमा आए पनि पठन संस्कृति जत्तिको सभ्यभव्य चीज अरु छैन । जति नै व्यस्त दैनिकी भए पनि चाहेमा किताब पढ्न समय निस्कछ । किताब पढ्नलाई धेरै ठूलो वातावरण चाहिन्न । जो जहाँ जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा पढ्ने बाँनीको विकास गर्न सकिन्छ । बुद्धले अपो दीपो भवः भन्नुभएझैं आफ्नो दीयो आफैंल बाल्नु पर्दछ । आफैले आफुलाई चिन्न सघाउने गुरु गहन किताब हो । अन्र्तमनलाई सफा, सुद्ध, र शान्त राख्न गहन चिन्तन सौन्दर्य बोकेको किताब पढ्नु पर्छ । नैतिक जीवनशैली पठन संस्कृतिबाटै प्राप्त हुन्छ । किताब किन्ने, किताब उपहार दिने, किताब साथी बनाउने, किताबका कुरा गर्ने अनेक उपाए मौजुद छन् । अझ वार्षिक आम्दानीको निश्चित प्रतिशत बजेट किताब किन्न छुट्याउनु राम्रो । अगुवा नेता पठित रोज्ने संस्कार पनि चाहिन्छ । साइकल संस्कृतिमा समेत पठन संस्कृति जोड्न म मेरा साइकल साथीलाई सुझाइरहन्छु, विश्वविद्यालयका सोधार्थी–विद्यार्थीलाई मात्रै होइन । पठन संस्कृतिबाट कसैलाई हानी हुन्न, साइकल संस्कृति जस्तै ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




लेख्नु भनेको पढ्नु हो, लेख्नका लागि पनि पढ्नु पर्छ, पढिरहन्छु ।
..
युवा वर्गलाई सिर्जनात्मक विधिबाट पठन संस्कृतिमा रमाउने वातावरण सिर्जना गर्न हामीले राम्ररी मेहनत नगरि हुन्न ।
..
अन्तर्मनलाई सफा, सुद्ध, र शान्त राख्न गहन चिन्तन सौन्दर्य बोकेको किताब पढ्नु पर्छ ।
– धेरै गहन विचारहरू आएका छन् वार्तामा। एकदमै मनपर्यो। डा तारालाल मेरा प्रिय लेखक मध्ये पर्नुहुन्छ।। कुनैबेला कान्तिपुर उहाँकै लेख पढ्न मात्र किनेको पनि सम्झँदै लेखिरहेछु यी शब्द।
तर मानुष बाबुले मोटर साइकिलमा हिँड्दा पनि किताब पढ्ने गर्नु भएको कुराले भने झड्का दियो मलाई । यो त अति नै भयो जस्तो लाग्यो। मानुष बाबुलाई नै सम्बोधन गरेर भन्छु – “किताबबाट सिक्ने कुरा बाहेक पनि संसारमा त्यस्ता धेरै कुरा हुन्छन् मानुष बाबु ! प्रकृतिसँग र पर्यावरणसँग तपाईंको मनले गर्ने अन्तर्क्रिया चाहिँ कम परिणाममुखी हुन्छन् भन्ने नठान्नुहोस् ! कृपया: ।”