
बुढो यतै हुनुहुन्छ, पछि मिलाएर कल गर्छु
भाग–२
सोनालाल शाह
वीरगञ्ज–२०
भूकम्पले गर्दा कहिले प्रहरी प्रतिष्ठानको फिल्डको बसाई त कहिले हस्पिटलको फिल्डको बसाई । यही नै दिनचर्या बनेको थियो ।
बिहान भयो कि फ्रेस भएर कुन संस्थाले फ्रिको खाना–खाजा देला भनेर बकुल्लाले पानीमा भएको माछामा ध्यान लगाएर बसे जस्तै हस्पिटलको गेट र फिल्डमा जति खेर ध्यान हुन्थ्यो ।
हस्पिटलको फिल्डमा लगाएको टेन्टमा चिया बाँड्दै गरेको देखेँ । म पनि लाइनमा बसेर चिया लिएँ अनि छेउमा गाएर खान थालेँ ।
राति फोनमा कुरा भएर मनमा ठूलो व्यग्रता थियो, ‘कतिखेर फोन आउँछ अनि बोली सुन्न पाउँछु !’ मनमा समुन्द्रको छाल जस्तै भावनाको छाल उठ्दै थियो । नबोले-नदेखे पनि उसप्रति मेरो मनमा प्रेमको अंकुरण हुन लागेको थियो । यसो मोबाइलमा नेट खोलेको त हाई भनेर मेसेज आयो । मेरो खुशीको ज्वारभाटा उठ्यो अनि छिटै हेलो भनेर लेखेँ । उताबाट ‘सञ्चै हुनुहुन्छ ?’ मेसेज आयो ।
मैले ‘ठिकै छु’ भनेँ ।
‘चिया खानु भो’ ?’
‘कोही धर्मात्माले बाँड्दै गरेको चिया खाँदै बोल्दै छु ।’
कतिखेर फोनमा कल गरेर बोली सुनुँ भइरहेको थियो अनि मन दरो मनाएर एकचोटि कल गर्नु भनेर मेसेज गरेँ । एकछिन केही बोलेन । नबोलेपछि मनमा अनेक कुराहरु खेल्न थाल्यो ।
भर्खरभर्खर पलाउँदै गरेको माया यही पूर्णविराम लाग्छ कि क हो ? मनमा बोल्नलाई कौतुहल जागिरहेको थियो । धेरै बेरपछि हेलो भनेर मेसेज आयो अनि फेरि मन खुशी भयो, कल गर्नु भन्छ कि भनेर । वैशाखमा जसरी रुखहरुमा पात झरेर पालुवा आइरहेको हुन्छ, त्यस्तै मायाको पालुवा मेरो मनमा आइरहेको थियो । मेरो आँखा मोबाइलको स्क्रिनमा थियो कतिखेर हुन्छ कल गर्नु भन्छ भनेर । चियाको घुट्कीसँगै मेरो मन अनि ध्यान उसैतिर थियो ।
एकछिनमै फेरि भूकम्पको धक्काले हान्यो । मान्छे फेरि भगाभाग भए । म पनि मोबाइल बोकेर भागेँ । अनि मेसेज गरेँ, ‘राम्रोसँग आफ्नो केयर गर, सुरक्षित बस ।’
मलाई उप्रति किन यति माया भएको ? बुझन सकेको थिइनँ । म त जतिखेर उसैको यादमा हराइरहेको हुन्थिएँ । कहिलेकाँही भूकम्पले हल्लाउँदा नि चाल पाउँदैन थिएँ । हुन पनि हो, म उसलाई साँच्चिकै माया गर्न थालेको थिएँ ।
अलि पछि मेसेज आयो, हजुर पनि आफ्नो केयर गरेर बस्नु होला ।
मेसेज देख्न बितिकै मेरो मनमा मायाको आँधी आउन थाल्यो । झन् झन् उसैमा हराउन थालेँ । अनि मेसेज गरेँ, हुन्छ, गर्छु नि अब आफ्नो केयर ।

त्यति भनेपछि उताबाट उसले मेसेजमा लभ रिएक्ट गरी अनि मेरो खुशीको सिमै रहेन । उसले पनि मलाई माया गर्न थलिछे लाग्यो मलाई । अनि फेरि प्रेमको सागरमा डुब्दै मेसेज गरेँ, ‘एकचोटि कल गर न, कस्तो बोली सुन्न मन लाग्यो’ अनि उसले रिप्लाई गरी, ‘एक्छिन है, म बच्चाहरुलाई खुवाउनलाई मिलाउँदै छु, बुढो पनि यतै हुनुहुन्छ, पछि म मिलाएर कल गर्छु ।’
‘हजुर पनि खाना खानु नि, अहिलेलाई बाईबाई !’
उसले पठाएको मेसेज दोहरायाई तेहर्याई पढेँ । जति पढे पनि मन अघाउँदैन थियो । फेरि फेरि पढुँ पढुँ लाग्थ्यो ।
बुढो अनि बच्चा सुनेर झन् मेरो मन आत्तियो । त्यही कुरा मन मस्तिष्कमा खेल्दै थियो । त्यतिकैमा मान्छेहरू खाना लिन लाइन बसेको देखें । म पनि हतारहतार लाइनमा बसेँ । खाना लिएर छेउमा गएर खानलाई बसे, खान मन लागेन । मोबाइलको मेसेज अनि उसले भनेको कुरा मात्र मानसपटलमा घुम्दै थियो । फेरि कतिखेर खाना पाइन्छ कि नाईं मनमा विचार गरेँ अनि खाना खाएँ अनि मोबाइल चार्जमा राखेर बसेँ । जतिखेर पनि आँखा त मोबाइलको चार्ज अनि मेसेजमा जान्थ्यो ।
दिउँसोतिर उसले पठाएको मेसेज हेर्दै बसेको थिएँ, त्यतिकैमा मेसेज आयो, ‘हाई !’
मैले ‘हेलो’ भनेँ ।
‘के गर्दै हुनुहुन्छ’ भनेर मेसेज आउनासाथ मैले पनि तिम्रो मेसेज हेर्दै ‘तिमीलाई सम्झेर बसेको छु’ भनेँ ।
उसले फेरि भनी, ‘हजुरले मलाई सम्झिन थाल्नुभएको छ । म त कति भाग्यमानी ! मलाई पनि सम्झिने कोही छ ।’
अनि ‘मैले हो नि, म छु नि’ भनेँ ।
उसले ‘हा हा’ गरेर लभ रिएक्ट गरिन् ।
म हस्पिटलभित्र बसेर कुरा गर्दै थिएँ ।
‘हजुर फ्रि हो भने एकचोटि कल गर्छु है’, मेसेज गरेँ ।
यसपटक उसले ‘हुन्छ; भनी । मनमा खुशीको भुइँचालो आयो, मन ठाउँमा रहेन बोल्न पाउँछु, बोली सुन्न पाउँछु भनेर ।
त्यही बेला मानिसहरूको हल्ला अनि कराएको चिच्याएको आवाज सुनेँ, ‘हल्लायो, हल्लायो !’
सबैजना बाहिर भाग्दै थिए । म पनि बाहिर भागेँ अनि बाहिर आएर कल गरेँ । सम्पर्क हुन सकेन भन्यो । फेरि ट्राई गरेँ । त्यस्तै भन्यो अनि मेरो मन कालो बादलले ढाक्यो । मन खिन्न भयो ।
उसको कल आउँछ कि भनेर मोबाइल हेर्दै फिल्डमा बसेँ ।
(यसपछि के हुन्छ, अर्को अंकमा)
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)