
हाम्री आमा सारै बाठी छिन्
आमासँगका भलाकुसारी
कविता शाक्य
मेरी आमा अहिले दुई बर्ष कम चार बीसकी भइन्
होचीहोची मोटिघाटी लठ्ठी टेकी टुकुटुकु हिड्छिन् ।
सबेरै उठ्ने, तातो पानी पिउने, नित्यकर्म गर्ने, यिनको बानी
योग ध्यान भजन गरी पुजा पाठ आफै गर्छिन् जानी ।
गुडमानी भन्दै मुसुक्क हाँस्दै भान्छा आइ पुग्छिन्
चियासँगै कहिले सातु कहिले बिस्कुट खाने गर्छिन् ।
कपाल कोर्ने लुगा फेर्ने सफा भइ बस्ने आफै गर्छिन्
बुढेसकालमा झन राम्री भएर बस्नु पर्छ भन्छिन् ।
लडिबुडी काखमा खेल्दै म आमासँग कुरा गर्ने गर्छु
हाँस्दै जिस्क्याउँदै हात समाती मैले सोध्ने गर्छु ।
चाउरिएका गाला थोते दात देखाउँदै बोल्छिन मेरी आमा
कानले कम सुने पनि ठम्याउँदै कुरा गर्छिन् लामा ।
बाँडिचुडी सँगै बसी खानेकुरा खानुपर्छ भन्छिन्
पाहुनापासा आउँदा सक्ने सत्कार गर भन्छिन् ।
बालबच्चालाई स्याहार अनि पालनपोषण गर्नुपर्छ रे
माया सम्मान अनि बुढापाकाको कुरा सुन्नुपर्छ रे ।
केटा मान्छेमा बोलीमा इमान, जमान र हिम्मत हुनु पर्छ रे
आँट जागर र लगनशीलताले उन्नति र प्रगति हुँदै जान्छ रे ।
जीवनमा दुख, विघ्नवाधा धेरै आउँछ, नआत्तिनु रे
सबै पुगिसरी आयो भने फुरुक्क परी न मात्तिनु रे ।
छोरी बुहारी मुस्कुराउँदै नरम बोली बोल्नुपर्छ रे
खुसी हुँदै पकाएर खुवाउदा घरमा लक्षिन भित्रिन्छ रे ।
खानाकुरा पकाइसके अग्निदेवलाई चढाउनु पर्छ रे
खान बस्दा भोजनलाई भजन सम्झी खानु पर्छ रे ।
मौसम अनुसारको सबै खालका खानेकुरा खानु रे
पिरो अमिलो तितो चिल्लो गुलियो पनि चाहिन्छ रे ।
बत्तिस पटक चपाएर खानेकुरा आनन्दले खानु रे
दाँतलाई दिने काम कहिल्यै पनि आँटलाई नदिनु रे ।
समय समयमा सिपसिप पानी पिउने बानी राम्रो रे
थोरै खादा बल धेरै खाए मल भन्नेकुरा बुझ्नु पर्छ रे ।
पुजाआजा, चाडपर्व जात्रा हाम्रो संस्कृति हो मान्नु पर्छ रे
कला संस्कृतिलाई बचायो भने देशको विकास हुन्छ रे ।
भोज विवाह व्रतबन्ध गर्दा मनासिब खर्च गर्नु पर्छ रे
घाँटी हेरी हाड निल्न नजानेमा ऋण लाग्छ अरे ।
यस्तै खालका घत लाग्ने गन्थनमन्थन मेरी आमा गर्छिन्
प्रेरणादायी कुरा गरी हामीलाई मातृवात्सल्य भरी दिन्छिन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



