देउताको रोपाइँ

राजेन्द्रमान डंगोल

बाल्यकालको याद गराउँछ असारका दिनहरूले ।

सिमेभूमे र नागहरूको पूजा गरेर धान धेरै फलोस् भन्ने कामनासहित भकारी बाँधेपछि रोपाइँको थालनी गर्ने गरेको सम्झना ताजै छ मलाई ।

असार लागेपछि जमिनदारहरूका खेतमा बेठी बाजा घन्किन्न्थो । बाजाको तालमा रौसिएर रोपाहारहरूले हार मिलाएर छुपछुपु धानको बीउ रोप्थे । असारे गीतको भाका हाल्थे । आपसमा खुबै उछिनपाछिन पनि हुन्थ्यो, रोपाहारहरू बीचमा । निकै रोमाञ्चक लाग्थ्यो, दृश्यहरू देख्दा ।

कोही जोत्ने । कोही हिलो माटोमा दाँदे लगाउने । कोही बाउसे गर्ने । मान्छेपिच्छेका भूमिका । बिउका मूठाहरूलाई पाँज्ने निहुमा बाउसेहरू रोपाहारलाई हिलो छ्याप्थे । रोपाहारहरू पनि हात बाँधेर किन बस्थे र ! अनि त छ्यापाछ्याप हुन्थ्यो हिलो । हिलोको फागु खेलेपछि चिनिन्थेनन् मान्छेहरू ।

ब्याडेहरू ब्याडमा धानको बीउ काढिरहेका हुन्थे । केटाकेटीहरू बीउका मुठा ओसारिरहेका हुन्थे । हिलोमा छिर्ने बहाना मात्र न हो ! हाम्रो खेतमा रोपाइँ भएको दिन मेरो काम नै बिउ बोक्ने हुन्थ्यो । मैले सक्ने काम नै यहीमात्र न थियो ! दिनभरि डोकोमा बिउ बोकेर चिप्ला आली उक्लँदा र ओर्लंदा बेलुकासम्ममा त लखतरान भइसकेको हुन्थेँ । तैपनि मिठो हुन्थ्यो थकाइ ।

नेपालमा भूमिसम्बन्धी जिम्मावाल प्रथा थियो । जिम्मावालको इज्जत र प्रतिष्ठाको पर्याय थियो– बेठी परम्परा । पञ्चैबाजाका साथ रोपाइँ गर्ने र भोज खुवाउने चलनलाई नै बेठी भनिन्थ्यो । बेठी बोलाउँदा पर्म वा ज्याला तिर्नु पर्थेन रे । तर, रोपाइँ सकिएपछि कसैकसैले माटोको टीका र धानको बीउको फूल लगाएर रोपाहारहरूलाई दक्षिणा भने दिन्थे रे । कस्तो राम्रो संस्कार ! आफूलाई रमाइलो पनि हुने, जिम्मावाललाई सघाएजस्तो पनि हुने । त्यसैले पनि आफ्नो खेत नभएकाहरू रोपाइँ हुँदा हिलो टेक्न पुग्थे ।

सानोमा म नुवाकोटको छबीसे फाँटतिर रोपाइँ हुँदा हलीहरूले दाँदे चढेर गोरु कुदाएको हेर्न जान्थेँ । बानियाँ डाँडाका थरी बाबुरामको गोरु साउने कला छुट्टै थियो । गोरुलाई जिगज्याक पारेर हिँडाउँथे उनी । उनी यसरी दुवै गोरुको पुच्छर निमोठ्थे कि– गोरुहरू मज्जाले बुर्कुसिन्थे । धिताल कान्छा र सिटौला कान्छादाइहरू पनि हिलोमा गोरु कुदाएर आनन्द लिन्थे । उनीहरूको पछाडि बसेर दाँदे चढ्दा मोटर चढेजस्तै लाग्थ्यो । भुरा न परेँ !

रोपारहरूले मौलिक भाकामा असारे गाएको सुन्दा खुब रमाइलो लाग्थ्यो । पछि त त्यही ठाउँमा लाठे भएर पनि गइयो र हली भएर पनि गइयो । बिउको मुठाले रोपाहारहरूलाई हिलो छ्यापिदिन्थेँ । रिसले भुतुक्के हुन्थे, साहिँली र माइलीहरू । एक पटक हिलो छ्याप्दा मगर्नी दिदीले खेतको सिरानदेखि पुछारसम्म लखेटेको कहिल्यै बिर्सन्नँ । भाग्दाभाग्दै आलीमा चिप्लेर लडेँ । अनि त मलाई हिलो छ्याप्नै परेन ।

वि. सं. २०२१ मा भूमिसुधार लागू भएपछि जिम्मावाल प्रथामा पनि परिवर्तन आयो । गाउँघरका हुनेखानेहरूले प्रतिष्ठाको रूपमा बेठी बोलाएर काम गर्न आउनेरूलाई ज्याला दिने थाले । समयको परिवर्तनसँगै भएको सामाजिक परिवर्तनको लहरले बेठी परम्पराको अस्तित्व लोप भइसकेको थियो ।

पछिल्लो अठार वर्षदेखि नेपालमा प्रत्येक वर्ष असार १५ गते ‘राष्ट्रिय धान दिवस तथा रोपाइँँ महोत्सव’ हँुदै आइरहेको छ । यो बेठी परम्परा त होइन, तर पनि वर्ष दिनमा एक पटक हिलो छुनुपर्छ भन्ने मान्यताअनुसार असार १५ गते मान्छेहरू रोपाइँ गर्ने नाममा हिलो खेल्न पुग्छन् । मानवजातिको अस्तित्व धानसित जोडिएको छ । मानवजातिको अस्तित्व माटोसित जोडिएको छ । फेरि माटोमै फल्छ धान । त्यसैले माटो र मान्छेबीचको सम्बन्ध अन्योन्यस्रित हुन्छ । माटो र मान्छेबीचको सम्बन्धको प्रतीकको रूपमा मान्छेले यो दिन हिलोको टीका मात्र लगाउँदैनन्, आफूलाई हिलोमै डुबाउँछन् ।

ऊ बेला नुवाकोटमा भैरवी गुठीको खेतमा गरिने रोपाइँको छुट्टै महत्त्व थियो । भैरवीको त्यही खेतबाट उब्जेको अन्नले सिन्दुरेजात्रा, देवीजात्रा, नारायणजात्रा लगायत भैरवीसँग सम्बन्धित सबै जात्रा चलाउने चलन छ । गुठीको खेतलाई देउताको खेत पनि भनिन्छ ।

‘फलानो दिन देउताको रोपाइँ हुने रे !’ भन्ने थाहा भएपछि मान्छेहरू दिनगन्ती गरेर बस्थे । साउनको पहिलो हप्ताभित्र वा दश गतेसम्ममा हुने गथ्र्यो– देउताको खेतमा रोपाइँ । त्यति बेलासम्म धेरैजसो किसानहरूले आफ्नो रोपाइँ सकेका हुन्थे । भैरवी मन्दिर सबैको साझा भएको र भैरवी भुजा सबैका लागि भएकोले देउताको खेतमा हुने रोपाइँमा गुहार जाने चलन थियो । सबैलाई गुहार जान सजिलो होस् भन्नका लागि पनि देउताको खेतको रोपाइँ अरू किसानहरूको भन्दा ढिलै हुन्थ्यो । धान काट्ने, चुट्ने र दाईंमा पनि गुहार जाने चलन थियो । तर, धान काट्ने, चुट्नेमा चाहिँ श्रमबापत चलनचल्तिमा दिइने ज्यालाको आधा दिइने चलन थियो ।

देउताको खेतमा बाँझो जोत्ने, आली लाउने, ताछ्ने र पानीको व्यवस्था गर्ने काम पहिले नै भइसक्थ्यो । रोपाइँको अघिल्लो दिन बिउ काढ्ने चलन हुन्थ्यो । भोलिपल्ट गुठीयार र गाउँलेहरू बेलैमा पुगिसकेका हुन्थे खेतमा । हलगोरु, बाउसे, ब्याडे र रोपाहारहरू सबैले निःशुल्क श्रम दिन्थे । देउताको खेत नजिकैको चौतारा डिहीका राई समुदायले हलगोरु लिएर आउँथे । नुवाकोटको मैदानटोल, ब्रम्हटोल, भुटोल, असन र इन्द्रचोककाहरूले पनि हल गोरु लाने गर्थे । हल गोरु नभएकाहरू कोदाली दिएर बाउसे गर्न जान्थे । टाढा–टाढादेखिका मान्छेहरू रोपाइँ हेर्न आएका हुन्थे । ‘जिल्ला’बाट सिडिओ, एलडिओलगायत विभिन्न निकायका प्रमुखहरूको पनि उपस्थिति हुन्थ्यो ।

गुठियारहरूले खेतको मुहानमा पुजा गर्थे । राँगो र बोको काटिन्थ्यो । धमिनीले भकारी बाँध्थिन् । भैरवी मन्दिरमा बजाउने जोर दमाह, सनाइ र कर्नालहरू नै बज्थे । रोपाइँ रौनक सुरु भइसकेको हुन्थ्यो बिहानको दश दज्दा । गुठियारहरू भोजको काममा जुट्थे । आ–आफ्नै भूमिकामा हुन्थे गुठीयारहरू ।

कम्तीमा पनि बाईस–पच्चीस हल गोरु हुन्थ्यो । बाह्र हल गोरुका हलीहरू हिल्याइरहेका हुन्थे । बाँकीले दाँदे लगाएर सम्याइरहेका हुन्थे । त्यही अनुपातमा हुन्थे बाउसेहरू कोदाली चलाइरहेका । उनीहरूको काम छेउकुना खन्ने, सम्याउने र रोपाहारहरूलाई धानको बिउ पु¥याइदिने । रोपाहारहरू त कति कति !

रोपाहारहरू जिस्क्याउँथे बाउसेहरूलाई–

‘बाटै र मुनी बाटै र माथि बुढो स्याल करायो
यहीँ थियो अघि बाउसे दाइ कता पो हरायो ।’

यति भनेपछि बाउसेहरूलाई के चाहियो र ! प्रेमिल प्रत्युत्तर फर्काइहाल्थे उनीहरू पनि–

‘गाईको दाम्लो, भैँसीको दाम्लो किलाको किलै छ,
अलैँची दाना बाडँैंला भन्थेँ हात मेरो हिलै छ’

रोपाइँमा गाइने गीतहरू प्रेम र रसरङ्ग मात्र होइन, वियोग र पीडाका जीवन्त अभिव्यक्तिहरू पनि हुन् । कोही गाउँथे–

‘माझी र दाइले माछी है मा¥यो
तारको बल्छीले,
असारको महिना ढाड दुख्यो अरे
के भन्छ अल्छीले ?’
‘असारलाई भनी कुटेको च्युरा म कति साँचूला,
सौताका हात दुइ कुड्की भात म कति बाँचूला’

कतिपय त गीत गाउनका लागिमात्र आएका हुन्थे । कोही गीत सुन्नका लागि आएका हुन्थे । काँठे पाराका दोहोरी झिकिहाल्थे उनीहरू ।

‘कृष्णलाई जीको गाईलाई सोह्रसय
लैजाने र ल्याउने गो…..
म भन्ने थिइनँ, भन् भनेको किन ?
लैजाने र ल्याउने गो….
माछाको पित्त म वैरागीसित
कस्तो माया लाउने हो ?’

क्या ! जम्थ्यो दोहोरी गीत ! गाउनेहरू निरन्तर गाइरहेका हुन्थे लेग्रो तानेर । कान थापेर सुनिरहेका हुन्थे सुन्नेहरू । गीतबाटै प्रश्न, गीतबाटै उत्तर । बाफ् रे ! कति छिटो ट्याक्क जवाफ आएको ! अचम्मै लाग्थ्यो मलाई । मान्नैपर्छ उनीहरूको दोहोरी गाउने कला ।

मध्याह्नपछि आगमन हुन्थ्यो भैरवीका पुजारी धामीको । हली, बाउसे, ब्याडे र रोपाहारहरू खलेगरामा पुगेपछि धामीलाई डोलीमा राखेर झल्लरी छाता ओढाउँदै त्यहाँसम्म लगिन्थ्यो । धामी र धमिनीलाई खलेगराको बीचमा राखेर हिलो चटाइन्थ्यो र बिउको माला पहि¥याइन्थ्यो । र, सुरु हुन्थ्यो औपचारिक रूपमा हिलो खेल्ने काम । हिलो पर्वकर्म । निकै बेरसम्म चल्थ्यो रमाइलो । हिलो खेल्ने रमाइलो सकिएपछि धामीलाई नुहाइन्थ्यो र हिलोको टीका लगाइन्थ्यो ।

एकातिर निरन्तर दोहोरी, अर्कोतिर निरन्तर रोपाइँ । पुछारको गरामा पुगेपछि रोपाइँलाई विधिवत मैजारो गरिन्थ्योे र नारायणदेवीको चौरमा सुरु गरिन्थ्यो भोज ।

विडम्बना ! यति राम्रो संस्कृति र परम्परालाई हामीले मासेका छौँ । देउताको रोपाइँ ठेक्कामा चलेदेखि बाजा बज्दैन । न दोहोरी गाइन्छ, न त हिलो नै खेलिन्छ । सुन्छु– रोपाइँ पनि किस्ताबन्दीमा हुने गर्छ रे अचेल । त्यो पनि कहिले हुन्छ, कसैलाई थाहै हुँदैन । नयाँ पुस्ताका लागि दन्त्य कथाजस्तै भइसकेको छ- देउताको रोपाइँ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

  1. सुरु देखी अन्त सम्म पढे । रोपाईको बेलामा आफु पनि त्यही खेतमा भए जस्तो लाग्ने गरेर सार्है मिठो सङ्ग लेखिएको रहेछ । यस्तो परम्परालाई जस्ताको त्यस्तै बचाएर राखिएको भए आफ्नो सस्कृति प्रती नयाँ र पुराना पुस्ताले कती गौरब गर्न पाउथे । हामी हाम्रो मौलिक धारातल बाट चिप्लिदै चिप्लिदै रसातलमै पछारिसकेछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button