
‘अहिलेको जमानामा पनि कसैले बाबुआमाले खोजिदिएको केटासँग विवाह गर्छ कालु ?’
लघुकथा: चश्मा
लीलाराज दाहाल
वागमती ११, कर्मैया, सर्लाही
हरि र प्रिया वैवाहिक जीवनको तेस्रो बर्षमा थिए ! दुवै स्नातकोत्तर गरेका जोडी थिए ! उनीहरू बाबु आमाले गराइदिने परम्परागत मागी विवाहको घोर बिरोधी थिए ! प्रिया भन्थी, “अहिलेको जमानामा पनि कसैले बाबुआमाले खोजिदिएको केटासँग विवाह गर्छ ? होइन त कालु !” पत्नीद्वारा कालु भनिने पति हरिले श्रीमतीको भनाइमा सही थप्यो, “हो त डियर ! आफ्नो जीवन साथी आफैं खोज्ने हो ! हामीले जस्तै !”
उनीहरु परस्परमा मन पराएर विवाह बन्धनमा बाँधिएका थिए ! उनीहरूको प्रेमको प्रतीक टुकुटुकु हिँड्ने एउटी छोरी थिई ! पहिलो गाँसमै ढुङ्गा भने जस्तै छोरी प्रायः जसो बिरामी हुन्थी ! त्यसैले उनीहरुको अस्पताल- आवास दौड चलिरहन्थ्यो ! कहिले कुन बिमार, कहिले कुन ! सधैं जसो अस्पताल गैरहनु पर्थ्यो !
निकै दिन सकुशल रहेकी छोरी फेरि बिरामी परेपछि हरि एकछिन सोचमग्न भयो ! उसले केही सोच्न सकिरहेको थिएन ! छोरीलाई कुन अस्पताल लैजाने भनेर दोधारमा परेको पतिलाई कोट्याएर प्रियाले भनी, “कालु ! पल्लो टोलमा एकजना धामी बा बस्छन् रे ! त्यहाँ फुक्न लैजाउँ न छोरीलाई !”
एकछिनका लागि उनीहरुले चेतना र भौतिक ज्ञान बिर्सिए ! अनि अन्धविश्वासको चश्मा लगाएर छिटो छिटो धामी बस्ने गल्लीतिर लम्किए !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



