विद्यालयको अन्तिम दिन जिन्दगीमा पहिलो पटक समयको अभाव महसुस भयो

प्रश्रय श्रेष्ठ
कक्षा ११

बिहानै म विद्यालयको लागि तयार भएँ । हतार हतार गरी बस स्टेशनमा पुगेँ । बस आएकै रहेनछ । केही समयपछि बस आयो ।

बस आएपछि मात्रै एकाएक ‘आज त मेरो स्कुलको अन्तिम दिन’ भन्ने भावना आयो । बसमा भाइबहिनीहरू बसिरहेका थिए । चढ्ने क्रम पनि चलिरहेको थियो । हल्ला पनि त्यति नै बढ्दै गयो । पहिला त्यही हल्ला रमाइलो नलाग्ने । त्यो दिन किन हो किन रमाइलो लागिरहेको थियो ।

आँखा चिम्म गरेको त झ्याप्प निदाएछु । आँखा खोल्दा बस विद्यालय पुगेछ । बसबाट बिस्तारै उत्रेँ । चालकदाइलाई धन्यवाद पनि भनेँ ।

कक्षा कोठातिर पुगेँ । साथीहरू मलाई तर्साउन ढोकाभित्र कुरिरहेका रहेछन् । तर्सेको जस्तै गरेँ । खासमा म कत्ति पनि तर्सिएको थिइनँ । त्यही कुरा साथीहरूमाझ भनेँ पनि । सबै जना एसइइको सेन्टरबारे कुरा गरिरहेका थिए । गफ गर्दागर्दै समय बितेकै थाहा भएन । पहिलो कक्षा सुरु भयो । अन्तिम दिन भएकाले खासै पढाइ भएन । पहिला त्यही समय छिटो बितोस् लाग्ने । त्यो दिन समय कहिले नबितोस् जस्तो लागिरहेको थियो । समयको मूल्य समय बितेपछि मात्रै थाहा पाइने रहेछ ।

कक्षाका अनुभूति
शिक्षकले भनेका कुरा
साथीभाइले गरेका कुरा …

ओहो ! आँखा झिमिक्क्क गर्न नपाईकन खाजा खाने समय भैसकेको थियो । मैले अन्तिम चोटी रु १५० जाने भात र ४ टुक्रा मासु मगाएँ । साथीभाइहरूसँग बसेँ । कुरा गर्दागर्दै तातो भात पनि चिसो भैसकेको थियो । मैले यसो सबैको मुख हेरेँ । निकै खल्लो लाग्यो । आँखा भरी आँसु आयो ।

आफूलाई अप्ठ्यारोबाट बचाउन म चुप्प लागेर भात खाइराखेँ । धेरै बोल्ने प्रश्रय आज बल्ल चुप्प लागेछ भनेर साथीहरूले गिजाए । पुनः हामी कक्षातिर नै लाग्यौँ । कक्षामा पुग्ना साथ केही साथीहरूले डेस्क बजाएँ । केही साथी ‘थ्री इडियट’ फिल्मको ‘Give me some sunshine’ गाउन थाले । गीत सकिएपछि सबैका आँखाभरि आँसु थियो । एकैछिनमा शून्यता छायो । हामी १२ जनाको मित्रता बितेको ४ वर्षमा निकै गहिरो भैसकेको भावना सबैको मनमा थियो । त्यो कुरा कसैले भनेको थिएन तर कसैले भनिरहे झै लागिरहेथ्यो ।

लन्च समय पनि समाप्त भयो । लगातार दुई घण्टी गणित पढ्यौँ सबै जनाले । फेरि कक्षा केही समयका लागि कक्षा समाप्त भयो ।

अन्तिमको २ ओटा कक्षामा हामीले एकअर्कालाई नोटहरू लेख्यौँ । त्यसरी नै समाप्त भयो मेरो अन्तिम दिन । हेर्दाहेर्दै कक्षा १० पनि सकिएछ ।

ती चार वर्षमा मैले पाठ्यपुस्तकभन्दा भन्दा मेरा साथीभाइ र शिक्षकहरूबाट धेरै कुराहरू सिकेँ । डियरवाक सिफल स्कुलबाट २०८० सालको एसइई दिने हामी जम्मा १२ जना थियौँ मात्र थियौँ । थोरे जनाले एसइई दिएर रेकर्ड बनायौ भनेर शिक्षकहरूले पनि भन्दै हुनुहुन्थ्यो । हामी विभिन्न ठाउँबाट आएका थियौँ । सबैको छुट्टै कथा थियो । सबैको छुट्टै सिप र कला ।

अहिले सोच्दा नमज्जा लाग्छ । ती चार वर्षमा मैले उनीहरूलाई राम्ररी चिन्न सक्थेँ । केही साथीहरूसँग रिसरागमै समय बित्यो । केही भन्नपर्ने कुरा पनि भन्न पाइएन । त्यही बेला मलाई मेरो जिन्दगीमा पहिलो चोटि समयको अभाव महसुस भयो । भन्नुपर्ने कुरा धेरै थियो र समय कति थोरै । समय बगेको खोलाजस्तै, फर्किआउँदैन पहिलेजस्तै ।

अहिले भएको समय खेर नफालौँ । बितेको समय कहिले फर्किदैन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. प्रशय भाइ त निकै भावुक हुनुभएछ,
    यस्तै हो, जीवनका हरेक मोडहरू यसरीनै अविस्मरणीय हुँदै जाऊन् ताकि लेखनका लागि खुराक मिलिरहून् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button