
शनिले सताएपछि ‘शनिवार’समेत सम्झेन साथीले
ब्राह्मणपुत्र लकडाउन डायरी–३१
भरत शर्मा
शनिवार बिहान शनिदेवको प्राथर्ना–पाठ गर्दैगर्दा मित्रले पटकपटक फोन गरेपछि फोन उठाउदैं भनेँ, ‘जय शनिदेव ।’
‘यो शनिदेव भनेको केहो ? आज शनिवार भएर शनिदेव भनेको हो ?’, गणतन्त्र दिवसको शुभकामना दिँदै उनले सोधे ।
‘गणतन्त्रलाई शनि ग्रहले घेरेको छ । शनि लागेको बेला शुभकामनाको अर्थ छैन’, मैले भनेँ ।
‘आज गणतन्त्र दिवस हो नि’, उनले फेरि दोहोराए ।
हो–हो मा मिलाउँदैं मैले भनेँ, ‘आज शनिवार पनि हो नि ।’ तर, मित्रलाई आज शनिवार भनेर याद रहेनछ ।
‘घरमा बसेको महिना दिन हुन लाग्यो । सधैँ शनिवार जस्तो लाग्छ । त्यसैले शनिवार भनेर भुलेछु । माफ गर्नुहोला’, मित्रले भने । ‘मलाई पनि साढेसातीको दशा लागेको छ भनेर ज्योतिषीले भनेका रे’, मित्रले थपे ।
घरमा झगडा हुन थालेपछि मित्रका पत्नीले ज्योतिषीकहाँ देखाउँदा ‘अहिले तिम्रो बुढालाई साढेसाती चलेको छ’ भनेका रहेछन् । घरमा कम बोल्नु, हिँड्दा, खाँदा, बस्दा हरेक क्षण होसियारी चाहिन्छ भनेछन् ।
‘लौन, यार ! भननँ खासमा यो ‘शनि’ भनेको के हो ?’, कलेज पढ्दाका मित्र, पछि अलि धन कमाउन थालेपछि परपर भएको थियो । दुःख परेपछि सम्झेछ ।
‘ल ठीकै छ । म पाठ गर्दैछु । एक घण्टापछि कुरा गरौं’, त्यति भनेर पाठ–प्रार्थनामै व्यस्त हुन खोज्दै थिएँ । मित्र त फेरि गणतन्त्र दिवसको शुभकामना पो भन्छन् ।
‘मित्र, यो गणतन्त्रको कुरा नगर्नु मसँग अबदेखि’ भनेर झोक्किएपछि अलि नरम भए । तर, फेरि अर्को कुरा झिके, ‘आज त हाम्रो सरकारका हाम्रा नेताले बजेट भाषण गदैंछन् ।’
मित्र सरकार पक्षको तर्फबाट राजनीति, औंशी–पुर्णे पत्रकारिता र व्यापारमा बढी चाँसो राख्छन् ।
‘मित्र, तिम्रो सरकारको तिम्रा नेताले ल्याउने बजेटले जनताको जीवनस्तर होइन तिमीहरुको पक्षमा बजेट आउला’, मैले त्यसरी व्यङ्य गरेपछि मित्रले भने, ‘हेरौंं बेलुका बजेट आएपछि थाहा हुन्छ ।’
‘बजेटमा जनतालाई निशुल्क खोप दिने, बृद्वभत्ता थप हुने, पर्यटन पूर्वाधार, कृषि जलविद्युत र कर्मचारीको तलब बढ्ने नैं छ । किनकी यो सरकारले निकट भविष्यमा चुनाव घोषणा गरेको छ । बजेट चुनावमा भोट पाउने खालको हुन्छ’, जनताले गर्ने यस्तो अनुमान बजेटमा ट्वाक्कै मिल्न सक्छ ।
…
शनिवार विहान पिपलको वृक्षमा जल चढाउन जाँदा सात फन्को लगाएँ । केही अक्सिजन पाएजस्तो अनुभव भयो ।
संयोग ! शनिवार, गणतन्त्र दिवस र सरकारको बजेट एकैदिन परेछ । गणतन्त्र दिवस खुल्लामञ्चबाट सेनाको मुकामतिर सरेर मनाइएको खबर छ । जनतालाई भन्दा पनि नेतालाई चाहिएको गणतन्त्रका लागि लडेका जनताको सम्झना समेत नभएको भन्दै सामाजिक सञ्जालमा निकै रोषपूर्ण जनभाव पोखिएको छ ।
विचरा जनताले के गर्न सक्नु, गणतन्त्रको लागि सडकमा आएका तस्वीर फेसबुकमा पोष्ट गरेर चित्त बुझाउनुबाहेक । गणतन्त्रका नेताहरुको सत्ता लुछाचुँडीका तस्वीर देख्दा विरक्तिएका जनताका लागि गणतन्त्र ‘साँढेको फल’ जस्तै हो ।
यो गणतन्त्र र बजेटको कुरा जति गरे पनि साध्य छैन । नेताले भाषण गर्दा ताली पिट्ने हामी जनताले गणतन्त्र र बजेट आयो भनेर कुनै हर्ष र बिस्मात गर्नुको कुनै सार्थकता छैन ।
आज डायरीमा के लेख्ने होला ? पछिल्लो एक महिनादेखि अर्थात लकडाउन सुरु भएदेखि एक दिन पनि नछुटाई हरेक दिन लेख्दै छु । डायरी पढ्ने आफ्नै पाठक बनेका छन् । आज लेख्न अल्छी पनि लागिरहेको छ ।
नेपालनाम्चाका सम्पादक अशोक सिलवालले ‘लामो होइन, अर्गानिक लेखन’ चाहिन्छ भन्दा टुप्पी समातेर ‘हुन्छ हजुर’ भनेको थिएँ ।
…
खासमा आज लेख्नु पर्ने विषय हिमाल हो ।
विश्वको सर्वोच्च शिखरमा पहिलोपटक मानवले पाइला टोकेको दिन हो मे महिनाको २९ तारिख । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले साविकको ८८४८ मिटर अग्लो हिमाल (हाल ८८४८.८६ मिटर) सगरमाथाको चुचुरोमा पुगेर विश्वलाई नै मानव साहस र क्षमताको परिचय दिएको ६८ बर्ष पुगेको छ । यो ऐतिहासिक दिनको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउन थालिएको हो । वैश्विक कोरोना महामारीले पर्यटन क्षेत्र दुःखी भएको बेला हामी सगरमाथा दिवस आइपरेको छ ।
विश्वमा नेपालको पहिचान भनेको सगरमाथा हो । नेपाललाई विश्वमा परिचय दिएको सगरमाथालाई शिहानैं घरबाट दर्शन गरे । मेरा कलामित्र सुरेश उलकले आफैले बनाएको ‘सगरमाथाको नयाँ तस्वीर’ सगरमाथा दिवसको शुभकामनासहित पठाएका थिए ।
हिमालबारे केही तथ्य खोजी गरेको त सगरमाथाको चुचुरोमा पहिलो मानव पाइलाको ६८ बर्षको बीचमा झण्डै ९ हजार पर्वतारोही शिखर पुगेका रहेछन् । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा मात्र आठवटा रहेछन् ।
कति सम्पन्न र धनी हैं हामी !
महामारीको बीचमा सबै पर्यटन क्षेत्र बन्द भए पनि हिमाल आरोहण चलिरहेको थियो । यो ऋतुमा करिव ३ सय जनाले सगरमाथा आरोहण गरेको सुखद खबर पढ्दै थियौं ।
हिजो सरकारले ल्याएको आर्थिक सर्वेक्षणमा हामी नेपालीहरुको आय कम हुँदै गएको तर प्रत्येक नेपालीको टाउकोमा ५२ हजार ऋण पुगेको खबर पनि लेखिएको रहेछ । शीर्षकचाहिँ पढेँ, ऋणमाथि ऋण थपिएको कथा पढ्न सकिनँ ।
सगरमाथाको खबरमा लेखिएको रहेछ, आरोहणमा आरोहीले नयाँ कीतिमान थपेका छन् । कामी रिता शेर्पाले सगरमाथा २५ पटक आरोहण गरी नयाँ विश्व कीर्तिमान कामय गरेका छन् ।
नेपाली जनतालाई ऋण लागेको खबर विश्वका मिडियाले नछाप्दे हुने थियो भन्दै शेर्पाले हिमाल चढेको खबर संंसारभर फैलिएको होला भनेर चित्त बुझाएँ ।
विदेशी पर्यटकहरु नेपाल आउँदा हिमाल जान पाएनन् भने हवाईजहाजबाट हिमाल हेर्न चाहन्छन् । नेपालका निजी हवाई कम्पनी, बुद्व, यति, श्री, सिम्रीक एअरका जहाजहरुले विहानको समयमा ‘माउन्टेन फ्लाइट’ मार्फत पर्यटकलाई हिमाल देखाउदै आएका थिए ।
पैदल जान नपाएका, नसक्ने पर्यटकहरु जहाजमार्फत हिमाल दर्शन गरेर फर्कदा उनीहरुको अनुहारको ताजकी देख्दा खुसीले भरिएको पाएको छु ।
बिहानको मौसम, आकाश र हिमाल खुल्ला भएको मौसम भयो भने त जहाजबाट देखिने हिमालले यात्रीको मन त्यति खुसी बनाउँछ कि त्यसको कुनै शब्दमा बयान गर्न सकिन्न । हरेक बर्ष एक पटक जस्तो जहाजबाट पर्यटकलाई हिमाल दर्शन गर्न लैजाँदा आफैले देखेको दृश्य ‘गौरीशंकर’मा धपक्क बलेको सुन्दर दृश्य सम्झिरहेको छु ।
हामीले देखेको देवता भनेका सूर्य र हिमाल हुन् । हरेक दिन बिहान सूर्यलाई जल चढाउँदा हिमाललाई पनि दर्शन गरे मन स्वच्छ हुन्छ भनेर शास्त्रमा लेखेको छ ।