घिरौँला: फल्छु लहरामा, हिँड्छु पाखापहरामा

शान्ता भट्टराई

झाल मेरो ठूलो हुन्छ, फल्छु लहरामा
उम्रिनसकेँ भने हिँड्छु पाखा पहरामा ।

हरियो, सेतो, पाटे थरी थरी हुन्छ जात
फूल फुल्छ पहेँलो ठूला हुन्छन् पात ।

मन पराउन्नन् कतिले मनमा दु:ख जाग्छ
ढङ्ग पुर्याई पकाउन्नन् कि भने झैँ लाग्छ ।

खुर्किएर खस्रो भाग थोरै फाल्नुपर्छ
नुन ठिक्क मात्रामा, चना हाल्नुपर्छ ।

यति काम गरेपछि सबको मन छुन्छु
हल्का पिरो बनाउनू नत्र गुलियो हुन्छु ।

धेरै फल्न थालेसि छेलिएर हुन्छु यत्रतत्र
बेलाबखत नजर लाउनू घोक्रिन्छु नि नत्र ।

हुलमुलमा ज्यान जोगाउनु अनिकालमा बिउ
छिप्पियो भने जालो काम लाग्छ मिच्न जिउ ।

रुखो ठाउँमा नि फल्छु मल खासै चाहिन्न
नाक्कनिक्क गरेर मलाई फाल्न पाइन्न ।

यति भन्दै आमाले बोलाउनुभो कान्छा !
सब्जी छ घिरौँलाको मीठो छ है भान्सा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button