म किन सानैदेखि काली मातालाई सपनामा देख्थेँ ?

रितु शाक्य

वाल्यकालदेखि एउटा सपना म निरन्तर देख्छु । सानो छँदा डर लाग्थ्यो त्यो सपना देख्दा ।

भयङ्कर रुप, राता राता आँखा, लामो केश, चार हात भएकी तरवार, मुण्ड, पात्र र त्रिशुलधारी रौद्र रुपिनी काली माता, जो शिव भगवानलाई कुल्चिएर उभिएकी हुन्थिन् । पछि बानी पर्दै गयो, डर पनि बिस्तारै उमेर सँगसँगै हट्दै गयो । पहिले त माता काली भनेर पनि थाहै थिएन । पछि पो थाहा पाएँ । पछि मलाई कौतुहलता जाग्यो, किन मलाई त्यो दृश्य बारम्बार सपनामा आउँछ । भगवान शिव जो मेरा इष्ट देवता हुन् जसको नाम स्मरण मात्रले मेरो हृदय पग्लिन थाल्छ, आँखाबाट अश्रु धारा बहन थाल्छ, जसको यादमा म आफ्ना सारा व्यथालाई भुलेर उनीमै लीन हुन थाल्छु र अथाह आनन्द र शान्ति पाउन थाल्छु । अनि माता काली मातृ स्वोरुपीनी, जो मलाई जननी झैँ लाग्छ ।

समय सँगसँगै अध्यात्मको बाटोमा हिड्दै जाँदा त्यसको अर्थ प्रस्ट भयो । काली माँ अन्धकार र समयकी प्रतिक मानिन्छन् । जन्म र मृत्यु अनि मृत्युपछिको जन्मको भवसागरबाट मुक्त दिलाउने देवी रहिछिन् उनी । उनका त्यो रौद्र स्वरूप जसमा उनले मुण्डमाला धारण गरेकी छिन्, त्यो मुण्ड त हामी भित्रका अवगुणरुपी राक्षस रहेछन्, जसलाई माताले उर्जा शक्तिद्वारा विजय हासिल गरेर माला पहिरिरहनु भएको छ । कालो वर्णकी माता जसले संकेत गर्दै छिन् कि उज्यालोमा भन्दा अन्धकाररुपी कष्टमा प्रकाशरुपी ज्ञान भेटिन्छ ।

एउटा बिज माटो भित्रको अन्धकारमा थुनिँदै विविध कष्ट बावजुत आफुलाई सिद्ध्याएर आफुभित्र टुषा उमार्न सफल हुन्छ र संघर्ष गर्दै आफुलाई सानो बिरुवाको रुपमा माटो बाहिर धकेल्दै जान्छ । अन्तत एउटा विशाल रुखको रुपमा स्थापित हुन सफल हुन्छ । उसले आफ्ना फल र फूलबाट सबलाई सेवा दिन्छ र ऊ अमर बन्छ आफ्ना अनगिन्ति बिउहरुको कारणले । त्यस्तै हामीले पनि आफ्ना कमजोरीहरुलाई नष्ट गरेर आफुलाई अमर बनाउन आफ्ना कर्मलाई सजगतासाथ सकारात्मक बनाउदै ध्यान, योगबाट आफुलाई पूर्णतया मोक्ष दिलाउन सकिन्छ । माताका अस्त्र त्यही ज्ञान हुन् जसले हामीलाई मुण्डरुपी आफ्ना अहंकारलाई काटेर यो भवसागर बाट मुक्ति दिन्छ । त्यो मुण्डलाई काट्न सकिएन भने त्यसले रक्तबिज राक्षसले जस्तै फेरि अनगिन्ति असिमित इच्छाहरु जन्माएर हामीलाई मुक्त हुन दिँदैन ।

माता शिव भगवानलाई कुल्चिरहेकी यो स्थितिको अर्थ हुन्छ कि हामीभित्रको अथाह शक्तिलाई नियन्त्रण गरिएन भने त्यसले बिकराल परिस्थिति जन्माउन सक्छ । त्यसलाई नियन्त्रण गर्न शान्ति, आनन्द र चेतना स्वरूप शिवले मात्र सक्छन् । र, शिव पनि हामीभित्र नै विराजमान छन् । माता कालीले आफ्नो जिब्रो पुरा निकालेर दाँतले टोकिरहेकी छिन् । अर्थ के भने धेरै बोल्नुभन्दा मौन बस्दा अझ बढी हामीभित्रको आत्मज्ञान प्रस्फुटित हुन्छ । हातहरुका कमरबन्दले बैचारिक कर्मले भन्दा निविचार अकर्मले हामीलाई मोक्ष दिन्छ भन्ने संकेत गरेको छ ।

यो सब बुझी सकेपछि अब मलाई प्रस्ट भएको छ कि म यो धर्तीमा अवतरण हुनुको मूल उद्धेश्श्य यही हो कि म आफुलाई पनि यो जन्म–मरनरुपी भवसागरबाट मुक्त गर्न नै हो । मलाई जति पनि समस्या, पिडा आए, ती सब मलाई शक्तिशाली बनाउन आएका रहेछन् ताकी म त्यो अन्धकारबाट आफुलाई चैतन्यको प्रकाशमा लगेर प्रकाशित हुन सकूँ र साथमा सबलाई यस पथमा लान सकूँ । ध्यानको गहिराइमा आफुलाई शिवसँग विविह गराएको देखेको छु जसको अर्थ यहि हो कि म आफ्नो लक्ष्यमा पुग्दैछु । म भित्रको काली माता र शिव भगवानको मिलन स्वप्नमा त भयो, अब यथार्थमा हुन जाँदैछ । त्यसैको तिब्र प्रतिक्षामा छु ।

जय माँ काली । जय शिव शम्भो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button