आमालाई कहिल्यै थकाइ लागेन
लक्ष्मीप्रसाद मात्र सरस्वतीका प्रसाद होइनन्, मेरी आमा पनि त्यस्तै हो
देवका पन्थी
पातलो जीउढाल, गोरो वर्ण, होचो कद, तिलचामल कपालको बिचमा सिधा सिउँदो, सिउँदोको एक तिहाइ भागसम्म रातो सिन्दुर, छोटो तर लरक्क डोरीले बाटेको कपाल, निधारको मध्यभागमा रातो टीका, कानमा माडबाडी, नाकमा बुट्टे फुली, गलामा नौं गेडी, रातो सुतीको साडी, प्रायः रातै चोली र पटुकी, दुवै हातभरी चुरा, बान्की परेकी, सौभाग्यका आभुषणले सजिएकी मेरो बालापनकी आमा ।
फुर्सद हुँदा आमा यस्तै पहिरनमा हुनुहुन्थ्यो । मलाइ साँच्चै हाम्री आमा एकादेशकी सुन्दरी जस्तै लाग्थ्यो ।
वास्तवमा जिन्दगी अनौठो रहेछ । यहाँ लक्ष्मीप्रसाद मात्र सरस्वतीका प्रसाद बनेका होइनन्, मेरी आमा पनि त्यस्तै हो । सबैको नजरमा राजा बाहुनकी बुहारी भनेर चिनिएकी मेरी आमाको विगत जब म सम्झन्छु केवल पिठ्युमा अन्न, घाँस वा दाउराको भारीसङ्गै सम्झन्छु । बाउ बाजेको जग्गा धेरै थियो । त्यसैले आमाको लाउँ लाउँ र खाउँ खाउँ भन्ने उमेर माटोसङ्गै जुधेर बित्यो । सन्तानबाट र घरका सदस्यहरुको साथ नमिलेको पक्कै होइन तर आमालाइ पिठ्युको भारीले कम र जिम्मेवारीको भारीले धेरै थिचिरह्यो ।
दस सन्तानकी आमा, बिरामी भएर जोडी दिन आराम गरेको मलाई याद नै आउँदैन । तर जति पनि यादहरु आमाका प्रौढ अवस्थाका छन् केवल हाम्रै लागि बितेका हुन् । आफू अनपढ भएर पनि छोराछोरीले अरुले जस्तै निधारमा रातो टीका र हातमा पुरस्कार ल्याइदिए हुन्थ्यो भन्ने आमाको सधै चाहना रह्यो । आफूलाई खान मन लागेको छोराछोरीलाई पहिला खुवाउँ भन्ने ध्यय रह्यो । कहिल्यै सन्तानलाई धित मरुन्जेल काखमा राखेर च्वाप्प म्वाँइ खान पनि आमालाई समय भएन तर त्यो व्यस्त दैनिकीमा आफ्ना रहरहरु थाती राखेर सन्तानका रहरहरु पूरा गर्न आमा घोप्टिरहनुभयो ।
कहिलेकाही मात्र दिउँसोमा आमा घर बस्नुहुन्थ्यो, त्यो दिन हामीलाइ दशैं जस्तै लाग्थ्यो । नुहाउन पर्छ भन्ने एकातिर तनाव हुन्थ्यो भने अर्कोतिर आमा घरमा भएपछि मिठो खान पाइन्छ भन्ने खुशी । आकाशमा कालो बादल छायो भने हाम्रो घरमा पकौँडा, समोसा (मटर, पुरी, अचार, सुजीको हलुवा बनिहाल्थ्यो । हाम्रो लागि आमा दिन बिताएर भए पनि डोकोभरी आँप ल्याएर पेट भरिन्जेल खुवाउनु हुन्थ्यो । रुख कटहर, भुँइ कटहर, अङ्गुर, अन्नसङ्ग साटेर बेलाउती कति खाइयो खाइयो । साउने सन्क्रान्ती होस् या जनै पुर्णिामा, माघे सन्क्रान्ती होस् या एकादसी आमाले पर्व अनुसार हाम्रो लागि सेलरोटी, खिचडी, बदाम र चिनीमा पाकेका रोटी, खिर, तरुल, सखरखण्ड सबै बनाएर खुवाउनुभयो । समय समयमा घ्युमा चामल पकाएर कति खुवाउनुभयो । कोदोको रोटीमा घरको मह चोबेर खान सिकाउने आमा हो । अक्षय तृतीयामा जौको सातु र खुदोको सर्बत खुवाउने आमा नै हो । संस्कार भर्ने आमा हो, सन्सार चिनाउने आमा हो । जङ्गलका कटुस, काफलदेखि घरका फलफूलसम्म सबै भुटेर र काटेर हाम्रो मुखसम्म पुर्याउने आमा नै हो । आमाको पोल्टामा भएका मिस्री, नरिवलका टुक्रा, भारीमाथी आएका सुन्तलाका दाना सबै हाम्रै लागि हुन्थे, तीजमा पाक्ने तामा र चिचिन्डा हाम्रै लागि हुन्थे ।
त्यसैले त होला सानो छँदा कसैको घरमा जे पाकोस्, हामीलाई मतलब रहेन ।
घरमा आउने पाहुनालाइ निमुखा पठाउनुहुन्न भन्ने आमाको सोच हुन्थ्यो । आमालाई कहिल्यै थकाइ लागेन । दुइतिरको गाइगोठ, दिनभर मेलापात, घासदाउँरा गरेर लखतरान त्यो ज्यान पूरा निद्रा कहिले सुत्नु भए होला खै ? अझ दस–दस सन्तान काखमा, कोखमा र हातमा लिएर हिड्दा कस्तो भए होला ? रातीमा कहिले को कहिले को हामी बिरामी परिरहन्थ्यौ । बुवा सातो उतार्नुहुन्थ्यो । आमाले पेट दुखे बेसार पानी, खोकी लागे अदुवा पोलेर दिएको साँच्चै रामवाणकै काम गर्थ्यो । हनहनी ज्वरो आउदा पानीपट्टी दिएर रातभर जागा बस्नुहुन्थ्यो । कहिले मध्यरातमा बोकेर अस्पताल पुर्याउनुहुन्थ्यो । आफू चिसोमा सुतेर हामीलाई न्यानो दिने, आँसु लुकाएर हास्न सिकाउने, अभाव दवाएर बाच्न सिकाउने, आफू रित्तिएर सन्तानलाई भर्ने, आफ्नो छाला चाउरी पारेर सन्तानलाई पोटिलो र रसिलो देख्न चाहने आमाका कुरा जति गरे पनि कमै छन् ।
बुवाका प्रायः दिनहरु समाजसेवामै बिते । हाम्रो आँगनमा कहिले वनको बैठक, कहिले खानेपानीको बैठक, कहिले सामाजिक झैझगडा, बुवाले यी सबै व्यवस्थापन गर्नुपर्थ्यो । प्रायः स्कुलका बैठकहरु हुने गर्थे । त्यो बेला आमालाई आफू मियो बनेर घर सम्हाल्न कम्ती गारो परेन होला । वास्तवमा हाम्रो घर माटोले पोतिएको होइन, आमाको रगत, पसिना र मिहिनेतले पोतिएको हो । खुट्टा चरचरी फुटेर कहिलेकाही आमा रातभरी सुत्न सक्नुहुदैनथ्यो । बुवाले मैनबत्ती पगालेर तोरीको तेलमा लेप बनाइदिनुहुन्थ्यो र त्यही लेप लगाएर केही आराम मिल्थ्यो । कहिले दाँत दुख्थ्यो, कहिले पेट पोल्थ्यो तर हामी बिउँझिने बेला आमा बिस्तारामा कहिल्यै भेटिनुभएन । घरायसी कुरा होस् या आमाको बिमार । आमा दुखी भए मेरो मन सारै गरुङ्गो हुन्थ्यो, आमा रुँदा हामी साडीमा झुन्डिएर रुन्थ्यौं, सायद त्यो जत्ति जिन्दगीमा दुख केही लागेन तर आमा हाँसेर कुरा गर्दा मन चङ्गा र फुरुङ्ग हुन्थ्यो, घर नै उज्यालो हुन्थ्यो ।
अब आमा वृद्ध हुनुभो । आमाले पोतेका घर वृद्ध भए । जमिनमा अन्न उब्जिदैन, न फलफूल । अब ती सबै केटाकेटी उफ्रने खेल मैदान बने । धेरैजसो घरहरुले ढाके । सबै शहरमुखी र व्यवसायी बनियो । आफ्नै आँखा अगाडि भएको यो फेरबदल आमालाई सपना जस्तो लाग्छ रे । नलागोस् पनि कसरी आफूले सिंचेको फूलबारी अब एक उजाड जमिन भएर रह्यो ।
आमाको शरीर कमजोर भयो तर हिम्मत उस्तै छ । चाडबाड आउँदा मिठो चोखो बनाएर सबैलाई खुवाउनुपर्छ भन्ने सोच उस्तै छ तर के गर्नु उमेरले नेटो काट्यो । सबै कुरा पुगीसरी छ तर बुवा हुनुहुन्न । छोरीहरु घरबारे भयौं । छोराहरु नजिक बसून्, मेरा कुरा सुनून्, बुहारीहरुको नजिक कसरी होउँ, नाति नातीनीलाइ के गरी आफ्नो बनाउँ, ध्यान आमाको त्यही रहन्छ । आमालाई आफ्नो छेउछाउ कोही न कोही बसून् भन्ने चाह रहन्छ ।
आमाको मनोकामना पूरा होस्, आमा स्वस्थ र चिरायू रहून्, मेरो माइती धपक्कै बलोस् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
आमाको महिमा जति गाए पनि सिद्धिँदैन ।