मेरा बच्चाबच्चीहरु मेरो प्रेरणा

डा. विष्णुबहादुर जीसी

बच्चाबच्चीहरु सबैको लागि प्रिय हुन्छन्, अझ जन्म दिने आमाबाबुका लागि त बच्चाबच्चीहरु सर्वस्व नै हुन् । बच्चाबच्चीहरूको यस धर्तीमा आगमन हुनासाथ उनीहरु आमाबाबु हुन पुग्दछन् र यो क्षण नै अविस्मरणीय र जीवन परिवर्तनको उल्लेखनीय मोड बन्न पुग्दछ । जीवन र जगतप्रतिको सोचाई, सुविधा र खुसीहरू फराकिलो हुँदै जान्छन् भन्ने मेरो व्यक्तिगत बुझाई छ । साथै, अरुहरुसँगको छलफल, अध्ययन तथा अनुसन्धानलाई समेत मध्यनजर राख्दा धेरै हदसम्म मेरो विचारसँग सहमत भएको पाउँछु । त्यसैले भोगाई र अध्ययनलाई समेत मध्यनजर राखी तयार गरिएको यो लेखमा मेरो बालबच्चाहरूले धेरै खुसी र सिकाइका लागि समेत मद्दत पुगेका देखिने र नदेखिने मनसायहरू मुखरित छन् । साथै, म संलग्न स्कुलका बालबालिकाहरूसँगको सामिप्यता पनि अविस्मरणीय छ । अन्तमा यिनै विषयवस्तुहरूलाई समेटेर आजको बच्चाबच्चीहरूलाई दिनुपर्ने स्नेह, सामिप्यता र व्यवहारका बारेमा पनि यो लेखको उद्देश्य आकृष्ट हुनेछ ।

बच्चाहरूको बाल्यकाल

२०४३ साल आश्विन २५ का दिन भएको जेठो छोराको जन्मले हाम्रो जीवनमा खुसीको बहार ल्याइदियो । त्यही दिनदेखि म कसैको बाबु बन्न सके र आफूलाई थप जिम्मेवार भएको महसुस पनि गरेँ । सोही दिन मैले चाहेको पर्यटन मन्त्रालयमा मेरो शाखा अधिकृत पदमा पहिलो पोस्टिङ भयो । खुसीमाथिको यो थप खुसीलाई सहर्ष मनायौं । छोराको सानिध्यता र मायासँगै दिनहरू बित्दै गए । समय बित्दै गर्दा न्वारन गर्ने दिन आइपुगेछ । छोराको न्वारन भुरुङखेलस्थित डेरामा आयोजना हुने गरी घरबेटीको सल्लाह सुझाव अनुसार पण्डित बोलायौँ । पण्डित दरबारका पुरोहित हुनुहुँदो रहेछ । यसैकारण पनि हामीहरू केही होसियारी थियौँ । महिनाभरको तलब बचाएर न्वारनको लागि तयार भयौँ । न्वारनका दिन पण्डित बिहानै आइपुग्नुभयो । र हामीहरुले पनि निर्देशन अनुसार दुना टपरी दक्षिणा तयार गर्‍यौँ । र पूजामा बस्यौँ । गुरुले दुना टपरीमा पैसा थपाउँदै लग्नुभयो हामीहरु पनि साथमा रहेको थैली रित्याउँदै गयौं । पछि नाम राख्ने बेला आयो र हामीहरुले पनि यसका लागि बचेखुचेको रकम दक्षिणा राख्यौँ । गुरुलाई यो रकम चित्त बुझेन । गुरुले भन्नुभयो, यो रकमले पुग्दैन म बच्चाको नाम खिचेर लग्छु, आदि इत्यादि । छोराको लागि हामीहरु जे गर्न पनि तयार थियौ तर हामीहरुसँग स्रोत रितिसकेको थियो । अन्तमा घरबेटीसँग सापटी लिएर छोराको सुखद भविष्य र ग्रहदशा नाशको लागि कामना गर्यौं भने छोराको बोलाउने नाम विविध विक्रम राख्यौँ । आज पर्यन्त उसको नाम, काम, र व्यवहार विविध नै छ, विभिन्न विधामा उ होसियार र जानकार छ । विभिन्न विधामा प्रस्तुत हुन सक्ने सामर्थ्यता राख्दछ, उसले । डाइभर्स उसको विशेषता हो ।

छोराको पहिलो जन्म दिन हाम्रो गुल्मी धुरकोटको घरमा मनाउने गरी हामीहरु गुल्मीतर्फ लाग्यौँ । त्यो बेला तानसेनदेखि तम्घाससम्म कच्ची बाटो थियो । यही कच्ची बाटोमा हामीहरू तानसेनदेखि रिडीसम्म पुग्यौँ । रिडी पुग्दा करिब २ बजेको थियो । अब रिडीदेखि तम्घासको लागि हामीले सवारी साधनको व्यवस्था गर्नुपर्ने थियो । धेरै प्रयासपछि एउटा ट्याक्टरले हामीलाई तम्घाससम्म पुर्‍याउने भयो । हामीहरु पनि करिब ८–१० यात्रुहरूका साथमा तम्घासको लागि ट्याक्टरमा सवार भयौं । करिब एक घण्टाको उकालो चढिसकेको अवस्थामा एक्कासी घनघोर वर्षा भयो । उकालो बाटो चिप्लो माटो अनि घनघोर वर्षाका कारण ट्याक्टर अगाडि बढ्न सकेन बरु पछाडि फर्कन थाल्यो । पानी जाडोबाट बच्चालाई बचाउन हाम्रो लागि ठूलो चुनौती थियो । थोरै भए पनि हामीहरुले बुद्धि पुर्याएर हिमाल जाँदा जोगाड गरेको स्लिपिङ ब्याग र ठूलो छाताको ओतमा कुखुराले बच्चा छोपे जस्तै गरेर विविधलाई पानी र जाडोबाट बचाउन सक्यौँ । धेरैबेरसम्मको ड्राइभरको प्रयासबाट पनि गाडी अगाडि बढ्न नसकेपछि सबै मानिसहरु गाडीबाट ओर्लियौँ । वर्षै दिन नपुगेको काखको बच्चा, साँझ पर्न लागेको बेला र त्यो ठाउँ र बसाइको बारेमा केही थाहा नभएकोले हामीहरु अलिक हतास पनि भयौं ।

हामीसँग भएको साथीहरु मध्ये एकजना स्थानीय मानिस पनि हुनुहुँदो रहेछ । उहाँले हामीहरूलाई मद्दत गर्न तत्पर हुनुभयो । उहाँ, हामीहरु र अरु यात्रुहरू पनि बिस्तारै बिस्तारै अगाडि बढ्दै गर्यौ । रातो माटो चिप्लो बाटो भएकाले हिँडाई कठिन र जोखिमपूर्ण थियो । अन्तमा करिब ३ घण्टापछि हामीहरु एउटा घर भएको ठाउँमा आइपुग्यौँ । घरबेटी जिम्मा लगाएर हाम्रो साथी आफ्नो गन्तव्यतर्फ लाग्नुभयो । घरबेटीले हाम्रो हालत देखेपछि गाउँमा घुमेर केही चामल लिएर आउनुभयो । र हामीहरुलाई खाना खुवाउने व्यवस्था गर्नुभयो । साथै सानो बच्चाको लागि आगो र कोइलाको व्यवस्था पनि गरिदिनु भयो । भोलि बिहान हामीहरु गाडीको प्रतिक्षारत थियौ । करिब ८ बजेतिर आइपुगेको पहिलो ट्रकमा हामीहरू फेरि सवार भयौं र दिउँसोतिर तम्घास पुग्यौं पनि । तम्घासको बासपछि हामीहरु अर्को दिन धुरकोटको लागि प्रस्थान गर्यौ र धुर्कोटमा बुबाआमा र परिवारले नवजात शिशुसहित (पहिलो नाती) हामीलाई स्वागत गर्न प्रतिक्षारत हुनुहुँदो रहेछ । बाजागाजा साथ देखिएको यो रमाइलो वातावरणले हामीले झेलेका सबै दुःखहरूलाई बिर्साइदियो र त्यसै बेलुकी छोराको पहिलो बर्थडे हर्सोल्लास एवं अत्यन्त महत्वका साथ मनायौं ।

अब म कान्छा छोराको बाल्यकालका केही प्रसङ्गहरू जोड्छु । २०४७ माघ १३ का दिन पाटन अस्पतालमा कान्छो छोराको जन्म भयो । हामीहरू खुसीले विभोर भयौँ । विविध पनि नवजात भाइलाई हेर्न मसँग पाटन अस्पताल गयो । जापानबाट आउनुभएको साथी उर्मिलाले पनि सानो, गोरे, क्युट बच्चाको केही दिन रेखदेख गर्न पाउँदा खुसी हुनुभयो । न्वारन कोटेश्वरमा जगदीश गौतमजीको घर (डेरा)मा भयो । यो एकतले घरको छतमा पूजापाठपछि गुरुले कान्छो छोरालाई पार्थविक्रम नाम दिनुभयो । बाबुआमाको तर्फबाट उसको नाम विशेष विक्रम राखियो । नाम बमोजिमको काम विशेषको विशेषता रहेको छ । ऊ साँच्चिकै विशेष छ ।

विशेषको पढाइ तथा व्यवहार राम्रो छँदाछँदै पनि विभिन्न कारणहरूले गर्दा हामीहरुले उसलाई शाही शिक्षा सदनमा भर्ना गर्यौं । म त्यतिबेला पर्यटन मन्त्रालयबाट कामले स्पेन गएको थिए । स्पेनबाट फर्केपछि विशेषलाई भेट्न मन लागेता पनि स्कुलले सजिलरी भेट्न नदिने कुरा थाहा भयो तर हामीहरुले प्रिन्सिपल सरलाई फोन गरेर जानकारी लिने गर्थ्यौ र उहाँका अनुसार विशेष खुसी नभएको कुरा सरले भन्नु हुन्थ्यो । मनले नमानेपछि एकदिन म स्कुलमा प्रिन्सिपललाई भेट्न गएँ । प्रिन्सिपलसँग मैले आफ्नो कुरा राखेपछि सरले हाम्रो कुरा भइरहेको उहाँकै कोठामा विशेषलाई बोलाउनुभयो ।

विशेष कोठामा छिर्न बित्तिकै हुत्तिँदै मतर्फ आयो । छोरालाई एकछिन घुमाएर ल्याउनुस् भनेर सरले भन्नुभयो । म पनि छोरोलाई लिएर केही बेर एउटा गल्लीमा गएँ । रुँदै विशेषले भन्दै गरेको त्यो विक्षिप्त मानसिकतालाई म अहिले पनि बिर्सन सक्दिनँ । र म भविष्यमा पनि बिर्सने छैन । म हजुरहरूलाई भारी बोकेर भए पनि खुवाउनेछु ड्याडी । म स्कुलमा बस्न सक्दिन, मलाई घर लैबक्स्योस् । अन्तमा उसको अन्तरमनको इच्छा र विश्वासमा सफलता प्राप्त गर्यो । यो र यस्तै अरु घटनाहरुमा पनि उसले चाहेको कुरा प्राप्त गर्न सकेको छ । पछि र पछिल्ला दिनहरुमा एकपछि अर्को गर्दै सफलताका सिडीहरू चढ्न सफल भएको छ, ऊ ।

विदेश अध्ययन

मेरो बच्चाहरूका लागि विदेश अध्ययन अभिन्न सिकाई र हुर्काइका रूपमा रह्यो । सेन्ट जेभियर स्कुलबाट आइएसी सकिनासाथ विविधलाई उच्च शिक्षाका लागि अमेरिका जाने रहर बढेर आयो । बच्चाको इच्छा र अध्ययनसँग सम्झौता नगर्न सकिएन । अमेरिकाको भिसा रिजल्ट सुन्नका लागि होटल याक एण्ड यतिमा बाबुछोरा गएका थियौँ । भिसा अस्वीकृत भएमा विविध पढ्न जान नपाउने र ऊ दुःखित हुने अर्कोतर्फ भिसा स्वीकृत भएमा हामीहरुले छोरालाई छोडिदिनुपर्यो सात समुद्र पारीको यात्रा र बसाइका लागि । विविध खुसी हुँदै हाँस्दै भिसासहितको पासपोर्ट लिएर बाहिर निस्कियो । अनि म … । त्यो क्षण सम्झँदा मन गरुङ्गो भए पनि अहिले उसले प्राप्त गरेको अध्ययन (मास्टर्स प्लस सिपिए) पेशागत उपलब्धि र हामीहरूलाई नेपाल र अस्ट्रेलियाबीच डोराइरहेको पाउँदा हामीहरूलाई सुखद अनुभूति भइरहन्छ ।

कान्छो छोरा विशेषले १२ कक्षा सकेपछि भारतको ब्याङ्गलोर स्थित बिएमएस कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेपछि स्नातकोत्तरको लागि अस्ट्रेलिया गयो । उक्त योग्यता हासिल गरेपछि हाल ऊ आफ्नै विषयमा सरकारी सेवामा संलग्न छ। यो बीचमा हाम्रा बच्चाहरूले आआफ्ना जीवन साथीहरू पनि छानिसकेका छन् । आफैले छानेको नै बढी महत्त्वपूर्ण हुन्छ भनेजस्तै उनीहरूको जीवन खुसी, सुखद र सफल छ भन्ने कुरामा म विश्वस्त छु । म यो कुरामा सौभाग्यशाली ठान्दछु । A great person attracts great people and knows how to hold them together भने जस्तै हाम्रा छोराहरूले रोजेका हाम्रा बुहारीहरू शिक्षित, योग्य, सक्षम, सचेत, असल र व्यावहारिक छन् । यी सबै चारजना बच्चाबच्चीहरूबाट मैले धेरै कुराहरू सिकेको छु । साथै उनीहरूले सधैं सिक्नको लागि उत्प्रेरित गरिरहेका हुन्छन् ।

पेशागत कालखण्डमा स्कुल

सरकारी सेवाबाट निवृत्त भएपछि मलाई काठमाडौँको एलिट ग्रान्ड स्कुलमा २०७२ सालदेखि २०७८ सम्म प्रिन्सिपलको रुपमा काम गर्ने अवसर मिल्यो । यो अवसरलाई मैले आफ्नो अध्ययन र अनुभवलाई संयोजन गरी विद्यार्थीहरूबीच पुग्ने प्रयास गरेँ । सायद मेरो आफ्नै बच्चाहरुलाई दिन नसकेको तर बच्चाबच्चीहरूका लागि आवश्यक विषयवस्तुहरू पस्कने प्रयास गरे, सक्रिय प्रिन्सिपलका रूपमा । दबाबमा दिएको सिकाइ टिकाउ र दुरगामी हुन सक्दैन । वास्तवमा बालबालिकाहरु स्वभावतः असल, खुलस्त, अवोध र उत्सुक हुन्छन् । उनीहरुको उत्सुकतालाई प्रेरित गर्नु, गोडमेल गर्नु स्कुल, शिक्षक र अभिभावकहरुको ठूलो दायित्व हुनुपर्छ । बच्चाहरूमा हुने उत्सुकतालाई गोडमेल गर्नु, प्रेरित गर्नु र त्यसैबाट उच्चतहको सिकाई गर्नु गराउनु शिक्षक, स्कुल तथा अभिभावकहरूको जिम्मेवारी हुन्छ ।

बाबुआमा–अभिभावकको अनुभूति

मैले माथि उल्लेख गरेका प्रतिनिधिपात्र घटनाहरू र प्रसङ्गहरू लगायत बच्चाबच्चीहरूसँगको दैनिक जीवनका सबै क्रियाकलापहरूसँग मेरो आत्मीयता गाँसिएको छ । अप्ठ्यारोमा पनि मैले आनन्दको अनुभूति गर्न सकेको छु । मैले बुझेको र बुझ्नुपर्ने कुरा के रहेछ भने बच्चाबच्चीहरुप्रति हामीहरुले निर्वाह गरेको भूमिकाभन्दा पनि बच्चाबच्चीहरूबाट बाबुआमालाई प्राप्त हुने भौतिक अभौतिक पुरस्कार बढी महत्त्वपूर्ण र ओझपूर्ण हुँदोरहेछ । समग्रमा विचार गर्दा भौतिक उपलब्धि भन्दा मानसिक सुख बढी ओझपूर्ण हुन्छ भन्ने मैले महसुस गरेको छु । मेरो बच्चाबच्चीहरुले मलाई एउटा व्यवहारिक मान्छेका रुपमा उभ्याउने भूमिका निर्वाह गरेका छन् । उनीहरूको सम्पूर्ण क्रियाकलापले मलाई खुसी, ऊर्जा, र आँट थपिदिएको छ । पछिल्ला दिनहरूमा नयाँ नयाँ विधाहरू र प्रविधिमा पनि परिचित हुन सहयोग गरेका छन् । उनीहरूको तार्किक र परिपक्क सरसल्लाहले मेरा निर्णयहरूलाई प्रभावित गर्ने गरेका छन् । वास्तवमा मेरो जीवनको सम्पत्ति नै यही हो । मेरो रक्त एवं भावना सञ्चार गर्ने यी रथीहरूप्रति म सदैव धन्य भइरहनेछु ।

यसैगरी स्कुलका बालबालिकाहरूबाट पनि मैले उनीहरूको माया र सानिध्यता पाउन सफल भएँ । त्यसकारण पनि उनीहरूको भलाईप्रति म थप जिम्मेवार हुने कोसिस गरेँ । मेरो बच्चाबच्चीहरू तथा स्कुलका नानीबाबुहरू मेरो सुखद जीवन अनुभूत गराउने प्रमुख स्रोतका रुपमा रहे । जीवन सुखद, हराभरा, उपलब्धिमूलक बनाउने यी बच्चाहरूप्रति मेरो सदैव आशीर्वाद लागिरहोस् । साथै विश्वका प्रत्येक बालबालिकाहरूले आफ्नो बाल्यकालको सुखद अनुभव गर्दै सुखद भविष्य निर्माण गर्न पाउन, मेरो यही शुभकामना छ । अन्तमा, शब्दमा उतार्न नसक्ने मेरो अनुभूति यहाँ एउटा लेखमार्फत पस्कन खोज्नु अस्वाभाविक पनि हुन सक्दछ । त्यसैले यो लेख एउटा प्रयत्न र जमर्को मात्रको रुपमा लिन पनि पाठकहरुलाई अनुरोध गर्न चाहन्छु ।

सर्वे भवन्तु सुखिन !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button