देवेन्द्र, जसलाई ठमेल हिँड्दा मीस गर्छु

अशोक सिलवाल

अचेल ठमेल हिँड्दा मीस गर्छु, एउटा मान्छे । झल्को आउँछ नर्सिङ चोक पुग्दा उनैको । झट्ट देखिजस्तो लाग्छ उनै, काठमाडौं गेस्ट हाउसअगाडि । मन्डला स्ट्रिटमा पनि टप्लुक्क भेटेजस्तो लाग्छ उनलाई नै । संचयकोष अगाडि पनि हाइहेलो गरेजस्तो लाग्छ फेरि फेरि । तर, यहाँ छैनन् । ठमेलमा छैनन् । यो धर्तीमै छैनन् उनी । कत्ति चाँडो बितिसेकछ यो एक महिना उनी बितेपछि पनि ।

यो कुनै प्रेमकथा होइन, तर सम्बन्धको कथा हो । एउटा मान्छे नुहुनुको रिक्तताको कथा हो । ठमेल एउटा मान्छे बिना कति अपुरो र उजाड हुन्छ भन्ने अनुभुतिको कथा हो ।

हुन त उनको र मेरो सम्बन्ध त्यस्तो खास थिएन तर केही सम्बन्ध यस्ता हुन्छन्, जो सतहमा खास नदेखिए पनि गहिराइमा खास हुँदा रहेछन्, त्यो त्यति बेला अनुभव हुँदोरहेछ, जब ऊ कहिल्यै नफर्किने बाटो हिँडिसकेको हुन्छ ।

‘प्रिय भाइ देवेन्द्रको बारेमा नसुन्नुपर्ने दुर्भाग्यपुर्ण खबर सुनिसकेँ अशोकजी । अपुरणीय क्षति !’, विदेशमा रहेका दीपक महतले बिहानै मेसेज गरे । ‘ थप विवरण पशुपति कडेँलबाट आइरह्यो ।

केही दिनदेखि फेसबुकभरी देवेन्द्रको स्वास्थ्यलाभको कामनासहित फेसबुक पोस्टहरु बग्रेल्ती देख्दै थिएँ । शोकधुन बजिसकेको ती ननस्टप शीघ्र स्वास्थ्यलाभका पोस्टहरुले पनि देवेन्द्रलाई गम्भीर रोग लोगेको र चमत्कार भएको अवस्थामा मात्र बाँच्ने खालको सन्देश दिइरहेको थियो । तर, उनी त्यति कमजोर छैनन्, फर्किन्छन् भन्ने लागिरहेको थियो । किनकी, उनी साँच्चै एउटा स्ट्रोङ मान्छे थिए । ठमेलमा मान्छे–मान्छेलाई थाहा छ यो कुरा ।

ठमेलका चोक, गल्ली र कुनाकुनामा भेटिन्थे । कानमा फोनसहित ब्लु होराइजनबाट अप्सरातिर फटाफट हिंडिरेहका भेटिन्थे । नेपाल भिजनबाट यात्रीतिर दौडिरहेका भेटिन्थे । अलि तल नयाँबजारस्थित निटतिर लम्किरहेका भेटिन्थे । पर्यटन र खासगरी ठमेलको पर्यटन रिलेटड प्राय कार्यक्रममा छुट्थेनन् । तर, उनी मञ्चभन्दा भुईंमा बढी हुन्थे ।

पर्यटनका प्रमुख संस्थाहरु नेपाल पर्वतारोहण संघ (एनएमए), ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा), गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ), ठमेल पर्यटन विकास परिषद् (टीटीडिसी)जस्ता संघ संस्थाहरुका घोषणापत्रहरु पटकपटक लेखेँ । र, पर्यटन संस्थाका अनेक चुनावहरुलाई पटकपटक नजिकबाट नियालेँ । ती प्रत्येक चुनावहरुमा त्यही भुईंमा बस्ने देवेन्द्र वाग्ले मञ्चभन्दा माथि थिए । जीत वा हारमा देवेन्द्र फ्याक्टर निर्णायक थियो । त्यसका पछाडि कारणहरु थिए । उनले पैसा कमाएका थिए तर त्यसभन्दा कयौंकयौं गुणा मान्छे कमाएका थिए । के काँग्रेस, के एमाले, के माओवादी सबैतिर उनले मान्छे कमाएका थिए, भाइहरु कमाएका थिए, दाइहरु कमाएका थिए ।

ठमेलमा अहिले खास पर्यटन व्यवसायी हुँ भन्ने धेरैका लागि उनी कर्मदाता मात्र थिएनन्, श्रमिकबाट उद्यमी बन्ने रुपान्तरणयात्राका अभिप्रेरक पनि थिए । पर्यटनमा सबै सँगसँगै, यो उनले व्यवहारमै पुष्टि गरेका थिए ।

गर्ने हो, गरिहाल्ने हो, त्यो टाइपका थिए उनी । हो वा होइनका बीचमा थिएनन् । कि त हुन्छ थिए, कि त हुँदैन टाइपका थिए उनी । यता पनि ठिक्क, उता पनि ठिक्क टाइपका थिएनन् । चपाएर बोल्थेनन् । तीतोमीठो जे बोल्थे, निर्भीक भएर बोल्थे । वा नबोलेरै धेरै कुरा बोल्थे । आँखाले बोल्थे, आँखाले नै हाँस्थे, उनको त्यो हाँसो झन् बढी संप्रेषणीय । मलाई सबैभन्दा प्रिय लाग्थ्यो त्यो ।

बोल्ने ढँग कति थियो उनको तर उनको बेढँगी नै प्रिय सबैलाई । उनले बोलेको झर्केजस्तो सुनिन्थ्यो । तर, त्यसैमा आत्मीयता अनभुव गर्थे उनका सर्कलका सबैले । झट्ट सुन्दा रुखो लाग्ने उनी उनका आँखाहरु मलाई मायालु लाग्थ्यो । उनको र मेरो बीचमा खासै कुरो हुँदैन थियो । कहिल्यै उनको र मेरो बीचमा केही गम्भीर सल्लाह भएन ।

‘के छ अशोकजी ?’ उनले सधैँ भन्ने त्यही र त्यत्ति थियो ।

‘ठिक छ, ठिकै छ’, मैले भन्ने सधैँ त्यही र त्यत्ति मात्र थियो ।

तर, यदाकदा मैले सुन्ने गरेको थिएँ, कहिँकतै मेरोबारे प्रसंग चल्दा उनी सधैँ ‘हाम्रो अशोक’ भन्ने गर्थे । त्यस प्रकारको आत्मीयता थियो हाम्रो । मलाई पनि उनी आफ्नो लाग्थ्यो । तर, त्यो शब्दमा कहिल्यै व्यक्त गरिएन ।

मलाई मात्र होइन, सायद धेरैलाई उनले आफ्नो भन्थे, ठान्थे । र, थुप्रैले उनलाई पनि त्यस्तै ठान्थे । धेरैका आँट थिए उनी । भरोसा थिए । संकटका साथी थिए उनी । निणर्य गर्ने आँट भएका मान्छे थिए उनी । होस्टेमा हैसे गर्ने साथी थिए, दाइ थिए, भाइ थिए उनी । त्यसैले अहिले उनी नहुनमा उनलाई मीस गर्नेहरु धेरै देखेँ ।

अनगिन्ती ट्रेकिङ कम्पनी, अनेक होटल, अरु पनि थुप्रै व्यवसाय तर प्रायमा कोही न कोही पाटर्नर । उनका पार्टनर नै अनगिन्ती । उहाँ नै हो पर्यटनमा मलाई पहिलो पाइला टेकाउने, यस्तो भन्नेहरु धेरै भेटेको छु । र, धेरैले भेटेको छु देवेन्द्रसँग वैचारिक मतभिन्नहरुले पनि उनलाई समर्थन गरेको ।

२०४६ पछि बहुदलीय सत्ता राजनीतिको समाचारमा गिरिजाप्रसादहरु त थिए नै । त्यहाँ गोरखाका चिरञ्जिवी वाग्लेहरु पनि स्ट्रोङ रुपमै देखापरे । त्यहीँनेर मैले पहिलो पटक देवेन्द्र वाग्लेको नाम सुनेको हुँ, चिरञ्जिवीको छोरा भनेर । त्यसको धेरै बर्षपछि जब म पत्रकारिताबाट पर्यटनतिर आएँ, आफ्नै पौरख र परिचयमा उभिएको देवेन्द्रसँग भेट भयो । र, पटकपटक भेटहरु भइरहे । केही यात्राहरु पनि भए सँगसँगै । यात्राका अनेक रोचक प्रसंगहरु सम्झनामा सधैँ रहेनछन् ।

उनी महासचिव भएको संस्था निट नेपालमा म सल्लाहकार थिएँ । सयौं मिटिङ भयो । र, ती प्रत्येक मिटिङमा उनी निर्णायक फ्याक्टर थिए र म साक्षी । अथवा मिटिङ नै बस्ने वा नबस्ने भन्ने हकमा पनि उनको हात रहन्थ्यो । पछाडि सीटमा बस्ने देवेन्द्रतिर अगाडि बस्ने सबैको ध्यान रहन्थ्यो ।

‘देवेन्द्र के भन्छ ? देवेन्द्र के भन्छन्, देवेन्द्र दाइ के भन्नु हुन्छ ?’, उनीप्रति प्रायको यस्तै टाइपको मनोविज्ञान बुझेको थिएँ । किङ मेकर भन्छन् नि, पर्यटन क्षेत्रमा उनी किङमेकर नै थिए । उनलाई केही चाहिन्न थियो, तर उनी पदमा नबसी पदमा बस्नेहरुका अभिभावक थिए ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button