रामेछापका डाक्टर, जो राजनीतिमा पनि उत्तिकै सक्रिय छन्

पेशल आचार्य

मेडिकल डाक्टर सुमन कर्माचार्य सम्वत् २०२१ साल कार्तिक २० गते गोवद्र्धन पूजाका दिन रामेछाप जिल्लाको साँघुटार बजारमा जन्मेका हुन् । पिता ज्ञानबहादुर कर्माचार्य र माता सीतादेवी कर्माचार्यका तेस्रा सन्तान तर माहिलो छोराको रूपमा उनी यस धरतीमा आएका हुन् ।

त्यस बेलाको विद्यालय शिक्षा गाउँकै विद्यालयमा सिध्याएर त्रिचन्द्र कलेज, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान हेल्थ असिष्टेन्ट र एम्बिबिएस् अध्ययन सिध्याउनुभयो भने पोखरा विश्वविद्यालय, नेसनल ओपन कलेजबाट हेल्थ केयर मनेजमेन्टमा स्नातकोत्तर शिक्षा हासिल गरे ।

विगत ३२ वर्षदेखि पिछडिएको रामेछाप जिल्लाको ग्रामीण स्वास्थ्य क्षेत्रमा योगदान दिएका कर्माचार्य सर्बप्रथम गाउँकै विद्यालय र हेल्थपोष्टमा काम गर्न थाले । सोही क्रममा विगत २७ वर्षदेखि तामाकोसी सेवा समितिमा सञ्चालक समिति सदस्य र तामाकोसी अस्पताल मन्थलीमा निर्देशकका रूपमा काम गरिरहेका छन् ।

उनी जिल्ला सामुदायिक आँखा केन्द्र, रामेछापका अध्यक्ष हुुन् । कर्माचार्य सिन्धुपाल्चोक जिल्लाको बुड गाउँमा सञ्चालित बुडगाउ मेडिकल सेन्टरका सल्लाहकार समेत हुन् । उनको शैक्षिक व्यक्तित्व यतिमा मात्र सिमित छैन । उनी पोखरा विश्वविद्यालय, नेसनल ओपन कलेजका सह–प्राध्यापक र स्वास्थ्य सेवा व्यवस्थापन विभागका सल्लाहकार समेत हुन् ।

गाउँ गाउँमा निःशुल्क स्वास्थ्य शिविरमार्फत् लाखौं गरिव जनताहरूको स्वास्थ्य सुधारमा अथक रूपले भिडिरहेका तथा तामाकोसी अस्पताल र विभिन्न स्वास्थ्य संस्थाहरूमा राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय दाताहरूबाट स्रोत जुटाउन सक्रिय उनले सम्वत् २०७१ सालमा स्वास्थ्य खबर पत्रिकाबाट प्रदान गरिएको उत्कृष्ट चिकित्सक अवार्ड, सम्वत् २०६४ मा जिल्ला बिकास समिति रामेछापले प्रदान गरेको उत्कृष्ट सेवाको सम्मान र सम्वत् २०६० मा उत्कृष्ट सभापति सम्मान लायन्स ल्कब अफ् इन्टरनेसनलबाट प्रदान गरिएको थियो ।

राजनीतिमा लोकतन्त्रका हिमायती हुन रूचाउने उनी कलेजमा स्वतन्त्र बिद्यार्थी युनियनको अध्यक्ष हुदै नेपाली काँग्रेसको महासमिति सदस्य भइसकेका छन् । नेपाली काँग्रेसको साहित्य, खोजमूलक लेखहरू र गीत सङ्गीतको विकासमा अथक योगदान गरिरहेका छन् साथै उनी पेसागत फुर्सद्का समयमा लोकतन्त्र र समाजबाद सम्बन्धी प्रशिक्षण गर्न रूचाउँछन् ।

विद्यालयदेखि नै नाटक, गीत र सङ्गीतमा रूचि भएका कर्माचार्य कुनै बेला सर्बनाम नाटय संस्थासग सम्बद्ध रहेका थिए । सोही क्रममा उनले ‘अर्को मृगतृष्णा’ नाटकमा सङ्गीत निर्देशन समेत गरेका थिए तर उनी बढी दर्शक र सहयोगीका रुपमा नाटकमा भिजेका व्यक्ति हुन् । कलेज िपढेका बेला अशेष मल्लद्वारा लिखित ‘रामायणको अर्को पृष्ठ’, ‘तिमी नहाँसे पो मेरो घाउ दुख्छ’, ‘मुर्दाबादमा उठेका हातहरू’, ‘हामी वसन्त खोजीरहेछांै’, ‘समाप्त÷असमाप्त’ आदि जस्ता चर्चित नाटकमा अभिनय गरेका छन् भने बिद्यालय कालमा विजय मल्लको ‘कोही किन बर्बाद् होस्’ गोपालप्रसाद रिमालको ‘मसान’ नाटकमा समेत अभिनय गरेका छन् ।

स्कुले विद्यार्थी भएका बेलादेखि नै मिठामिठा कविता लेख्न रुचाउने कर्माचार्यले सम्वत् २०६४ मा ‘आत्माहरू बुद्ध भए’ नामको कवितासङ्ग्रह र सम्वत् २०७३ सालमा ‘देश दुखेको बेला’ नामको दोस्रो कवितासङ्ग्रह प्रकाशित गरेका छन् ।

समसामयिक लेखनका क्रममा उनले शब्दाकुंर, रचना, अभिव्यक्ति, शारदा र नेपालनाम्चा, मिलाप र कोसी अनलाइन पत्रपत्रिकाहरूमा कविता प्रकाशित गरेका छन् । यसका अलावा देशैभरिबाट प्रकाशित हुने विविध साहित्यिक पत्रिकाहरूमा दर्जनौ कविताहरू प्रकाशित भइसकेका छन् ।

उनका कान्तिपुर दैनिक, स्थानीय सप्ताहिक पत्रिका न्यू नयन, स्मारिका खबर साप्ताहिक, पालिका न्यूज साप्ताहिक र बिभिन्न अनलाइन पत्रिकाहरूमा उनका राजनीतिक, साहित्यिक, प्रजनन र यौनविषयक जानकारीहरू र समसामयिक राजनीतिक लेखहरू प्रकाशित भइरहेका छन् ।

एम्नेष्टी इन्टरनेसनल, समूह १९ रामेछापका संस्थापक संयोजक र लायन्स ल्कब इन्टरनेसनल रामेछाप काठमाडौँका संस्थापक अध्यक्ष कर्माचार्य हाल रोटरी ल्कब इन्टनेसनल काभ्रे–बनेपा, नेपाल रेडक्रस सोसाइटी, मानव अधिकार तथा शान्ति समाज, नेपाल मेडिकल एसोसियसन, जगदीश घिमिरे प्रतिष्ठान, तामाकोसी पुस्तकालय, चुची इन्टरनेसनल मेडिकल एसोसिएसनजस्ता स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा सक्रिय रहेका छन् ।

पेसाले स्वास्थ्य चिकित्सक डा.सुमन कर्माचार्य, रूचिले साहित्यकार र आस्थाले प्रजातान्त्रिक समाजवादका हिमायती राजनीतिज्ञ समेतका रूपमा चिनिएका छन् । उनी रामेछाप जिल्लामा विगत् ३ दसकदेखि गाउँ वस्तीमा पुगेर विविध प्रकारका रोगहरूको शिविर सञ्चालन गर्दै ‘गरिबका डाक्टर’को उपमा समेतले चिनिएका व्यक्तित्व हुन् । यही मेसोमा उनलाई नेपाली काँग्रेस रामेछापले समानुपातिकतर्फको प्रतिनिधि सभा उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

‘त्रिवेणी व्यक्तित्व’ का धनी डा.सुमन कमाचार्यजस्ता नेपाली काँग्रेसका शालीन उम्मेदवारलाई यतिखेर देशले कुना कुनाबाट खोजेको छ । उनलाई संघीय संसदमा पु¥याउन सकेका खण्डमा कम खर्चमा कसरी गाउँ गाउँमा गरिबका पक्षमा विविध स्वास्थ्य सेवा दिन सकिन्छ भन्नेबारे नीतिनियम बनाउन ठूलो सहयोग पुग्ने कुरा उनलाई नजिकबाट चिन्नेहरू गर्दछन् ।

राजनीतिलाई शुद्धीकरण गर्ने अभियान व्यापक रूपमा चलिरहेका बेला डा.सुमन कर्माचार्य रामेछाप जिल्लाबाट संघीय संदमा समानुपातिक प्रतिनिधिका रूपमा चुनिएर संसद पुगेमा उनले स्वास्थ्य क्षेत्रमा व्यावहारिक परिवर्तन गर्न सक्छन् भन्ने विश्वास यतिखेर रामेछापका गाउँ गाउँमा व्यक्त गरिँदैछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button