इभिनिङ वाकः शंखधर चोकबाट चोङा गणेश हुँदै न्हुः पुखु
मोहन के. श्रेष्ठ
शंखधर चोक थिमीदेखि हिड्दै सल्लाघारी चोङा गणेश पुगें । हिडाइ रोक्न मन लागेन थोरै उकालो उकलिएं । केही समधर आए पछि देब्रेपटि छ न्हु:पुखु अर्थात भक्तपुरको सुप्रसिद्ध ठाउँ रानी पोखरी ।
स्वर्ग झै लाग्ने यो पोखरी भित्र पाईला बढाएं ।
केही बर्ष मात्र भयो यो पोखरी मर्मत गरेर सार्बजनिक खुल्ला गरेको । पोखरी मल्लकालिन राजा जगज्योती मल्लले नेपाल सम्बत ७५० मा बनाउन लगाएको भने जानकारी पोखरी भित्रको बोर्डमा रहेको छ ।
खैर ! जसले बनाएको भए पनि साच्चै नै मनमोहक छ यो पोखरी ।
सिमसिमे पानी रोकिसकेको थियो । एक सांझ । शान्त पोखरी अप्सरा जतिकै थियो । हिड्नलाई फराकिलो बाटो छ । सुईसुई तीन चक्कर लगाएं । मान्छे आक्कलझुक्कलबाहेक थिएन ।
नवजवान एक जोडि भने प्रेममा लिन भैरहेको थियो । मन फर्काएं एक छिन मैले पनि आफ्नै जवानी तिर । सोचें, बस सम्झना मात्र बाकी हो नि त्यस्तो जीवनको, अनुभवी थिएं त्यस्तो यौबनको म पनि, मनमनै गुनें ।
प्रेम गर्न त कहाँ समयले छेक्छ र ? अहिले पनि त्यति नै प्रिय लाग्छ प्रेममय जिन्दगीको । सायद कस्लाई पो नलाग्ला र ? कुट्कुटी लगाएं आफैलाई । तर उमेरको नंम्बर बढ्दै गएपछि भने यौबनको आकर्षणको प्रेम भन्दा पनि हृदयको आकर्षणको प्रेम खोज्दो रहेछ जीबनले ।
मेरो जस्तो यस्तो अनुभव सायद म जस्ता अर्धबैष्य र पाकाहरसंग पक्कै मिल्दोजुल्दो हुन सक्छ ।
खैर ! चक्कर लगाईसके पछि भने पाटिमा बस्दै मन्त्र मुग्ध हुन थालें ।
आकाशमा भने केही बादल केही खुला थियो । चराहरुको चिरबिरले कान लोभियो । आँखा चारैतिर डुलाएं । रुखहरु बिस्तारै हरिया हुँदै आएको थियो ।
आहा ! चैत महिनाको मध्यतिरको समय पो यो । ऋतु बसन्त ।
चराहरुको झुंद हेर्दै मेरो मन आनन्दीत हुन थाल्यो । मानौं म पनि प्रेममा नै छु तर प्रेम भने प्रकृतिका रसरंङसंग पो त ।
जीबनका सारापिर ब्यथाहरु एकाएक छुमन्तर भै हराईगएं । हुन पनि जीवनका पिर ब्यथाहरु कति लिएर साध्य है ? एक जुनी जीवन पाएका छौं ।
जीवन दिनेलाई धन्यवाद दिन पनि बिर्सने गरि जीवन बांच्नुको के नै अर्थ र ?
उफ ! दार्शनिक कुरा पो खप्परमा चल्यो कि !
पोखरीमा मन उडि उडि यसरी खेल्न थाल्यो कि मानौ म पनि त्यही चरी हु जो आकाशमा उडिरहेको छु अथवा भनौ पानी भित्र खेलिरहेको माछा हुं जस्तै ।
मन कहिले पानीभित्रको माछासंग हरायो भने कहिले आकाशको चरासंग ।
कोईलीको गायन । सुगाहरुको चिरबिर अनि लतृरहेका ती चमेरोहरु । आहा ! स्वर्ग भनिरहेको ठाउँ यस्तै पो हो कि !
आकाशमा बास भएका चराहरु । अनि पानीमुनी माछाको जीबन । म भने जमीनमा उभेको छु ।
न म आकासमा नै छु न त पानीमा नै । धरतीमा । त्यो पनि जमीनमै उभेको छु । मात्र जमिनमा । मलाई जमीन नै एकदम ठिक लाग्छ र मन पर्छ पनि । सुटुक्क मनको कुरा छिराइदिएं ।
म संगै मेरै जुनीमा जन्मेकाहरु हेर्दै रमाउदैछु । मेरो जति लामो जीवन यिनीहरुको नहुन पनि सक्छ ।
सायद यतिखेर पानीको माछा अनि आकाशमा उडिरहेका पंछिले पनि पक्कै मैले हेरे जसरी नै उ त्यो जमीनको अदभूतको दुईखुट्टे प्राणी भन्दै मलाई हेरेर रमाईरहेको हुन सक्छ ।
खेर ! नहुन पनि त सक्छ । उनीहरुको चेतनाको कुरा थाहा पाउने हेक्का चाहिँ म राख्दिन । एक छिन मनोबाद मै हराएं म ।
चलिरहने मनलाई रोक्न सकिन । चंन्चलतासहित आनन्दीत छु यतिखेर मेरो मन । जवानीमा पोखिए जस्तै ।
समय गएको भने पतो नै भएनछ । सांझ धल्यो । सुर्य कतिखेर भोलि भेट्छु भनी लुसुक्क छिरिसकेको रहेछ । भौतिक शरीरको एक दिनको आयु घटि घटिसकेको रहेछ । म यसरी पोखरीमा पो रमाईरहेको छु ।
यतिखेर कोहि हवाईजहाजमा सररर ssss उडदै होला । कोहि मलमा, कोहि गाडीमा, कोहि अस्पताल, कोहि संसारमा आउदै होला कोहि कोहि त भौतिक देह छाददै पनि होला ।
उफ … जगत आफ्नै किसिमले चलिरहेको होला । तपाईंको समम पनि आफ्नै किसिमले ब्यथित भैरहेको पक्कै हो ।
म सबैको शुभ समय होस भने कामना गर्ने मान्छे परें । मेरो यो एक सांझ रमाईलो लाग्यो । त्यही रमाईलो तपाईंसंग पनि बाडौं भनेर छोटो मेरो मनको कुराको डायरी कोरें ।
तपाईले यस्लाई पढन समय दिनुभएकोमा म मेरो जीवन र तपाईको समयप्रति कृतज्ञ भएं ।
हार्दिक हार्दिक धन्यबाद भन्दै अहिलेलाई बिदा भएं ।
जय होस ।
डायरी लेख्ने उही मोहन
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)