‘भगवानलाई सबै ठाउँमा पुग्ने फुर्सद हुँदैन त्यसैले आमा बनाएका हुन्’
शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
दुई शब्दले बनेको अक्षर । आफैँमा गहन अर्थ बोकेको, पवित्र शब्द । संसारका कुनै पनि वस्तुसँग तुलना हुन नसक्ने । भोक, तिर्खा, थकाइले क्लान्त भएको अवस्थालाई बिर्साइदिने एक मात्र शब्द ‘आमा’ । समग्रमा भन्नुपर्दा भगवानको अर्को रुप हुन् ‘आमा’ । आमाको महिमा, त्यागको बयान गर्न शब्दकोश नै अपुरो हुन्छ भन्दा अत्युक्ति नहोला । रुडयार्ड किप्लिङले यसै भनेका होइनन्, ‘भगवानलाई सबै ठाउँमा पुग्ने फुर्सद हुँदैन त्यसैले आमा बनाएका हुन्’ भनेर । आमाका त्याग, समर्पण र महिमाका कुरा गरिरहँदा आफ्नै आमातिर फर्किन मन लाग्याे ।
सानो छँदा कतै खेलेर, विद्यालयबाट घर फर्किँदा घरमा आमालाई नदेख्दा मन खिन्न हुन्थ्यो । घरमा आमालाई देख्दा मन प्रफुल्लित हुन्थ्यो । कहिलेकाहीँ आमाको अनुहार अँध्यारो देख्दा आफूले कुनै काम बिराएकोले हो कि भन्ने भान हुन्थ्यो । काम बिगारेको भए गाली खाइन्छ भन्ने छुट्टै पिरलो छँदै थियो । तर पनि आमाको माया त माया नै हो नि ! एकछिन गाली गरेता पनि । यद्यपि आमालाई सधैँ हाँसिखुशी देख्ने तिब्र इच्छा हुन्थ्यो ।
मामाघर नजिकै भएर पनि होला, आमालाई दिनमा एकपटक मामाघर नपुगी नहुने । आफूलाई भने घरमै देख्न पाए हुन्थो भन्ने लाग्थ्यो । मुखले त केही भन्न सक्दिनथेँ । यसै विषयलाई लिएर दाजुसँग भने कहिलेकाही ठाकठुक पनि परेको सम्झनामा ताजै छन् आजसम्म । पछि आफू आमा बनेपछि पो थाहा भयो, आमा बा’आमा’ भेट्न दिनहुँ जानुहुँदो रहेछ, बाआमाको मायाले ।
कहिलेकाहीँ बिरामी पर्दा “छोराछोरीलाई लाग्ने बिमार आफूलाई लागे हुन्थ्यो” भनेर पिरोलिएको देख्दा, पथ्यको ख्याल गरेको देख्दा आमाबाट अतिरिक्त माया पाए झैँ लाग्थ्यो अनि धेरै माया गरेको देखेर होला, सधैँ बिरामी हुन पाए हुन्थो भन्ने लाग्थ्यो भलै, त्यो केटाकेटी बुद्धि थियो । आमाको माया धैरैभन्दा धेरै पाउनका लागि यो मनले के के सोच्थ्यो, सोच्थ्यो ।
केही काम अह्राएर छिमेकीकोमा या अन्त कतै पठाउनु भयो भने बाटोमा कतै नअल्मलिइकन छिट्टै घर फर्किँदा आमा खुशी हुनुहन्थ्यो त्यसैले पनि म कहिलेकाहीँ आमाले अह्राउनुभएको काम फत्ते गरेर कुदेको कुदेकै घर आइपुग्थेँ, आमालाई खुशी पार्न ।
आमाले सिकाउनुभएका संस्कारमध्य अन्नको जतन र शाकाहार जीवनशैलीलाई म कहिल्यै भुल्न सक्दिनँ । यस मानेमा म धेरै भाग्यमानी ठान्छु आफूलाई । त्यही जतन गर्ने बानीले इमान्दारिताको कमाईमा आज जीवन सुखदुःख चलेको छ ।
हुन त गिलो भात र भलो मान्छेले कसैलाई बिगार गर्दैन भन्ने उखान छ तर पनि मेरी आमालाई साह्रो भात मन पर्थ्यो । राम्रो भनौँ या नराम्रो, आमाको सोही बानी ममा पनि सरेको छ । थाहा छैन, मरण पनि भात अड्किएरै पो हुन्छ कि !
सँगैका दौँतरी आमालाई ‘ममी’ भन्थे । म आमा भन्थेँ, अप्ठ्यारो महसुस पनि हुन्थ्यो कता कता । कतिपय साथीले ‘आमा’ सम्बोधन गर्दा आपत्ति जनाउँथे । अहिले सम्झिँदा ठिक गरेँछु जस्तो लाग्छ । ‘आमा’ शब्द प्यारो लाग्ने हुनाले सन्तानलाई पनि सोही शब्दमा अभ्यस्त गराएँ । कतै टाढा हिँडेर थकित अवस्था होस् या भोक तिर्खाले आकुल व्याकुल अवस्थामा होस्, सन्तानले ‘आमा’ ! आमा भनेर बोलाउँदा भोक तिर्खा थकाइ सबै गायब हुन्छ जसरी आफूले आमालाई ‘आमा’ भनेर बोलाउँदा खुशी लाग्थ्यो । यी त भए आफ्नै आमाका कुरा । अब अरुका आमालाई निकालौँ ।
सडकमा अलपत्र आमाहरू: कतिपय आमाहरू सन्तानबाट परित्यक्त छन् । कोही सडकमा अलपत्र छन् कोही वृद्धाश्रममा छन् , सन्तानले हेला गरेका कारण । नौ महिना कोखमा राखेर नौ दश घन्टाको प्रशव पीडासँग पौँठेजोरी खेल्दै ज्यान दाउमा राखेर जन्माएका सन्तानले वचन लाउँदा जोसुकै मातापिताको मन दुख्छ नै । घुमिफिरी तिनै दिन आफूले पनि भोग्नुपर्छ भन्ने कुरा नबुझ्नु सन्तानकै कमजोरी हो, अहंमता हो । मातापिताले आफूमाथि गरेका सबै प्रकारका लगानि सन्तानले भुल्न नहुने हो ।
देखावटी माया: अघिपछि आमा बिरामी हुँदा पानी तताएर दिन झर्को र फर्को गर्ने तर औँशीको दिन मिठाई र फलफूल लिएर औपचारिकता जनाउने अनि आमासँगै फोटो खिचेर फेसबुकमा पोष्ट्याउनेहरुक़ो पनि ठूलै जमात छ हिजोआज ।
अन्त्यमा, मान्छे जन्मिएपछि मर्नुपर्छ । सृष्टिको नियमलाई सबैले स्विकार्नैपर्छ । आज मेरी आमा पनि यो संसारमा हुनुहुन्न । तेह्र वर्ष भयो, हामीबाट बिदा हुनुभएको । सबै मृत आमाहरुको आत्मालाई शान्ति मिलोस् । जिवित आमाहरूले सन्तानबाट परित्यक्त जीवन बिताउन नपरोस् । मातातिर्थ औँसीको सबैमा शुभकामना !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)