
ड्याङमा फल्छु मुला मेरो नाम, खानेकुरा पचाउने राम्रै हो काम
मुला
शान्ता भट्टराई
ड्याङमा फल्छु मुला मेरो नाम
खानेकुरा पचाउने राम्रै हो काम ।
रातो, सेतो, चालिसे थरी थरी जात
फेदमा हुन्छ मेरो लामो लामो पात ।
प्राय रङ्ग सेतो मेरो फल्छु जमिनमुनि
सबैले मन पराउँछन् गरिब अनि धनी ।
जाडो यामको तरकारी सर्दी लाग्छ अरे
नाक्कनिक्क गर्नेलाई भोक जाग्छ अरे ।
काटेर घाममा सुकाइ बनाउँदा चाना
तरकारीको दु:ख हुँदा काम लाग्छ खान ।
सिन्कीको झोलसँग भात कस्तो मीठो !
सानो भाइ भन्छ मुलाको अचार दिनु छिटो ।
असल, खराब दुईटै पाटो सबैको नै हुन्छ
सम्झिदा खराब पाटो मेरै मन रुन्छ ।
तरकारी र अचार मिल्छु दुवैतिर
गन्हाउँछ कि सास भन्ने लागिरन्छ पिर ।
भोजभतेरमा सबैले बनाउँछन् सलाद
सबका अघि ढ्याउ आए हुन्छ है फसाद !
मुला खाइ बनतिर अदुवा खाइ सभामा
कहिलेकाँही यिनै कुरा भन्नुहुन्थ्यो बाआमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)