
अक्टोबर क्रान्तिको नाममा खोपासीमा खाइपिई
‘कन्याक भन्ने रक्सी यस्तो राम्रो हो यो पिएपछि महिलाले तिरिमिरी भएर आफ्नो श्रीमानलाई सधैभन्दा राम्रो देख्दछन् ।’
सम्झना
प्रतिभा सुवेदी
२०३४ सालमा म एमएको विद्यार्थी थिएँ । त्यसताका विश्वविद्यालयका विद्यार्थीहरुले राष्ट्रिय विकास सेवा (राविसे) कार्यक्रमअन्तर्गत दश महिनाका लागि गाउँगाउँका विद्यालयमा पढाउन पर्ने र विकासका काम गर्न जानपर्ने प्रावधान थियो । उषा, उर्मिला र मसहित तीनजना महिला काभ्रेको खोपासीस्थित श्रीराम माविमा परेको थियौं ।
विद्यालयमा त्यतिबेला सानो कम्पाउन्ड थियो । अगाडिपट्टी नेपालको पहिलो जलविद्युत योजनाको पानी जमाउने पोखरी थियो । यो आयोजना २०२९ सालमा रसियन सरकारको सहयोगमा बनेको रहेछ । सोही दिनको सम्झनामा रसियन दुतावासबाट दिवाभोजको आयोजना गरिने चलन रहेछ । सोही अवसरमा अक्टोवर क्रान्तिका दिन पारेर रसियन दुतावासबाट विशिष्ट पाहुनाहरु आएका रहेछन् । दिवाभोजको कार्यक्रम थियो । विद्यालयका शिक्षकहरु र हामी पनि निम्त्याईका थियौं ।
टेबलमा विभिन्न प्रकारका मैले पहिले कहिल्यै नदेखेका पेय पदार्थका बोतलहरु थिए । कोल्ड ड्रिकंहरु पनि थिए । खसीको सेकुवा तयार हुँदै थियो । त्यो पसलको जस्तो सेकुवा थिएन र हामीले पकाउने जस्तो कवाफ पनि थिएन । सिंगै खसीका ठूला ठूला टुक्रा नै पोलेको थियो । न पकाउने भाडाहरु चहियो न मरमसला नै । सजिलै मासुको सेकुवा तयार भयो । म उत्सुकतावस् सबै तवरतरिका अवलोकन गरिरहेकी थिएँ ।
रसियन विशिष्ट पाहुनाहरुसँगै दिवाभोजमा हामीलाई पनि एक पाहुनाले कन्याक पिउन हुन्छ भने । दिवाभोजमा, त्यो पनि महिला । कसरी कन्याक पिउन हुन्छ भन्थेँ ? थाहा पनि भएन, न वाइन हो न हार्ड ड्रिक्स हो ? मैले नपिउने भनी उत्तर दिएँ । अनि ती पाहुनाले एउटा रसियन उखान सुनाए । कन्याक भन्ने रक्सी यस्तो राम्रो हो यो पिएपछि महिलाले तिरिमिरी भएर आफ्नो श्रीमानलाई सधैभन्दा राम्रो देख्दछन् । तसर्थ पिउन हुने कुरा हो भने । सुनेर सबैजन हास्यौ ।
यत्तिकैमा सुन्तला रंगको फेन्टाको बोतललाई समाउदै एक शिक्षकले सोधे, यो पनि लाग्छ कि ? यसको मतलब उनले पनि फेन्टाको वोतल पहिले पल्ट देखे, मैले कन्याकको बोतल देखेजस्तो । त्यो दिन ती पाहुनाहरुले विभिन्न पेय पदार्थ लिएर गएका थिए ।
त्यो अक्टोबर क्रान्तिका दिन रसियन दूतावासका गन्यमान्यहरु बीचको भोज मेरो मनमा ताजा छ ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)