
अचम्म! उल्टो सोच्दा सुल्टो भयो
अनुभव श्रृङ्खला-१
सरिता शर्मा शैली
कुरा २०५२-५३ तिरको हो। त्यतिखेर म एउटा स्कूलको जागिर भर्खर छोडेर अब कम्प्युटर सिक्नु पर्यो भनेर बागबजारस्थित ट्रेनिङ्ग सेन्टर जान सुरू गरेकी थिए। कम्प्युटर कक्षा सकेर घर फर्किदै गर्दा वरपर देखिने साइन बोर्डमा आँखा डुल्ने गर्थे। त्यसै क्रममा श्रेष्ठ टेलरिङ्ग नजिकैको एउटा स्कूलको बोर्डमा आँखा पर्यो। आखिर एउटा शिक्षकको मन त थियो मेरो।
यसो भित्र पस्न मन लागी हाल्यो। गेटमा उभिएको सुरक्षा गार्डले आउनुको कारण सोधे। Teacher vacancy छ कि भनेर बुझ्न आएको भनिदिएँ । ऊ केहिबेर पछि आयो र सोझै प्रिन्सिपलको अफिस जाने बाटो देखाइदियो। म चारैतिर आँखा घुमाउँदै अफिसमा पुगेँ। महिला प्रिन्सिपल रहिछन्, करिब मेरै उमेरकी। एक छिन मेरा योग्यता र अनुभव बारेमा सोधेपछि शिक्षक आवश्यक रहेको र डेमो क्लास लिन अनुरोध गरिन्। मलाई पनि आफ्नो क्षमताको परीक्षण गर्नु थियो, त्यसैले तयार भए तुरुन्तै। उनी आफैं पनि कक्षामा विद्यार्थीहरु सँग बसिन्। कक्षा सकियो। उनले भोलिपल्ट देखिनै आउने अनुरोध गरिन्। लौ अब के गर्ने, म त केवल हेर्न गएको थिएँ। तुरुन्तै सुरू गर्ने मनस्थितिमा थिइन म, त्यसैले बहाना बनाउँदै भनें, मेरो त कम्प्युटर कक्षा चलिरहेको छ त्यो छोड्न मिल्दैन। तर उनले त त्यसैको लागि समेत समय मिलाइदिने कुरा गरिन्। त्यसपछि भने मैले पनि गर्दिनँ भन्न सकिन। भोलि पल्टदेखि सानो छोरा पनि लिएर स्कूल जान थाले।
बिहान कक्षा सुरू हुनु अघि एसेम्ब्ली हुन्थ्यो अरू स्कूलमा जस्तै। बिद्यार्थी तथा शिक्षकहरु भेला भएर प्रार्थना, राष्ट्रिय गान आदि गाइन्थ्यो। अनि विद्यार्थीको पोशाक, सर सफाई आदि चेक जाँच गरेर लाइन लगाएर कक्षामा पठाइन्थ्यो। सामान्यतया त सबै जस्तै नै विद्यालयले तोकेको मापदण्ड अनुसार नै चलेका हुन्थे। तर त्यहाँ केहि बिद्यार्थी, बिशेष गरी नौ कक्षाका तीन जना जति भने लामो कपाल पालेर निधार छोपिने गरी आउने अनि ड्रेस पनि तोकिए बमोजिम नलगाउने गरेको देख्थेँ। तर शिक्षकहरूले तिनीहरूलाई केहि कारबाही नगरी छोडेको देखिरहेको हुन्थेँ। म त नयाँ थिएँ त्यहाँ, अनि कक्षा नौ मा मेरो कुनै विषय पनि थिएन त्यतिबेला सम्म। त्यसैले ती विद्यार्थीहरु लाई मैले व्यक्तिगत रूपमा चिनेकी थिइन तर तिनीहरूको गतिविधि भनें मलाई चित्त बुझिरहेको थिएन।
एक दिनको कुरा हाे, विद्यार्थीहरुको पोशाक आदि निगरानी गर्दै अघि बढेर म उनीहरूको सामु पुगेँ। मैले उनीहरूलाई लामो पाल्नु अनि नमिल्दो पोशाक लगाउनुको कारण सोधे। जवाफ दिएनन्। मैले फेरि भनें, ‘अब भोलिदेखि ड्रेस मिलाएर लगाएर आउनु अनि कपाल पनि काटेर आउनु।’ मेरो कुरा सुनेर एउटाले जवाफ फर्कायो ‘हामी त यस्तै गरेर आउँने हो, तपाईंलाई के मतलब’ उसको ठाडो जवाफ सुनेर झनक्क रिस उठ्यो, यस्तो अनुशासनहिन विद्यार्थी ! मेरो एउटा हात कतिबेला उसको निधारमा झरेको कपालमा पुगीसकेछ र अर्को हातले गाला चडकाउन थालेछु । दुई चार चड्कन खाएपछि रातो मुख लगाएर तिनीहरू कक्षा तर्फ लागे। अरु शिक्षकहरु मलाई हेरेर छक्क पर्दै मुखामुख गर्दै रहेछन्।
केहिबेरमा कक्षा सुरु भयो। म पनि आफ्नो निर्धारित कक्षा लिँदै थिएँ, म समक्ष एउटा सूचना आयो ‘मिस, अफिसमा बोलाउनु भएको छ।’
मैले भनें, ‘म यो कक्षा सकेर आउँछु।’
सुचकले भने, ‘अहिले नै जानुस् रे।’
म कक्षाकार्य दिएर अफिसतर्फ लागे। किन तुरुन्तै बोलाएछन् बुझ्न सकिनँ। अफिसमा पुगेँ, गम्भीर अनुहारले प्रिन्सिपल म्याडमले भनिन्, ‘मिस, डाइरेक्टरको अफिसमा जानुहोस।’ म त्यतै लागे र ढोकामा पुगेर ‘मे आई कम इन’ भन्दै भित्र पसे। मंगोलियन अनुहारका तीन जना ब्यक्ति गम्भीर अनुहार लिएर बसिरहेका रहेछन्। म अलमल्ल परेर तिनीहरूलाई हेर्न थालेछु।
‘मिस बस्नुस्, तपाईंसँग कुरा गर्नुछ’, एक जनाले भने। म बसे।
दोस्रोले प्रश्न गरे, ‘तपाईँले यस स्कूलमा ज्वाइन गरेकोे कति भयाे? ‘
मैले जवाफ दिन नपाउँदै फेरि सोधे, ‘यस स्कूलको सञ्चालकहरू लाई चिन्नु हुन्छ?’
मैले भनें, ‘मैले सञ्चालकलाई चिनेको छैन । प्रिन्सिपलले मेरो अन्तरवार्ता र कक्षा परीक्षण गरेर नियुक्ति दिएको हो।’
तेस्रोले सोध्यो, ‘तपाईंलाई थाहा छ, आज तपाईँले सजाँय दिएका बिद्यार्थीहरु को हुन्?’
मैले भनें, ‘उनीहरु कक्षा नौ का बिद्यार्थी हुन् र अनुशासनको पालना नगर्ने खालका हुन्। अरू विवरण मलाई थाहा छैन।’
फेरि प्रश्न आयो, ‘उनीहरू कसका छोरा हुन् तपाईंलाई थाहा छ?’
‘सबै विद्यार्थीका बाबुआमालाई मैले चिनेको छैन। यसै पनि म यहाँ नयाँ छु, तिनका अभिभावकलाई बिस्तारै चिन्दै जानेछु’, मेरो जवाफ।
‘तिनीहरू हाम्रा छोरा हुन्’, एकमुष्ट आवाज आयो।
म छक्क पर्दै तिनीहरूको अनुहार पालै पालो हेर्न थालेछु।
‘तपाईंहरूका छोरा!’ मेरो मुखबाट निस्कियो।
‘हो, ती हाम्रा छोरा हुन्। आजसम्म हाम्रा छोरालाई कुनै शिक्षकले सजाँय दिन त परै जाओस् गालीसम्म पनि गर्ने हिम्मत गरेका छैनन्। तर तपाईंले भने त्यसरी चड्काउनु भयो’, आफैले चड्कन खाएजस्तै गरी गालामा हात पुर्याउँदै एक जनाले भने।
मेरो दिमाग फनफनी घुम्न थाल्यो।
‘ल मेरो जागीर त गयो अब। फेरि अर्काे तिर गएर interview र demo दिनु पर्ने भयो’, मनमा बिभिन्न कुराहरू आउन थाल्यो। उनीहरु प्रश्न माथी प्रश्न गर्दै थिए।
एउटाले सोध्यो, ‘भन्नुस् के गर्ने अब? एकपटकका लागि माफि माग्नुस्, अब देखि यस्तो गल्ती नदोहोर्याउनु होला’, उसले मेरो पेशाप्रति नै अपमान गर्दै भन्यो।
केहिबेर शान्त रहेर मैले भनें, ‘हेर्नुस्, ती तपाईंहरूका छोरा रहेछन्, मलाई थाहा थिएन। तर मलाई त अचम्म लागिरहेछ कि तपाईंहरु सञ्चालकका छोराछोरी नै अनुशासनहिन हुन्छन् भने अरु बिद्यार्थीबाट हामीले के अपेक्षा गर्ने ? अरु माथी भने हामी नियम लगाउने अनि आफ्नै सन्तानलाई चाहिँ जथाभावी गर्न दिने। उल्टै शिक्षकहरुसमेत उनीहरूसँग डराउनु पर्ने? आज मलाई थाहा थिएन र यति मात्र सजाँय दिए। थाहा भएकाे भए अझ धेरै सजाँय दिन्थेँ होला शायद। सञ्चालकका छोराछोरी त उदाहरण हुनु पर्ने हो नि अरु बिद्यार्थीहरुका अगाडि । तर यहाँ त …।’
उनीहरु मौन भए र मलाई जाने इशारा गरे।
अर्को दिन फेरि मलाई बोलाहट आयो। अब चाहिँ साँच्चै निकाल्ने निर्णय गरेछन् जस्तो लाग्यो। अफिसमा जानु अघि एउटा पत्र लेखेर खल्तीमा राखे अनि गए। तिनै जना त्यसैगरी बसिरहेका थिए, आज प्रिन्सिपल रञ्जु मेडम पनि थिइन् उनीहरूको साथमा। मलाई लाग्यो आज कि फेरि स्पष्टीकण सोध्छन् कि त सोझै बर्खास्त गर्नेछन्। जस्तोसुकै परिस्थिति आए पनि सामना गर्नका लागि आफूलाई तयार गरेर आएकी थिएँ। मलाई बस्ने ईशारा गर्दै लामा थर भएका एकजना सञ्चालकले भनें, ‘हामीलाई थाहा छ तपाईँको योग्यता र क्षमता अनुसारको कक्षाहरु र तलब सुविधा पाउनु भएको छैन अहिले। अब माथिल्लो तहका कक्षाहरु लिनु होला, रञ्जु मेडमले नयाँ कक्षतालिका दिनु हुनेछ। अनि अर्को महिनादेखि तपाईँको तलब र सुविधा पनि बढेर आउनेछ।’
ऊ अरु पनि के के भन्दै थियाे। अब भने मलाई आफ्नो पेशाप्रति गर्वको अनुभूति भयो।
अहिले सम्झेर ल्याउदा विद्यार्थीलाई त्यसरी सजाँय दिनु वा पिट्नु ठिक थियाे कि थिएन? अहिले जस्तो भए त बिल्कुलै ठीक होइन। तर त्यति बेला (२९५२-५३) तिर भने विद्यार्थीले गल्ती बदमासी गरेकोे बेलामा सजाँय दिनु सामान्य कुरा थियाे। यसरी कति विद्यार्थीलाई सजाँय दिइयो हाेला, हप्काइयो होला। । त्यसरी सजाँय पाएका विद्यार्थीले अहिले कसरी सम्झदा होलान् या बिर्सिसकेका होलान् आदि इत्यादि प्रश्न आउछ मनमा कहिलेकाहीँ। अनि त्यो घटनामा चाहिँ अर्को कुरा के थियो भने विद्यालय सञ्चालक सन्तानले गल्ती बदमासी गर्दा त्यत्तिकै छोड्ने हो भने अरू विद्यार्थीले गल्ती गर्दा के गर्ने? त्यत्तिकै छोड्ने कि सजाँय दिने कि के गर्ने?
क्रमसः
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



