
अभिनेतालाई चक्मा दिने नेता

हास्यव्यङ्ग्य: नेता र अभिनेता
केशवराज
तस्बिर साभार: सामाजिक सञ्जाल
२०६६ बैशाखमा तत्कालिन प्रधानमन्त्रीले प्रधानसेनापतिलाई बर्खास्त गरेको पत्र दिँदा भर्खर सशस्त्र युद्ध लडेर आएको बिद्रोही राजनीतिक दलले त्यो बेलासम्म “नबिग्री सकेका” दुई संस्थाहरुलाई ध्वस्त पार्ने भयो भन्ने चिन्ता नेपालको सबैभन्दा नजिकको छिमेकी देशले गरेको भन्ने एउटा प्रसङ्ग देवप्रकाश त्रिपाठीको तुषानल पढ्दा पनि आउँदो रहेछ । सायद धेरै नेपालीलाई पनि ध्वस्त हुन बाँकि भनिएका ती दुई संस्था बारे चिन्ता लाग्ने गर्छ ।
अव ध्वस्त पार्न बाँकि संस्था एउटा मात्र हो कि, दुईटै चोखा हुन् कि, दुईटै ध्वस्त भएका हुन् ? हुन त धक्का लगाउने काम शुरु भइसकेको अनुभूति धेरै नेपालीले गरेको हुनुपर्छ ।
मसालेदार हिन्दी सिनेमामा बरु ‘ट्विस्ट’ आउन केही समय लाग्न सक्छ तर नेपाली ‘राजनीतिक रङ्गमञ्च’ मा समय र कथाको माग अनुसार पात्रहरुलाई ‘नायक’ वा ‘खलनायक’ को भूमिकामा तुरुन्तै फिट गराउने गरको अनेकौँ उदाहरण भेटिन्छन् । नेपाली राजनीतिक रङ्गमञ्चका निर्देशकलाई चाहिँ मान्नै पर्छ । यदि नाम प्रकाशित हुन सक्ने अवस्था हुन्थ्यो भने निर्देशनमा ‘Oscars’ पुरस्कार पाउने निश्चित थियो ।
त्यसरी अमुक निर्देशकको निर्देशन अनुसार चल्ने कुनै अमुक दल वा नेताको पक्ष वा विपक्षमा आफ्ना साथी, संगी वा नातेदारसँग बिबाद गर्ने, झगडा गर्ने र सम्बन्ध नै तोड्नेसम्म तयार हुने नेपाली प्रजाति फेरी अर्का अनौठा जन्तु हुन् ।
कथाको माग अनुसार आफ्नो भूमिका निर्वाह गरी सके पछि जय, वीरु, ठाकुर र गब्बरहरु तस्बिरमा देखाइए झैं आत्मियताका साथ सँगै बस्छन्, फोटो खिच्छन्, खान्छन्, रमाइलो गर्छन् ।
हामी धेरै नेपालीजनलाई थाहा नहुन सक्छ कि हामीले देखेका महान राजनीतिक नेताहरु पनि वास्तविक रुपमा त्यस्तै चरित्रमा बाँच्छन्, रमाउँछन् । उनीहरुलाई कसैले व्यङ्ग हानेको छ भने पनि त्यसलाई सहजै पचाउँछन्, रमाइलो मान्छन् । तर तथाकथित तिनका पक्षधरहरुलाई अर्थात फ्यानहरुलाई चाहिँ असह्य पिडा हुन्छ अनि त्यही कारणले जो सँग पनि हरदम लड्न भिड्न तयार रहन्छन् ।
यस कुराको अवलोकन र अनुभूति मैले वि.सं. २०४९/०५० सालताका झापामा काम गर्दा नजिकबाट गर्ने मौका पाएको थिएँ । त्यो समय सत्ताधारी र प्रतिपक्षी दुई राजनीतिक दलहरुका नेताहरु सार्वजनिक स्थलहरुमा निकै आक्रामक तरिकाले प्रस्तुत हुने गर्थे । तर जब उनीहरु सिमित संख्यामा जम्मा हुन्थे, विशेष गरी साँझमा यसो चुस्की लिन, तब तिनका गफ सुन्दा र तिनीहरुले एक आपसमा गर्ने व्यवहार देख्दा अचम्म लाग्न गर्थ्यो । दिउँसो एक अर्कालाई तथानाम गाली गर्ने र अहिले सँगै रहेका यिनीहरु उनीहरु हुन् भनेर शङ्का लाग्ने गर्थ्यो ।
अभिनेता (नेता) का तथाकथित फ्यान तथा पक्षधरहरुले ती तमासा र चरित्रलाई आफ्नो जीवनशैली बनाउँछन् । अनि तिनका तमासा अनुसार आफ्नै साथीभाइ र बन्धुजनहरुसँग वैमनस्यता वा दोस्ती कायम गर्छन् । त्यस्ता अबुझहरुलाई नै विभिन्न चरित्रमा रहने नेताहरुले आफ्नो स्वार्थ अनुरुप मज्जाले उपयोग गर्ने गर्छन् । उनीहरु पनि मज्जाले उपयोग हुन्छन् । अनि एउटा निश्चित समय पछि जब बुझ्छन् अनि उनीहरुसँग पछुताउनेबाहेक अरु केही बाँकि रहेको हुँदैन ।
विभिन्न मालदार पद र नियुक्तिको आस राख्नेहरुले पाखुरा सुर्केको तथा हर मुद्दामा आफ्ना नेताहरुको “मुड र बडी ल्याङ्वेज” अनुसार चाकरी बजाएको, सोही चरित्र बमोजिम आदेश निर्वाह गरेको, बोलेको वा लेखेकोसम्म बरु केही बुझ्न सकिएला । तर लिनु दिनु केही नभएका, तिनका जीवनमा कुनै फरक नपर्ने खाले मान्छेहरुले समेत अमुक नेता र दलका नाममा पाखुरा सुर्केको देख्दा चाहिँ साँच्चैको हाँसो उठ्ने रहेछ ।
तर हामी नेपाली भाग्यमानी छौँ । त्यसैले जति नै भने पनि यस्ता हाँस्ने मौका मिलिरहन्छन् । चिन्ताको कुनै बात छैन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



