
मास्टर मित्रसेन अर्थात् सङ्गीत क्रान्ति

जे.के.बराईली
दिल्ली, भारत
भारत र नेपाल बिच युगौंदेखि दाज्यू-भाई सरह गहिरो ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहेर आएको छ भन्ने कुरा कसैदेखि लुकेको विषय होईन। कैयौं यस्ता पक्षहरू छन् जसले गर्दा दुवै देशलाई यसरी अति निकटमा राखेको छ। एक सम्प्रभुसत्ता सम्पन्न देश नेपालमा त्यहाँको नागरिकता र राष्ट्रियताले बाँधिएका नेपालीहरू छन् भने भारतमा पनि परापूर्वदेखि मातृभूमिलाई आफ्नो पसिनाले सिञ्चन गर्दै, देशको रक्षा र विकासमा योगदान पुऱ्याउँदै आउने नेपाली भाषी नागरिकहरू यहाँको जनसंख्याको एक महत्त्वपूर्ण हिस्सा बनेर रहेका छन्। दुवै पक्षका नेपाली भाषीहरू उही इतिहास, उही एक समान परम्परा, रीति रिवाज, प्रथा, व्यवहार र मान्यताहरूले बाँधिएर बसेका छन्। यसैले दुवै देशमा रहेका नेपाली भाषीहरू माझको घनिष्ठ सम्बन्ध र संसर्गबाट कहिं न कहिं भारत र नेपाल बिचको सम्बन्धलाई दह्रिलो बनाउनमा योगदान पुगिरहेकै हुन्छ। यी दुवै तर्फका नेपालीहरूलाई दह्रिलो रूपमा बाँध्ने विषयहरूमध्ये साहित्य र सङ्गीतलाई महत्त्वपूर्ण विधा मान्नु पर्छ। हामीमाझ मुट्ठीभर यस्ता श्रष्टाहरू छन्, जसले या त साहित्यको माध्यमले या त सङ्गीतको माध्यमले दुवै तर्फका नेपाली जनसमुदायलाई जोड्ने काम गरेका छन्। दुवै तर्फका नेपाली समाजभित्र रहेका कैयौं विसङ्गति, कुरीति र नराम्रा पक्षहरूलाई हटाउने र उन्नतितर्फ लाग्ने मार्गदर्शन गर्दै आएका छन्। यस्ता महान विभूतिहरूमध्ये शीर्ष स्थानमा स्वर्गीय मास्टर मित्रसेन थापाको नाम नलिए ठूलो अन्याय हुनेछ।
मित्रसेन थापा बहुआयामि प्रतिभाका धनी व्यक्ति हुन्। उनी साहित्य, सङ्गीत, नाटक, अभिनय जस्ता सृजनशील प्रतिभा, प्रखर जातियता, सामाजिक सचेतना र सुधारको उत्कट आग्रह, लगनशीलता, अथक परिश्रम र त्याग जस्ता सबै-सबै गुणहरुका सम्मिश्रण थिए। यति धेरै प्रतिभाको समिश्रण एक व्यक्तिमा समाहित रहेको विरलै देखिन्छ। साङ्गीतिक क्षेत्रको त उनी रचनाकार, सङ्गीतकार तथा गायकको रूपमा सम्पूर्ण प्याकेज नै थिए भनि प्रकाश सायमी लगायत धेरै बीज्ञहरूले किटेर भनेका छन्। खासगरी नेपालको धौलागिरी क्षेत्रको लोक संस्कृति ‘झाम्रे’ (झ्याउरे) लाई नेपाल र भारतको कुना-कुनामा पुऱ्याउने श्रेय उनै मास्टर मित्रसेनलाई जान्छ । उनको लेखनी तथा गायकीमा पनि त्यस भेकको स्थानीय रङ्ग स्पष्ट पाउन सकिन्छ। उनले रचेका र स्वर भरेका गीतमध्ये ‘मलाई खुत्रुक्कै पाऱ्यो जेठान तिम्रो बहिनीले’, ‘अब त जाउँ कान्छी घर’, ‘लाहुरेको रेलीमाइ’, ‘स्वामी नजाउ छोडी’, ‘धानको बाला झुल्यो’,’ नौ तले बाउन्न ढोका’, ‘रेलीमै भर्खरै जाँदो बैंस’, ‘किन गर्छौ तानातानी’, ‘तानसेनको शितलपाटी’, ‘गोरखाली भयौं खाली’, ‘कस्तो हो तिम्रो लर्किने बानी’ र ‘चुईँ चुईँ चुईँकिने जुत्ता’ जस्ता गीतहरूले नेपाली लोक गीत र सङ्गीतलाई माथि उठाउनमा जे जति योगदान पुऱ्याएका छन्, त्यसलाई नेपाली संङ्गीत जगतले बिर्सियो भने त्यो काम एक निश्चित कालखण्डको इतिहास मेट्नु बराबर नै हुनेछ।
मित्रसेनले एकातिर आफ्नो गायनमा युद्ध, नेपाली जातिको पछौटेपन, तात्कालीन समयको चित्रण गरेका छन् भने अर्कोतिर उनले जनबोलीलाई प्रधान्यता दिएका छन्। उनको रचनामा व्यङ्ग्य र परिहासको पुट पनि प्रशस्त पाइन्छ । उनले रचना गरेका चालीसभन्दा धेरै गीतमा महिलाको जीवन स्थिति, स्थानगत परिचय, यान्त्रिक मनोवृत्ति, पुरुषको बेवारिसेपन, पाखण्डीपन, हैकमवाद, कुव्यसनप्रति कटाक्ष, जातिय जागृति, जातिय विकासको सचेतना र सामाजिक सुधारको आग्रह आदि पक्षहरू ओतप्रोत् रहेको पाइन्छ तर ती समग्र रचनाको भूगोलमा उनको सबभन्दा ठूलो भावभूमि हो, संस्कृति र संस्कृतिले बनाएको नेपालीपन। गीत रचना र गायनको माध्यमले नेपाली संस्कृतिलाई बचाउन उनी अघि सरेका छन्। उनको सृजनामा यही भाव नै ठोस शक्तिको रूपमा मुखरित् रहेको देखिन्छ । उनले गाएका धेरैजसो गीतहरूमा जीवन र जगतको सम्बन्ध र त्यससित विस्तारित हुँदै गएको सहजीवनको तुलनात्मक अध्ययन पाइन्छ। बहुप्रतिभाशाली मित्रसेनले सङ्गीत र साहित्यको माध्यमले समाजमा जाँड रक्सी, जारी, बालविवाह, बहुविवाह जस्ता कुसंस्कृतिको विरुद्ध आन्दोलनको शंखघोष गरेका थिए, तत्कालीन समाजलाई झकझकाएका थिए। नेपाली जाति अरूसरह उन्नतशील बन्नु हो भने हामीभित्र भएका धेरै कमजोरी र विसङ्गतीहरूलाई हामीले आफूदेखि पन्साएर फ्याँक्नुपर्छ भन्ने मूल अवधारणा नै उनको सृजनाहरूमा सुगन्ध बनेर बसेको हामी देख्छौं।
जनतामा जागरण र धर्मप्रति प्रेम जगाउने मित्रसेनले “लाहुरेको रेलीमाइ फेशनै राम्रो, रातो रुमाल रेलीमाइ खुकुरी भिरेको” जस्तो गीत मार्फत् तत्कालीन समाजमा व्याप्त आधुनिकताको चित्रण उतारेका छन्। एका-आर्काप्रतिको ईर्ष्या र डाहामा नै रन्थनिएको समाजलाई यसरी नयाँ सन्देश दिए–
किन गर्छौ ताना तानी मनमानी
दुई दिनको छ जिन्दगानी
यस्ता गीतमार्फत् उनले समाजलाई एक निश्चित दिशाबोध गराएका छन् भने गीतमा कतै प्रकृति प्रेम पनि सलल बगेको देखिन्छ। जस्तै—
धानको बाला झुल्यो हजुर देशै रमाइलो
राष्ट्र निर्माणमा जीवनवोधको झलक दिइरहने मित्रसेनले कहिले चेलीको विरह माइती भएर गाए, कहिले राष्ट्रको गरिमालाई आफ्नो स्वरमा उचाले। उनी देश, समाज र संस्कृतिको सदैव चिन्ता गर्ने एक चिन्तक हुनुको कारण अध्ययन र अनुभव मात्र नभई विश्व भरि ध्वस्त भइरहेको इतिहासको बचाउको चाह उनको कला र गलामा देखिन्थ्यो। उनले लोक बोलीमा प्रयोग हुने शब्दलाई पनि संकेत र बिम्बको रूपमा प्रयोग गरेर भाषा, भाव र भङ्गिमाको जगेर्ना गरेका छन्।
बटौलीको बजारैमा सुका धार्नी मासु
तिम्री छोरी मैले लगेँ टीका लाइदेऊ सासू
सुधारको आग्रह र क्रान्तिको बोली एकैपटक बोल्न भ्याउने गायक, संगीतकार मित्रसेनको कल्पनालोकको बलियो पक्ष नै संस्कृति हो भन्ने कुरा अक्षर अक्षरले स्पष्ट पार्छ ।
उनको रचना, गायन र सृजनाको सम्बन्ध कतै न कतै विश्वयुद्धसँग पनि जोडिन पुगेको देखिन्छ। आरम्भकै कुरा गर्दा मित्रसेनले दोस्रो विश्वयुद्ध लडेर फर्केपछि नै अनगिन्ति गीत–सङ्गीत रचना गरेका हुन्। ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको’–गीत एउटा उदाहरण हो । नेपाली लोकगीतमा उनले प्रयोग गरेका ‘लाहुरे’ शब्द परवर्ती लोक गीतहरूमा अझ मुखरित हुँदै गएको देखिन्छ। यो मित्रसेनकै देन हो। उनका लोक लय र गीत रचनाबाट परवर्ती लोक सङ्गीत कर्मीहरू अति प्रभावित रहेको उदाहरण हामी धेरै पाउन सक्छौं।
उमेरले अहिले पाका बनिसकेका दार्जीलिङ्गका प्रख्यात सङ्गीतकारहरू शान्ति ठटाल र कर्म योञ्जन मैंले लिएकै अन्तर्वार्तामा मित्रसेनको प्रसङ्ग निकाल्दै भन्छन्- “हामी मित्रसेनकै गीतहरू सुनेर हुर्केका हौं”। नेपाली सङ्गीतका सिकन्दर स्वर्गीय अम्बर गुरुङ्गले त झन विभिन्न प्रसङ्गहरूमा मित्रसेनका गीतहरूबाट आफू प्रभावित भएको स्वीकारेका छन्।
‘भारतमा नेपाली गीत लेखनको परम्परा र प्रवृत्ति’ मा नवीन पौड्याल लेख्छन्—“लाहुरेको रेलीमाई फेसनै राम्रो, रातो रुमाल रेलीमाई खुकुरी भिरेको” बोलको गीत अहिले पनि सबै सङ्गीत-प्रेमी नेपालीको आइकोन-गीत बनेको छ।
उनले आफ्नो रचनामा प्रयोग गरेका कान्छा र कान्छीको चर्चा, जङ्गलको बाटो, बत्ती र विकासको कुराको छनक कालीभक्त पन्तको रचनामा पनि पाइन्छ। उदाहरणका लागि पन्तको गीत “कान्छाले कान्छीलाई लग्यो वनको बाटो लाल्टीनै बालेर” लाई लिन सकिन्छ। सङ्गीत मर्मज्ञ प्रकाश सायमी त यतिसम्म भन्छन् कि “मित्रसेनको सङ्गीत रचना–शैली र गायनको खुल्लापनमा रत्नदास प्रकाश मौलाए, उनको साङ्गीतिक शिल्पमा धर्मराज थापा स्वतः सहज रूपले उत्रिए।”
मित्रसेनको गीतभित्रका धेरै मिथक, रूपक वा भाव नेपाली समाजभित्र पटक-पटक दोहोरिरहेको हामी पाउँछौँ, जसमध्ये “धानको बाला झुल्यो हजुर देशै रमाइलो”, “चुइँचुई चुइँकिने जुत्ता” जस्ता उनका गीतका गेडा वा विषयबोधबाट प्रभावित भएर र यसै परिपाटिलाई पछ्याएर अझ कति गीतहरू रचिए होलान् त्यो त सायद हामीले खोतलेकै छैनौं।
मित्रसेनका गीत रचनाको प्रसङ्ग निकाल्दै “भारतीय नेपाली गीतकार पारिचयित चर्चा” नामक पुस्तकमा डा. जस योन्जन ‘प्यासी’ लेख्छन्—“लोक शैलीमा लेखेका र उनैले सङ्गीत भरी गाएका गीतहरूले नै भारतका विभिन्न प्रान्तमा रहेका नेपालीहरूको हृदयलाई आनन्द मात्र दिएका होइनन् अपितु नेपाली गीत सङ्गीत पनि यति सम्पन्न रहेछन् भन्ने ज्ञान दिएका हुन्।”
प्रभावको कुरा त बेग्लै हो, मित्रसेनका गीतहरू स्वयं आधुनिक पुस्ताका प्रख्यात सङ्गीतकारहरूमाझ पनि उत्तिकै चाखलाग्दो रहेको देखिन्छ। प्रख्यात सङ्गीतकार शम्भुजित बास्कोटाले चलचित्र ‘प्रेमपिण्ड’ र गोपाल योञ्जनले चलचित्र ‘कान्छी’ मा मित्रसेन रचित गीतलाई प्रयोग गरेबाट पनि यही तथ्यलाई बल पुगेको देखिन्छ।
मित्रसेनको गीत कहिले रेकर्ड भएको थियो भन्ने कुरापट्टि पनि ध्यान दिन आवश्यक छ। हिन्दुस्तान रेकर्ड कम्पनीको सहायक संस्थाको रूपमा चिनिने ‘द स्टार इन्डिया रेकर्ड एन्ड मशिन कम्पनी’ नामक संस्थाबाट मित्रसेनले पहिलो पटक सन् १९३६ मा गीत रेकर्ड गरेका हुन्।
उनका गीत, स्वर र सङ्गीत प्रभावशील भएकाले मात्र होईन तर शब्दहरू समेत राष्ट्रियता र नेपाली समाज सुधारको भावनाले ओतप्रोत रहेकाले पनि लोकप्रिय छन्। मास्टर मित्रसेन स्मृति प्रतिष्ठानले उनका २२ वटा रेकर्ड भएका गीत फेला पारेको छ भने अरू धेरै रेकर्ड नभएका गीतहरू पनि छन् । म्युजिक नेपाल, सिक्किम साहित्य परिषद् तथा लोकबाजा संग्रहालयले उनका सदाबहार गीतहरूको सी.डी., क्यासेट तथा अडियो क्यासेट तयार गरेर उनलाई जीवन्त राख्ने प्रयास गर्दै उनको योगदानको कदर गरेका छन्। मास्टर मित्रसेनका जम्मा ९७ वटा गीत, भजन, कव्वाली, गजल हालसम्म फेला परेका छन्। अझ खोज हुन सके उनको धेरै रचनाहरू फेला पर्न सक्ने सम्भावनाहरूलाई पनि नकार्न सकिंदैन।
लेखनमा कविता, गीत, भजन, गजल, कव्वाली, झ्याउरे, कथा, निबन्ध, डायरी, लेख, अनुवाद, नाटक जस्ता विविध विधाहरूमा उनी उत्तिकै पोख्त देखिन्छन्। दुःखको कुरा उनका कतिपय रचनाहरू अझै ओझेलमा नै छन् अनि यस्ता अमूल्य रचनाहरू उचित संरक्षणको अभावमा लोप हुने डर पनि छ । अहिलेसम्म उनको ११ वटा खण्डकाव्य, १४ वटा नेपाली, हिन्दूस्तानी र उर्दू भाषाका नाटक, ५ वटा कथा र ६ वटा निबन्ध फेला परेका छन्। यसमा सन् १९३७ मा शिलांगबाट प्रकाशित ‘गोर्खा सेवक’ पत्रिकामा लामो लेख र ‘शारदा’ पत्रिकामा प्रकाशित २ वटा कविता पनि पर्न आउँछन् (खगेन शर्मा, सन् २००९, पृ. १९) । त्यतिमात्र होइन, गीता, महाभारत, बुद्धबाणी जस्ता आध्यात्मिक कृतिहरूलाई पनि नेपालीमा अनुवाद गरी नेपाली समुदायमा आध्यात्मिक चेतना तथा सद्भाव सिर्जना गर्न उनी सफल भएका छन्। मास्टर मित्रसेनले सिर्जना गरेका निबन्ध संग्रह ‘हितको कुरा’, ‘मित्रको डायरी’ ‘उन्नतिको साँचो’, ‘सुशिलता’, ‘प्रेम’, ‘समयको उपयोगिता’ ‘अभिमान निषेध’, ‘कृतज्ञता’ आदि दार्शनिक, रोचक, बोधगम्य, सरल तथा शिक्षाप्रद छन्। मास्टर मित्रसेनद्वारा रचना गरिएका ‘तीर्थयात्रा’, ‘तीन कुरा’, ‘तीन साधु, जस्ता कथाहरू पढ़दा एउटा बेग्लै स्वादको अनुभुति एवम् आभास पाइन्छ।
मित्रसेनद्वारा रचना गरिएका खण्डकाव्य, गीता तथा बुद्धका उपदेश तथा टाल्सटायका केहि कृतिहरूको भावानुवाद सरल, सहज तथा बोधगम्य छन्। गजल, कविता तथा कव्वालीका माध्यामबाट हास्य व्यङ्ग्यमा आफ्नो भावना व्यक्त गर्न उनी ज्यादै सिपालु थिए। हास्य व्यङ्ग्य रचनाका केहि पंक्तिहरू यस प्रकार छन्–
पाँच आना छ दिनको कमाई, छ आनाको रक्सी
मासु खान पाइन भनी बुढी हेर ठुस्की
अम्मल पुरा नभएमा ज्यानै जाने खुस्की
साहुसित मन्टो लुकाई हिंड्छ जुस्की जुस्की
अदालतले कुर्कि गर्दा बल्ल बुढी झस्की, झसङ्ग
मास्टर मित्रसेनका रचना एवम् सृजनाहरूलाई नियालेर हेर्ने हो भने उनी बहु आयामिक व्यक्तित्वका धनी थिए। नेपाली साहित्याकाशका त्रिमूर्ति अर्थात् कविशिरोमणि लेखनाथ पौड्याल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि मित्रसेनको साहित्य र सङ्गीतबाट प्रभावित भएका थिए भनी नरेन्द्रराज प्रसाई बताउँछन्। उनका साङ्गीतिक तथा साहित्यिक योगदान सम्बन्धमा निरन्तर चर्चा परिचर्चा, विचार विमर्श तथा अध्ययन मनन भइ राख्नु पर्दछ। छरिएर रहेका उनका विभिन्न गीत, कथा, निबन्ध, तथा डायरीहरूको सङ्गालो ‘मास्टर मित्रसेन र उनका सिर्जना’ शीर्षकको पुस्तक पनि प्रकाशन गर्ने पहल भएको बुझिएको छ। मित्रसेनका कृतिहरूका प्रकाशनमा मित्रसेन साहित्य संगीत सभासँग सहकार्य गर्दै हिमाचल प्रदेश राज्य सरकारले पनि उल्लेख्य योगदान पुऱ्याएर आएको कुरा हामीले बिर्सनु हुँदैन।
उनको यही योगदानलाई ध्यानमा राखि नेपाल र भारत दुवै देशका सरकारद्वारा उनको तस्वीर अंकित हुलाक टिकट जारी गरिएको देखिन्छ। नेपाल सरकार फिलाटेलिक व्युरोले वि.सं. २०५६ मा भारत सरकार हुलाक विभागले पनि सन् २००१ मा उनको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको थियो।
हुन त मास्टर मित्रसेनले औपचारिक रूपमा जम्मा ८ कक्षासम्म मात्र अध्ययन गरेका थिए तर उनको बहुमुखी प्रतिभाको राप र ताप यति थियो कि उनको सिर्जनाको बारेमा नेपालको त्रिभुवन विश्वविद्यालयबाट डा. खगेन शर्मा र भारतको कुरुक्षेत्र विश्वविद्यालयबाट डा. राजेन्द्र गुरुङले शोध गरी विद्यावारिधी उपाधि नै हासिल गरेका छन्। मगन पथिकद्वारा लिखित मित्रसेन नामक पुस्तक साहित्य अकादमीले पनि सन् १९९४ मा नै प्रकाशित गरिसकेको छ, यसमा उनको योगदानको मूल्याङ्कन खुबै राम्रे ढंगले गरिएको छ।
यति मात्र होइन भारतको हिमाचल सरकारले मित्रसेनको आफ्नै थलो तोतारानी गाउँमा उनको सम्मानमा उनकै नाममा मित्रसेन मार्ग, मास्टर मित्रसेन थापा सङ्ग्रहालय, मास्टर मित्रसेन सरकारी हाइ स्कूल आदि भौतिक संरचनाहरू निर्माण गरेको छ। साथै नेपाल, भारत, युरोप र अमेरिका तिर पनि जनस्तरमा स्वःस्फूर्त रूपमा मास्टर मित्रसेनको नाममा कैयौँ संस्था र प्रतिष्ठानहरू खोलिएका छन् र विभिन्न सृर्जनात्मक कार्यक्रमहरू सम्पन्न हुँदै आएका छन्। उनको सम्मानमा आसाम–नेपाली साहित्य तथा संस्कृति परिषद्ले र सिक्किम साहित्य परीषदले पनि मित्रसेन पुरस्कारको स्थापना गरि प्रतिवर्ष विशिष्ट प्रतिभाहरूलाई यो पुरस्कार दिने आइएका छन्।
बहुमूखी प्रतिभा, साहित्य र सङ्गीतप्रति निरन्तर आलम्बन र लगनशीलता, समाज सुधारक तथा उदार हृदय आदिको सामूहिक मन्थन नै मास्टर मित्रसेन थापाको रूपमा नेपाली जगतले पाउन सक्यो। लोप हुन लागेका उनका सृजनाको संरक्षण गर्नु आजको पुस्ताको प्रमुख दायित्व हो। नेपाल र भारत सरकारले उनको सम्मानमा हुलाक टिकट प्रकाशन गर्नु, नेपाल र भारतका शोधकर्ताहरूले उनको बारेमा अनुसन्धान गरी विद्यावारिधीको उपाधि हासिल गर्नु, उनको नाममा विभिन्न भौतिक संरचनाहरूको विकास हुनु, उनको नाममा विभिन्न मुलुकमा विभिन्न संघ संस्थाहरू खुलेर त्यस मार्फत नेपालीहरू सक्रिय हुनु जस्ता उदाहरणहरूले उनको प्रतिभाको उचाइको सङ्लो तस्वीर स्पष्ट पार्दछ। अल इण्डिया रेडियो बाट सबैभन्दा पहिले जुन नेपाली गायकको गीत बज्न सुरू गऱ्यो त्यसमा पनि मित्रसेन थापा नै पहिलो गायक रहेछन् भन्ने अध्ययनबाट थाहा लाग्छ।
नेपाली जन समाजमा मित्रसेनको योगदानको कदर हुनपर्छ र यो विषय धेर भन्दा धेर प्रसार प्रचार हुनपर्छ भन्ने आवश्यकता अनुभूत गर्दै नेपाल र भारतका कैयौं संघ संस्थाहरू यस कार्यमा लागिपरेका छन्।
नेपाली साहित्यका भीष्म पितामह स्वनामधन्य इन्द्रबहादुर राईका भनाईमा ‘मित्रसेनका कार्य र कृति हेर्दा देख्छौँ-उनीभित्र समाजसेवक र कलाकार दुई व्यक्तित्व छन्। दुईमा तर उनी कुनै एउटा पहिलो र अर्को पछि हैनन्। समाजसेवक भएकोले डुल्दै कलाकार हुन पुगेका वा कालकार भएकोले डुल्दै समाजसेवक हुनपुगेका थिएनन्। दुई व्यक्तित्व उनमा हाराहारि सक्रिय थिए। समाजसेवा कि कला साधना? संशयको दोबाटोमा उनी कहिले उभिएनन्।’’ ( पृ. ४७०, राई, इन्द्र सम्पूर्ण ४) उनी अझ लेख्छन्—“मित्रसेन आफ्नो निम्ति बाचेनन्। समाज र जातिको निम्ति बाँचे। हामी आज जे जति बनेका हौँला त्यसमा निश्चयतः मित्रसेनको योगदान छ, त्यागदान छ”। –(पृ.४७०, राई, इन्द्र सम्पूर्ण ४) राईजीले आफ्नो समयाङ्कन दैनिकीयभित्र पनि मित्रसेन स्मारिकाको लागि “मनमनै एउटा भाषण” शिर्षकमा एउटा लेख पठाएको कुरा उल्लेख गर्नु भएको छ, जसमा उनले मित्रसेनको योगदानलाई रामायणमा हनुमानले गरेका कार्यसित तुलना गरेका छन्। उनले लेखेका छन्—“धन्य हुन् हाम्रा मित्रसेन जसले आफ्नो नेपाली जीवनको कार्य चिने अनि गरेर गए।“ (मास्टर मित्रसेन जयन्तीमा प्रकाशित स्मारिका)
१९७८ मा आफू अखिल भारतीय भाषा समितिको अध्यक्ष पदमा छँदा नै नेपाली साहित्यका महान स्तम्भ इन्द्रबहादुर राई स्वंय पश्चिमाञ्चलको भ्रमणको सिलसिलामा हिमाचल प्रदेश भाक्सुको तोतारानीमा मित्रसेनको घरमा पुगेका रहेछन् अनि त्यहाँ प्राप्य मित्रसेनका सबै पाण्डुलिपीहरू प्रकाशित गर्ने सल्लाह दिएका थिएछन् भन्ने कुरा उपरोक्त स्मारिकाबाटै थाहा लाग्छ।
स्मारिकामा ‘समाजसेवक र कलाकार मित्रसेन’ शिर्षक रहेको आफ्नो लेखमा राईजी लेख्छन्- “१९३५-४५ को दार्जीलिङ्गमा देख्थें; ‘बाजा दोकान’ मा नेपाली गीतको रेकर्ड किन्न आउनेलाई दोकानेले पूरै रेकर्ड फोनोग्राफमा बजाएर सुनाइदिन्थे। गीत बज्दाबज्दै दोकान अघि सानोतिनो भीड़ नै जम्मा हुन्थ्यो। गललल, गललल हाँस्थे पनि तिनीहरू मित्रसेनको रेकर्ड सुन्दा!”
महान सङ्गीतकार अम्बर गुरुङले मित्रसेनप्रति आफ्नो भावना यसरी व्यक्त गरेका छन्–“उहाँले रोप्नु भएको नेपाली सङ्गीतको बीजबाट उम्रेका रुखको फल अहिले हामीले पाइरहेका छौं। मित्रसेनले लगाएको गुणप्रति आफूहरु सधैं ऋणी रहने छौं।”
नरेन्द्रराज प्रसाई भन्छन् “मित्रसेन थापा भन्नु नेपाली साहित्य, सङ्गीत र संस्कृतिका धरोहरको नाउँ हो। चाहे नेपाली आधुनिक गीतलाई होस्, चाहे नेपाली लोकगीतलाई होस् अनि चाहे भजनलाई नै होस्, मीठा शब्द कुँदेर, लोकपाराको धून कायम गरेर र सुललित स्वर जोडेर मित्रसेनले आफ्नो युगमा एउटा विशाल सांस्कृतिक मञ्चको स्थापना गरेका थिए। कुनै-कुनै युगमा एउटा मान्छेले त्यस युगको प्रतिनिधित्व गर्छ भन्ने कुराको प्रमाण मित्रसेन थापा नै थिए ।”
मित्रसेनका सृजनाहरूलाई हेर्दा जातिय चेतनाका गीत-सङ्गीतको दृष्टिले मात्र उनको महत्त्व छैन। नेपाली गीत-सङ्गीत भर्खर बामे सरिरहेको बेला नै आफ्नो जागृतिमूलक गीतहरू लिएर जनसमाजमा बुलन्द हुने एक लोकगायकको स्थान मात्र उनलाई दियौं भने त्यो ठूलो अन्याय हुन जान्छ। किनभने उनका सृजनाहरू हेऱ्यौं भने उनले नाटक पनि लेखेका छन्, कथा पनि लेखेका छन् साथै अनुवाद पनि गरेका छन्। उनी एक सृजनशील साहित्यकार हुन्। साहित्यको विविध विधामा उनको योगदान पुग्न गएको छ। यस दिशातर्फ भने हामी आँखा चिम्लेर बसेका छौं। नेपाली साहित्यमा उनीबाट पुग्न गएको योगदानको भने लेखाजोखा गरेर उनको साहित्यित सृजनाको सही मूल्याङ्कन हामीले गरेका छैनौं।
सन् १८९५ को डिसेम्बर महिनाको २९ तारीख भारतको हिमाचल प्रदेशको धर्मशाला अन्तर्गत भाग्सुको तोतारानी गाउँमा स्वर्गीय मानवीरसेन थापा मगर र माता राधा थापा मगरको पुत्रको रूपमा जन्मेका मित्रसेनको निधन सन् १९४६ को अप्रेल ९ तारिख भयो। उनी ५० वर्ष ३ महीना र १२ दिन मात्र बाँच्न सके, यस पृथ्वीमा तर पनि आफ्नो कर्म र योगदानले गर्दा सँधै नेपाल र भारतका नेपालीहरूका हृदयमा अमर छन्।
सन्दर्भ
१.मास्टर मित्रसेन जयन्तीमा प्रकाशित स्मारिका (१९९५)
२.मित्रसेन साहित्य (सम्पादक मगन पथिक)
३.‘भारतीय नेपाली गीतकार पारिचायिक चर्चा’ शिर्षकको पुस्तकमा डा. जस योन्जन ‘प्यासी’
४.‘नेपाली सङ्गीत साधक’- रामशरण दर्नाल-
५.समयाङ्कन- इन्द्र बहादुर राइ
६.मास्टर मित्रसेन थापा (हिन्दी)- सुवास दीपक
७.नेपाली सङ्गीतको एक शतक- प्रकाश सायमी।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
Beautiful review on Mitra Sen Thapq.