कथा पारखीका लागि नयाँ परिकार

मानव जातिको जीवनमा मनोविज्ञानको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ । हुनत, अन्य प्राणीका पनि मनोविज्ञान नहुने होइन तर उनीहरुको मनोविज्ञान मुख्यत आत्मरक्षा, भोजन र प्रजनन्मा सिमित रहन्छ । तर मानिस सबैभन्दा चेतनशील मात्र होइन, संवेदनशील प्राणी पनि हो । त्यसैले उसमा मनोविज्ञानले आजीवन नै बहुआयामिक प्रभाव पार्दछ । फलस्वरुप एउटै मानिस बालमनोविज्ञान, किशोरमनोविज्ञान, युवामनोविज्ञान, वयस्कमनोविज्ञान, प्रौढ एवं बृद्ध मनोविज्ञानको चरणबाट गुज्रन्छ ।

यसरी उमेरजन्य मनोविज्ञान मात्र होइन प्रवृत्तिजन्य मनोविज्ञान जस्तै अपराधमनोविज्ञान, यौनमनोविज्ञान, कुण्ठाजन्य मनोविज्ञान, लैङ्गिक मनोविज्ञान, युद्ध मनोविज्ञान, सामाजिक मनोविज्ञान, आर्थिक मनोविज्ञान आदि अनेकौं किसिमका मनोविज्ञानबाट मानिस आफू प्रभावित हुने र अरुलाई पनि प्रभाव पार्ने गरिरहेको हुन्छ । उसलाई आफ्नो मनोविज्ञानबारे राम्रो हेक्का हुन पनि सक्छ, नहुन पनि सक्छ, अक्सर नभएकै पाइन्छ । मानव जीवनसँग यसरी अभिन्न रुपमा गाँसिएको हुनाले मानिससँगै सम्बन्धित साहित्य, कला, संस्कृतिमा पनि मनोविज्ञानको अहम् स्थान रहनु स्वभाविकै हो । त्यसैले विश्वका जुनसुकै देश र भाषाको साहित्यमा पनि मनोवैज्ञानिक पक्ष सशक्त रुपमा रहेको पाउन सकिन्छ । नेपाली साहित्य पनि यसबाट अलग छैन ।

नेपाली कथा साहित्यमा मनोविज्ञान पक्ष सबल रहेको पाइन्छ । आधुनिक युगका कथाकार गुरुप्रसाद मैनाली, विपी कोइराला, भवानी भिक्षु, गोविन्दबहादुर ‘गोठाले’, तारिणीप्रसाद कोइरालालगायतका कथाकारितामा मनोविज्ञान पक्ष निकै दरिलो रुपमा रहेको छ । आधुनिक नेपाली कथा साहित्यमा मनोवैज्ञानिक पक्षको जग हाल्ने श्रेय उहाँहरुलाई नै जान्छ । हाम्रो समाजमा अज्ञात समयदेखि नै अस्तित्वमा रहेका लोककथा, दन्त्यकथा, नीतिकथा, पौराणिक कथा आदिमा पनि मनोवैज्ञानिक पक्ष निकै बलियोसँग उभिएको देख्न सकिन्छ ।

यद्यपि नेपाली कथा साहित्यमा मनोविज्ञान पक्षले अस्तित्व जमाएको आठ दशक भईसकेको छ । तर हाम्रो कथा साहित्यमा रहेको मनोवैज्ञानिक पक्षको यथोचित अनुसन्धनात्मक विश्लेषण गरेर कृति नै जनसमक्ष ल्याउने अहम् कार्य भने भरखरै मात्र भएको छ । पछि गएर अवश्य पनि ऐतिहासिक महत्वको ठहरिने यो कार्य सफलतापूर्वक सम्पन्न गरेका छन् नेपाली साहित्यका गहन अध्येता प्रेमनारायण भुसालले । केही दिनअघि मात्र पाठकसमक्ष पुगेको उनको कृति ‘समकालीन नेपाली कथामा मनोविज्ञान’ले नेपाली आख्यान साहित्यको विवेचना फाँटमा एउटा दह्रो ईंटा थपेको छ ।

यसअघि नेपाली कथाकाबारेमा विभिन्न कोणबाट लेखिएका केही पुस्तकहरु पाठकसमक्ष पुगेपनि मनोविज्ञान धारमा मात्र केन्द्रित रही लेखिएको पहिलो अनुसन्धानमूलक कृति यही नै रहेको बुझिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको गद्य–आख्यान विभागको अनुसन्धान परियोजना २०७८–७९ अन्तर्गत अनुसन्धान कार्य गरी तयार गरिएको २३४ पृष्ठको यस पुस्तकमा लेखक भुसालले प्रमुख मनोवैज्ञानिक सम्प्रदाय, कथामा मनोविज्ञान निरुपण आधार (सामान्य र असामान्य मनोविज्ञान), नेपाली कथामा मनोविज्ञान, समकालीन नेपाली कथामा मनोविज्ञान, उपसंहार तथा निष्कर्श शिर्षकमा मनोविज्ञान र समकालीन नेपाली कथामा यसको अवस्थितिबारे विस्द विवेचना गरेका छन् ।

वर्तमान् समयमा कथाकारितामा सक्रिय रहेका नेपालका १३ जना सुपरिचित कथाकारहरुका मनोवैज्ञानिक कथाका सुक्ष्म विश्लेषण यस कृतिको एक रोचक पक्ष हो । नामको वर्णानुक्रमअनुसार कथाकार इन्दिरा प्रसाई, इन्द्रकुमार श्रेष्ठ, इल्या भट्टराई, कुमुद अधिकारी, तृष्णा कुँवर, नीलम कार्की निहारिका, महेश पौड्याल, महेश विक्रम शाह, माया ठकुरी, रत्न प्रजापति, ललिता दोषी, शर्मिला खड्का र श्रीरामसिंह बस्नेतका कथामा पाइने मनोवैज्ञानिक पक्ष, कथाका पात्रहरुको मनोवैज्ञानिक चित्रण, कथाका अंश आदिको निकै राम्रो विश्लेषण गरिएको छ ।

अध्ययनको लागि छनौट गरिएका तेह्रै जना कथाकारका कथाकारिताको सवल पक्षको चर्चा गरिएको छ, केही कथाकारको कमजोर पक्ष पनि औंल्याउने प्रयास गरिएको छ । यद्यपि स्रष्टाका रचनाहरुको सवल र दुर्वल पक्षको सर्वसम्मत विश्लेषण निकै कठिन विषय हो । एउटा पाठकलाई दुर्वल लागेको पक्ष अर्को पाठकलाई सामान्य लाग्न सक्छ । यो रचनामा मात्र होइन रचनालाई हेर्ने दृष्टिकोणमा पनि निर्भर गर्ने विषय हो ।

पुस्तकमा भूमिका वा मन्तव्य लेख्ने क्रममा प्रकाशक संस्था नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ्ग र गद्य विभाग प्रमुख माया ठकुरीले पुस्तकप्रति राखेका धारणाबाट पनि नेपाली आख्यान साहित्यमा यस प्रकारको अनुसन्धान र अनुसन्धानमा आधारित पुस्तकको महत्व उजागर हुन्छ । मनोविज्ञानका विभिन्न प्राविधिक पक्षबारे समेत विस्तृत चर्चा गरिएकोले पुस्तकको उपयोगिता बढेको छ भने पुस्तकमा पाठकले अपेक्षा गर्ने तर नपाउने विषय भनेको विश्व साहित्यमा चर्चित मनोवैज्ञानिक कथा र कथाकारकाबारेमा पनि केही प्रतिनिधिमूलक संक्षिप्त चर्चा भईदिएको भए सुनमा सुगन्घ हुने थियो भन्ने लाग्दछ ।

नेपाली कथा साहित्यमा अभिरुची राख्ने पाठक, विद्यार्थी, शोधार्थी आदि सबैका लागि भुसालले अथक मिहिनेत गरी तयार पारेका ‘समकालीन नेपाली कथामा मनोविज्ञान’ पुस्तक पठनीय र सङ्ग्रहनीय रहेको छ । पुस्तक पढिसकेपछि पाठकहरुले लेखकबाट भविष्यमा पनि यस्तै अनुसन्धान र त्यसमा आधारित कृतिको अपेक्षा गर्ने नै छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button