जेटबोटले गुल्जार नारायणी, तपाई पनि आउनुहोस्
भिष्मराज थपलिया, क्याप्टेन, जेटबोट
जेटबोटले नारायणी नदी अझ विशेष भएको छ । यो विशाल नदीमा पानीको छालसँगै स्पिडबोटमा बसेर सरर हावा खाँदै रमाइलो गर्नुको मजै बग्लै । यो पानीमा हुने धेरै रमाइलो एड्भेन्चर गेम हो । यो एड्भेन्चरले अहिले नारायणी नदी गुल्जार छ ।
३ बर्षअगाडि एउटा विदेशीले आफ्नै लगानीमा जेटबोट संचालन सुरु गरेको थियो, तर त्यसले निरन्तरता पाएन । अहिले फेरि केही महिनादेखि इक्वेटर इक्सिपिडिसनलगायतका कम्पनीहरुले यहाँ यो सेवा सुरु गरेका छन् ।
अहिले नारायणीमा २ प्रकारका प्याकेज छन् । लामो र छोटो । छोटोमा २ किलोमिटर र एक जनाको २ सय लाग्छ भने लामो सेवाको ५ सय रुपियाँ । हामीले देवघाटको धार्मिक यात्रा पनि समेटका छौं ।
म इक्वेटर इक्सिपिडिसनआवद्ध जेटबोड क्याप्टेन हुँ । हामीसँग २ वटा बोट छन्, एउटा अपाची र अर्को टार्जन । बोटको नाम आफैले राखेका हौं । ८-९ वटा कम्पनीको गरेर १७-१८ वटा बोट संचालनमा छन् ।
यो बोट इन्जिनबाट चल्ने भएकोले पानीको गहिराई र स्पिड बुझ्नु पर्छ । बोटको क्षमता र क्लाइन्टको चाहनालाई बुझेर चलाउनु पर्छ । यसमा रिस्क खासै छैन । तर, पनि एड्भेन्चर स्पोर्ट् हो । हल्का रिस्क हुनसक्छ । कम्पनीहरुले इन्सुरेन्सको व्यवस्था गरेका छन् । सेफ्टी एन्ड सेक्युरिटीको लागि लाइफ ज्याकेट अनिवार्य गरेका छौं र सबै कम्पनीको संयुक्त रेस्क्यु टिम पनि छ ।
सुरु हुँदै गरेको गर्मीयाम यो गेमकोे लागि उपयुक्त अनि रमाइलो पनि । त्यसैले आउनुहोस्, नारायणीमा । हामी तपाईंलाईं कुरिहरहेका छौं ।