
गोलभेँडा: धनियाँसँग मिसाएर चट्नी बनाउँदा, भात भान्सा उज्यालो म नजिक हुँदा

गोलभेँडा/टमाटर
शान्ता भट्टराई
जाडो सिजनमा फल्छु गोलभेँडा नाम
तरकारीलाई स्वादिलो बनाउने काम ।
ठाउँ अनुसार फरक नाम, रङ्ग रातो मेरो
हुनेखाने, हुुँदाखाने सबैको छु प्यारो ।
कुनै ठाउँमा तिखीरत्ने भन्छन् मलाई
जस्ले जे भने पनि गरेको छु भलाई ।
तरकारीमा मिसाउन खोजी हुन्छ मेरै
जतिपटक पकाए पनि भिटामिन धेरै ।
धनियाँसँग मिसाएर चट्नी बनाउँदा
भात भान्सा उज्यालो म नजिक हुँदा ।
सहरतिर हिजोआज गर्छन् कौशीखेती
लटरम्म फल्छु, ठाउँ चाहिँदैन त्यति ।
सलाद, सस जे मनपर्छ, बनाएर खाऊ
मेरो कमी भयो भने मुखमा आउँछ घाउ ।
करेसामै भए पनि खाने गर्नू फलाइ
भोजमा प्यात्तपित्त नफाल्नू मलाई ।
चोखो रहे, अरुले नि हुन्छ है खान
विवेकशील प्राणीले यति कुरा जान ।
यति भन्दै आमाले बोलाउनुभो कान्छा !
अचार छ गोलभेँडाको, मीठो छ भान्सा !!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



