
समय ‘एन्ड’ मौसमको दामी ‘लभस्टोरी’

लघुकथाः भ्रम
ममता मृदुल
मौसम धेरै राम्रो छ । वसन्तको आगमनले उल्लास भरेको छ ।
टाढाबाट नियालिरहेको समयलाई मौसम मन पर्न थाल्यो । समयले मौसमलाई प्रेम प्रस्ताव राख्यौ । सम्झाउँदा पनि समयले मानेन । जिद्दी गरिरह्यो ।
जस्तो अवस्थामा पनि साथ नछाड्ने वाचा गरिरह्यो ।
मौसमले आफ्नो समस्या बताउँदा पनि मानेन । पछि लागिरह्यो ।
मौसमले मनमनै सोचिन्, ठीक छ । प्रेम गर्नु पाप होइन ।
घरिघरि मौसम डराइरहेकी थिइन्, कहीँ गल्ती भएको त छैन ।
समयले सम्झाउन छाडेन, फकाइरह्यो ।
मौसम एकनास कहाँ हुन्छ । हिउँद सकिएर वर्षा सुरु भयो । समयलाई वर्षा मन परेन । उसले मौसमलाई वसन्त जस्तै हुन भन्यो ।
कसरी हुन्छ ? मौसमले विरोध गरिन् ।
उसले घुर्की देखायो । निहुँ खोज्यो ।
अन्तमा समयले जे भने पनि मानेन । मौसमले अचम्म मानिन । मौन बसिन् ।
मौसम परिवर्तन भैरहेकी छ । फेरि वसन्त आएको छ । टाढाबाट हेर्न नछाड्ने समयले आफैलाई धिक्कार्नुको विकल्प छैन, समयले मनमनै सोच्यो ।
अहम् भावले समय मौसमसँग रिसायो ।
मौसम परिवर्तन हुन्छ भन्ने थाहा नहुनेले किन प्रेम गर्छु भनेर मरिहत्ते गर्नु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



