
म्याम, तपाईको स्कूलमा एडमिसनको यति धेर डिमाण्ड ! तर बेबी जन्मेकै छैन
व्यङ्ग्य: एडमिसन
नगिता लेप्चा राई
खोलाचन्द फाप्री, भारत
छोरा-छोरी नजन्मिनु पनि पीर, जन्मिनु पनि पीर । बच्चा गर्भमा आएदेखि नै हरेक दम्पत्ति ती बच्चालाई कुन स्कूलमा एडमिसन गराउनुपर्ने हो, त्यसको चिन्ताले प्रेसर बढ़ाउने गर्छन् । जुन सन्तान आइरहेछ तिनलाई कसरी मान्छे बनाउनु भन्ने कुरो सोच्दा सोच्दै टाउको रन्केर आउऩु, मुटुले ठाउँ छोड़नु जस्ता घटनाहरू प्रत्येक दम्पत्तिले भोगेकै छन् । हरेक अभिभावक वा प्यारेण्टसको चाहना हुन्छ, एउटा राम्रो नाम चलेको यस शहरका स्कूलमा एडमिसनको निम्ति म्याराथान रेस चलेकै देखिन्छ ।
प्रत्येक प्यारेण्टसले एउटा नामी स्कूलमा आफ्नो सन्तानलाई पुऱ्याए । महाभारत एकडेमीकी प्रिन्सिपल करञ्जिया मीठो स्वरमा बोलिन्– तपाईहरूको प्रब्लेम मैले राम्ररी बुझेँ मिष्टर एण्ड मिसेस तिमिल्सिना । यो समस्या तपाई प्यारेण्टसको मात्र होइन, तपाईहरूजस्तै सो मेनी प्यारेण्टस यस शहरमा सेम प्रब्लेमले एफेक्टेड छन् । तपाईहरू मकहाँ आएर राम्रो गर्नुभयो ।
सिष्टर करञ्जियाले एउटा फारम दिँदै भनिन्– दिस इज एडमिसन फर्म….वान थाउजेण्ड ।
खासमा राम्रो सल्लाह लिन आएका तर सिष्टर करञ्जियाले एकैचोटि एडमिसन फारम हातमा थमाइदिँदा ती प्यारेण्टस छक्कै परे । मिसेस तिम्लिसिनाले भनिन्– म्याडम ! हामी सल्लाह मात्र लिएर आएका हौं । अहिले फारम लिएर के गर्नु ? नानी आउनु !
कुरा काट्दै सिष्टर करञ्जिया बोलिन्- एडभान्स बुकिङ । अबको चार महिनापछि तपाईको बेबी जन्मिनेछ । उसको निम्ति यो नामी स्कूलमा एउटा सिट एडभान्स बुक गरेर राख्नु परेन ? न्यू बर्न बेबी छोरो होस् कि छोरी त्यससित केही मतलब छैन । कारण मेरो स्कूल कृ-एडुकेसन हो । तपाईको बेबी यहाँ एडमिसन् भए डाइरेक्ट टुवेल्भसम्म पढ्न पाउँछ । हाम्रो एक्सपिरियन्स टिचर्ससित ट्यूशन पढ़े रिजल्टबारे नो एऩि टेन्सन ।
मिसेस तिमिल्सिना बोलिन्– यो ठिकै हो म्याम । तर यो त नानी पाउनु कहिले कहिले डोको बुन्नु अहिले भन्या जस्तो भएन र ? चार महिनापछि डेलिभरी… थ्री प्लसमा एडमिसन् ।
-येस । जनवरीदेखि हाम्रो सेशन स्टार्ट हुन्छ । मेरो स्कूलमा मात्रै सिक्सटी सिटस् छ । अहिलेसम्म टोटल अस्सीवटा फर्म डिस्ट्रिब्यूशन भइसकेको छ । फर्स्ट कम फर्स्ट एडमिशनको आधारमा एडमिशन हुनेछ ।
सिष्टरको कुरा सुनेर मिष्टर तिमिल्सिनाले गम्भीर मुद्रामा प्रश्न गरे– म्याम, तपाईको स्कूलमा एडमिसनको यति धेर डिमाण्ड ? तर बेबी जन्मेकै छैन, उसको नाम …
-डण्ट वरी मिष्टर तिमिल्सिना । बेबी नजन्मिउञ्जेल रेजिष्टरमा मम्मीको नाम लेखिनेछ ।
-हुन त भगवानको कानमा नपरोस्…यदि कुनै त्यस्तो एकसिडेण्ट भइहाल्यो भने म्याम ?
-रिस्क त लिनैपर्छ नि । नो रिस्क नो गेम । बाइचान्स त्यस्तो केस भइहाल्यो भने तपाईको एडमिशन फर्मको पैसा रिफण्ड हुन्छ नि ।
-यो सहरमा झरीका च्याउ जस्तै थुप्रै ईङ्गलिस मिडियम स्कूलहरू छन् । तर यो महाभारत एकेडेमीलाई कसैले उछिन्न सकेको छैन । यहाँ एडमिसनको निम्ति लाख रुपियाँ दिँदा पनि एडमिसन पाइँदैन । तपाईहरू कुरा गर्नुहुन्छ मिष्टर एण्ड मिसेस तिमिल्सिना….बेबी हुने सम्भावना देख्ने बितिकै प्यारेण्टस आएर सिटको निम्ति एडभान्स बुकिङ गर्छन् । कति चाहिँ इन्गेजमेण्ट भएको भोलिपल्ट नै मेरो स्कूलमा आएर सन्तानको भविष्यमा निम्ति सिट बुकिङ गरेर जान्छन् ।
प्यारेण्टस् दोधार स्थिति देखेर सिष्टर करञ्जियाले भाषण छाँटिन्- पैसा हुनेहरूको सोसाइटीमा एउटा बेग्लै स्ट्याटस छ । के तिनीहरूका बेबीहरू पिउन र चौकिदार तयार पार्ने स्कूलमा पढ़ोस् भन्ने चाहन्छन् ? डू यू वाण्ट लाइक द्याट ? टेलिङ् भेरी फ्र्याङ्कली आई एण भेरी मच प्राउड दिस महाभारट एकेडेमी चौकिदार र पिउन प्रडक्शन गर्ने कारखाना कदाचित होइन । रेमेम्बर इट ।
-द्याट आई नो भेरी मच सिष्टर । अच्छा तपाईको स्कूलमा मेरो भविष्यत सन्तानलाई एडमिसन गर्नु हो भने कति जस्तो लाग्ला ?
-त्यो भइहाल्छ…तर एउटा कण्डिशन छ…बेबीलाई टुवेलसम्मै हाम्रो टिचर्ससित प्राइभेट ट्यूशन पढ़ाउँछु भने एग्रिमेण्टमा साइन गर्नुपर्छ…बोथ प्यारेण्टसले ।
मिसेस तिमिल्सिना बोलिन्– म्याम् …आई एम भेरी सरी…नभन्नु पर्ने कुरा भन्दैछु …डण्ट थिङ्क अदरवाइज…मैले केमिष्ट्रिमा माष्टर्स गरेकी छु । मेरो मिष्टर ईङ्लिस लिटरेचरमा पीएचडी एण्ड गोल्ड मेडालिष्ट पनि । हाम्रो बेबीलाई हामीले नै गाइड गर्दा हुन्न र ?
-द्याट इज योर्स पर्सनल म्याटर हो । अनि इण्डियाको कुरो छोड़िदिउँ..अक्सफोर्डबाटै माष्टरस्, पीएचडी, गोल्ड मेडालिष्ट आयो भने पनि मेरो स्कूलमा एडमिसन भएपछि मेरै स्कूलकै टिचर्ससित ट्यूशन पढ़ाउनैपर्छ । दिस इज भेरी मच कम्पलसरी ।
मिसेस तिमिल्सिना सामान्य रिसाएर बोलिन्– ट्यूशन पढ़ाइएऩ भने कसैलाई काखा कसैलाई पाखा त…
खितिति हाँस्दै सिष्टर करञ्जिया जुरुक्कै उठिन्– फर्म गरेर विदिन अ वीक सबमिट गर्नुहोला…अफिसमा । बेबी जन्मेको फिफ्टिन डेज भित्रमा स्कूलबाट जम्मै पेपर्स नर्सिङ होममा पठाइदिनेछौं । एउटा राम्रो भिजिटिङ कार्ड पनि पाउनुहुनेछ स्कूलको तर्फबाट ।
हीरा लाएकी औंली देखाउँदै सिष्टरले मिष्टर एण्ड मिसेस तिमिल्सिना कालो हात अघि बढ़ाइन् । दुवैसित हात मिलाउँदै भनिन् —बाई…गुड लक । मे गड ब्लेस यू वोथ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)