‘समयका रेखाहरू’बारे गुरुदत्तको समीक्षा

पुस्तक समीक्षा

गुरुदत्त ज्ञवाली

“समयका रेखाहरू” यो एउटा कथासङ्ग्रह हो । समग्र १७६ पृष्ठ छन् यसमा । २१औँ पृष्ठबाट कथा शुरु हुन्छ र १७६ मा टुङ्गिन्छ । कथाले चर्चेका पृष्ठ १५६ छन् । नरबहादुर दाहालको समीक्षात्मक भूमिका, डा.शैलेन्दुप्रकाश नेपाल र गुरुदत्त ज्ञवालीको (मेरो) शुभकामना मन्तव्य छन् । त्यसपछि छ कथाकारको मन्तव्य । जम्माजम्मी १६ वटा कथा छन् यसमा । कथाका शीर्षक र कथाका जोखना तल उल्लेख भएअनुसार हुने नै छन् ।

कथाकारः गीताश्री शर्मा, सिक्किम ।
प्रकाशकः जनपक्ष प्रकाशन, सिक्किम ।
धेरैजसो कथाहरू मैले पुस्तक प्रकाशित नहुँदै पढेको थिएँ, खास गरेर प्रकाशनकै प्रयोजनमा । र, अरु कति कथा बिभिन्न मिडियामा फुटकर रुपमा प्रकाशित थिए, पढ्ने अवसर मिलेको थियो ।
यो लगायत बिभिन्न पुस्तकहरू बेलैमा मसँग आएका हुन् । जोखनाको रेखागणित कता कता नमिलेको हुनाले साइत लम्बिन गयो । र, आज साइत जुरेको छ जोखना लेखनमा ।

कथाक्रम र अनुभूति
१– अन्धविश्वास
सन्ते, सुन्तली र बद्रीबा, कथाका प्रमुख पात्रहरू हुन् । बद्रीबा चिना हेर्ने मान्छे । सन्तेका जोडी चिना हेराउने । अन्धविश्वासको मारमा समाज थिलो थिलो छ । खास गरेर गरीबी र अशिक्षित परिवारको हालत अझै दर्दनाक छ भन्ने कुरामा कथाले जोड दिएको छ । औसत समाजले तल्लो वर्गलाई कसरी हेपेर बोल्छ भन्ने कुराको सन्देश पनि छ ।

भाषा सरल र स्थानीय जनबोलीमा छ । जस्तो कि झर्के थाल, खोसेलाले बनेको पिरा, मरिकुच्चे भारी, तोसक ओछ्याउनु आदि । कथा वर्गीय छ, खास गरेर जनवर्गीय । भुइँमान्छेको पक्षधर । मार्मिक छ तथा पठनीय छ ।

२– आराधना
यस कथाका प्रमुख पात्र गोबिन्द हुन् । उनका छोरा,बुहारी र नातिनी कारक पात्र हुन् । शिव, गोमा, स्विकृती र स्विकार अतिथि पात्र । कथाको केन्द्रविन्दुमा इलामको फिक्कल, सहायक विन्दु उत्तरी सिक्किम देखाइएको छ । गोबिन्द सेवानिवृत्त प्रहरी अ स इ हुन् । छोरो जन्मेपछि श्रीमतीको निधन हुन्छ । छोराको खराब आचरणको कारणले पीडा सहन नसकेर अचानक गोबिन्द घर छोडेर भागे । झापा, सिलगढी, सिक्किमको गान्तोक हुँदै उत्तरी सिक्किम पुगे । त्यहाँ पुगेपछि शिवको घरमा काम सहित पारिवारिक वातावरणमा आश्रय पाए । त्यहाँ उनले १० वर्ष बिताए । गोमा शिवकी श्रीमती एवं स्विकृति र स्विकार छोरा छोरी ।

१० वर्षसम्म घरमा बेखबर भएका गोबिन्द, एकदिन घरमा जान मन गर्छन् । स्विकार उनलाई छोड्न जान्छन् । साथै शिवले कामको ज्याला सहित थप केही रकम पुरस्कार दिएकाछन् । उता पेन्सनको रकम बैकमा जम्मा रहेछ । नयाँ घर बनाउने हैसियत बन्यो । उनका अझै पनि टेढिएका छन् छोरा बुहारी । १२ वर्षकी नातिनीले सबैको मन जितिन् । अन्ततः सबै मिलेर बसे । नातिनीको नामबाट कथाको शिर्षक आराधना बन्यो । अत्यन्त करुण अवस्थाबाट शुरु भएको यो कथा सुखान्त छ । दुखद अवस्था र सुखद अवस्था, दुईपटक आँसु बग्छन् यो कथा पढ्दा । अत्यन्तै भावुक र मार्मिक छ यो कथा ।

३– दिदी
यस कथाकी प्रमुख पात्र झुमा हुन् । अरु सहायक पात्र धेरै छन् । झुमा बिहे गरेपछि घरमा जान्छिन्। छोरीको जन्म हुन्छ। पछि अचानक पतिको देहान्त हुन्छ। त्यसपछि त्यो घरमा उनी टिक्न सक्ने वातावरण हुँदैन र माइतीघर जान्छिन् । त्यसै अवस्थामा बाध्यतावश झुमाको दोस्रो बिहे हुन्छ । गर्भवती हुन्छिन् । पछि बच्चा जन्मने समयमा उनी र बच्चाको सँगै देहान्त हुन्छ । कथा यही हो ।

झुमाको पहिलो पति र पछि उनी पनि मर्नु संयोग हो । कसैको हात वा अपराध देखिन्न । तर, पनि झुमाकी बहिनीले कर गरेपछि दोस्रो पटक बिहे भएको थियो । झुमा दोस्रो बिहे गर्ने पक्षमा पटक्कै थिइनन् । यस्तो दुर्घटना हुन्छ भनेर बहिनीलाई पनि थाहा हुने कुरा भएन । तर, बहिनीको मन पोल्यो । उनकै कारणले दिदीको देहान्त हुनुपरेको बहिलीलाई लाग्यो । सारमा कथा पढ्दा भावुक लाग्छ । यथार्थको नजरले हेर्दा सामान्यतः सरल लाग्छ ।

४– दोषी को ?
प्रमुख पात्र अनामिका र उनकी आमा । बाउको उनी सानै छँदा देहान्त भएको छ । दाजु भाइ छन् तर अरु भाइको खासै भूमिका देखिन्न कथामा । कान्छो भाइ रमण, उसैसँग कथा केन्द्रित छ ।
अनामिकाको बिहे हुन्छ । साथमा उनको कान्छो भाइ रमणलाई लिएर जान्छिन्, दाइजो जस्तै । भाइले धेरै पढ्छ । अनामिकाका दुई छोरीहरू, उनीहरूले पनि राम्रै शिक्षा प्राप्त गर्छन् । रमणको बिहे ललिता नामकी कन्यासँग हुन्छ । तर, ललिताले अनामिका र उनको परिवारलाई मन पराउँदिनन् । रमणकी दिदीलाई आफ्नो सौता जस्तै ठान्छिन् । घर भाँडिन्छ । सम्बन्ध भाँडिन्छ । रमणका जोडी अलग्गै बस्न थाल्छन् । कथा त सकिन्छ तर “दोषी को ?“ यस प्रश्नको जवाफ रहिरन्छ ।
हाम्रो नजरमा दोषी ललिता र उनका माइती हुन् जसले संस्कार दिन सकेनन् । अमाजुको परिवारलाई सम्मान गर्न जानिनन् । र, आधुनिक सुविधाभोगी रमझममा लागिन् ।

५– घर
प्रमुख पात्र आमा भूमिका, छोरा बादल र आकाश बाउ ।
सामान्यतयाः खुसी र सुखी परिवार भन्ने बोध गराउँछ यो कथाले । आपसमा सल्लाह गरेर काम गर्ने आदर्श परिवार भएको घर हो । कथामा हुनुपर्ने आकस्मिक घटनाक्रम वा उतारचढाव छैन । तर पनि कथा सुखद नै छ ।

६– खुशी
खुशी नामकी छोरी लगायत दुई छोरी, आमा निलम र बाउ, पात्रहरू । यसै वातावरणमा रमेको सुखद परिवार छ । सबै खुसी छन् । खास गरेर निलमले छोरीहरूको अनुहार हेरेरै सबै पीडा बिर्सन्छिन् । कथामा सुख दुःखका पारिवारिक कुरा छन् कथाको सार यही हो । यो कथा, कथाकारको परिवारसँग मेल खान्छ । भौगोलिक तथा पारिवारिक वर्णन पनि त्यस्तै सरल छ ।

७– नियत
पात्रहरू छोरी बृक्षा, आमा धरती र बाबा ।
मोबाइल – खास गरेर फेसबुक आदि चलाउन सिक्दा हुने फाइदा तथा यसको दुरुपयोगले हुने बेफाइदा र सतर्कता बारेमा जानकारी मुलक कथा लाग्छ । कथा शिक्षाप्रद छ । तर साहित्यिक कला सामान्य छ ।

८– पितृ–प्रसाद
प्रमुख पात्र तुलसा, बा घनश्याम, आमा धनमती र तीन भाइ छोराहरू छन् । ११ पृष्ठको यो कथा अलि लामो पनि हो । घर व्यवहारका कुरा छन् । शिक्षा दीक्षाका कुरा छन् । खास गरेर शिक्षा व्यवहारिक तथा व्यवसायिक हुनुपर्छ भन्ने कुरामा जोड दिइएको छ । छोरीलाई छोरा सरह शिक्षा दिनुपर्छ भन्नेमा प्रोत्साहन दिइएको छ ।

बाउको नाममा रहेको जग्गा बेच्नु हुँदैन, बचाएर राख, यो पितृ प्रसाद हो भन्ने कथाको सार हो । छोरी तुलसाको माइती घरको किचलो मिलाउनुमा ठुलो समर्पणभाव छ । भावुक तथा सुखान्त छ यो कथा । कता कता छोरी तुलसा नामकी पात्र र कथाकार एउटै हुन् कि भन्ने भान हुन्छ । सररर कथा पढ्दा यस्तै बुझिन्छ ।

९– समयका रेखाहरू
यो कथा, जसको नामबाट पुस्तकको नाम रहेको छ । यसको मतलव कलाकारलाई मन परेको कथा हो ।
रवि र रमिला प्रमुख पात्र हुन् र श्रीमान श्रीमती पनि । रोशन रविको भाइ । अन्य सहयोगी तथा असहयोगी पात्रहरू धेरै छन् । कथाको पृष्ठभूमि रमणीय छ । सुसंस्कृत परिवार छ । विद्युत बिभागमा काम गर्ने रविको कामको शिलशिलामा करेन्ट लागेर देहान्त हुन्छ । दाहसंस्कार गर्ने बेलामा रमला घाटमा सँगै जान्छिन् । यता पत्नी घाटमा जाने परम्परा छैन भनेर बिरोध हुन्छ । तर, रमलाले मान्दिनन्, उनले छोराले गर्नुपर्ने कतिपय कर्म पनि गर्छिन् । उनको छोरो आयुष नाबालक छ र पनि आमासँगै साथमा छ ।

रमलालाई कतिले संस्कार बिरोधी, पोइ टोक्ने आदि आरोप लगाउँछन् । उनले सामना गर्छिन् । देवर रोशन र अन्य चेतनशील नागरिकको समर्थन पाउँछिन् । कथाले अत्यधिक दुःखद घटना झेल्दै सुखान्त छ । रमिलाको साहस प्रशंसा योग्य छ र पठनीय छ कथा ।कथाको सार यही हो ।

१४ पृष्ठमा रहेको यो कथा लामै हो । कथाको मर्म अनुसार आकारको पनि बिस्तार हुन्छ । कथाकारको भावना बगेको हुनाले अथवा कसैको यथार्थ जीवनमा आधारित भएर पनि होला । कथा अलि लम्बिएको छ । कथाले मागेको मर्म वा बिषय सकिएपछि पनि कथा लम्बिनु कथाकारको मन नअघाएको महसुस हुन्छ ।

१०– साथी
प्रमुख पात्र दिव्या र डोमा जो बाल्यकाल देखिका साथी हुन् । कथा रमाइलो छ । धेरै वर्षसम्म भेटघाट र फोन सम्पर्क समेत नभएको मित्रता पुनः जोडिएको छ । आवत जावत बढेको छ ।
कथाबाट के सिक्ने, आदर्श, पीडा वा खुसीभित्र के शिक्षा पाइयो ? यो बिषयमा मौन छ कथा, सुसुप्त छ । यसबारेमा कथाकार सजग हुन जरूरी छ ।

११– तीज
प्रमुख पात्र कौशिला र कुन्ता । सहायक पात्रहरू धेरै छन् । कथाको शीर्षक तीज भएपनि तिहार सम्मको रमझम समेत समेटिएको छ ।
तीज, दशैँ र तिहारमा माइत जानु, रमाइलो गर्नु , यो प्रचलन वा संस्कार नै बनेको छ । माइत जान नसक्नु वा नपाउनुको बाध्यात्मक परिस्थितिको पीडाबोध एकातिर छ । घरमै रमेर मन बुझाउन सक्नु, यो आदर्श छ । अझै महत्वपूर्ण कुरा, आफू संरक्षक बनेर आमाको भूमिकामा रहनु । दिदी बहिनीलाई आफ्नो घरमा बोलाएर रमाइलो गर्नु, यस प्रशंगले कथा भावुक बनेको छ । समाजाको उपमा बनेको छ ।
आमा घर अर्थात् माइतीघर, आमा भनेको आमा नै हो, यो भनाइ अझै मार्मिक छ ।
यस कथामा कथाकारले आफ्नै अनुभवलाई कथामा बुनेको महसुस हुन्छ । समग्रमा रमाइलो, भावुक तथा शिक्षाप्रद सास्कृतिक कथा हो यो ।

१२– यात्रा
पात्रहरू,सृष्टि, दिव्य (दिव्या ?) गाडी चालक र यात्रुहरू । सिलगढी आसपासदेखि गान्तोक सम्मको जीप यात्रा देखाइएको छ । यात्रामा भएका गफगाफले कथा रमाइलो बनेको छ । चालकले आईमाई भनेकोमा सृष्टिको टिप्पणी छ । यता कथामा यादव मार्का भन्ने शब्द छ । आईमाई र यादव मार्का भन्नु उस्तै उस्तै हुन् होँच्याउने दृष्टिले ।
सामान्य छ कथा, यात्रामा ’टाइम पास’ ।

१३– मैले नजन्माएकी छोरी
प्रमुख पात्र रमा र नित्या तथा परिवार । आमा छोरीको भूमिकामा छन् रमा र नित्या ।
फोनमा खास गरेर फेसबुकद्वारा भएको सम्पर्कबाट रमाले छोरीको रुपमा स्नेह गर्छिन् नित्यालाई । दिल्लीबाट आमालाई भेट्न आइन् छोरी नित्या । यो भेट पहिलो पटक हो उनीहरूको । नित्याको आफ्नो घर कालिम्पोङमा छ । बाबा आमा, भाइ बहिनी छन् घरमा । रमाको घर गान्तोक र सिलगढीमा समेत छ ।

नित्याले रमालाई मुमा भन्छिन्, आफ्नी आमालाई आमा नै । दिल्लीबाट आएर उनी सिधै मुमाकहाँ गइन् । त्यसपछि मात्र आफ्नो घरमा पुगिन् । रमाले आफूले जन्माएका र ती नजन्माएकी छोरीलाई कुनै भेदभाव राखिनन् । कथा उदार भावको छ । स्नेह अनुकरणीय छ , कथाको सार अत्यन्तै सुखद र मार्मिक पनि छ । कथाको अन्त्य अत्यन्त कारुणिक छ, स्नेहमय कारुणिक । शुरुदेखि अन्त्यसम्म एउटै गतिमा बगेको छ । पठनीय छ, उदाहरणीय छ । आफैले जन्माएकी छोरीलाई त पूरा परिपुर्याउन सकिएको हुँदैन । दिल्ली फर्कँदा, माइत आएकी छोरीको रुपमा पाहुरपात पढाउँछिन् रमाले । यो कथा पनि कथाकारको आफ्नै भोगाइ हो भन्ने कुरा कथा पढ्दा अनुमान गर्न सकिन्छ ।

१४– अकल्पनीय संयोग
सानु र ऋषि प्रमुख पात्र हुन् यो कथाका । सहायक पात्र उनीहरूमा आ–आफ्ना परिवारका सदस्य छन् । २३ पृष्ठ लामो यो कथा । पढ्दा रोचक छ, रमाइलो पनि । सानु र ऋषिको भेट फेसबुकबाट हुन्छ । यस्तैमा सद्भावपूर्ण प्रेम हुन्छ दाजु र बहिनीको रुपमा । त्यसै सम्बन्धबाट देहरादूनका ऋषिको परिवार सिक्किमको गान्तोक पुग्छन् । दुबै परिवारका सदस्यको भेटघाट हुन्छ । कथाको सार यही हो ।

यो कथा र अन्य कतिपय कथामा कथाकारले आफूलाई प्रमुख पात्रको रुपमा चिनाएको देखिन्छ । गान्तोक मात्र होइन घर नै चिनिने गरेर । वास्तविक जीवनकी कथाकार र कथाको पात्रको उस्तै बोली व्यवहार बुझिन्छ । यो कथा पठनीय हुँदाहुँदै पनि आहा भन्नेखालको घटना, दुर्घटना छैनन्, उत्कृष्ट शिक्षा छैन । फेसबुकका गफले कथा बनेको भान हुन्छ । यद्यपि कथामा वास्तविक घटनाक्रम भएपनि काल्पनिक पात्र परिवेशमा ढाल्नुपर्छ । यो यसैपनि काल्पनिक हो भन्ने बुझिन्छ । काल्पनिक कथामा यति मसिनो तरिकाले कथा बुन्नु कथा लेखनको दृष्टिले कुशलता मान्नुपर्छ । यही विशेषता हो यस कथाको । पठनीय वा रमाइलो भने छ यो कथा ।

१५– अनुभव
प्रमुख पात्र वाणी शर्मा, प्रभारी पदका गौरव प्रधान तथा अन्य धेरै पात्रहरू छन् यो कथामा । वाणी, उनी कुनै गाउँको विद्यालयमा प्राचार्यको नियुक्तिपत्र लिएर हाजिर हुन जान्छिन् । परिचयपछि उनको यथोचित सम्मान हुन्छ । विद्यालयका स्टाफ, विद्यार्थी एवं अभिभावकहरू सबैसँग घुलमिल हुनसक्ने कला छ उनमा । आफै पनि दक्ष छन् हरेक क्षेत्रमा । बिग्रँदो अवस्थामा रहेको विद्यालय र नमिलेको समाज उनको कारणले सभ्यतामा आउँछ । विद्यालयको शैक्षिक तथा भौतिक प्रगति हुँदै जान्छ र कुशल प्राचार्यको रुपमा उनको नाम फैलिन्छ ।
यो कथा यस कथासंग्रहका कथाहरू मध्ये सर्वोत्कृष्ट कथा मान्न सकिन्छ । शिक्षा, स्वास्थ्य, सभ्यता लगायत अनेकौं बिषयमा छोएको बौद्धिक एवं सिर्जनात्मक कथा हो । कथाकारको कथालेखन सिल्प प्रसंसनीय छ ।

१६– लोकन्ते
पात्रहरू बुबा मदन, नाति पङ्कज, बुहारी राधा, छोरा प्रज्ञान र सदीक्षा हुन् । अन्य सहायक पात्र ।प्रमुख पात्र वा यो कथाको नायक मदन हुन् भने नायिका सदीक्षा क्षेत्री । मदनको युवावस्थाको कुरा हो । उनी नाताले उनका दाजु अर्थात फुपूको छोरा शंकरको बिहेमा लोकन्ते भएर जान्छन् । कन्या तिरकी लोकन्तीसँग प्रेमको बिजारोपण हुन्छ । बिहे भने उनको ती युवतीसँग हुन सकेन अर्थात् अर्कै महिलासँग घरजम भयो । यो एकप्रकारको प्रेमकथो भनेर मान्न सकिन्छ ।
मदनको ती लोकन्ती महिलासँग धेरै वर्षपछि फेसबुक मार्फत् सम्पर्क भयो । उनको नाम सदीक्षा क्षेत्री रहेछ । बैवाहिक सम्बन्ध नभएर वा हुन नसेकेर पनि प्रेम सम्बन्ध निकै गाढा रह्यो कथाका अनुसार निरन्तर भलाकुसारी भइरहन्छ । कथा रोचक ढंगले बुनिएको पठनीय छ ।

समग्रमा यस कथासङ्ग्रहमा स्थानीय भाषिकाको यथोचित प्रयोगले भाषामा सुन्दरता र पाठकमा आकर्षबढाएको छ ।
लेखनकला सरल भाषाशैलीमा छ ।
भौगोलिक दृष्टिले दिल्ली, सिलगढी, डुअर्स, सिक्किम, इलामको फिक्कल लगायत बिभिन्न स्थानको वर्णन छ ।
पात्रहरू कथाले मागेअनुसार उपयुक्त छन् ।
कथाहरू जिवन्त र व्यवहारिक छन् ।
फाफुट प्रूफमा गल्ति देखिन्छ ।
कथाहरूको रचनाकाल र कथा लेखनबारे कलात्मक अभ्यास, यस कोणबाट आजका आँखाले हेर्दा पनि खप्पिस कथाकारका कथाको दाँजोमा छन् । यतिले मात्र सन्तोष मान्नु हुँदैन । योभन्दा पनि अझै उत्कृष्ट बनून् । शुभकामना छ ।

तिलोत्तमा नगरपालिका १, शङ्करनगर
रुपन्देही


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button