मुटुभित्र पेसमेकरले चार वर्ष पूरा गर्‍यो

मीना चौलागाईं

मान्छेले जेसुकै भने पनि आफैलाई जति माया सायद अरू कसैलाई गर्दैन । जब जब जिन्दगीमा गम्भीर खालको सङ्कट आउँछ अनि थाहा हुन्छ । वि. सं २०७४ सालमा USAID को health for life कार्यक्रम अन्तर्गत फिल्डमा काम गर्दागर्दै छातीमा असहज अनुभव हुन थाल्यो । बिस्तारै हिँड्दा डुल्दा सास फेर्न गाह्रो हुन थालेपछि आफैँले gastric को औषधि pentap किनेर खान थालेँ तर समस्या झन् बढ्यो । एक हप्ता यसैगरी चलेपछि धुलिखेल हस्पिटल गएँ । त्यहाँ डाक्टरहरूको आन्दोलनका कारण OPD बन्द रहेछ । सिधै emergency मा गएर रगतका जाँचहरू र ECG गराएँ । सबै रिपोर्टहरू आइसकेपछि डाक्टरले अलिक मुटु सुन्निए जस्तो देखिन्छ भन्नुभयो र फेरि pentap नै दिएर घर पठाउनुभयो तर मलाई भने झन् झन् गाह्रो भयो । त्यो रात सुत्न सकिनँ ।

असोजको महिना थियो र भोलिपल्ट दसैँको फुलपाती थियो । फुलपातीको दिन बिहान धुलिखेलको रिपोर्ट बोकेर म पाँचखालकै एउटा क्लिनिक पुगेँ । त्यहाँ डाक्टरलाई भेटेपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र छिटो जान सल्लाह दिनुभयो । म त्यतैबाट गंगालाल राष्ट्रिय हृदय केन्द्रतिर जानको लागि काठमाडौको बस चढेँ । दसैँको बिदा परेकोले अफिसको लागि समस्या भएन । गंगालाल पुगेपछि ईमर्जेन्सीमा गएँ । त्यसै दिन भर्ना गरेर उपचार सुरु गरियो । त्यहाँ नहुने चेकजाँचको लागि बाँसबारी न्यूरो हस्पिटल र काठमाडौ कान्तिपथको Grande city hospital पठाइयो ।

पहिलो चरणमा फोक्सोमा पानी र मुटुभित्र रगत जमेको छ भनेर उपचार सुरु गरियो । एक हप्तासम्म नसाबाट औषधी चढाइयो । बि. सं २०७४ सालको दसैँ गंगालाल हस्पिटलमा नै मानियो । ८-९ दिन भएपछि डाक्टरले सबै राम्रो भएको छ भनेर भोलिपल्ट डिस्चार्ज लेख्नुभयो तर डाक्टरले डिस्चार्ज लेख्न नपाउँदै मेरो मुटुको धड्कन प्रतिमिनेट ३०० भन्दा माथि पुग्न थाल्यो । यो क्रम केही सेकेन्डदेखि एक मिनेट भन्दा बढी रहँदैनथ्यो । यसको कारण सोध्दा डाक्टरहरू नै अनविज्ञ देखिनु हुन्थ्यो । यसपछि मेरो अवस्था झनै गम्भीर देखियो । बेडबाट थोरै पनि चल्न नमिल्ने भयो । यताउता फर्किँदा पनि धड्कन निकै माथि पुग्थ्यो । मैले बेडमा हलचल समेत गर्न नमिल्ने भयो । औषधिहरू हेरफेर गर्दै चलाउन थालियो । यो सिलसिला करिब १५ दिन चल्यो । यो बिचमा अन्य थुप्रै जटिल समस्याहरू देखिए । नसाबाट पाइप राखेर गरिने मुटुका विभिन्न अप्रेसनहरू भए । नसाबाट थुप्रै औषधि चलाइए । २५ दिनको हस्पिटल बसाइपछि सातथरि औषधि दैनिक खानुपर्ने गरी घर पठाइयो ।

घर त गइयो तर समस्या कम हुन सकेन । अब भने झन् उल्टो प्रक्रिया सुरु भयो । पहिले बढेर निकै माथि पुग्ने धड्कन अब बिस्तारै सामान्यभन्दा निकै तल झर्न थाल्यो । हिँडन बस्न गाह्रो भइ नै रह्यो । अब म उपचारको लागि म अन्य हस्पिटल पनि चहार्न थालेँ । डा. भगवान् कोइरालालाई भेट्न मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर (Manmohan Cardio Thoracic Vascular And Transplant Center) पुगेँ । त्यहाँबाट पनि डा. भगवान् कोइरालाले यस्तो समस्या आफूले हेर्ने नभई धड्कनसम्बन्धी विशेषज्ञलाई देखाउन सुझाव दिँदै दुई जना डाक्टरको नाम लिनुभयो । (त्यसबेला नेपालमा यस किसिमका विशेषज्ञ दुई जना मात्रै हुनुहुन्छ भनेर डा. रोशन राउत र अर्को एकजना डा. को नाम लिनुभएको थियो । अर्को डाक्टरको चाहिँ नाम बिर्सिएँ । हालको अवस्था भने थाहा भएन )। डा. रोशन राउतलाई देखाउनु भन्दै refer लेखिदिनुभयो ।

संयोगले रोशन राउत पनि गंगालालमै हुनु हुँदो रहेछ । (हाल फलोअपमा जाँदा भने रोशन राउत गंगालालमा नभएको बुझियो र अर्को डा. लाई देखाउनु पर्‍यो) म डा. रोशन राउतको क्लिनिक खोज्दै गठ्ठाघर पुगेँ । उहाँले तुरुन्तै मुटुको अप्रेसन गरेर धड्कन मिलाउनु पर्ने र यो अलिक जटिल खालको अप्रेसन भएकोले तयार रहन भन्नुभयो । यो अप्रेसन पनि गंगालालमै गरिने कुरा पनि बताउनु भयो । यति गर्दागर्दै झन्डै ६ महिना बितिसकेको थियो । यो छ महिनासम्म थुप्रै पटक मैले एम्बुलेन्स प्रयोग गरेर हस्पिटलको ईमर्जेन्सीमा भर्ना हुन आइपुग्नु परेको अवस्था थियो ।

धड्कन घटेर ३४-३५ मात्रै थियो । धड्कन बढाउन कुनै उपाय या औषधिले भएन । यतिबेला थाहा भयो, आफ्नो माया आफैलाई कति लाग्दोरहेछ भनेर । अरू उपाय पनि थिएन । म पैसाको जोहो गरेर अप्रेसन गर्ने तयारीमा लागेँ । जीवनका ३८ औँ वसन्त पार गर्दासम्म खासै ठूलो समस्या आएको थिएन सामान्य ज्वरोबाहेक । अहिले भने जिन्दगीको ठुलै लडाइँ लड्दैछु जस्तो लागेको थियो । फेरि पनि डाक्टरले भनेअनुसार भएन । धड्कन मिलाउने भन्दा पनि बढाउने वा नर्मल बनाउनतिर लाग्नुपर्ने भो भन्दै मुटुमा पेसमेकर (pacemaker) मेसिन राख्नुपर्छ भनेर मिति तोकियो । मेसिन पनि दुइटा तार वाला अलिक भरपर्दो हुन्छ भन्दै Dual chamber pacemaker राख्ने योजना बनाइयो र हस्पिटल भर्ना गरियो ।

मैले केही दिन पेसमेकरबारे अध्ययन गरेर यो राखेका मान्छेहरूका बारेमा बुझेको थिएँ । ढुक्क भएर आफ्नो मेशिन आफैँ बोकेर आफ्नो पालो कुरिरहेँ । आफूभन्दा अगाडि अप्रेसन हुनेहरू कोही रोइरहेका थिए । कोही निराश देखिन्थे । २-३ जनालाई त सम्झाउन पनि भ्याएँ । म खुसी देखेर डाक्टरहरू पनि खुसी हुनुभयो । डा. रोशन राउतले नै मेरो अप्रेसन गर्नुभयो । पूरै बेहोस् नबनाउने भएको कारण डाक्टरहरूसँग कुराकानी गर्दै करिब एक डेढ घण्टा अप्रेसन थिएटरमा बिताएँ । छातीबाट बगेको तातो रगत जब ढाडमा पुग्थ्यो, त्यतिबेला भने होस् हराउँछ कि जस्तो लाग्थ्यो र डाक्टरलाई अब कतिबेर लाग्छ भनेर सोध्थेँ । अन्तिममा त सायद लट्याउने औषधिको असर कम भैसकेकोले होला, टाँका लगाउँदा दुख्यो भनेर कराएँ पनि । जब बाहिर पठाइयो । त्यसपछि भने मनको बाँध भत्कियो । आफन्तहरू देखेपछि आँखाहरूले पीडा लुकाउन सकेनन् र तातो भल आँखा हुँदै गालाबाट बगाएर दुखाइ घटाउने दुस्साहस गरेँ ।

केही दिनको हस्पिटल बसाइपछि करिब ८ वर्ष मेसिनले काम गर्ने भन्दै पाँचथरी औषधि जीवनभर नियमित खानुपर्ने भनेर डिस्चार्ज गरियो । डाक्टरले भनेको बेला फलोअप गइरहेकै छु । हुन त आफन्त र साथीभाइहरूले पेसमेकर राखेका मान्छेहरू केही नभएकाझैँ काम गरेर हिँडिरहेका छन् । कुनै समस्या नै नभएझैँ भनेर भनिरहनुहुन्छ । मैले पनि डाक्टरलाई यही प्रश्न गरेँ । डाक्टरको सरल जवाफ थियो । पेसमेकरको काम पम्प गर्ने मात्रै हो । यसले अरू समस्याबाट त बचाउन सक्दैन नि । हुन पनि वास्तविकता यही नै हो, अरू समस्या छैन भने यसले लामो समय चलाउँछ । मैले पनि पेसमेकर राख्नुहुनेहरू धेरैलाई सोधेकी छु । औषधि खानै नपर्नेहरू पनि हुँदारहेछन् । तेस्रो पटक फेर्न लाग्नुभएकाहरू पनि भेटेकी छु । अन्य अफ्ट्यारो नभएको भन्नेहरू पनि हुनुहुन्छ ।

वास्तवमा पूर्ण रूपमा खुसी त कोही पनि छैन । रोग लाग्नु नौलो कुरा पनि होइन । खानपानमा भने विषेश ध्यान दिन सकेमा अलिक सहज हुन्छ । मजस्ता पीडित कति हुनुहुन्छ कति ! जिन्दगी जति बाँचिन्छ, खुसी भएर बाँच्नुचाहिँ ठूलो कुरा हो । हरेक पीडालाई भुलेर खुसी हुन सक्नुपर्छ । कुनै न कुनै किसिमका समस्या नहुने को नै छ र । खुसी छु । सुखी छु । बाँचुञ्जेल सबैजना खुसी भएर बाँचौँ । खुसीले पीडालाई घटाउन मद्दत गर्छ ।

स्वास्थ्यको ख्याल गरौँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button