दिल्लीतिर गइयो तर काठमाडौंको मुखै देखेको छैन

तपाईंसँग कुरा गरेर एकदमै खुशी लाग्यो । तपाईं मैले जीवनमै भेटेको पहिलो मान्छे हो, जसले काठमाडौं देखेको छैन । काठमाडौ टेकेको छैन । चाँडै नै तपाईंले काठमाडौं देख्न पाउनुहोस् । तपाईंको स्वास्थ्य राम्रो रहोस् । तपाईंको भैंसीले अझ बढी दुध देओस् । नातिनातिनाको राम्रो होस् । छोराबुहारीको राम्रो होस् । तपाईंको गाउँठाउँको विकास होस् । हामी आम नागरिक त हौं नि ।


अशोक सिलवाल/बर्दिया ।

नेपाल साइकल उत्सव पश्चिम महाकालीबाट पूर्व मेचीसम्म साइक्लिङमा थियो । बाटामा अनेक मानिस र कहानीहरु भेटिइरहेका थिए । तिनैमध्येका एक थिए, पशुपति बजार, बर्दियाका धनबहादुर सुनार । उनी ६१ बर्षका थिए, जसले उनकै शब्दमा काठमाडौंको मुखै देखेका थिएनन् । भैंसी चराउने काम गर्थे त्यसताका । उनीसँग एकै छिन कुरा गर्यौं, तर त्यही एक छिनको कुराकानीले मलाई निकै पछिसम्म भावुक बनाइरहेको थियो । प्रस्तुत छ, एउटा आमनागरिकसँगको सडकसम्वादः

नेपालनाम्चामा तपाईंलाई धेरै धेरै स्वागत छ । तपाईंको शुभनाम के हो ?
धनबहादुर सुनार ।

घर कहाँ ?
मेरो घर यहीँ हो । पशुपतिबजार बर्दिया ।

कति बर्ष हुनुभयो ?
म अहिले ६० पुगेर ६१ लागेँ ।

अनि उमेरमा यो गाउँठाउँबाट टाढा जानुभएको थियो ?
काठमाडौंको त मुखै देखेको छैन ।

अहिलेसम्म !?
(हाँस्दै) अहिलेसम्म । र, यता दिल्लीतिर त गइयो । बाटोबाटै गइयो । बाटोबाटै आइयो । नोकरी गरिएन । यता उत्तर काशीतिर, सिम्लातिर कहिले किन हो घुमघाम गरियो भन्नुस्न् ।

इन्डियाको धेरै ठाउँ जानु भा छ तर काठमाडौं पुग्नु भा छैन ।
काठमाडौं गा छैन ।

तपाईं अहिले ६१ बर्ष पुग्नु भयो ।
लागियो भनौं न ।

काठमाडौं कस्तो छ होला जस्तो लाग्छ तपाईंलाई ?
राम्रै होला । कस्तो लाग्छ भन्नु ? राजधानी हो ।

किन संजोग परेन ? अथवा जान मन लागेन ? अथवा काठमाडौं मनपर्दैन ? के कारणले तपाईं काठमाडौं अहिलेसम्म नघुम्नु भा ?
मन नपरेको होइन । अब त्यस्तो संजोग नमिलेर । जान नपाएको भन्नु न ।

तर, काठमाडौंको बारेमा सबै कुरा थाहा छ ?
काठमाडौंको बारेमा अलिअलि …

देशको राजधानी भन्ने थाहा छ ।
थाहा छ ।

त्यहाँ राष्ट्रपति, प्रधानमन्त्री बस्छन् । पहिले राजा बस्थे ।
हो, राजा बस्थे ।

अनि तपाईं कामचाहिँ के गर्नु हुन्छ ?
उमेर छँदा हलो जोत्ने । भारी पनि बोक्ने । काम त गरियो तर त्यसको ठेकान छैन ।

अहिलेचाहिँ ? अहिले भैंसी चराउनुहुन्छ ।
भैंसी चराउँछु भनुँ ।

कतिवटा भैंसी छन् ?
भैंसी एउटै छ ।

आफ्नै भैंसी हो ?
आफ्नै हो ।

दुहुनु छ कि ?
दुहुनु छ ।

पाडा छ कि पाडी ?
पाडी छ ।

यहाँ परिवारमा को को हुनुहुन्छ ?
श्रीमती छ । छोराबुहारी, नातिनातिना ।

यहीँ छन् ?
यहीँ छन् ।

अनि श्रीमती पनि काठमाडौं जानु भा छैन ?
काठमाडौं गइछैन ।

र, सिम्ला, दिल्लीचाहिँ उहाँ पनि जानु भा छ ?
नाईँ गइछैन ।

उहाँले नेपाल पनि काट्नु भा छैन ?
काट्न त … यहाँ बोर्डर काटेर बलै गाउँमा त गइछ ।

ए ए । नजिकै छ ?
(हाँस्दै) नजिकै छ ।

छोरा पनि यहीँ बस्छन् ?
छोरा बाहिर गएर पनि आएको हो । मलेसिया ।

ऊ त काठमाडौं गयो ।
छोरा त गयो ।

तपाईंलाईं कुनै दिन काठमाडौं जाउँजाउँ भन्ने पर्दै परेन ।
त्यस्तो कुनै चानसै परेन भनौं न । आफ्नो पैसा खर्च गरेर घुम्नलाई थोरै पैसाले नि नहुनी । त्यसो भएर जान नसकेको ।

पोखरा जानु भा छ ?
पोखरा त आफ्नो जन्मस्थलै हो ।

पोखराको कुन ठाउँमा जन्मिनुभएको ?
बाटुलीचौरमा । धर्मराज थापाको गाउँ । जनकविकेशरी । झलकमान गन्धर्वको नजिकै हो । ऊ पनि त धेरै राम्रो कलाकार हो ।

तपाई बर्दिया कहिले झनु भो त ?
०३२ सालमा ।

तपाईंको बुवाहरु पनि झर्नु भो ?
बुवा त ०२४ सालमा बित्नु भाको । मलाई त्यति हेक्का पनि छैन ।

जिन्दगी के हो जस्तो लाग्छ तपाईंलाई ?
खोई के भनौं ? जिन्दगी यस्तै अब … सुखको दिन आएन । दुखैमा बिताइयो भनौं अब । के गर्नु ?

तर, खुशी हुनुहुन्छ । किनभने तपाईंको अनुहारको मुस्कान र हाँसोले दुखलाई पनि सुख मानेर बाँच्न सक्ने कला तपाईंभित्र छ भन्ने देखिन्छ । दुखलाई नै साथी बनाउनुभयो तपाईंले । जिन्दगीमा इच्छा के छ अब ?

के इच्छा छ भन्नु ? भोको बस्न नपरे, घरव्यवहार र यताउता राम्रासित चलाउन पाए … त्यही हो ।

अन्तिममा केही भन्न मन लागेको छ ?
के भनौं हजुर ? अन्तिममा त ।

तपाईंसँग कुरा गरेर एकदमै खुशी लाग्यो । तपाईं मैले जीवनमै भेटेको पहिलो मान्छे हो, जसले काठमाडौं देखेको छैन । काठमाडौ टेकेको छैन । चाँडै नै तपाईंले काठमाडौं देख्न पाउनुहोस् । तपाईंको स्वास्थ्य राम्रो रहोस् । तपाईंको भैंसीले अझ बढी दुध देओस् । नातिनातिनाको राम्रो होस् । छोराबुहारीको राम्रो होस् । तपाईंको गाउँठाउँको विकास होस् । हामी आम नागरिक त हौं नि ।
हजुर ।

हस् धन्यवाद ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button