
पानी नदिए पनि विजुली र नेटचाहिँ पाउँ

पन्पच्छे
डा. विदुर चालिसे
“लाै अब विधि व्यवहारकाे जिम्मा तेराे, आदेश मेराे ।”
बुहारी थिइन्, सासू भइन् । हुनेकाे के दाेष ? गतिशील समयले ल्याउने कुरा न हाे, समयकाे खेला ! कसैले बनाई दियाे । जब खटपट हुन थाल्याे तब कानेगुजीका जर्बुटा र मनकाे नसा पनि चड्किन थाल्याे । शङ्का विनसित्ति उब्जियाे । सासुकाे खटन पटनले बुहारीकाे मन निच भावमा गएर उतर्सियाे । उनले राेस युक्त फायर छाेडिन् ।
“हेलाँ गर्ने पनि हद हुन्छ नि !”
“घर पस्न पाएकाे छैन, निफुल्किने ?”
निफुल्केकाे हैन, आत्मसम्मान हाे !”
मनकाे कुराबाट पख भनेर धारेहात लगाउँदै सासू गनगन गर्न लागिन् । उनकाे गनगन मनबाट खुस्किएका तन्तुबाट निस्कने व्यवहार र त्यस्तै आवाज थियाे । उनकाे कुरा कहिले गग्रेटाेमा टेक्थ्याे । कहिले दैलाेमा त कहिले ओछ्यानमा पुग्दथ्याे । के भएर हाे, उनकाे हाेस गुमहुँदै पाे जान थाल्याे। उनकाे याे चाला देखेर घर वरपरका छिमेकी पनि खिसिक्क हाँसेर टार्थे । उता बुहारीले सासुसँग नयाँ कुरा झिकेर भनिन् ।
“कसैलाई पनि पन्पच्छे गर्न पाइँदैन नि !”
“के उसाे भए म ठेक्दार हाे त ? यस घरकाे !”
उनकाे स्वर निकै चर्काे भएर निस्क्याे। चर्काे स्वरमाथि उपस्वर बजारियाे । उपस्वरसँगै सहायक स्वर गुन्जियाे । सहायक स्वर भित्तामा ठाेकियाे। भित्तामा सङ्कुचित रङ्गहरू पाेतिएका थिए । तिनीहरू राता, निला, पहेंला, हरिया र फुस्रा थिए । सासुले विगतदेखि जलेकाे मनकाे जलन पाेखिन् ।
“अबदेखि चामल, च्यूरा, दाल, भात, अचार, तरकारी, पानी, नेट र विजुली बन्द !”
विजुली र नेट बन्द भएपछि भर्खर घर प्रवेश गरेकी बुहारीकाे हंसले ठाउँ छाेड्याे । उनले सासुलाई विन्ति गर्न लागिन् ।
“चामल, च्यूरा, दाल, भात, अचार, तरकारी, पानी नदिए पनि विजुली र नेटचाहिँ पाउँ !”
“किन चाहियाे विजुली र नेट, लबस्तरी ?”
“मेसेज गर्नुछ मेराे, त्यसैले !”
“ए, मेराे मेसेज गर्ने अधिकार खाेस्ने ?, भैगाे पर्दैन ! म आफै गर्छु मेसेज !”
रिसकाे नाेकझाेकमा उनीहरूले धमाधम आफ्नै वाइफाईबाट मेसेज गरे । उताबाट एकै खालकाे मेसेज आयाे ।
“चुनावमा घाेर पन्पच्छे भयाे है तिमीहरूकाे बिच, सच्चिएर हिंड !”
उनीहरूकाे मुख्य विषयकाे ङ्यारङ्यारङुरङुर थियाे- बुहारी र सासु संघकाे बन्द काेठाकाे अधिकार प्रत्यायाेजन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



