ध्यान के हो ? के होइन ?
कमला केसी
मानिसको मन धेरै छट्पटी, अनिन्द्रा, अशान्ति, तछाडमछाड, ठूलो–सानो, धनी–गरिब यस्ता अनगिन्ती नकारात्मकताले झेलेको छ । यस्ता वेचैनीहरुलाई हटाएर मानव जीवनलाई सफल बनाउने, खुशी र आनन्द दिलाउने धेरै विधामध्ये ध्यान एक सर्वाधिक महत्वपूर्ण विधा (साधन) हो ।
अहिलेको परिप्रेक्षमा मानवजीवन यति त्रसितग्रसित छ कि कोहि कसैले कसैमाथी विश्वास र भरोसा गर्न सक्दैन । विश्वास टुटेको छ । अझ अरु माथी भन्दा पनि आफ्नै बोली व्यवहारप्रति पनि सजग छैन । के बोल्दैछु, के गर्दैछु, के खाँदैछु र कता जाँदैछु भन्नेप्रति सजगता गुमेको छ । आफ्नो जीवनलाई सहज र सरल बनाउन ध्यान मानव जीवनको वैशाखी (लठ्ठी) हो ।
जब जीवनमा ध्यान एक (साधन) लठ्ठी भएर आउँछ तब जीवनले काँचुली नै फेर्दछ । जीवनमा सम्बन्ध, प्रेम, खुशी, सफलता, विश्वास र ज्ञानको प्रवाहमा बढोत्तरी हुन्छ । त्यसैले ध्यान अँध्यारोबाट उज्यालोको यात्रा र मुक्तिको बाटो हो ।
दिनप्रतिदिनको भागदौडले मान्छेले आफ्नो अपनत्व गुमाएको छ । हिजोको शोक, भोलिको चिन्तामा अड्किएको अर्थात बेहोसी छ । यहि बेहोसीमा चिन्ताले सारा शरीर दुख्ने, मन पाक्ने र सम्बन्ध बिग्रने भएकोले ध्यान वर्तमान, सजग, होस र बोध हो ।
आँखा बन्द गरेर बस्नु मात्र ध्यान होइन । ध्यान हरसमय हरक्षण हुनुपर्छ । कुनै पनि राम्रो या नराम्रो आदत बनेको छ भने त्यो सब दिनदिनैको अभ्यासले बनेको हो । त्यसैले ध्यानस्थ जीवनको लागि पनि अभ्यासको जरुरी पर्दछ । चौबीस घण्टामा प्रत्येक दिन, शरीर हलुका, लचिलो, फूर्तिलो र आफूभित्र रहेको उर्जा संचालन गरी स्वस्थ रहनको लागि ३० मिनेट योगाभ्यास, स्वासप्रस्वासलाई गति दिन एवं मनको मैलो निष्कासनको लागि ३० मिनेट प्राणायाम र आफुमा जागेको उर्जालाई गति दिन खुशी एवं आनन्द प्राप्तिको लागि ३० मिनेट ध्यानको अभास गर्ने हो भने जीवनले गति लिनेछ । त्यसैले ध्यान जीवनको मार्गनिर्देशन हो ।
वर्तमान समयमा मानिस आफुलाई छोडेर बहिरमुखी भएको छ । म आफू को हुँ ? के हुँ ? केका लागि यति धेरै बेहोसीका साथ दौडधुप गरिरहेको छु भन्ने भावका साथ आफुलाई एकै छिन बसेर आफ्नो आन्तरिक जगतमा फर्कन चाहँदैन । त्यसैले ध्यान आफुलाई चिन्ने, बुझ्न्ने, जान्ने एवं आफुतिर फर्कने कला हो ।
ध्यान जुन विषयमा लागायो, त्यही विषयले सफलता पाउँछ । जीवन विकास विशेषज्ञ गुरु रमेश नेपालज्यु भन्नू हुन्छ, ‘ध्यान मल हो, जुन विरुवामा हाल्यो त्यही बिरुवा सप्रन्छ । त्यस्तै हो, ध्यान जेमा ध्यान लगायो त्यही नै बढ्छ । पढ्नमा ध्यान लगायो पढाइ सप्रयो, कर्ममा ध्यान लागायो काम राम्रो बन्यो एवं रितले जेमा लागायो त्यही उत्कृष्ट, त्यसैले ध्यान मल जल हो ।’
अन्ततः व्यक्तित्व विकासको लागि, स्वस्थ, खुशी, आँट, साहस, प्रेम, ज्ञान, आत्मसंकल्प, ईश्वर प्राप्तीको लागि सम्म ध्यानको अपरिहार्यता रहेको छ । अतः हामी सबैको जीवन ध्यानमय बनोस् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
तिम्रो ज्ञान ध्यान बाट स्वर्ग पाएँ मैले
कस्तो थियो जीवन मेरो कस्तो भयो अहिले।