
काठमाडौंः जात गएको रात
हास्यकथा
श्रीरामसिंह बस्नेत
त्यसो त अहिले यसलाई कुनै ठूलो कुरो मानिदैन, तर जतिखेर यो घटना भएको थियो त्यतिखेर भने यसले मेरो रातको निद र दिनको चैन खोसेको थियो ।
राजधानी काठमाडौंदेखि निकै टाढा जन्मेका, हुर्केका, पढेका, बढेका हाम्रा लागि एसएलसी पास गर्नु भनेको जीवनको गोरेटोमा निकै ठूलो मोड आउनु मानिन्थ्यो । त्यसभन्दा माथि पढने हाम्रो गाउँमा व्यवस्था थिएन । घर छोडेर जानै परेपछि र डेरै गरेर बस्न पर्ने भएपछि नजिकको अर्को सहरतिर लाग्नुभन्दा राजधानीतिर हानिनु नै उचित मानिन्थ्यो, जुन अहिलेको जस्तो सजिलो भने थिएन ।
त्यसैले एसएलसीको रिजल्ट आउने वित्तिकै छात्रहरु अनेकौैं चुनौती र अवसरका घेरामा घेरिन्थे । छात्राहरुका सामु त झन ठूलो चुनौती थियो । भरखर जवानीमा पाइला टेक्न लागेकी छोरीलाई काठमाडौंसम्म पठाएर डेरामा राखेर पढाउने हिम्मत जुटाउन आमाबाबुलाई हम्मे नै पथ्र्याे । त्यसैले उनीहरु छोरीको कन्यादान गर्न पाए वरत्र पनि सप्रिने परत्र पनि सप्रिने सोच राख्थे । तर एसएलसी पास गरेकी छोरीको काठमाडौं बसेर पढने आकाँक्षाका सामु कतिपय आमाबाबु अन्ततः नतमस्तक हुन्थे नै । फेल भएका छोरीहरुसँग भने अरुको गृहलक्ष्मी बनेर बंश बृद्धि गरिदिने बाहेक अरु कुनै विकल्प प्रायः बाँकी हुँदैन थियो । फेल भएका केटाहरु भने थोरैले मात्र पढाई दोह–याउँथे, धेरैजसोले पढाईलाई सधैंका लागि तिलाञ्जली दिएर पैसा कमाउने सपना बोकी गाँउको नेटो काट्थे ।
यस्तै परिवेशमा मैले पनि एसएलसी पास गरें । रिजल्ट थाहा भएकै क्षणदेखि ममा पनि काठमाडौं पुग्न पखेंटा पलाउन थालिहाल्यो । घरमा सल्लाह भयो र विगत दुईतीन वर्ष देखि काठमाडौंमै बसेर पढिरहेको मेरो दाजु अर्थात् फुपूको छोरा कहाँ पठाउने निधो भयो । उसैसित बसेर उसैको खटन्पटन्मा मैले आफ्नो पढाई अघि बढाउनु पर्ने चाँजो मिल्यो । यसरी मैले छुट्टै डेरा खोज्नु पनि नपर्ने र एक्लै बस्नु पनि नपर्ने व्यवस्थापन भयो । गाऊँबाट पहिलो पटक सोझै राजधानी छिरेको र भरखर जुँगाको रेखी बस्न लागेको अल्लारे केटोका लागि यो कम महत्वको सुविधा थिएन ।
निधो भएको केही दिन पछि साइत जुराएरै म पनि एउटा झोला काँधमा भिरेर र अर्को ठूलो झोला हातमा झुण्डाएर गाउँबाट बाटो लागें– मोटर चल्ने सडक भेट्न । घरबाट हिंडने बेलामा आमाले पिंढीनिर उभिएर रातो टीका, फूलको माला लगाइ दिनुभयो । अलिकति दही र केरा पनि खुवाइ दिनुभयो सगुन भनेर । उहाँ आँखाभरी आँशु लिएर सुक्सुकाउँदै हुनुहुन्थ्यो, त्यो देखेर बाले हप्काउनु भयो– “किन सुक्सुकाएकी नि, छोरो मुग्लान जान लाग्या हो र ? दाजुसँग बसेर पढन जान लाग्या पो हो त, साइतको बेलामा अध्याँरो मुख नबना ।” आमा केही बोल्नु भएन । हजुरबाले मेरो टाउको माथि हात राख्दै आशिक दिनु भयो– “लौ राम्ररी पढेस, यताउति नबरालिएस्, आफ्नो कुलको नाम र जात फाल्ने काम कदापी नगरेस ।” मैले आज्ञाकारी नाती बनेर हस् भन्दै मुन्टो हल्लाएँ ।
जसोतसो काठमाडौं पुगियो । त्यतिखेर आजको जस्तो हातहातमा मोबाइल फोनको चलन थिएन । काठमाडौं बस पार्कमा ओर्लिएपछि पनि झण्डै चार घण्टा भौंतारिए पछि बल्ल बल्ल दाजुको डेरा पत्ता लगाउन सकें । बाटो सोध्ने क्रममा मैले कुलेश्वर जाने बाटो सोधेको थिएँ, तर बाटो बताइ दिने मानिसले सायद कोटेश्वर सुनेछ र म कोटेश्वर पुगें र त्यहाँ कुलेश्वर खोज्न थालें । दुईटा मध्ये काँधको झोलासम्म त ठिकै थियो तर हातको झोला भने यस्तो घाँडो भएको थियो कि मिल्ने भए कतै फालेर हिंडने थिएँ । फेरि कोटेश्वरबाट बल्ल बल्ल कुलेश्वर पुगें । काठमाडौं टेकेको पहिलो दिनमै यो ५२ हण्डर ५३ घुस्सा बेहोर्नु परेकोमा बाँकी दिन कसरी कट्लान ? काठमाडौंमा म टिक्न त सक्छु के ? भन्ने सोच पनि मनमा पटक पटक आयो ।
सोच्दै हिडें हण्डरबारे ५२ र ५३ को यो गणितको कारण के होला ? हाम्रो बाले कुरा गर्दा यो गणित बेलाबेलामा दोह–याउनु हुन्थ्यो । उहाँको अर्को पनि गणीतीय सूत्र थियो – बाह्र सत्ताइस कुरा । यसको पनि खाश भेउ मैले पाएको थिइन । यी दुई अँक जोड्दा हुने ३९ अँकको तुक के हो मैले कहिल्यै बुझ्न सकिन । उहाँलाई कुनै मानिस मन परेन भने गणितमै त्यसको मूल्याँकन गरिदिनु हुन्थ्यो – तीन न तेह्रको मानिस भनेर । यस्तै यस्तै सोच्दै म बल्ल तल्ल दाजु बस्ने टोल अनि घर पत्ता लगाउन सफल भएँ । टोल पत्ता लागे पछि घर पत्ता लगाउन भने कठिन भएन । किनकि त्यो टोलमा भुँडे साहुको पसल भने पछि सजिलै फेला पर्दो रहेछ । साहुजीसँग पहिलो भेटमै साक्षात गणेशजीको दर्शन पाए जस्तो भयो मलाई । सकी न सकी दुईटा झोला बोकेर लखतरान परेको केटो आफ्नो अगाडि उभिएको देख्नासाथ मैले केही भन्नै नपाई उनैले सोधे– “गोविन्दको भाई हो ?” मैले हो भन्दै अहिलेसम्म धाँडो बनिरहेको झोला बिसाएँ । उनले एउटा लाम्चो साँचो दिंदै भने– “गोविन्द बाहिर गएको छ, माथि कोठा खोलेर बस्दै गर्नु ।” कोठामा पुगेपछि बल्ल गन्तव्यमा आई पुगेको सन्तोष र थकाईले भुसुक्कै निदाएछु ।

साँझ दाजु आई पुगेपछि मात्र उनैले उठाएकाले विउँझिए । दाजुसँग आवश्यक भलाकुसारी भएपछि उनले भोलि देखि मेरो जिम्मेवारीबारे निर्देशन दिए । भोलिपल्ट विहानदेखि मेरो नयाँ जीवन शुरुभयो– स्टोभमा दम दिने कामबाट । गाउँमा छँदा बेला बेलामा चुल्होमा दाउरा बालेर खाना पकाउँथे आमालाई पालो दिन । तर दम दिने स्टोभ चलाएको थिइन । दम धेरै भयो र स्टोभभित्र ग्याँस जाम भयो भने स्टोभ पड्किएर दुलो दुर्घटना पनि हुनसक्छ भन्ने दाजुको चेतावनीले गर्दा अलि डर पनि लागिरहेको थियो । जसोतसो दुई कप चिया पकाएँ । तर आफूलाई भने विहानै आमाले दिने गरेको गाईंको एक गिलास दूधको झझल्को आयो तर दाईलाई केही भनिन । एक छिनपछि दाजुले मलाई लिएर बाहिर बजारमा निस्किए र तरकारी बजार देखाइ दिए । हरियो तरकारी पनि किन्नै पर्ने रहेछ काठमाडौंमा । गाउँमा त आफ्नै बारीका तरकारीले मनग्गे पुग्थ्यो, नभए छिमेकमा माग्न लाज मान्नु पर्दैन थियो । बजारबाट फर्केर आए पछि अनि मेरो अर्को महत्वपूर्ण काम शुरु भयो – दुई भाईका लागि खाना पकाउने । दाजु मलाई आदेश उपदेश दिएर खाटमा पल्टेर उपन्यास पढन थाले । मेरो काठमाडौं जीवनको दिनचर्या यसरी प्रारम्भ भयो ।
केही दिनपछि दाजुले मलाई लिएर बजारतिर गए । काठमाडौंको मुख्य शहरी क्षेत्र नयाँ सडक, रत्नपार्क, असन, भोटाहिटी, इन्द्रचोक आदि घुमाए । म जिल्ल पर्दै सबै नियाल्दै हिंडथें । यसरी हिंडदा म शहरका घरमा झुण्डिएका ठूला ठूला बोर्डहरु मनमनै पढ्दै हिंडदो रहेछु, त्यसैले हिंडाईको गति धेरै सुस्त भएछ । दाजुले हकारे– “यसरी नै हिडिंस भने त काठमाडौंमा पार लागिदैन केटा । मान्छेलाई ठक्कर नलाग्ने गरी अलि फटाफट हिंडने बानी गर ।” आफूलाई भने नेपाली र अँग्रेजीमा लेखिएका बोर्डहरु पढदै हिंडन कम्ती मज्जा लागिरहेको थिएन । घुम्दै घुम्दै एउटा ठूलो भवन अगाडि पुगियो दाजुले त्यो देशको सबैभन्दा ठूलो वीर अस्पताल भनेर चिनाई दिए । साँझ परिसकेको थियो त्यतैतिर खाजा खाई दुई भाई कोठामा फर्कियौं ।
भोक नभएकोले खाना नपकाउने चिया मात्र पिएर सुत्ने सल्लाह भयो । भोलिपल्ट मेरो कलेज भर्ना हुन जानु पर्ने थियो । त्यसैले बेलुकी नै फारम भर्ने काम सक्नु प–यो भनेर त्यसको तरखर गर्न लागें । मैले भरेको फारम हेरेर दाजुले भने– “ल तैंले त फारम विगारी छस् नि ।” मैले सोधें– “किन के भो र ?” उनले भने– “नाम मात्र लेख्नु पर्ने, जात पनि लेखिछस्, तेरो जात त अघि खाजा खाँदा नै गईसक्यो नि लाटा ।” म छक्क परें, अलि डर पनि लाग्यो । अलि अत्तालिंदै सोधे – “कसरी गयो र जात ?” उनले हाँस्दै भने– “ल उपाध्ये बाहुनले राँगाको मासुबाट बनेको मोमो खाए पछि पनि जात बाँकी रहन्छ त मुला ।” म खंगरंग परे । मुख पनि सुक्यो । तैपनि भने – “ तपाईले पनि त खानु भएको हो नि ।” उनले भने– “ मेरो कुरा नगर न, आफ्नो कुरा गर । मैले त जनै नै लगाएको छैन । तपाईंले त जनै लगाएरै रांगाको मासु खानुभो नि त पंडित बाजे” भन्दै हास्न थाले । मलाई रिस पनि उठ्यो तर भन्न केही सकिन । खाँदा त मोमो निकै मीठो लागेको थियो । यस्तो तात्तातो, स्वादिलो र पेट टन्न भरिने खानेकुरा हाम्रो गाउँतिर किन नबनाका होलान् भन्ने पनि मनमनै सोचेको थिएँ । तर अहिले घरबाट विदा भएर हिंडने बेलामा हजुरबाले “जात फाल्ने काम नगरेस्” भनेर आशिक दिएको झल्झली सम्झेर रुनै मन लाग्यो । त्यो रातभर म राम्ररी सुत्नै सकिन । बेला बेलामा पेट उमठेर आउथ्यो, वाकवाकी लाग्ला जस्तो हुन्थ्यो । रातभरमा चार पाँच पटक त भरेगं ओर्लिए शौचालय जान । दाजु भने मलाई जात गएको भुमरीमा पारेर मस्तसित घुर्दै सुतिरहेका थिए ।
भोलिपल्ट विहान म ठुस्स परिरहेको देखेर दाजुले सम्झाए– “ हेर केटा, यो काठमाडौं राजधानी शहर हो । मान्छे जहाँ पुग्यो त्यहींको चलन अनुसार गर्न सक्यो भने मात्र टिकिन्छ । तँ यहाँ पढन आएको होस,पढाईमा मात्र ध्यान दे । यो जातभातको चक्करमा नलाग । मलाई पनि मोमोमा राँगाको मासु हालेको हुन्छ भन्ने पहिलो पटक थाहा पाउँदा हिजो बेलुका तलाई भएको जस्तै भएको थियो । तलाई त अझ मैले पहिलो पटक खाएकै दिन भनी दिएँ, मैले त चौथो पटक खाए पछि मात्र मोमोबारे थाहा पाएको थिएँ । त्यसपछि मैले जनै झिकेर व्यागमा जतनले राखेको छु । घर जाने बेलामा लगाएर जाने गरेको छु । यो काठमाडौं भनेको हाम्रा लागि विदेश जस्तै हो, यहाँ जनैको कुनै काम छैन । मसँगै बस्ने भएपछि मैले भनेको मान र मैले भनेको जस्तै गर । हिजो के खाँए भन्ने कुरा बिर्सिदे, अब आज के खाने भन्नेबारे सोच । हिजो जे खाए पनि केही बिग्रेको छैन, हामीले मानिसले खाने चिजनै खाएका हौं, खुरुक्क गएर नुहाएर आइज,जनै फुकालेर जतनले राख्, घर जाँदा चाँहि लगाएर जान नविर्सनु ।” उनले भनेअनुसार नगर्न मलाई सम्भव थिएन ।
त्यसपछि मोमोलाई मैले पनि आत्मसात् गरें । मीठो त पहिलो पटक खाँदा नै लागेकै थियो । बेलुका दाजुभाई मोमो खाएर आएको दिन मलाई विशेष फाइदा हुन्थ्यो, त्यो के भने भात पकाउने झण्झटबाट त्यो साँझ मैले राहत पाउँथे । केही दिन पछि दाजुको काका पर्ने काठमाडौं आए केही दिनको काम विशेषले । उनले आएकै दिन भनिहाले– “भरे भातसात पकाउने झण्झट नगर, धेरै भो नखाको, आज तीनै जना पेटभरी श्वेतपीण्ड खाएर आउने हो ।” उनले मोमोलाई श्वेतपीण्ड भन्ने गरेका रहेछन् । खाशमा उनी गाउँमा बेलाबखत पुरोहित्याई पनि गर्दथे । सत्यनारायणको कथा राम्ररी भन्ने केही पण्डितहरुमध्ये उनको पनि गणना हुन्थ्यो । उनकै आतिथ्यमा तीनै जना शहर बजार घुम्दै वीर अस्पताललाई फन्को मारेर त्यही श्वेत पीण्डालय पुग्यौं । जाडोको मौसम भएकोले होला अलि भीडनै थियो । दुईतला माथि अलि कुनातिर बसेर मोमो खान थाल्यौं । मेरो दृष्टि कसो कसो काकाको कानतिर पुगेछ । बाक्लो टोपी र गलबन्दीले छोपिएको कानमा उनले कसैले झटट् नदेख्ने गरी जनै सिउरिएका थिए । त्यो देख्दा मैले बा, हजुरबाले शौचालय जाँदा कानमा जनै सिउरेर जाने गरेको झलक्क सम्झें । उनले राँगाको मासुको परिकार खाँदा कानमा जनै सिउरेर चलाखी गरेको देख्दा मलाई निकै हाँसो उठेको थियो, बढो मुस्किलले हाँसो थामें । उनले निकै उत्साही भएर हामीलाई दुई – दुई प्लेट मोमो खुवाए । त्यतिखेरको काठमाडौंमा हामी जस्ता कमाई नभएका अल्लारे विद्यार्थीका लागि यो राम्रै उपलव्धि थियो । केही दिन बसेर उनी फर्किए पछि मैले दाजुलाई उनका काकाले मोमो खाँदा कानमा जनै सिउरिएको कुरा सुनाउँदा उनी पेट मिची मिची हाँसे ।
विदाको एक दिन दाजुले मलाई “ल आज काकाको चर्तिकला हेर्न जाने” भने । मैले “को काका, यहाँ त हाम्रा कोही काका छैनन्” भनें । उनले मलाई रञ्जना हलमा सिनेमा देखाए र मोमो पनि खुवाए । उनले काका भनेका त सिनेमाका हिरो पो रहेछन् । काका अर्थात् राजेश खन्नाका सिनेमा भने पछि दाजु हुरुक्कै हुन्थे । काठमाडौं र पाटनमा चलेका काकाका सिनेमा दाजु छुटाउँदैन थिए । त्यतिमात्र होइन, उनी बोल्दा, हिंडदा, कपाल कोर्दा पनि काकाकै शैली अपनाउने कोसिस गर्थे । काकाको अभिनय रहेको गाना उनलाई प्रायः कण्ठस्त नै थियो । त्यतिखेरको काठमाडौंमा सिनेमा हेर्न र मोमो खान पाएमा त्यो नै सर्वोच्च मनोरञ्जन हुन्थ्यो हामी जस्ताका लागि ।
काठमाडौंमा बसेर सिनेमा धेरै हेर्दा हेर्दा दाजुको सबैजसो आनीबानीमा फिल्मी शैली झल्कन्थ्यो । एकदिन उनको एक साथी कोठामा आएका थिए । साथीसँग खाशखुश कुरा गर्दागर्दै दाजुले “आफ्नो त सानदार चौथो हप्तामा चलिरहेको छ” भने । उनका साथीले पनि त्यही शैलीमा जवाफ दिए– “ल ल बधाई छ, सुपर हिट होस् सोमको चक्कर ।” त्यतिखेर काठमाडौंमा मिल्ने साथीहरुले एक अर्कालाई सोम भन्ने फेसन चलेको थियो । पछि यो फेसन कहिले, कसरी हरायो थाहै भएन । आउन चाँहि दार्जिलिंगतिरबाट मेची तरेर नेपाल भित्रिएको थियो । उनीहरुका कुरा सुन्दा पहिला त मलाई कुनै सिनेमाको चर्चा गरेको होला भन्ने लागेको थियो । तर पछि थाहा पाँए– हाम्रो डेरादेखि चार घर परको घरकी ठिटीसँग मेरो दाजूको मुस्कान आदान–प्रदान शुरु भएको चार हप्ता भएको रहेछ । त्यतिखेर सिनेमाको विज्ञापन गर्दा सानदार यतियौं हप्तामा चलिरहेको भन्ने चलन थियो । किनकि एउटै सिनेमा एउटै हलमा दुईतीन महिना चल्ने गथ्र्याे, अहिले जस्तो हरेक शुक्रबार सिनेमा फेरिने चलन त्यतिखेर थिएन । दाजुले आफूलाई हिरो र त्यो ठिटीलाई हिरोइनको कल्पना गरेर भन्ने गरेको सानदार सायद आठौं हप्ता भन्दा बढि चलेन । किनकि एक दिन त्यो ठिटीको घरमा निकै चहल पहल देखिएको थियो । बेलुकी त जन्तिले त्यही केटीलाई दुलही बनाएर लगेको पो देखियो । दाजु दुईदिनसम्म मसित पनि राम्ररी बोल्दा पनि बोलेनन्, सिनेमाका बिरही गीत गुन्गुनाएर बसे । तेस्रो दिन देखिमात्र उनी सामान्य भए, अरु उपाय पनि त केही थिएन । यसरी काठमाडौंमा मैले एक वर्ष अनेकौं रोचक घोचक अनुभव गरेर बिताएँ । त्यतिञ्जेलसम्ममा मैले पनि काठमाडौंलाई पचाइ सकेको थिएँ ।
त्यतिखेरसम्म मोमो नै मेरो सबैभन्दा मनपर्ने परिकार भएको थियो, खाशगरी स्वादिलो, आडिलो र तुलनात्मक रुपमा सस्तो पनि भएकोले । त्यतिखेर चिकेन वा भेज मोमोको चलन आईसकेको थिएन, मोमो भने पछि ठूलो खसी अर्थात् राँगाकै मात्र हुन्थ्यो ।
चार दशक वितिसक्यो । तैपनि आजभोलि पनि मोमो खान लाग्दा पहिलो पटक मोमो खाएर जात गएको भनिएको रात मैले भोग्नु परेको त्यो सकसको झझल्को आउन छोडेको छैन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



