म प्लनेमै बहोस भएपछि आमाले अंग्रेजी सिक्नुभयो

अनुभव श्रृङ्खला

सरिता शर्मा

२६ डिसेम्बर २०१९ काठमाडौँबाट सिङ्गापुरकाे उडान लिनु थियाे आमालाई लिएर । अघिल्लो पटकको मेरो कार्य क्षेत्र थाइल्यान्डमा एक महिना बसेर घुमेर आएपछि आमाले अर्को पटक अर्को नयाँ ठाँउ जाने इच्छा गर्नु भएको थियो । अनि यतिबेला चाहिँ मेरो कार्य क्षेत्र vietnam थियाे । अनि सोहि अनुसार सिङ्गापुर एक हफ्ता घुमेर भियतनाम जाने योजना बनाइएको थियो ।

काठमडौंबाट दिल्ली हुँदै बेलुकीकाे उडान सिंगापुरको थियाे । बिहान दश बजे आमा छोरीको भेट भयो काठमाडौँको एअरपोर्टमा । त्यसपछि सबै औपचारिकता पूरा गर्दै अगाडि बडियो । पासपाेर्ट देखाउँदै घुम्नु पर्ने यात्रामा आमालाई पनि बडो मज्जा आउँछ अनि आमा रमाएको खुसी भएकाे देखेर मलाई अझ बढी खुसी लाग्छ ।

काठमाडौँबाट दिल्ली पुगेर केहि घण्टा Transit मा बिताइयो । आमा यताउति हेर्दै उत्सुकताका साथ नयाँ नौला कुराहरुका बारेमा सोधीखोजी गर्नु हुन्थ्यो । म आमाले बुझ्ने तरिकाले बुझाउने गर्थे । पाँच बजे सिङ्गापुर एअरलाइन्सको बोर्डिङ्ग सुरू भयो । अरू यात्रीहरु सङ्गै लाइन लागेर आआफ्नो सिटमा गएर बसियो । विमानका कर्मचारीको निर्देशिका, सूचना र सेवा अनुसार उडान अघि बढ्न थाल्यो । करिब छ घण्टाको उडान हुदै थियो । पहिलो आधा घण्टा विमानले गति लिँदै उचाई लिने समय भएकाले सीट बेल्ट बाँधेर बस्ने निर्देशन थियाे । त्यसपछि भने भोजन वितरणकाे सूचना आयो, आमाछोरीले भोजन गरियो । प्रायः जसो विमानकाे खाना खान मन पराउने मलाई आज खान मन नलागे जस्तो भइरहेथ्यो । तर केहि नभनी खाए । खाना पछि आमालाई औषधी खाएर सुत्नु होस् भन्दै आफू पनि निदाउने कोसिस गर्दै थिएँ । मलाई आज शरीरमा अलि असहज जस्तो महसूस भइरहेको थियो तर केहि नभनी सुत्ने प्रयास गरे अनि म निदाएछु ।

कति समयपछि कानमा कसैले बोलेको जस्तो लाग्यो । “How are you feeling now?”, बिस्तारै आँखा खोलेर हेर्दा त म तीन छक्क परेँ । तीन वटै सीट ओगटेर म लमतन्न सुतेको रहेछु । मेरा अगाडि एक जना ब्यक्ति जसले घाँटीमा stethoscope लगाएका थिए मलाई सोध्दै रहेछन् ।

“आमा खोई ?” भन्दै म जुरुक्क उठ्न खोजेँ तर सकिनँ ।

“म यता छु नानी” भन्दै आमा मेरो अगाडि आउनु भयो ।

“मलाई के भयो आमा?”

“तिमी बेहोस भएकी थियौ, वहाँ डाक्टर साहेबले तिमीलाई बचाउनु भयो नानी ।”

विमानका कर्मचारीहरु यताउता गरिरहेका थिए । मेरो हातमा स्लाइनको पाइप लगाइएको रहेछ ।

“मलाई के भएकाे थियाे डाक्टर ? How is my mother?”, मेरो चासो आफ्नो स्वास्थभन्दा पनि आमापट्टी बढि गयो ।

विमानका कर्मचारीको र डाक्टरको सहयोगमा म उठेर बसे । उनीहरूको सेवा र उपचारपछि म अलिक सहज अवस्थामा आएँ । म सामन्य अवस्थामा आएको देखेर बल्ल अरू यात्रीहरु पनि खुसी देखिए । केहि बेरपछि विमान ल्याण्डिङको सूचना आयो । सबै आ-आफ्नो सिटमा गएर बसे । अलि बेरमा सिंगापुरको Changi International Airport मा विमानले अवतरण गर्यो । Gate खुल्ने बित्तिकै दुई वटा wheel chair लिएर विमानस्थलका कर्मचारीहरु आए । एउटामा मलाई र अर्कोमा आमालाई लिएर उनीहरू निस्किए । त्यतिन्जेल अरु सबै यात्रीहरु धैर्यपूर्वक प्रतीक्षा गरिरहे । निस्कनु अघि ती मलाई बचाउने डाक्टर आएर भने, “You are safe now, you will get further treatment in the airport hospital. If needed you can call me” भन्दै मेरो स्वास्थ अबस्थाबारे लेखिएको र उनको सम्पर्क नम्बर भएकाे पूर्जा थमाइदिए । मैले उनलाई धन्यबाद तथा आभार व्यक्त गरें । त्यसपछि एयरपोर्टका कर्मचारी मलाई लिएर विमानबाट बाहिरिए । मेरो हाते झोला र मलाई गुडाउँदै अघि बढ्न थालेको देखेर आमालाई खोजेँ । तर देखिन ।

“Where is my mother? She can’t speak English”, म झन आत्तिन थालेछु ।

“Don’t worry, she is already there”, अगाडि देखाए ।

उनीहरुले त मलाई भन्दा अघि आमालाई wheel chair मा राखेर लागिसकेका रहेछन् । त्यहाँबाट एयरपोर्टकाे क्लिनिकमा उपचार भयो । ECO, ECG आदि इत्यादि गर्दासम्म म पनि अलि तंग्री सकेकी थिएँ । म त आमाकै लागि भए पनि बलियो हुनै पर्ने थियाे । त्यसै त आत्तिने आमा झन् म लिएर जाने मान्छे नै बिरामी भएपछि कति आत्तिनु भयो होला । करिब दुई घण्टा जतिको उपचार र आरामपछि तीन सय डलरको बिल थमाइदिए मेरो हातमा । त्यो तिरिसके पछि उनीहरुले नै immigration तथा visa process मा पनि सहायता गरे । नेपाली पासपोर्ट लिएर बिदेश यात्रा गर्दा अधिकांश देशहरुमा पहिला नै visa लिनु पर्ने भए पनि सिंगापुरमा भने on arrival visa लिन पाउँदा गर्वको महसूस हुने गर्छ।

यसपछि आमालाई सिंगापुर घुमाउने क्रम सुरु भयो । पहिला त आमा अलि डराउनु भएकाे थियाे फेरि केहि हुन्छ कि भनेर । जे हुनु थियो भइसक्यो अब केहि हुँदैन भनेर हिम्मत बढाएँ । केहि दिन आमा छोरी घुमघाम गरियो । त्यसपछि भियतनामको HCM City (जसलाई Saigon City पनि भनिन्छ) काे उडान गरियो । District 12 को मोस्काे टावरको 11 तल्लामा रहेको मेरो अपार्टमेन्टमा पुगेपछि मात्र आमाले भन्नुभयो त्याे उडानमा के के भएकाे थियाे भनेर ।

आमाले भने अनुसार सुत्ने तरखर गर्दै गर्दा मेरो टाउको एकातिर धरै ढल्किएको देखेर मलाई बोलाउनु भएछ । म केहि नबोलेपछि मेरो हात समाएर उठाउन खोज्दा म लुलो भएको रहेछु । अनि आमा आत्तिएर कराउनु भएछ “लौ न मेरी छोरीलाई के भयो” भन्दै । आमाको भाषा नबुझे पनि आमा आत्तिएको देखेर दायाँबायाँतिरका यात्री साथै उडानका कर्मचारीहरु आएछन् । आमाले उनीहरूको भाषा अङ्ग्रेजी नबुझे पनि म तिर ईशारा गर्नुभएछ । उडानमा कोहि डाक्टर छ कि भनेर announcement गरिएछ । धन्न ! सिंगापुरकै एक डाक्टर साहेब रहेछन् । उनैले मेरो प्राथमिक उपचार गरेछन् । उनीहरू आमालाई मेरो बारेमा सोधीखोजी गर्दा रहेछन् तर आमा नेपाली भाषाबाहेक अन्य भाषा नबुझ्ने । आमाले खाली “नेपाल, नेपाल” भन्नुभएछ । विमानमा नेपाली भाषा बुझ्ने कोहि पनि रहेनछ । तैपनि एक जना एरहोस्टेज अलिअलि नेपाली बुझ्छु भनेर आईछन् र आमालाई हिम्मत दिइछन् । यसरी त्यो रातको विमान यात्रा जसोतसो गरी पूरा गरिएछ ।

Saigon City आएपछि मेरो काम सुरु भयो । भियतनाममा शिक्षण कार्यका लागि विभिन्न देशबाट शिक्षकहरु आउने गर्छन् । ती नयाँ आएका शिक्षकहरूलाई शिक्षण तालिम दिने संस्थामा कार्यरत थिएँ म पनि । उनीहरूको तालिमका क्रममा म आमालाई पनि लिएर जान्थेँ कहिलेकाहीं । घर छोडेर परदेशमा आएका केटाकेटीहरू आमालाई देखेर खुसी हुन्थे, आमाको हात समाउँदै कुरा गर्न खोज्थे । फेरि त्यहाँ पनि भाषाकै समस्या । अनि त आमाले पनि अङ्ग्रेजी भाषा पढ्ने इच्छा गर्नु भयाे । घरमा म आमालाई बोलचालमा आवश्यक पर्ने कुराहरु सिकाउने गर्थे । आमा बडो चाख देखाएर आवाज निकालेर पढ्ने गर्नु हुन्थ्यो । अनि सिकेका कुराहरू नयाँ बनेका साथीहरुसंग गर्ने कोशिस गर्नु हुन्थ्यो ।

कहिलकाहीँ पार्कमा घुम्न जाँदा भियतनामी महिलाहरु नजिकै आएर आमाको निधारको टिका र नाकको फुली हेरेर दङ्ग पर्दै आफ्नो भाषामा के के कुरा गर्थें । आमा पनि दङ्ग पर्दै “हेल्लो फ्रेन्ड्स” भन्नु हुन्थ्यो । यो सबै देखेर म पनि झन् बढी खुसी हुन्थे ।

क्रमसः


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button