
‘अन्त तँ त कक्षा पाँचमा ड्रपआउट भएको होइन र ?’
व्यङ्ग्य: नोकरीको तलासमा
सरमान सुब्बा ‘रसिक ‘
जिन्दावाद! जिन्दावाद!
……… जिन्दावाद!
……. …….अमर रहोस!
एकजना गाउँले केटा कुनै पार्टीको झण्डा हल्लाउँदै, नारा लगाउँदै यतै आइरहेको थियो। मैले कराएँ- “होइन तैंले नारा लगाएर चाहिँ के पाउँछस्?”
उसले देब्रेतिरको आफ्नो कुममाथि हातले थ्याप थ्याप पार्दै भन्यो- “तारा लगाउन पाइन्छ तारा। अबको समय पढेर होइन परेर काम पाइन्छ। त्यस्तो शैक्षिक ऐसिक केही योग्यता चाहिँदैन बस पार्टीमा कुद्नु पर्छ, नारा लगाउनु पर्छ र फेसबुकमा नेताको बढीबढाई गरेर भक्कु लेख्नु सक्नु पर्छ। तारा लगाउनु पर्छ यार तारा। “
“अन्त तँ त कक्षा पाँचमा ड्रपआउट भएको होइन र?”, अचम्म मान्दै सोधें।
“पढाई सढाईको कुरा नगर दाजु। म्याट्रिकमा ह्याट्रिक फेल हुनेहरुले देश चलाई रहेको छ । सत्ताको आशिर्वाद पर्यो भने गणितमा जिरो अंक ल्याउनेहरु पनि एकाउन्ट सेक्सनमा हिरो भएर एकाउन्टेन्ट हुनु पुग्छ”, उसले निकै लामो लेक्चर दियो।
कुरा ठिकै पनि लाग्यो। म पोलिटिकल साइन्समा मास्टर डिग्री गरेको मान्छेले अहिलेसम्म हातमा डिग्री बोकेर राजधानी कति धाइयो, कार्यालय कति धाइयो। खोर्सानी बेचेको पैसाले भैयाको मिठाई पसलमा कति समोसा खाइयो हिसाब छैन। अहिलेसम्म जागीर छैन तर कक्षा आठमा छिप्पिएर काठ भएर घरमै बसेकाहरुले भटाभट जागीर पाइरा’छ। अस्ति एकजनालाई “ओई तैंले के पाइस भनेर सोधेको उसले जानी नजानी गर्व मान्दै भन्यो- “साथी मैले त ओ ए पो पाएँ।”
“त्यो ओ ए भनेको चाहिँ के हो?”, जानी जानी नजानेको भईटोपले मैले पनि।
साथी निकै अन्कनिँदै बोल्यो- “शायद त्यो ओ ए भनेको चाहिँ पियुन जस्तै पोस्ट होलाउ। “
मैले भने- “ओ ए भनेको राम्रो पोस्ट हो अफिस असिस्टेन्ट। “
यो साथी कक्षा दशमा तीनपल्ट फेल हुँदा उसको बाउले अब नपढ, घरमै बाख्रा पाल्दै बस भनेकोले स्कुल छोडेको धेरै वर्ष भएको थियो। राम्रै भयो।
उसले मतिर हेर्दै उत्साहित भएर सोध्यो -” अन्त यार, तिमीले त यामे सकेको होइन? जागीर त राम्रै पाउनु पर्ने… “
“यामे होइन एम ए हो साथी। एम ए गरेर मात्र हुँदैन साथी”, मैले भने, “ठुला ठालु र नेताहरुसित बाख्राले झैं म्या म्या र बिरालाले जस्तै म्याउ म्याउ गर्न जानिएन भने एम ए को डिग्री पनि बिक्री हुँदैन।”
“त्यो त हो। उसले भन्यो -“मैले पनि कुकुरले जस्तै भाउ भाउ गर्दा गर्दा मन्त्रीजीले यता आउ भन्दै यो जागीर देको हो नि। धा
मेरो घरको छेउको राधा आन्टी उमेरले आधा शतक पुगी। इकोनोमिकमा बी ए गरेर पनि बी ए भएर बसिरा’छिन। जागीर पाएकै छैन। “
“होइन एउटा बी ए त Bachelor of Art हो अर्को बी ए चाहिँ के हो? “अचम्म मान्दै सोधें मैले।
सहज भावमा उसले भन्यो- “त्यो बी ए भनेको चाहिँ Bachelor Auntie भनेको। “
दुवै हाँस्यौ गलल..ल.ल.।
“अफिसमा O A त होइन T A को काम चाहिँ गर्ने रैछस। “हास्दै भनें मैले।
“फेरि त्यो T A भनेको चाहिँ के हो? “उसले पनि छक्क पर्दै सोध्यो।
“Time pass Assistance ” मैले छोटो उत्तर दिएँ।
फेरि दुवैजना हाँस्यौ खितखितखित………
दुइजनाबीचको गफमा नारा लगाएर तारा लगाउने भाईलाई बिर्सिएछ। यसो हेरेको वर पर कतै देखिएन। शायद नारा लगाउँदै ठुलो भीडमा मिसियो होला।
साथी पनि लाग्यो उतै अफिसतिर। म पनि लागें घरतिर।
घर पुग्दा मेरो दुई भाई र एक बहिनी पढ्दै रहेछ। स्कुलबाट होम वर्क दिएको छ अरे।
मैले कराएँ- “तिमेरु नपढ अबदेखि। इम्प्लोएमेन्ट कार्ड बनाई दिन्छु, जागीर खोज्नु।”
ठुलो भाइले भन्यो- “क्लास एट त पढ्दैछु। जागीर पाइन्छ छ र?”
“किन नपाउनु? क्लास फाइफ छोडेर म्यारिज लाइफ भन्दै दुई दुई वाइफ विहे गर्ने बिर्खेले त जागीर पाइसक्यो”, फेरि कराएँ, “अब क्वालिफिकेशन पर्दैन ग्वालिफिकेशन भए पुग्छ।”
“त्यो ग्वालिफिकेशन भनेको चाहिँ के हो? “अचम्म मान्दै भाईले सोध्यो।
“ग्वालिफिकेशन भनेको चाहिँ गाई पाल्न सक्ने दुध दुहुनु जान्ने अर्थात ग्वाला हुनु अफ्ठेरो नमान्ने योग्यता क्या त…. “अब अण्डर म्याट्रिक अनि त्यहाँदेखि मुनिको प्रमाण पत्र भएको जागीरेहरुलाई हाकिमहरुले उनीहरुको घरमा लगेर घाँस कटाउँछ, गोरु जोताउँछ। यत्रोविध्न कर्मचारीहरुलाई अफिसमा टेवल चौकी त पुग्दैन। के गरोस अफिसको काम? “
अनि दाजु तपाइले पनि एम ए उत्तीर्ण गर्नु भएको, जागीर पाउनु भएन त? “
भाईको प्रश्नले म एकछिन रन्थनिएँ। हुन पनि हो म्याट्रिकको परीक्षा बस्दै जागीर खोजें, काम भएन। बी ए सकीसक्दा पनि काम पाइएन। मास्टर गरियो काम पाइएन। त्यस्तो इम्प्लोइमेन्ट कार्ड त रिन्यु गर्दा गर्दा पार्टीको चुनाव घोषणा पत्र जतिकै मोटो भई सकेको छ।
“मैले जागीर खानै पर्छ भन्ने के छ र? अब पार्टीमा म पनि झोला बोकेर कुद्छु।तिमेरको जागीरको निम्ति कलम देखि ढुंगा मुढा के के हुन्छ चलाउँछु। “
तीनजना भाई बहिनी निकै गम्भीर भए। शायद मेरो वाध्यता बुझेर होला।
फेरि अस्ति क्या त लाल बहादुरले मलाई भनभान पारेर जागीरमा लगाई दिन्छु तर यसपालि हाम्रो पार्टीमा दह्रो सघाउनु पर्छ है पो भन्दैथियो ।विश्वास पनि कसरी गर्नु र विश्वाश नगर्नु पनि कसरी? यो लाल बहादुर उर्फ एल बी मेरो उहिलेको क्लास म्याथ ।पढ्नुमा गोबर गणेश। शिक्षकले क्लासमा पढाउँदै गर्दा लास्ट बेंञ्चमा बसेर उसले खैनी माड्दै सुन्थ्यो। हाम्रो ग्याङको लास्ट बेञ्चर मध्ये उनी लक्की म्यान पर्यो एल बी याने लास्ट बेञ्चर। मरेरै क्लास फाइफ छिरेको एल बी सिक्समा नपढ्ने फिक्स गरेर हलो मास्टर भएर घरमा बसेको मान्छे अहिले भी आई पी भएछ।
“तिमीलाई कम्पुटर चलाउनु आउँछ?”, उसले तिर इङ्गित गरेर सोध्यो।
कम्प्युटर कि कम्पुटर भनेर सोधौं कि जस्तो लाग्यो तर उसको इमेजमा ड्यामेज हुने डरले टाउको हल्लाउँदै “हजुर” मात्र भनें मैले ।
“उसो भए कम्पुटर अपरेटरमा एउटा पोस्ट खाली छ । गर्छौ भने म बुढोलाई भनसुन गरीदिउँला। तिमी जस्तो एमे, बे गर्ने केटाहरु कम्ता आउँदैन मेरोमा जागीरमा लगाई दे भन्दै कोसेली बोकेर। तिमी त मेरो पुरानो किलास मेथ (class mate) भएर मात्रै सुटुक्क भनेको… “
अब एम ए गरेर पनि म्याँ म्याँ गर्न नजान्ने म जस्तो सोझो मान्छेलाई बुढोले के पत्याउला र! अब भए पनि नभए पनि डकुमेन्ट सकुमेन्ट बोकेर त्यो चुनाव घोषणा पत्र भन्दा पनि मोटो इम्प्लोइमेन्ट कार्ड लिएर बुढोलाई भेट्न जाने विचार गर्दैछु। तर त्यो भन्दा पनि पहिला लास्ट बेञ्चर एल बीलाई आर एल लगेर दस्तुर गरुङ भन्दैछु। त्यो आर एल भनेको चाहिँ रतन लाल होइन है, मैले रेड लेबल रम भनेको। साथी हो तिमेर पनि एकपल्ट ट्राई नमार्ने?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



