इन्सपिरेसनः मेरो बुढोसाथी झन् जवानजवान !

अशोक सिलवाल

उनको हातमा सेता पानाहरु थिए र तिनमा हस्तलिखित सामाग्री ।

‘नमस्कार अशोकजी’, झन्डै दुई दशकअघि एक दिन एकजना सफाचट् प्लस हंसमुख मेरो टेबलमा आइपुगे ।

म राजधानी दैनिकको विचार संयोजक थिएँ । त्यसताका कम्प्युटरमा टाइप भएका लेखहरु इमेलबाट आउन थालिसकेका थिए । एकाध लेखक हुन्थे, जो फ्याक्सबाट लेख पठाउँथे । र, एकदम एकाध थिए जो हातैमा हस्तलिखित लेखहरु लिएर पत्रिकाको कार्यालय आइपुग्थे । तिनैमध्ये थिए उनी ।

परिचय भयो । उनी रहेछन्, अल इन्डिया रेडियो, नेपाली सेवामा ४२ बर्ष काम गरेर स्वदेश फर्केका प्रकाशप्रसाद उपाध्याय । कु्नै बेला रेडियो नेपालको चर्चित कार्यक्रम घटना र विचारमा काम गरेकोे एकजना पूर्व रेडियोकर्मीको हिसाबले मलाई उनी अग्रज र आत्मिय दुवै लाग्यो ।

त्यसपछिका दिनमा उनी नियमितजसो लेख्नथाले । प्रत्येक पटक उनी लेख लिएर आउँदा दिल्ली रेडियोमा काम गर्दाका अनेक रोचक किस्सा र कहानी सुनाउँथे । मलाई उनका कुराको लत लागिसकेछ । त्यसपछि त लेखबिनै पनि हाम्रो भेट बारम्बार हुनथाल्यो । बजोड स्मृतिसहित रोमान्टिक स्टाइलले गफिने उनको तरिका मलाई निकै रोचक र श्रुतिमधुर लाग्थ्यो ।

भेटहरु गफिनु र कफिनुमा मात्र सिमित थिएनन् । एकअर्काबाट हामीले धेरै कुरा सिक्यौं । उनलाई एक दिन मोटिभेस्नल टाइपले भनेँ, ‘कापीमा होइन, कम्प्युटरमा लेख्नुस्, कलमले होइन, किबोर्डले लेख्नुस् ।’

भन्न त भनेँ । तर म आफै कन्फिडेन्ट थिइनँ । ‘के गर्लान् र ?’, यस्तै सोच्दै थिएँ ।

अचम्म के भयो भने, अर्को हप्ता उनले सकिनसकी कम्प्युटरमै टाइप गरेछन् । कागजमा होइन, पेन ड्राइभमा आर्टिकल लिएर आए । म उनको लेखले भन्दा पनि त्यति छिट्टै प्रविधिसक्षम भएकोमा अचम्भित भएँ । बुढेशकालमा पनि सिक्ने र सिकिरहने उनको प्रेरणादायी कौशलबाट प्रभावित भएँ ।

उनी पेनड्राइभबाट इमलेमा आइपुगे । परिणाम के भयो भने त्यसपछि हाम्रा भौतिक भेटहरु कम हुन थाले । तर, आर्टिकलको पारिश्रमिक लिन आउँदा हामी घन्टौं मेरो कम्युटरछेउ र चिया पसलहरुमा मच्चीमच्ची गफिन्थ्यौं । उनी हरेक महिना आर्टिकलको पैसा लिन पत्रिका कार्यालय आउँथे ।

आर्टिकलबाट जोडिएको औपचारिक सम्बन्ध अनौपचारिक तहमा झन् गहिरो भइसकेको थियो । एक दिन अर्को सल्लाह दिएँ, ‘अरे सरजी, अल इन्डिया रेडियोमा चार दशक शीर्षकमा किताब लेख्न्स् । राम्रो हुन्छ ।’ तर, लेख्लान् भनेर खासै पत्याएको थिइनँ ।

फेरि अचम्म के भयो भने ३ महिनामा किताब लेखेर सकाएछन् । पान्डुलिपी लिएर जब उनी मकहाँ आए, उनको अनुहार उज्यालो थियो, त्यसभन्दा बढी उज्यालिएँ म । मलाई आफैले लेखेभन्दा बढी खुशी लाग्यो, ‘अरे माइ डियर फ्रेन्ड, बधाई हो बधाई ।’

त्यसपछि पनि उनले अरु थुप्रै किताब लेखे । कति हिन्दी भाषाका किताब नेपालीमा अनुवाद गरे । कति नेपाली भाषाका किताब हिन्दीमा अनुवाद गरे । कति यात्रा निबन्ध लेखे । कति कविता लेखे । अलि अगाडि उनी राजनीतिमा पनि निकै लागिपरेका थिए । नेपालको राजनीतिमा गणतन्त्रका प्रणेता भनेर चिनिने रामराजाप्रसाद सिंहसँग उनको निकै गहिरो सम्बन्ध थियो । उनले मलाई एकपटक सिंहसँग अन्तरंग सम्वादका लागि समय र सन्दर्भ मिलाइदिएका पनि थिए ।

कोभिड आयो । कहर आयो । तर, मेरो बुढोसाथी झन् जवानजवान भए । कोभिडकालमा मेरो मिडिया साथी भन्ने थिममा टेकेर नेपालनाम्चा चलाउँदै थिएँ । त्यो मेरो गैरव्यवसायिक अनलाइन प्यासन थियो । त्यहाँ आम मानिसका अनुभव, संघर्ष, सपनाहरु र अरु यस्तैयस्तै सामाग्री छापिन्थे । त्यहाँ फेरि प्रकाशप्रसाद उपाध्याय निरन्तर प्रकाशित भए । कहिले उनी छतका कुरा लेख्थे । कहिले छतमा फुलेका फूलबारे लेख्थे । कहिले चराका कुरा लेख्थे, कहिलृे चराका उडानबारे । कहिले गमलाका कुरा लेख्थे, कहिले नदीका । भाञ्छा, करेसा र सडकका कुरा लेख्थे । मासु पसलका कुरा लेख्थे । जीवनका सामान्य कुरा लेख्थे र लेख्थे बडो मानवीय तरिकाले ।

उमेरले उनी झन् बुढो हुँदै गएका छन् तर सक्रियताले झन् जवानजवान मेरो बुढोसाथी ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button