काका हराए, अङ्कल भए, काकी हराए, आन्टी भए

हराए

पेशल आचार्य

पुराना कुरा
हराए
उहिलेका कुरा
हराए
जमानाका कुरा
हराए ।

धर्म हरायो
पर्म हरायो
सर्म हरायो
हराउनुको
भीडमा
थिग्रिएको सबै हरायो ।

बा हराएर
ड्याड बने
आमा हराएर
मम बने
काका हराए
अङ्कल भए
काकी हराए
आन्टी भए ।

समाज हरायो
सोसोलजी भयो
मानवशास्त्र हरायो
एन्थ्रोपोलोजी भयो
इतिहास हरायो
हिस्ट्री भयो
रसायन शास्त्र हरायो
केमेष्ट्री भयो ।

माया हरायो
लब भयो
जागिर हरायो
जब भयो
यौन हरायो
सेक्स भयो
विषयवस्तु सब
टेष्क्ट भयो ।

गणित हरायो
म्याथ भयो
जुक्ति हरायो
ज्याक भयो
मानवता सबै
स्याक भयो ।

तालिका हरायो
रुटिन भयो
कलम हरायो
फुलटिन भयो
हुलाक हरायो
इमेल भयो
जमाना नै सब
जिमेल भयो ।

हराए सबै हराए
बासीभात हरायो
फ्राइ राइस भयो
चिउरा त अब
बिटेन राइस भयो
दूध हरायो
मिल्क भयो
लुगा जति सबै
सिल्क भयो ।

पण्डित हराए
बाजे भए
कमसल जति
पाजी भए
नयाँ आए पुराना गए
नयाँ नै अब शासक भए ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button