
कविता शाक्यको ‘नयाँ वर्ष’
नयाँ वर्ष
हरेक मानिसको दुखमा, नयाँ बर्ष तिमी खुसी बनी आउ।
हरेक मानिसको खुसीमा नयाँ बर्ष तिमी उमंग बनी आउ।।
नया बर्ष तिमी…..
भोका पेट भएकाहरूको भोजन बनेर आउ।
सडक पेटीमा गुजारा चल्नेहरूकाे झोपडी बनेर आउ।।
नाङ्गो शरीरले कांपिरहेका हरूको न्यानो कपडा बनी आउ।
उपचार नपाइ घाउमै लतपतिएकाकाे मलमपट्टि बनेर आउ।।
नया बर्ष तिमी उमंग बनी आउ………
नया बर्ष तिमी……
खुसी सुखी र मनोरञ्जन देखेर ठुला महलमा मात्रै होइन।
खरका झुपडी भित्रको यथार्थ हेरेर त्यहाँ पनि आउ।।
चाैरासी ब्यन्जन, हाँसी मजाक पारिवारिक जमघटमा मात्रै होइन।
दिनैभरी काम गरी टुकिको उज्यालोमा एक्लै बसि गुन्द्रुक र आटाे खाने मजदुरहरूको कुटिमा पनि आउ।।
नयाँ वर्ष तिमी उमंग बनी आउ………
नया बर्ष तिमी…..
ज्याकेट, बुट, चस्मा अनि टोपी लगाएकाहरूसँग मात्रै होइन।
जाडाेमा एकसरो लुगा लगाइ थर्थरी काप्दै गरेकाे त्याे नीलाे ओठमा पनि आउ।।
चिल्लाे कारमा बसी चिसाे बियर पिउनेसँग मात्रै होइन।
फाटेको जुत्ता, निधारमा पसिना चुहाइ मेहनत गरि एकछाक भात खानेहरूकाेमा पनि आउ।।
त्यसैले …..
नयाँ बर्ष तिमी हरेक दिन सुनौलो बिहानी बनेर आउ।
नयाँ बर्ष तिमी हरेक हप्ता मुहारको खुसी बनेर आउ।।
नयाँ बर्ष तिमी हरेक महिना तनमनमा उमंग बनेर आउ।
अनि …….
नयाँ बर्ष तिमी हरेक वर्ष प्रेम र शान्तिको बिगुल फुक्दै-फुक्दै आउ।।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)