कहिले को, कहिले को मन पर्दछ

जसलाई लाग्छ, ‘क्रान्ति मात्र पनि जीवन हैन रहेछ, जीवन त संक्रान्ति रहेछ ।’ कृषकका सन्तान उनी । हलो जोत्ने, बाली लगाउने, काट्नेसम्मका काम गरे । राजनीतिको होलटाइमर पनि भए, तर त्यो उनलाई खासै मन परेन । ५ बर्ष निर्वाचित स्थानीय जनप्रतिनिधि भएर पनि बिताए । १२ बर्ष स्कुल, कलेजमा अध्यापन । जति समयसम्म पढाए, समर्पित भावले पढाएँ भन्ने लाग्छ उनलाई तर त्यो रुचिको पेशा थिएन उनको । उनलाई मन पर्ने भनेको स्वतन्त्र लेखक, स्तम्भकार तथा नागरिक अभियानकर्मी हुनु हो । उनलाई लाग्छ, ‘यो पेशा हैन, हुन सक्दैन नेपालमा ।’ तर, उनको शौख, रुचि यही हो । अहिले यही गर्दैछन् र यही मन पर्दछ उनलाई ।

नेपालनाम्चाको मनपरेका १० स्तम्भमा उनी अर्थात चिन्तक डम्बर खतिवडा

१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ? किन ?
भात, तरकारी, अचार तर, दाल हैन । दाल मलाई मन पर्दैन । त्यसको साटो कुनै झोल होस्, जस्तो गुन्द्रुक, सिन्कीको वा अरु केहीको वा तरकारीमध्ये कुनै एक भुटुवा र कुनै रसवाला होस् । भात पकाउने चामल कुनै लोकल जातको होस्, धेरै ग्रेडिङ नगरिएको । यस्तो खाना किन मन पर्छ ? संभवत् खानपानको प्रचलन ‘संस्कृतिक जीन’ हुँदै ‘जैविक जीन’ सँग समायोजित भयो होला । म ‘भाते’ हुँ । भात नखाएको साँझ राति निन्द्रा पर्न गाह्रो हुन्छ । मलाई पश्चिमा, कथित आधुनिक वा नयाँनयाँ र महंगा परिकारले बिल्कुलै आकर्षित गर्दैन । एक थाल भात खायो, सबैथोक पुग्यो–आनन्द ।

२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
अहिलेसम्म जे जति ठाउँ बसेँ, घुमेँ, पुगेँ, डुलेँ तर, आफ्नो गाउँजस्तो रमाइलो कुनै लागेन । मलाई सबैभन्दा मन पर्ने ठाउँ आफ्नै गाउँ हो । सुनसरीको सिंगिया, मानपुर । त्यो मेरो जन्म गाउँ भने हैन । झापाको गच्छेमारीमा जन्मेको हुँ । पुर्खेउली थलो पनि हैन, भोजपुरको कटुन्जे हो । सिंगिया मन पर्नुको कारण मेरो जिन्दगी, अनुभव र भावना त्यससँग जोडिनु हो । त्यहाँ नजन्मे पनि हुर्केँ, बढेँ । जे बने, त्यहीको हावा, पानी, माटो, अन्न, मान्छेको संगत र सहयोगको कारणले बनेँ । आज पनि सपनामा त्यहीँका मान्छे भेटेकोे, त्यहीँका बाटाघाटामा हिँडेको, रामधुनी जंगलमा घुमेको, रमेको देख्छु । गाउँ नियमित बस्न छोडेको २० बर्ष बढी भयो । अन्यत्र कति धेरै घुमियो, डुलियो । तर, सपनामा त्यही गाउँ मात्रै आउँछ, संझना र नोस्टाल्जियामा त्यही गाउँ, त्यहीँका मान्छे र परिवेश मात्रै आउँछ भने सायद मेरो आफ्नो ठाउँ त्यही हो । आफ्नो ठाउँ नै त होला मन पर्ने ।

३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
यो निक्कै गाह्रो प्रश्न भयो । कुनै एउटा किताब भन्न मलाई गाह्रो छ । मेरो जीवन र सोचलाई प्रभावित गर्ने २०–२५ किताब छन्, उत्तिकै महत्वका, एउटा कुनलाई भन्नु ? खैर, एउटा भन्नै पर्ने हो भने– खप्तड स्वामीको विचार विज्ञान भन्छु । मलाई थाहा छ, त्यो किताबबारे धेरै विवाद छन् । त्यो खप्तड स्वामीको मौलिक कृति नै हो कि हैन भन्ने शंका छ । पदम ठकुराठीले त्यसलाई बौद्धिक चोरी भनेका छन् । मन पर्नुको कारण चाहिँ त्यसले मान्छेको इच्छा शक्तिलाई दृढ बनाउँछ । विचारप्रति विश्वास जगाउँछ ।

४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ? किन ?
यो प्रश्नको चाहिँ म उत्तर दिन सक्दिन । कुनै एउटा मान्छे भन्न धेरै गाह्रो कुरा हो । कुन कोणबाट भन्ने ? सबैभन्दा मन पर्ने पहिलो मान्छे सबैलाई सायद आफ्नै आमा हुन्छ । त्यसपछि परिवारका सदस्यको कुरा आउँछ । वाल्यकालका, स्कुल, कलेजका साथीभाईको कुरा आउँछ । प्रेमीप्रेमिकाको कुरा आउँछ । पतिपत्नीको कुरा आउँछ । सन्तानको कुरा आउँछ । राजनीति गर्दाका, जेल बस्दाका सहकर्मीको, व्यावसायिक, पेशागत जीवनको कुरा आउँछ । कुनै एक कसरी भन्ने ? यदि भन्नै पर्छ भने म आफ्नै आमा भन्छुु । यसो भने किनको उत्तर दिनै परेन ।

५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ? किन ?
रिस नठ्नु वा रिस उठे पनि दबाउन सक्नु मनमनै । ब्लड प्रेसर हाई छ । रिस त उठ्छ नै तर दबाउन सक्छु । मान्छेले धेरै नै नरम, सबैको कुरा सुन्न सक्ने, धैर्यवान मान्छे ठान्दछन । हो, खासमा म हुन पनि यस्तै चाहन्छु, । त्यसैले यो कम बोल्ने, धेरै सुन्ने, मान्छेलाई सम्मान गर्ने, फरक र अड्बाङ्गा सोच भएका मान्छेहरुसंग पनि धैर्यतापूर्वक घुलमिल गर्ने, नरिसाउने र रिस उठे पनि मनमनै दबाउन सक्ने बानी मन पर्दछ ।

६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ? किन ?
यो प्रश्नमा म आफै झुक्किन्छु । कहिले को, कहिले को मन पर्दछ । युवा उमेरमा कम्युनिष्ट विचारबाट प्रभावित हुँदा लेनिन मन पथ्र्यो । एक बेला विश्व नेताहरुको जीवन पढ्दै जाँदा लिंकन र रुजबेल्ट मन परे । नेपालका नेतामा मनमोहन अधिकारी मन पर्थे । उनको सरलता, इमान्दार र पारदर्शी जीवनशैली मन पथ्र्यो । बौद्धिक आयाम, साहसिक संघर्ष र सघन योगदानका दृष्टिकोणले बीपी कोइराला मन परे । कुनै बेला महात्मा गान्धी पनि मन परे । अहिलेको विन्दूमा आइपुग्दा नेल्सन मण्डेल सबैभन्दा मन पर्दछ । किनकी राजनीति भनेको कुनै विचार, उद्धेश्यप्रतिको मिसन हो र त्यो मिसनप्रतिको जीवन समर्पण हो भन्ने कुरामा विश्वास लाग्दछ । यस्तो भावनाको उच्चतम अभिव्यक्ति म मण्डेलामा पाउँछु ।

७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ? किन ?
मलाई सबैभन्दा मन पर्ने चाड तिहार, त्यसमा पनि दिपावली र भाईटिका हो । दिपावलीको उज्यालो र भाईटिकाको प्रेम, स्नेहले मलाई आल्हादित बनाउँछ ।

८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ? किन ?
पेशाको कुरा गर्दा कृषकको सन्तान परियो । हलो जोत्ने, बाली लगाउने, काट्नेसम्मको काम गरियो । विद्यार्थी भईयो । त्यो पेशा हैन । तर, जीवनको एक कालखण्ड विद्यार्थी भएर बिताउनु पनि मज्जै थियो । त्यसपछि राजनीतिको होलटाइमर पनि भएँ, त्यो मलाई खासै मन परेन । ५ बर्ष निर्वाचित स्थानीय जनप्रतिनिधि भएर बिताएँ । त्यसका आफ्नै अनुभव रहे । १२ बर्ष स्कुल, कलेजका पढाई । जति समयसम्म पढाए, समर्पित भावले पढाएँ तर त्यो मेरो रुचिको पेशा थिएन । मलाई मन पर्ने भनेको स्वतन्त्र लेखक, स्तम्भकार तथा नागरिक अभियानकर्मी हुनु हो । यो पेशा हैन, हुन सक्दैन नेपालमा । तर, मेरो शौख, रुचि यही हो । अहिले यही गर्दैछु र यही मन पर्दछ ।

९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ? किन ?
मलाई मन पर्ने रंग बैजनी हो, पर्पल । भान्टाको रंग । युवा उमेरमा रातो मन पथ्र्यो । क्रान्तिको रंग हो, त्यो भन्ने लाग्थ्यो । वातावरणवादी चेतनाको समयमा हरियो पनि मन पर्यो । हरित क्रान्ति, हरित अर्थतन्त्र । क्या राम्रो । तर, अहिले पर्पल मन पर्छ । लाग्छ– क्रान्ति मात्र पनि जीवन हैन रहेछ । जीवन संक्रान्ति रहेछ । जीवन एक सबैथोकको समिश्रण, बहुआयामिक, सर्वाङिगक अस्तित्व रहेछ । पर्पलमा ध्यान दिएर हेर्नु होला, रातो, नीलो, हरियो, सेतो, धेरैसंग मिसिएजस्तो देखिन्छ ।

१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
हिन्दी गीत छ नि एउटा– ‘अजिब दाँँस्तां है ये, कहाँ शुरु कहाँ खतम, मंजिले है कौन सी, न वो समझ सके न हम ।’ लता मंगेश्करले गाएको । सायद यसका गीतकार शैलेन्द्र हुन् । दिल अपना प्रित पराई भन्ने फिल्ममा छ यो । फिल्म त्यति चर्चित, राम्रो, नामी हैन तर, गीत निक्कै दामी छ । यो गीत मलाई मन पर्नुको कारण चाहिँ आफ्नै मनको भावना, मेरै जीवन अनुभवको सार खिचेजस्तो लागेर हो । स्वर र संगीत पनि दुवै बेजोड लाग्दछ । जतिपटक सुने पनि अघाउँदिन । अरु गीत दुईचार पटक सुने धित मर्छ, यो जतिपटक सुने पनि धित मर्दैन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. नचिन्नेहरूकाे डम्बर खतिवडा र याे विस्तारित डम्बर खतिवडा झनै टडकाराे चिनियाे ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button